[स्मरण] भूपीसँगका पल

- रत्नशमशेर थापा

थोरै लेखेर धेरै चर्चा बटुल्ने कवि हो, भूपी शेरचन । ऊसँग बिताएका पलहरू सम्झिँदा अहिले पनि म ज्यादै भावुक हुन्छु । होटल सोल्टीको क्यासिनोमा बाह्रमासे खेल्दाको कुरा होस् या न्युरोड पीपलबोट आसपास र उपत्यकाका अधिकांश भट्टी पसलमा जाँड–रक्सीमा झुम्दाको कुरा, सदैव 

सम्झनामा नाचिरहन्छन् ।

ज्यादै खर्चालु स्वभावको थियो ऊ । खल्तीमा पैसा छउन्जेल दिल खोलेर खर्च गथ्र्यो । पिउन–पिलाउन, साथीभाइहरूसँग रमाइलो गर्न ऊ सधैँ अगाडि नै हुन्थ्यो । असल रक्सी, असल चुरोट र महँगो होटलमा पैसा खर्च गर्दा ऊ खुसी हुन्थ्यो । 

एक दिन चुरोट किन्ने पैसा नभएर बिँडी किनेर काम चलाएको सम्झिन्छु । एउटा बिँडी मलाई सल्काउन दिएर अर्को बिँडी सल्काउँदै उसले एउटा शेर सुनाएको थियो, ‘ उपर गए तो सिँढी पर, उतर गए तो बिँडी पर ।’

पिउन थालेपछि बेहिसाब पिउँथ्यो । मस्त पिएर सोल्टी होटलबाट मोटरसाइकलमा फर्किंदा एकोहोरो हर्न बजाएको एउटा सन्दर्भ छ । उसले हर्न थिचेको थिच्यै गर्दा मैले सोधेँ, ‘के गरेको ? अगाडि त कोही पनि छैनन् त ?’ उसको जवाफ आयो, ‘हँ ! बजाइदिऊँ न ! के फरक पर्छ र ! उपत्यका जागै रहेको सन्देश त जान्छ ।’

घनिष्टता बढ्दै गएपछि मैले उसलाई रक्सी नपिउन धेरैपटक अनुरोध गरेँ । मुखले त ‘हुन्छ, म छोडिदिन्छु’ भन्थ्यो । तर, साँझ परेपछि त्यही मण्डलीमा पुगिहाल्थ्यो । रक्सीका बारेमा ठट्टा पनि खुबै गथ्र्यो । जस्तो : ‘भोलिदेखि म नपिउने विचारमा छु तर आजसम्म म बारमा छु ।’ के कारणले ऊ यति धेरै पिउँथ्यो र दु:खी हुन्थ्यो, मैले पनि धेरैपटक जान्ने कोसिस गरेँ । तर, ऊ सधैँ हाँसेर मेरो प्रश्नको जवाफ नदिई तर्किन्थ्यो । ज्यादै कर गर्‍यो भने ऊ यो कविता सुनाउँथ्यो :

‘ए मैले पिएकामा रिसाएका साथीहरू ! 

पिएर त हेर पिउन झन् गाह्रो छ 

ए मरेर सहिद हुनेहरू हो

जिएर त हेर जिउन झन् गाह्रो छ ।’

म नपिउने भएकाले पनि होला, भूपी बारम्बार मलाई यो कविता सुनाउँथ्यो । मैले पनि सोचेँ, उसलाई पनि कविताबाटै जवाफ फर्काउँछु । अनि, एउटा कविता लेखेँ, जो रूपरेखामा प्रकाशित पनि भयो : 

‘पिएर के हेरुँ साथी ! 

जबकि, नपिएरै म यहाँ अघाएको छु । 

मरेर सहिद किन हुनु साथी

जबकि, जिउँदै म यहाँ मरेको छु ।’

संगत बढ्दै गएपछि भूपी र मैले एउटा युगल गीत लेख्यौँ । तर, दुर्भाग्य ! नगाईकनै त्यो गीत हरायो । गीत भनेपछि ऊ भुतुक्कै हुन्थ्यो । एक दिन नारायणगोपाललाई साथ लिएर ऊ मेरो घर आयो । म बिरामी भएर ओच्छ्यान परेको थिएँ । उसले भन्यो, ‘रत्न ! आज मेरो एउटा गीतमा सानुबाबुले धेरै मीठो धुन भरेको छ । त्यही गीत तँलाई सुनाउन हामी यहाँ आएको ।’ भूपी नारायणगोपाललाई सानुबाबु भन्थ्यो । भूपीले त्यहाँ सुनाएको गीतको बोल यस्तो थियो :

‘सानो हुरीमै बैँशको सपना, सिमलको फूलझैँ झरी गयो 

तिमी के गयौ, खुसीले पनि मलाई आँखा तरी गयो ।’ 

भूपीले धेरै गीत लेखेको छ । त्यसमध्ये उसको चर्चित गीत ‘यो नेपाली शिर उचाली...’ पनि हो । नातिकाजीको संगीतमा प्रेमध्वज र तारादेवीले गाएका थिए, यो गीत । 

एक दिन न्युरोडमा भेट हुँदा यस गीतका बारेमा भूपीले भनेको थियो, ‘हेर साथी ! मैले यो गीत लेखेर ठूलो गल्ती गरेँ ।’ म आश्चर्यचकित भएँ, यति सुन्दर र चर्चित गीत लेखेर किन गल्ती भयो भनेर मैले उसलाई सोधेँ । ‘यो नेपाली शिर खुम्च्याई चाकरीमा दगुरिन्छ’ भन्ने पो लेख्नुपर्ने रहेछ भन्ने उसको जवाफ आयो । 

साधारणदेखि बौद्धिक पाठकसम्मलाई आफ्ना कवितामार्फत प्रभावमा पार्न सक्ने अचूक क्षमता थियो उसमा । बहुमुखी प्रतिभा र उन्नत स्तरको कवि भूपीले थोरै लेखेर धेरै चर्चा बटुल्नुको कारण पनि यस्तै–यस्तै थियो । त्यसैले त उसका हरेक रचना उच्च कोटिका छन् । तर, दुर्भाग्य ! यस्तो महान् प्रतिभा अल्पायुमै हामीबाट बिदा भयो ।

प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: माघ २५, २०७४