शब्दको गणराज्यबाट

- रमेश केसी

म पनि शब्दको गणराज्यमा सामान्य नागरिक हुँजस्तो लाग्छ । म शब्दको गणराज्यका अनुभूतिहरू भनिरहेछु । विशेष गरेर किताबहरूको दुनियाँ र मेरो बौद्धिक उथलपुथलका कथा भन्छु । धेरै यस गणराज्यको नागरिकजस्तो मेरो पनि शब्दको गणराज्यमा प्रवेश प्रकाश कोविद र युधीर थापाबाट भएको हो । पछि हाई स्कुल पढ्दा अनेरास्ववियुको राजनीतिबाट प्रभावित भएपछि रुसी र चिनियाँ साम्यवादी साहित्यबाट प्रभावित बनेँ । त्यसबेला धरानमा पूर्वक्षितिज पुस्तक पसल थियो । ’४० को दशकको प्रारम्भका वर्षहरूमा राजनीतिक दलहरूमाथि प्रतिबन्ध थियो । धरानमा पूर्वक्षितिज पुस्तक पसल साम्यवादी साहित्य बिक्री गर्ने पसल थियो । ८–९ कक्षा पढ्दादेखि मैले साम्यवादी साहित्य जम्मा गर्न थालेँ । विसं ०४५ सम्म आइपुग्दा मेरो कोठा साम्यवादी साहित्यिक र राजनीतिक पुस्तकहरूको एउटा सानो पुस्तकालय नै बनिसकेको थियो । मैले प्रभावशाली लेखकहरू एन्टोन चेखभ, मेक्सिम गोर्की र लियो टोल्सटोयहरू त्यही बेला पढेको हो । तर, ती गम्भीर साहित्यको भाषा र अर्थ कति बुझेँ, मलाई थाहा थिएन ।

मैले विचारोत्तेजक क्रान्तिकारी नक्सलवादी उपन्यास थ्यान्क्यू मिस्टर ग्लाड त्यही बेला पढेको थिएँ । यसले मलाई गहिरो गरी प्रभाव पार्‍यो । पछि ०४६ मा धरानमा नाटक प्रशिक्षण गर्न आएका रंगकर्मी र चलचित्र निर्देशक प्रकाश सायमीबाट थाहा भयो कि उनले त्यस उपन्यासको ‘उसको कवितामा अब को रुँदैन’ शीर्षकमा नाट्य मञ्चन गरिसकेका रहेछन् । सायमीले मलाई सार्थक चलचित्रबारे थुप्रै जानकारीहरू दिए । सायमी तिनै व्यक्ति हुन्, जसले मलाई पछि काठमाडाँैमा भारतीय चलचित्र निर्देशक महेश भट्टका बारेमा बताएका थिए । जेन्टलम्यान पत्रिकामा छापिएको भट्टको लामो अन्तर्वार्ता उनले पढ्न दिए । त्यस अन्तर्वार्तामा महेशसँग यूजी कृष्णमूर्तिको फोटो पनि थियो । म फोटोको आकर्षक व्यक्तित्व यूजीलाई देखेर मोहित बनेको थिएँ । धरानमै वामपन्थी राजनीतिको कालमा मैले नित्से, कामु, सात्र र किर्केगार्डका बारेमा पढेँ । व्यक्तिको स्व र अस्मितालाई महत्त्व दिने ती लेखकहरूले मलाई गहिरो गरी आकर्षण गरे । अहिले पनि अस्तित्ववादी दर्शनप्रति मेरो लगाव छ । सात्र्रबाट म धेरै हदसम्म ऋणी छु भने काफ्काको सिर्जनशीलता मलाई अद्भुत र असामान्य लाग्छ । धरानकै साइन्स क्याम्पस पढिरहेका नवीन सुब्बासँग भेट भयो । उनी रंगकर्ममा पनि संलग्न भए । ०४५ को राष्ट्रिय नाट्य महोत्सवमा प्रदर्शनका लागि मेरो एकाङ्की नाटक मञ्चन गर्ने भएपछि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्वीकृतिपछि हामी काठमाडाँै आयौँ । नाटकले सर्वश्रेष्ठ प्रस्तुति र सर्वश्रेष्ठ सहअभिनेत्रीमा अभिनयको पुरस्कार पायो । नाटक प्रदर्शनपछि तत्कालीन एकेडेमीका सचिव नाटककार एवं कवि विजय मल्लले मलाई बधाई तथा शुभकामना दिनुभयो । त्यतिखेर साहित्यिक पत्रिका मधुपर्कमा त्यो नाटक प्रकाशित भएपछि म सेलिब्रिटीजस्तै भएको थिएँ । ०४६ मा काठमाडाँै अध्ययन गर्ने हिसाबले आएँ । र, तत्कालीन देशान्तर साप्ताहिकमा साहित्यिक सांस्कृतिक टिप्पणीहरू लेख्न थालेँ । 

