परनिर्भरताको पराकाष्ठा

  • खाद्यान्न आयातको रफ्तार यही गतिमा अघि बढ्यो भने व्यापार घाटाले मुलुक चल्नै नसक्ने अवस्थामा पुग्ने निश्चित

- माधव बस्नेत

‘कृषिप्रधान मुलुक भए पनि खाद्यान्नमा आत्मनिर्भर हुन सकेका छैनौँ । यो अशोभनीय हो । दुई वर्षभित्र खाद्यान्नमा नेपाललाई आत्मनिर्भर बनाउने अभियानका साथ हामी अघि बढेका छौँ ।’ २८ फागुन ०७२ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले नेपालको कृषि विकासको क्षेत्रमा जापानी सहयोगको ६ दशक विषयक कार्याशालाको उद्घाटन गर्दै बोलेका थिए । संयोग ! तिनै ओली फेरि प्रधानमन्त्री बन्ने तरखरमा छन् । तर, खाद्यान्नलगायत तरकारी र फलफूलको बजारभाउ छोइनसक्नु छ, यतिबेला । 

 

खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, खाने तेल, दूध, दही, आईसक्रिमजस्ता खाद्यवस्तु यति परिमाणमा आयात भइरहेको छ कि यसमा आत्मनिर्भर हुने कुरा गफै मात्र लाग्छ । जस्तो : अहिले पनि भारतको पानी ट्याङ्कीलगायत भन्सार परिसरमा केही दिन यता सयौँ कन्टेनर तथा ट्रकहरूको लाम छ । पश्चिम बंगालको पानी ट्याङ्कीदेखि नक्सलबारीसम्म करिब चार किलोमिटर दूरीमा चार सयभन्दा बढी कन्टेनर तथा ट्रक रोकिएका छन् । तिनमा भारत, चीन, युरोपदेखि मध्य अमेरिकी राष्ट्र निकारागुवासम्मबाट आयात गरिएका तरकारी, फलफूल, चामल, मासुलगायत सामग्री छन् ।

 

वाणिज्य मन्त्रालय मातहतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार बितेको वर्ष सन् २०१७ अर्थात् १७ पुस ०७३ देखि १६ पुस ७४ मा ४० अर्ब १७ करोड रुपियाँको खाद्यान्न (तरकारी, फलफूल र तेलबाहेक) मात्र आयात भएको छ । अर्थात्, कृषि र कृषक बाहुल्य मुलुकमा मासिक ३ अर्ब ३४ करोड ७५ लाख रुपियाँको खाद्यान्न आयात भइरहेको छ । आयात भइरहेका खाद्यान्नमा चामल, मकै, गहुँ, कोदो, जौ आदि प्रमुख छन् । चामल आयातमा मात्रै बर्सेनि २७ अर्ब रुपियाँ खर्च भइरहेको छ । यसमध्ये २३ अर्ब रुपियाँको चामल भारतबाट मात्रै आउँछ । यसबाहेकको परिमाण बंगलादेश, थाइल्यान्ड, अमेरिका, चीन, भियतनाम, दक्षिण कोरिया, फिलिपिन्स र इटालीबाट आयात हुन्छ ।

 

मकैचाहिँ मेक्सिको, अर्जेन्टिना, अन्टिगुवा/बर्मुडाबाट समेत भित्रिरहेको छ । अनाज आयात हुने मुलुक भारत र चीन नै हुन् । यी दुई देशपछि बंगलादेशको हिस्सा छ । सोयाबिन तेलका हकमा चाहिँ भारत, अर्जेन्टिना र अमेरिका मुख्य हुन् । इथियोपिया, जिबौटी, घाना, टोगोजस्ता अफ्रिकी मुलुकहरूदेखि दक्षिण अमेरिकी र युरोपेली मुलुकबाट समेत तेल आयात भइरहेको छ । 

 

खाद्यान्नपछि अर्को महत्त्वपूर्ण आयात तरकारी र फलफूल हो । यो वर्ष मात्र ३४ अर्ब हाराहारीको तरकारी र फलफूल  आयात भएको छ । रोचक त के भने हामीले खाने फलफूलमध्ये स्याउ मात्रै गएको वर्ष करिब पाँच अर्ब रुपियाँको आयात भएको छ, जो सबैभन्दा धेरै चीन र भारतबाट आउँछ । बाँकीचाहिँ श्रीलंकादेखि अमेरिका र इटालीसम्मबाट । 

