बदलाको बासी कथा

- गोकर्ण गौतम

यो समय नेपाली फिल्मवृत्तको केन्द्रमा छन्, अनमोल केसी । चकलेटी लुक्सका अनमोलको स्टारडमदेखि पारिश्रमिकसम्म अनेक चर्चा चल्छ । थोरै फिल्म खेल्छन्, सार्वजनिक जीवनबाट सकेसम्म टाढा हुन्छन्, झिनामसिना टिका–टिप्पणीमा अल्झदैनन्, नेपाली फिल्म भन्नासाथ नाक खुम्च्याउने सहरिया युवा पुस्तालाई हलसम्म ताने/तान्छन्, अनेक गुण छन्, अनमोलका । तर, अभिनेताको पहिलो सर्त स्तरीय फिल्ममा जीवन्त भूमिकामा देखा पर्नु हो । यही मामलामा चाहिँ उनी फिक्का लाग्छन् । निकै तामझाम र प्रतीक्षापछि प्रदर्शन भएको उनको पाँचौँ फिल्म कृले पनि यो अभाव पूरा गर्दैन । फरक यत्ति हो, यसअघि करिब ‘लभरब्याय’मा सीमित थिए, यस पटक एक्सन अवतार पनि देख्न पाइन्छ । अर्को बिडम्बना ! पटकथा र निर्देशकीय पाटो पनि अनमोलमै भर परेको भान हुन्छ, उनका अघिल्ला फिल्ममा झैँ । कृलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । यसअघि उनले आभास बनाएका थिए । कृको प्राविधिक पक्षचाहिँ उम्दा छ ।

आफ्नी बाल्यकालकी प्रेमिका केशर (अदिती बुढाथोकी) लाई खोज्दै गाउँ छिरेको छ, लाहुरे अभय (अनमोल) । उनीहरूको सजिलै भेट हुन्छ । तर, केशरले चिन्दिनन् । जबकि, उनी अभयकै प्रतीक्षामा छिन् । अभयले पनि सुरुमै चिनाउन चाहँदैनन् । जब चिनाउन खोज्छन्, ढिला भइसकेको हुन्छ । त्यसैले मन खल्लो पार्दै अभय सहर फर्कन्छन् । केशर र अभयको मिलन होला ? कि उनीहरूको सम्बन्धमा कुनै बज्रपात आइलाग्छ ? यिनै सवालवरपर घुमेको छ फिल्म ।

बच्चैमा छुटेकी प्रेमिकासँग पुनर्मिलन गर्न हिरो गाउँ फर्कने तर गुन्डाहरूले तनाव सिर्जना गर्ने, उस्तै परे गुन्डाहरूले बलात्कार नै गर्ने कथामा दर्जनौँ फिल्म बनेका छन् । त्यस्ता फिल्ममा केटाकेटीले कुनै चिनो साटासाट गरेका हुन्छन्, पछि उनीहरूले एकअर्कालाई चिन्ने माध्यम पनि त्यही चिनो नै हुन्छ । कृको कहानी योभन्दा माथि उठ्न सकेको छैन । फिल्ममा त्यस्तो दृश्य देख्न मुस्किल छ, जसले चक्मा दिओस् वा बिलकुलै ताजापन महसुस गराओस् । कहिलेकाहीँ पुरानै कथा पनि नयाँ ‘ट्रिटमेन्ट’ को प्रयोगले स्वादिलो हुनसक्छ । तर, पटकथाकारद्वय प्रदीप भारद्वाज र आशिष रेग्मीले त्यस्तो जादु पस्कन सकेका छैनन् । कथा–वाचनशैली पम्परागत ढर्राबाट ग्रसित छ । हिरो र भिलियनको लुक्स र आनीबानीचाहिँ आधुनिक लाग्छ, हाम्रो सन्दर्भमा । पहिलो दृश्यबाटै हिरोको प्रतिशोधको कथा हो भन्ने झल्कन्छ । लाग्छ, पटकथाकार र निर्देशकले ‘अनटोल्ड स्टोरी’ खोतल्ने जमर्को गरेनन्, सिर्फ पुरानै पुस्तकमा नयाँ र रंगीन गाता हाल्नमै रमाए । परिणाम हाम्रैसामु छ ।  