सन् १९९० को साम्यवादी संसारको पतनपछि म साम्यवादी ह्याङओभरबाट मुक्त भएँ र प्रजातान्त्रिक कित्तातिर सहभागी भएँ । मेरो चेतना त्यसबेला टाइम म्यागजिनका लेख र रिपोर्टहरूले प्रभावित भयो । पछि मैले किनेको विश्वप्रसिद्ध राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाकोदी इन्ड अफ हिस्ट्री एन्ड दी लास्ट म्यान पुस्तकले मलाई गहिरो गरी प्रभाव पार्‍यो । विश्व साम्यवादी संसारको पतन र उदार प्रजातन्त्रको जितबारे त्यति राम्रो पुस्तक विरलै लेखिएको होला । मानिस आर्थिक वर्गको सदस्यका रूपमा मात्र नभई भावनाले पनि सञ्चालन हुने बताउँछन् फुकुयामा । साम्यवाद जगदेखि अधिनायकवादी दर्शन हो भन्दै यसको ज्ञान मीमांसीय भन्डाफोर गर्छन् । फुकुयामाको अरू केही महत्त्वपूर्ण पुस्तक पढेपछि म उनको विद्यार्थीजस्तै बनेको छु । मैले काठमाडाँैको व्यापक संंगत कान्तिपुर दैनिकमा राजनीतिक संंवाददाताका रूपमा काम गरेपछि पाएको हुँ । मेरो अलिअलि रुचि दर्शन र अध्यात्ममा पनि थियो । कान्तिपुरको संवाददाताको हैसियतले सन् १९९२ मा धर्मगुरु दलाई लामाले आयोजना गरेको कालचक्र पूजामा सिक्किमको ग्यान्तोकमा भाग लिएँ । तिब्बती पुराण कालचक्र मनको स्वर्ग साम्वलामा पुग्ने विधि भएको तन्त्र हो । आठ दिनसम्म सञ्चालित यस अनुष्ठानमा भाग लिएपछि म तिब्बती अध्यात्मतर्फ आकर्षित भएँ र पुस्तकहरू पढ्न थालेँ । लामाहरू भेट्न थालेँ । यसै क्रममा मैले भेटेका लामामध्ये पछि टिबेटन बुक अफ लिभिङ एन्ड डाइङका लेखक सोग्याल रिम्पोचे हुन् । होटल मल्लमा दुई दिनसम्म चलेको उनको सेमिनारमा मैले भाग लिएँ । उनले डोग्चेन अर्थात् निर्विचार मनको अवस्थामा पुग्नेबारे शिक्षाहरू दिएका थिए । तिब्बती मृत्यु र पुनर्जन्म आस्थाका उत्तरआधुनिक व्याख्याता सोग्याल रिन्पोचेले आधुनिक युगमा मृत्युको त्रासदी र भयावहबाट मानवलाई मनोवैज्ञानिक रूपमा सुरक्षित राख्न उक्त पुस्तक लेखेका हुन् ।

