‘सोच बदलिए देश बदल्न सकिन्छ’

- मनबहादुर बस्नेत

पर्वत, फलेबास नगरपालिका पाङराङमा सानो किराना पसल चलाएर जीविकोपार्जन गर्थे, भेषबहादुर कँडेल, ३८ । अहिले उनी पसल परिवारको जिम्मा लगाएर विश्व साइकल यात्रामा छन्, झापाका युवराज मैनालीलाई लिएर । १९ मंसिर ०७३ देखि यस्तो यात्रा थालेको यो जोडी युरोप र एसियाका ४२ देश पुगिसकेको छ भने डेढ सय मुलुक पुग्ने अठोट छ । दुई वर्षअघि नेपालमा आएको विनाशकारी भूकम्पले धेरै मानिसका धेरै कुरामा उथलपुथल ल्याइ दियो । यही भूकम्प कँडेलका लागि भने विश्व साइकल यात्रा गर्ने आधार बन्यो । कसरी त ? यही सेरोफेरोमा उनीसँग गरिएको संवाद : 

यो यात्राको उद्देश्य के हो ?

नेपालमा भूकम्प गएपछि रगतको अभावमा धेरै घाइतेहरूको उपचार हुन सकेन । त्यो देखेर सबैभन्दा पहिले हामीले ‘रगत दान गरौँ, रक्तदान गरेर स्वास्थ्यमा नराम्रो हुँदैन’ भन्ने सन्देश छर्दै मेची–महाकाली साइकल यात्रा गर्‍यौँ । सुरुमा विश्व यात्रा गर्ने योजना थिएन । देशभित्रैको यात्राको हौसलाले हामीलाई साइकलमै विश्व घुम्न प्रेरित गर्‍यो । त्यसपछि भूकम्पले तहसनहस भए पनि नेपाल घुम्न सुरक्षित छ भन्ने अर्को सन्देश थप्यौँ र विश्व यात्रामा निस्कियौँ । 

नेपालको प्रचार कसरी गरिरहनुभएको छ ?

हामी जहाँ पुग्छौँ, त्यहाँका मिडियाका कार्यालयहरूमै पुगेर आफ्नो उद्देश्य बताउँछौँ । नेपालबारे पर्यटन बोर्डले प्रकाशन गरेका पर्चा, पम्प्लेटहरू दिन्छौँ । 

मिडियामै जानुको कारणचाहिँ के हो ?

व्यक्ति–व्यक्तिलाई आफ्नो लक्ष्य बताएर साध्य हुँदैन । मिडियामार्फत सन्देश दिन सकियो भने त्यसको प्रभाव बढी हुन्छ भनेर मिडिया खोज्दै गएका हौँ । आफ्नो प्रचारका लागि होइन । 

रक्तदानको सन्देश विदेशमा फैलाएर नेपालले लाभ लिन सक्छ र ?

संकट, विपत्ति जसलाई पनि र जहिले पनि पर्न सक्छ । नेपालले भूकम्पका बेला बेहोरेको संकट विश्वव्यापी रूपमा चिनियो भने नेपाललाई फाइदै हुन्छ । फेरि हामीले नेपाल विश्वभरका पर्यटकलाई स्वागत गर्न सक्षम छ भन्ने सन्देश पनि दिइरहेका छौँ ।

नेपाल असुरक्षित छ भनेर घुम्न नआएका विदेशी पनि भेट्नुभयो ?

भूकम्पपछि नेपालको अवस्था कस्तो छ भनेर धेरैले थाहा पाएका छैनन् । के हो के हो भन्ने रहेछ, अधिकांश मुलुकमा । हामीले भेटेका धेरैले अब समय मिलाएर नेपाल भ्रमण गर्ने बताए । जर्मनीको बर्लिनमा भेटिएका धेरैले त एक दिन जसरी पनि नेपाल आउने वाचा गरे । 

तपाईं पुग्नुभएका विश्वका मानिसले नेपाललाई कसरी चिन्दा रहेछन् ?

नेपालभन्दा पनि ‘माउन्ट एभरेस्ट’को मुलुक भनेर चिन्ने रहेछन् । नेपाल भ्रमण गरेकाले त यो देशको सौन्दर्यको अति नै प्रशंसा गर्थे । नआएकाहरूले नेपालबारे बताएपछि जीवनमा एकपटक पुग्ने वाचा गरेको देखियो । 

यो यात्राको खर्चचाहिँ कसरी जुटाइरहनुभएको छ ?

नेपाली राजनीतिक दलका विदेशमा रहेका सम्पर्क समिति र व्यक्तिगत रूपमा अरूले पनि सहयोग गरिरहेका छन् । हामी जहाँ पुग्छौँ, त्यहाँका नेपालीले सहयोग गरेका छन् । 

कति खर्च लाग्यो, हिसाबकिताब गर्नुभएको छैन ?

खर्चको सीमा नै छैन । खर्च बचाउन हामीले एउटा पाउरोटी तीन दिनसम्म पुर्‍याएर पनि खायौँ । टेन्ट टाँगेर सुतियो कतिपय ठाउँमा । 

यात्राको सबैभन्दा कठिन क्षेत्र कुन थियो ?

इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, म्यानमारमा हामीले धेरै दु:ख पायौँ । यी देशमा हामीले साढे दुई महिना लगाएर यात्रा गर्‍यौँ । 

कस्तो कठिन भयो त्यहाँ ?

यी देशका ठाउँठाउँमा सडक थिएनन् । अग्ला पहाडी क्षेत्र चढ्दा साइकललाई नै काँधमा बोक्नुपर्‍यो । चट्टानी पहाड मात्रै भएका यस्ता लामो क्षेत्र पार गर्दा पानीसमेत पिउन पाइएन । भिसा लिन पनि यी मुलुकमा एकदमै गाह्रो रहेछ । यस्तो कठोर परिस्थिति सामना गरेर ताइवानमा नेपालीहरू भेट्दा ज्यादै खुसी लाग्यो । 

अहिलेसम्म कति दूरी पार गर्नुभयो  ?

२० हजार ८ सय किलोमिटर यात्रा गर्‍यौँ । सामुद्रिक क्षेत्रमा चाहिँ हवाईजहाज चढ्यौँ । किनभने, यसको विकल्पै थिएन । 

१ सय ५० मुलुक पुग्ने तपाईंहरूको लक्ष्य छ । यसअघि पुष्कर शाहले नेपालीका नाममा बनाएको रेकर्ड ब्रेक गर्ने आकांक्षा हो ?

नाम राख्ने महत्त्वाकांक्षा हाम्रो छैन । हामी सक्दो बढी मुलुकमा आफ्नो सन्देश पुर्‍याउन चाहन्छौँ । 

विश्वमाझ सन्देश दिन हिँड्नुभएको तपाईंले सिकेको कुराचाहिँ के हो ?

सोच बदल्न सक्यो भने समाज बदल्न सकिन्छ र समाज बदल्न सक्यो भने देश बदल्न सकिन्छ भन्ने जीवनमन्त्र सिकेँ । 

 

 

प्रकाशित: माघ २५, २०७४