कृका हरेक दृश्य सफा र उज्याला छन् । निर्माताद्वय सुवास गिरी र भुवन केसीले दिल खोलेर खर्च गरेका छन्, लोकेसन, सेट, कलाकारको ड्रेस, खिचाईलगायत अन्य प्राविधिक पक्षमा । तर, जसरी पैसा लगानी भयो, सोही अनुपातमा कन्टेन्ट र कथ्य संरचना मजबुत पार्ने कसरत देखिएन, फिल्मका कमान्डर अर्थात् निर्देशकबाट । अनमोलजस्ता सर्वाधिक रुचाइएका स्टार र यति विघ्न बजेटलाई अवसरमा बदलेर जुन तहको निर्देशकीय निखारता पस्कनुपर्ने हो, त्यसमा पौड्याल चुकेका छन् । यसमा शंकै छैन । मुख्य कलाकारको लुक्स परिवर्तन गर्नु मात्र निर्देशकको ‘ड्युटी’ होइन । दक्षिण भारतीय फिल्ममा झैँ मुस्तन्डे गुन्डाको झुन्डलाई हिरोले एक्कै प्रहारमा धूलो चटाउँछ । चार महिनापछि अस्पतालबाट निस्किएको पात्र भर्खरै सैलुनबाट निस्किएको झैँ चिरिच्याट्ट छ । चरित्र र सन्दर्भ जस्तो भए पनि हिरोलाई ‘हिरो’ जस्तै देखाउनुपर्ने मिति गुज्रिएको मनोविज्ञान हो, यो । गुन्डा निगम बाबा (अनुपविक्रम शाही) चाहिँ चार करोडको माल गायब भयो भनेर ताण्डव देखाएको देख्यै ।

फिल्ममा फाइटका दृश्य प्रशस्त छन् र तिनको कोरियोग्राफी आकर्षक छ । यो स्तरको एक्सन यसअघि सायदै कुनै स्वदेशी फिल्ममा देखिएको थियो । यसको जस चन्द्र पन्तलाई जान्छ । विभिन्न पात्रहरूले यातना दिने तरिका, गुन्डाका अनेक तह, प्रहरी–गुन्डा सम्बन्धको भित्री पाटो तारिफयोग्य नै छ । साउन्ड डिजाइनर उत्तम न्यौपाने प्रशंसाका हकदार हुन् । उनले दृश्यलाई अझ जीवन्त र प्रभावकारी बनाउने ध्वनि सिर्जेका छन् । पुरुषोत्तम प्रधानको खिचाई फिल्मको साख जोगाउने अर्को पक्ष हो । ‘यति यति पानी...’ गीत रमाइलो छ । ‘जानी नजानी...’ न श्रुतिमधुर छ, न यसको प्रयोग सान्दर्भिक नै छ । 

गठिलो ज्यान बनाउन अनमोलले साँच्चै मेहनत गरेका छन् । यो सराहनीय छ । रोमान्टिक र एक्सन दुवै भूमिकामा आकर्षक छन् । फाइट पनि झाराटराई शैलीको छैन । तर, त्यहीअनुरुप संवाद बोल्ने शैलीदेखि अनुहारको भावभंगिमासम्म जीवन्त र स्वभाविक छैन । उनले थोरै फिल्म खेल्नु फिल्म सकारात्मक हो । तर, ती फिल्म नै स्तरीय भएनन् भने करिअर धरमरमा पर्न सक्छ । त्यस्तै अशुभ संकेत देखा परेको त हैन ? त्यसैले अनमोल नेपाली फिल्मको ‘अनमोल’ बन्न अभिनय थप निखार्नै पर्छ । यही फिल्मबाट करिअर सुरु गरेकी अदितीको उपस्थिति प्रभावशाली छैन । हुलिया चरित्रअनुरुप भए पनि अनुपविक्रम शाहीको अभिनयले फिस्स बनाउँछ । कामेश्वर चौरासिया र सुदाम सिके सम्झनायोग्य छन् । 

डेढ वर्षदेखि अनमोललाई पर्दामा देख्न नपाएका ‘हार्डकोर फ्यान’का लागि हो, कृ । यस फिल्मले उनका फ्यानलाई निराश नपार्ला पनि तर फ्यानको दायरा फराकिलो बनाउन असाध्यै मुस्किल छ । अर्को दु:खको कुरा, कृले नेपाली फिल्मको कलात्मक श्रीवृद्धिमा योगदान पुर्‍याउँदैन । फिल्म हेर्ने/नहेर्ने आफ्नै मर्जी ।

रेटिङ : १.५/५

 

 

प्रकाशित: माघ २६, २०७४