जलविद्युत् जिल्ला

  • हरेक खोलामा विद्युत् उत्पादन आयोजना

- आश गुरुङ

बेसीसहर (लमजुङ) ।। एक दशकअघि ठूला आयोजना निर्माण सुरु भएको लमजुङमा अहिले नदी र खोलैपिच्छे जलविद्युत् आयोजना बनिरहेका छन् । यस अवधिमा नौवटा जलविद्युत्् आयोजना निर्माण भइसकेका छन् भने आठवटा आयोजना निर्माणाधीन अवस्थामा छन् । सबै परियोजना मिलाएर जडित क्षमता २ सय ४ मेगावाट पुगेको छ । 

 

केही आयोजनाचाहिँ निर्माणको तयारीमा छन् । प्रस्तावित ६ सय मेगावाटको माथिल्लो मस्र्याङ्दी (दोस्रो) निर्माण हुने हो भने जलविद्युत् उत्पादनमा लमजुङ मुलुककै अब्बल जिल्लामा गनिनेछ । अहिले निर्माण भइरहेका ६ वटा आयोजना सम्भवत: आगामी दुई वर्षभित्र सकिँदैछन् । अरू दुईवटा आयोजना तीन वर्षभित्र सम्पन्न हुँदैछन् । मध्यमस्र्याङ्दी र माथिल्लो मस्र्याङ्दी ‘ए’बाहेक अन्य भने साना जलविद्युत् आयोजना हुन् । 

लमजुङलाई जलविद्युत््मा लगानीमैत्री ‘ हाइड्रो मोडेल’ जिल्लाका रूपमा अघि सारिएको छ । जिल्ला समन्वय समिति लमजुङका निर्वाचित प्रमुख, उपप्रमुखसहित पदाधिकारीको पहिलो बैठकले जिल्लालाई ‘हाइड्रो मोडल डिस्ट्रिक’का रूपमा अघि बढाउने निर्णय गरिसकेको छ । यसअघि ०६५ मा प्रमुख राजनीतिक दलहरूले जलविद्युत््मा लगानीमैत्री वातावरण बनाउन एकमत भएर हस्ताक्षर गरेका थिए । गत वर्ष लमजुङ महोत्सवको अवसरमा निजी क्षेत्रका तर्फबाट लमजुङ उद्योग वाणिज्य संघले लगानीमैत्री जिल्ला घोषणा गरेको थियो । अब यसका सूचकहरू निर्माण गरी जलविद्युत््मा नमुना बनाइने समन्वय समितिका नवनिर्वाचत प्रमुख लोकराज पाण्डे बताउँछन् । 

 

विसं ०६५ मा सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको थियो । त्यतिबेला लमजुङमा १० वर्षमा एक हजार मेगावाट विद्युत् उत्पादन गर्ने भन्दै लगानीमैत्री वातावरण निर्माणका लागि सर्वदलीय सहमति भएको थियो । त्यतिबेला नै गरिएको एक अध्ययनले स्थानीय नदीनालाबाट २ हजार ५ सयदेखि ३ हजार मेगावाटसम्म विद्युत् उत्पादन गर्ने क्षमता रहेको देखाएको थियो । 

 

दोर्दीमा मात्रै २० अर्ब 

पछिल्लो समय लगानी आकर्षित भएको दोर्दीखोलामा मात्रै करिब २० अर्ब रुपियाँ खर्च भइरहेको छ । यस खोलामा चारवटा जलविद्युत्् आयोजना निर्माण भइरहेका छन् । त्यसमध्ये एउटाको निर्माण सकिएको छ । 

 

दोर्दीखोलामा माथिल्लो क्षेत्रमा पिपुल्स हाइड्रोपावरले निर्माण गरिरहेको ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत्् आयोजना ‘ख’ ८ अर्ब ७३ करोड रुपियाँमा बनिरहेको छ । यसमा बैंकले ७० प्रतिशत लगानी गर्दैछन् भने बाँकी प्रवद्र्धकले । हिमालयन पावर पार्टनर प्रालिले निर्माण गरिरहेको २७ मेगावाटको दोर्दीखोला जलविद्युत्् आयोजनामा ४ अर्ब २३ करोड ३५ लाख रुपियाँ लगानी हुनेछ । यसमा ७५ प्रतिशत बैंक कर्जा र २५ प्रतिशत प्रवद्र्धकको इक्विटी रहनेछ । यसमा एनआरएन इन्भेस्टमेन्ट लिमिटेडको ५१ र आईएमई गु्रपको ४९ प्रतिशत संस्थापक लगानी छ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडद्वारा निर्माण भइरहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनामा चार अर्ब रुपियाँ लाग्नेछ । ७० प्रतिशत बैंक कर्जा र ३० प्रतिशत प्रवद्र्धकको इक्विटी रहनेछ । 

 

लमजुङ विद्युत् विकास कम्पनी (लेड्को)ले निर्माण थालेको १२ मेगावाटको दोर्दीखोला ‘ ए’ जलविद्युत्् आयोजना १ अर्ब ८६ करोड रुपियाँको लगानीमा निर्माण भइरहेको छ । डेढ वर्षअघि निर्माण सकिएको दुई मेगावाटको छन्दी साना जलविद्युत्् आयोजनामा ४० करोड रुपियाँ लगानी भएको थियो । छ्याङ्दी हाइड्रोपावरले निर्माण गर्ने भनिएको चार मेगावाटको आयोजनामा करिब एक अर्ब रुपियाँ लाग्ने अनुमान छ । 

 

तर, छैन प्रसारण लाइन

उत्पादित विद्युत् खेर जाने भएपछि माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले मध्य मस्र्याङ्दीसम्म १ सय ३२ केभीएको सिंगल सर्किट विद्युत् प्रसारण लाइन आफैँले बनायो । दुई मेगावाटको छन्दी साना जलविद्युत् आयोजनाले पनि आफँै प्रसारण लाइन निर्माण गर्‍यो । सिउरी, राँधी, रुदीलगायतका आयोजनाले पनि आफैँ प्रसारण लाइन निर्माण गरे, गर्दैछन् । जबकि, ०७३ भित्रै १ सय ३२ केभीको दोर्दी करिडोर प्रसारण लाइन निर्माण सक्ने भनिएकामा अहिलेसम्म निर्माण कार्य अघि बढेको छैन । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन निर्माण नगर्दा आयोजनाको निर्माणकार्यमा असर परेको दोर्दीखोला जलविद्युत् आयोजनाका सञ्चालक गुरुप्रसाद ढकाल बताउँछन् ।

 

मस्र्याङ्दी करिडोरमा २ सय २० केभीको प्रसारण लाइनको निर्माण प्रक्रिया अघि बढाइएको छ । तर, सुरु भने भएको छैन । चितवनको आँपटारीस्थित न्यु भरतपुर स्टेसनमा जोड्ने गरी हिमाली जिल्ला मनाङको घेलाञ्चोकबाट लमजुङ–तनहुँ हुँदै १ सय १२ किलोमिटरको प्रसारण लाइन निर्माण हुन लागेको छ । १ हजार ६ सय मेगावाट विद्युत् परिवहन गर्न सक्ने उक्त आयोजना सन् २०२० भित्र निर्माण सक्ने मस्र्याङ्दी करिडोर २ सय २० केभी प्रसारण लाइन आयोजना प्रमुख इन्जिनियर चिन्तनविक्रम राणा बताउँछन् ।  

प्रकाशित: माघ २४, २०७४