दोस्रो सर्वाधिक आयात हुने फलफूल हो सुन्तला, जो गर्त वर्ष भारत र थाइल्यान्डबाट करिब एक अर्ब रुपियाँको आयात भएको छ । केरा तेस्रोमा पर्छ, जो करिब ४२ करोडको आयात भएको छ, भारत र चीनबाट । फलफूलको राजा मानिने आँप आयातमा मात्रै हामीले एक वर्षमा ४० करोड रुपियाँ खर्चेका छौँ । यो बंगलादेश, थाइल्यान्ड र भारतबाट आयात भइरहेको छ । 

 

कागतीमा मात्रै मुलुकले करिब २१ करोड रुपियाँ खर्चेको छ । यसको आयातचाहिँ भारतबाटै भइरहेको छ । यसबाहेक भारत र थाइल्यान्डबाट १० करोड रुपियाँको अंगुर किनिएको छ । यसभन्दा बढी अर्थात् १६ करोड रुपियाँ नरिबल आयातमा खर्च भएको छ । चीन, भारत र थाइल्यान्डबाट यसको आयात भइरहेको छ । यसबाहेक अम्बा, वयर, नासपाती र आरूबखडालगायतका फलफूल पनि आयात भइरहेका छन् ।

 

हामीले दिनहुँ खानामा प्रयोग गर्ने प्याज, लसुन आदिमा समेत हामी आत्मनिर्भर छैनौँ । यी तरकारीजन्य सामग्री भारत, चीनबाट आउनु त स्वाभाविकै हो तर मध्य अमेरिकी राष्ट्रबाटसमेत आइरहेको छ । जस्तो : प्याजको आयात निकारागुवाबाट पनि भइरहेको छ । केराउ कोसाचाहिँ अमेरिकी महादेश, युरोप र अस्ट्रेलियासम्मबाट आयात हुने गरेको छ । नेपाली उत्पादनमा अग्रपंक्तिमै रहेको भनिएको र सबैभन्दा बढी प्रोटिन दिने खाद्यान्नका रूपमा चिनिने काबुली चनाको आयातका लागि हामीले एक वर्षमा १ अर्ब १९ करोड रुपियाँ खर्च गरेका छौँ, जसको आयात म्यानमार, इथियोपिया, तान्जेनिया र अमेरिकाबाट भइरहेको छ । खानाका रूपमा उपयोग गरिने विभिन्न किसिमका दालको आयात अफ्रिकाको तान्जानिया, मोजाम्बिक, मदागास्करजस्ता मुलुकबाट भइरहेको छ । 

 

नेपालमा उब्जनी हुने आलु उत्कुष्ट मानिन्छ । तर, त्यही आलुसमेत ठूलो मात्रामा आयात हुनु निराशाजनक छ । बितेको वर्ष ५ अर्ब ३२ करोड रुपियाँभन्दा बढीको आलु भारत, चीन, बंगलादेशबाट मात्र आएको छ । अवस्था कतिसम्म दयनीय भने ४ अर्ब ३५ करोड १९ लाख ७ हजार २ सय ४० रुपियाँको प्याज भारतबाट मात्रै आयात गरिएको छ । ४० करोड रुपियाँको लसुन चीन र भारतबाट आएको छ । 

 

कफी, चिया र अन्य मसलाको आयातका निम्ति हामी वर्षको ७ अर्ब २० करोडभन्दा बढी रुपियाँ खर्च गरिरहेका छौँ । जबकि, चिया, कफी, अदुवा, अलैँची, अमलिसो नेपालबाट निर्यात हुने प्रमुख खाद्य सामग्रीमा सूचीकृत छन् । कतिसम्म भने विश्वभरबाट उत्पादन हुने अलैँचीमा नेपालले करिब तीन चौथाइ हिस्सा ओगट्छ । तर, त्यही अलैँचीसमेत भारत र चीनबाट आयात भइरहेको छ । 

 

रोचक के भने माछा, मासु, फलफूल, तरकारीलगायत दैनिक उपभोग्य सामग्री ठूलो मात्रामा नामै नसुनेका देशबाट आयात भइरहेको छ । जिउँदा जनावरमा १० करोडभन्दा बढी रुपियाँको त घोडा, खच्चड र गधाहरू भित्रिएका छन् । प्रजननका लागि केही संख्यामा भारत, थाइल्यान्डलगायतका देशबाट घरपालुवा जनावरका ब्रिड ल्याइने क्रम स्वाभाविक हो । तर, ठूलो मात्रामा भित्रनुलाई स्वाभाविक मान्न नसकिने विज्ञहरू बताउँछन् । 