तिब्बतको रहस्यमय विद्यातर्फ आकर्षण बढ्दै जाँदा सन् १९९२ को जनवरीमा भारतका अर्का दार्शनिक यूजी कृष्णमूर्तिलाई चेन्नईमा भेटेँ । पछि उनका बारेमा एउटा पुस्तक सम्पादन गरेँ । परम्परा र ईश्वरविरोधी यूजीको शरीरको विवेक र बुद्धिको दर्शनलाई मैले त्यसबेला जसरी बुझ्नुपर्ने हो, त्यसरी बुझ्न सकिनँ । मैले उनै यूजीका मित्र तथा जीवनी लेखक प्रख्यात भारतीय चलचित्रकर्मी महेश भट्टलाई पनि भेटेँ । म ईश्वरवादी र अनिश्वरवादी एकैसाथ भएँ । शरीरकेन्द्रित यूजीको प्रतिदर्शनले मलाई नकारात्मक रूपमा असर गर्‍यो । त्यहाँ आत्मा, मन र म छैन, केवल शरीर मात्र छ भन्ने तत्त्व मीमांसीय चिन्तनलाई पचाउन सकिनँ । अन्ततोगत्वा २७ वर्षको उमेरमा प्यारोनाइड सिजोफ्रेनियाको बिरामी भएँ । अहिले म ४९ वर्षको भएँ । विगत २२ वर्षदेखि म धरानस्थित निवासमा छु । यसबीच म धेरै मानसिक उथलपुथल, चिन्ता र दुश्चिन्ताबाट गुज्रेँ । तर, मेरो शब्द–प्रेम कहिल्यै टुटेन । यूजी पढेर मैले पत्रिकामा समीक्षा गरेको पहिलो पुस्तक हो, माइन्ड इज अ मिथ अर्थात् मस्तिष्क कपोकल्पित अवधारणा । हामी विचारलाई नै मस्तिष्क ठान्छौँ । यसको कुनै भौतिक अस्तित्व छैन भन्ने अवधारणा सिजोफ्रेनियाका बिरामीको मनो–अवस्थासँग मिल्छ । विभ्रम, शंका, मृत्यु, भय, विचार विच्छिन्नता, द्विविधा र दुश्चिन्ता यसका विशेषता हुन् । डिप्रेसनको अवस्थामा हुने मानसिक उथलपुथलहरूका बारेमा प्रख्यात अमेरिकी लेखक विलियम स्टारोनको डार्कनेस भिजिबल कृति पढेको थिएँ । अहिले मलाई सिजोफ्रेनियाको अवस्थाबारे त्यस्तै एउटा कृति लेख्न सकिन्छ कि जस्तो लाग्छ । मानसिक रोगीहरूको आन्तरिक जीवनको जटिलताबारे मलाई राम्रोसँग थाहा छ । हाम्रोजस्तो अविकसित समाजमा मानसिक रोगीहरूलाई ‘अरू’को दर्जामा राखिन्छ । बीसौँ शताब्दीका प्रसिद्ध मनोचिकित्सक आरडी लैंंगले भनेका छन् कि सिजोफ्रेनिक र अध्यात्मिक जिज्ञासुहरू एउटै समूहमा पौडिरहेका हुन्छन् । अध्यात्मिक जिज्ञासाहरू तर्छन् भने सिजोफ्रेनिकहरू डुब्छन् । म पनि डुबेँ । विभाजित मन हुने सिजोफ्रेनियाबाट उपचारपछि सामान्य अवस्थामा फर्कें । सिजोफ्रेनिया भनेको मानिसको मनोवैज्ञानिक अन्त्य नै हो । अहिले कताकता आफ्नो स्व फेला पार्न खोज्दै छु । संसारका धेरै सिर्जनशील व्यक्तित्वहरू यस रोगको सिकार भएका छन् । चित्रकार भ्यानगग र गणितज्ञ जोन फब्स नास यसका उदाहरण हुन् । नासको जीवनीमाथि अ ब्युटीफुल माइन्ड चलचित्र नै बन्यो । उक्त चलचित्र हेरेका दर्शकहरूले सजिलै थाहा पाउन सक्छन् कि सिजोफ्रेनिया के हो र यसले रोगीलाई कस्तो प्रतिकूल अवस्थासम्म पुर्‍याउँछ भनेर । बिरामीपश्चात् पनि अंग्रेजी साहित्यमा एमए गर्ने प्रयत्न गरेँ तर सकिनँ । मेरो स्वभावमध्येमा जिज्ञासु हुनु पनि एक हो । यही जिज्ञासाले गर्दा मलाई दलाई लामा र यूजी कृष्णमूर्ति दुई परस्पर विरोधी व्यक्तित्वहरूले प्रभाव पारे । किताब र दर्शनशास्त्र मेरा कमजोरी हुन् । यही दुईबाट मेरो यात्रा सुरु भयो । तर, अहिलेसम्म रोकिएको छैन । मैले एउटा कविता लेखेको थिएँ, ‘अहम् पहाड हो, चढ्न मात्र सकिन्छ, पुग्न सकिँदैन’ भन्ने यसको सन्देश छ । मैले पनि अहम् पालेको थिएँ । त्यस अहम्मा चढ्न खोजेँ तर पुग्न सकिनँ । रहस्यमय र सपनाजस्तो विम्बवादी कविताहरू मलाई मन पर्छ । भारतका प्रितीश नन्दी र सीताकान्त महापात्रका कविताहरूको म प्रशंसक हुँ भने रसियन, युरोपेली र समकालीन अमेरिकी कविताहरू, जो प्रसिद्ध अमेरिकी पत्रिका न्युयोर्करमा छापिन्छ, तिनीहरूको नियमित पाठक हुँ । 

