तनावमाथि तनाव

- नेपाल संवाददाता

अनमोल केसी, प्रदीप खड्का, पल शाहजस्ता चकलेटी हिरोलाई भ्याइनभ्याइ छ । तर, आर्यन सिग्देलको कसैलाई वास्ता छैन । जबकि, अनमोलहरुको आगमनभन्दा पहिले आर्यन अग्रपंक्तिमा थिए । रुद्रप्रिया फ्लप भएपछि उनको क्रेज अझ तल झर्‍यो । तैपनि, हार नमानी आफैँ फिल्म निर्माण गर्दैछन्, कायरा । तर, सुटिङ नसकिँदै तनाव आइलागेको छ, हिरोइन साम्राज्ञीराज्यलक्ष्मी शाहका कारण । साम्राज्ञीले कायराकै लागि वक्षस्थलमुनि ट्याटु खोपाएकी थिइन्, त्यसकै फोटो सामाजिक सञ्जालमा भाइरल भयो । जबकि, फिल्म कहिले रिलिज हुने हो, टुंगो छैन । तर, हिरोइन अहिल्यै विवादमा फसेपछि फिल्मको छवि बिग्रने पक्कापक्की छ । यसको प्रत्यक्ष असर बक्स अफिसमा पर्न सक्छ । यता, कायरा तलमाथि भए लगानी मात्र होइन, आर्यनको करिअर पनि डुब्ने खतरा छ । अनि, परेन त आपत् !

प्रकाशित: माघ २८, २०७४