 

अवस्था कतिसम्म दयनीय बन्दैछ भने भारतबाट मात्र करिब दुई अर्ब रुपियाँका खसी–बोकाहरू आयात गरिन्छ । रांगा–भैँसीमा मात्र करिब एक अर्ब रुपियाँ बर्सेनि विदेशिइरहेको छ । खसी–बोकाको सानो हिस्सा अस्ट्रेलियाबाट पनि आएको पाइन्छ । भेँडा र बंगुरको ठूलो हिस्सासमेत भारत र चीनबाट आयात हुन्छ । 

 

प्रशोधन वा चिस्यानमा राखिएका (फ्रोजन गरिएका) बुंगुरको मासु भारत र चीनबाहेक थाइल्यान्ड, फ्रान्स, डेनमार्कबाट आयात भइरहेको छ । भेँडाको मासु अस्ट्रेलियाबाट प्रशोधन भएरै आउँछ । हाँसको मासु पनि अस्ट्रेलिया, मलेसिया र थाइल्यान्डबाट आइरहेको छ । 

 

मत्स्य, घोंगी, कीरा–फट्याङ्गाजस्ता जलजीवहरूको आयात मात्र १ अर्ब ३७ करोडमाथिको छ । यस्ता धेरैजसो जलजीवहरू दक्षिणपूर्वी एसियाली देशहरूबाट मात्र होइन, प्रशान्त क्षेत्रका सालमन प्रजातिका माछा दक्षिण अमेरिकी मुलुक चिलीदेखि उत्तरी ध्रुवको देश नर्वे र अमेरिका, क्यानाडाबाट समेत आइरहेका छन् । 

 

दुग्ध र दुग्धजन्य उत्पादनहरू, मह, अन्डाजस्ता खाद्य सामग्री उत्तिकै ठूलो परिमाणमा भित्रिरहेका छन् । प्रशोधित एवं चिल्लोको मात्रा घटाइएका दूध र अन्य उत्पादनहरू युरोपेली मुलुकबाट भित्रिरहेका छन् । यसमा अस्ट्रेलिया, युक्रेनका डेरी उद्योगहरू निकै अघि छन् । अप्रशोधित दूधचाहिँ भारतबाटै बढी आयात भइरहेको छ । 

 

मुलुकमा धानपछि मकै, गहुँको उत्पादन धेरै हुन्छ । तर, त्यही मकै, गहुँ पनि ठूलो स्तरमा आयात गर्नुपर्छ । खास गरी पशुपन्छीको दानाका लागि मकै, आँटाका लागि गहुँ आयात गर्नुपरेको हो । “मुलुक ब्रोइलर कुखुराको मासु र अन्डामा आत्मनिर्भर छ भनिन्छ । तर, कुखुराको दानाका लागि चाहिने मकैजति सबै आयात हुन्छ,” व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अधिकृत मीनबहादुर कुँवर भन्छन्, “खाद्यान्न, माछा, मासु, तरकारी, फलफूल केहीमा पनि आत्मर्निभर हुन सकेको छैन ।” व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका नायव कार्यकारी निर्देशक विमल नेपालका अनुसार आयात प्रत्येक वर्ष बढ्दो छ, जसका कारण व्यापार घाटा उच्च छ । 

 

खाद्यान्न, तरकारी, फलफूल, माछा, मासुमा आयात वृद्धिदर यसरी बढिरहेको छ कि यही मात्रा रहने हो भने व्यापार घाटाले मुलुक चल्नै नसक्ने अवस्थामा पुग्नेछ । नेपालमा परम्परादेखि नै कृषिलाई जीवन निर्वाहको एक प्रमुख पेसाका रूपमा मानिदै आएको छ । मुलुकको करिब दुई तिहाइ जनसंख्या कृषिमा संलग्न रहेका कृषि विकास मन्त्रालयको योजना महाशाखा प्रमुख तथा प्रवक्ता योगेन्द्रकुमार कार्की बताउँछन् । यद्यपि, मुलुकको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २९.३७ र गैरकृषि क्षेत्रको ७०.६३ प्रतिशत छ । यसैबाट पनि प्रस्ट हुन्छ, हाम्रो भान्सामा पाक्ने दैनिक उपभोग्य सामानहरू प्राय: बाहिरबाटै ल्याउनु परिरहेको छ । 

प्रकाशित: माघ २४, २०७४