मेरो मस्तिष्क जोगीको झोलाजस्तो छ । अलिकति साहित्य, अध्यात्म, दर्शन र राजनीतिले भरिएको छ । विविध खाले सन्दर्भ र सूचनाहरूले भरिएको छ । म कुनै एक विषयमा विशिष्ट ज्ञाता हुन सकिनँ । तर, मैले गम्भीरतापूर्वक पढेको भने कृष्णमूर्तिहरू नै हुन् । जे कृष्णमूर्तिका ३० वटाभन्दा बढी किताब पढेको छु भने यूजी कृष्णमूर्तिसँग संगत नै गरेँ । नोम चम्स्कीजस्ता प्रतिष्ठित भाषा वैज्ञानिक र विज्ञानले पनि मलाई प्रभावित गर्छन् । अहिले मसँग एउटा सुन्दर पुस्तकालय छ । त्यही पुस्तकालयमा म समय बिताउने गर्छु । फुर्सदका समयमा दुईवटा राष्ट्रिय पत्रिकाका लागि लेख र पुस्तक समीक्षा लेख्ने गर्छु । सिजोफ्रेनियाको बिरामी भए पनि संसारसँग जोडिन मन लाग्छ । शब्दहरूको गणराज्यमा म यसरी नागरिक भएको छु । यस सन्दर्भमा मलाई सम्झना छ– जब जे कृष्णमूर्ति मृत्युको नजिक पुगेका थिए, अमेरिकाको क्यालिफोर्निया राज्यमा आफ्नो जीवनी लेखिका पपुल जयकरलाई भनेका थिए, ‘पपुल † भरे राती म माथि पहाडको कुहिरोमा हराउनेछु ।’ आज पनि म सिजोफ्रेनियाको बिरामीले ग्रस्त भएर एक्लो जीवन बाँचिरहँदा मसँग बाँच्ने भूगोल यही शब्दको गणराज्य छ, जसको अर्थ र संकेतहरूको अँध्यारो कुहिरोमा म हराइरहेको छु । सायद शरीर संसारबाट बिदा हुनुअघि म शब्दको गणराज्यतिर बरालिँदै हिँडेको भेट्न सकिन्छ । ध

प्रकाशित: माघ २५, २०७४