कृप्टो करेन्सीमा प्रतिबन्ध

- नेपाल संवाददाता

फेसबुकले अब कृप्टो करेन्सीको प्रचार गर्न नदिने भएको छ । कृप्टो करेन्सी इलेक्ट्रोनिक पैसा हो, जसको कुनै भौतिक आकार हुँदैन । तर, हामीले अहिले प्रयोग गर्ने पैसाको जस्तै यसको पनि महफ्व र मूल्य हुन्छ । बिट्क्वाइन, आईसीओ (इनिसियल क्वाइन अफरिङ) आदि यसका उदाहरण हुन् । 

केही वर्षपछि विश्वकै अर्थतन्त्र कृप्टो करेन्सीमै आधारित रहने हल्लाका कारण धेरैले यसमा लगानी बढाएका छन् । केही वर्षमा कृप्टो करेन्सीको प्रयोग बढेपछि यसको मूल्य पनि बढ्ने भन्दै कयौँ कम्पनीले अहिले नै कृप्टो करेन्सी किन्न प्रचारबाजी गरेका छन्, जसका कारण विश्वभर ठगीका घटना पनि बढेका छन् । त्यसैले थुप्रै देशमा यस्ता कृप्टो करेन्सी प्रतिबन्ध पनि गरिएको छ । नेपालमा पनि कृप्टो करेन्सीमा आधारित जुनसुकै कारोबार प्रतिबन्धित छ । 

फेसबुक पनि कृप्टो करेन्सीको प्रचार गर्ने सबैभन्दा सजिलो माध्यम बनेको थियो । र, फेसबुकमा कृप्टो करेन्सीको प्रचारकै माध्यमबाट ठगी गर्नेहरु पनि उत्तिकै थिए । त्यस कारण फेसबुकले विज्ञापनको नयाँ नीति लागू गरेको छ । यो नियम अनुसार फेसबुक र इन्स्टाग्राममा अबदेखि कुनै किसिमका कृप्टो करेन्सीको प्रचार गर्न पाइने छैन ।

 

प्रकाशित: माघ २४, २०७४