‘अन्डरग्राउन्ड’ हिट

  • युट्युबमा आफ्नो सिर्जना पस्किएर अपत्यारिलो लोकप्रियता चुमिरहेका तन्नेरीहरू

- गोकर्ण गौतम

जावलाखेल मैदानमा कन्सर्ट हुनु नौलो होइन । तर, सन् २०१७ को अन्तिम साँझको कन्सर्ट अविस्मरणीय र अनपेक्षित रह्यो । अरू बेला गायक/गायिकाको स्टेजमा प्रवेश हुँदा वा प्रस्तुति दिँदा दर्शकले हुटिङ गर्थे, रमाउँथे । उक्त कन्सर्टमा चाहिँ रुवावासी नै चल्यो, जब एउटा झ्याप्ले र लिखुरे गायक स्टेजमा उदाए, काँधमा गितार भिरेर । उनले अभिवादन गर्न नपाउँदै सयौँ दर्शकको आवाज एकसाथ गुञ्जायमान भयो । केही युवतीको पागलपनले हद नै नाघ्यो, आयोजकले गायकसँग नभेटाई धरै पाएनन् । यी दृश्य युट्युबमा अपलोड भए र लाखौँ भ्युज बटुले । यति विघ्न क्रेज भएका ती गायक थिए, स्वप्न सुमन । नयाँ पुस्तामाझ उनको लोकप्रियता कुन तहको छ भन्ने उक्त कन्सर्टले झल्को दिएको छ । स्वप्न उनै गायक हुन्, जो एयरपोर्टमा छिर्न लाग्दै केटी फ्यानहरूले भेट्न मरिहत्ते गरेको भिडियो नेपालको युट्युब ट्रेन्डिङको अग्रस्थानमा आएको थियो, वर्ष दिनअगाडि । खासमा त्यही बेला नै हो, उनी अलि ठूलो समूहको नजरमा परेको । 

रेशम फिलिलीको ‘जालमा...’ भाइरल हुनासाथ कार्टुन्ज क्रु नामक डान्स ग्रुपले ‘वान टेक’ कभर भिडियो सार्वजनिक गर्‍यो । समूहको पहिलो औपचारिक भिडियो थियो । र पनि, गीतजस्तै भिडियो औधि रुचाइयो । यही समूहको ‘फन्टास्टिक...’ कभर भिडियोले उस्तै चर्चा पायो । दुवै भिडियोको निर्देशन गरेका थिए, सविन कार्कीले । भिडियोमा चस्मा लगाउँदै नाच्ने पनि सविन नै हुन् । कार्टुन्ज क्रु स्थापित भएपछि सविन समूहबाट बाहिरिए । ११ महिनापछि ‘भाइरल भइदियो...’ गीतमार्फत देखापरे । नभन्दै यो गीत नामजस्तै भाइरल नै भयो । युट्युबमा एक करोड भ्युज नाघिसकेको छ । तर, सविनको प्रसिद्धिको कारण डान्स मात्र होइन । युट्युबमा उनले अपलोड गर्ने कमेडी स्किट्स (छोटा भिडियो) को लोकप्रियता अझ लोभलाग्दो छ । जुन भिडियो आयो, युट्युब ट्रेन्डिङमा एक वा दुई नम्बरमा पुगेकै हुन्छ । सम्भवत: यो समयको सबैभन्दा चर्चित नेपाली युट्युब स्टार हुन् उनी, जसलाई स्टेज सोमा पनि भ्याइनभ्याइ हुन्छ ।

६ महिनाअघिसम्म र्‍यापर समीर घिसिङ उर्फ भिटेनले देशबाहिर जम्मा एक ठाउँमा कन्सर्ट गरेका थिए, त्यो पनि धेरै टाढा होइन, सिक्किममा । फेसबुकमा जम्माजम्मी दुई हजार ‘फलोअर्स’ थिए । युट्युब च्यानल त भर्खरै खोलेका थिए । तर, यसबीचमा उनको व्यस्तता साँच्चै उल्लेखनीय छ । उनी आफँै छक्क पर्दा रहेछन् । नपरून् पनि कसरी, यति छोटो समयमा कन्सर्टकै लागि अस्ट्रेलिया, बेलायत, दक्षिण कोरिया र दुबई पुगे । सिक्किम त तीनपटक पुगिसके । फेसबुकमा मात्र ४० हजारले पछ्याएका छन् । उनी आफैँले मोडलिङ गरेको ‘मान्छे खत्तम...’ म्युजिक भिडियो युट्युबमा २५ लाखपटक हेरिएको छ । व्यस्ततासँगै कमाइ बढ्ने भइहाल्यो । उनको क्रेजलाई नजिकबाट नियाल्नेहरू भन्छन्, नेपाली र्‍यापका ‘नयाँ युवराज’ हुन् उनी ।

स्वप्न सुमन, सविन र भिटेनले कहिल्यै आमसञ्चारका परम्परागत माध्यम र तौरतरिका पछ्याएनन् । न आफ्नो सिर्जना बजाइदिन रेडियो/टेलिभिजन स्टेसन धाए । यी तन्नेरीको क्षमता पोख्ने साझा चौतारी बन्यो, युट्युब । नि:शुल्क र सहज पहुँच मात्र होइन, कसैको सिफारिस र आशीर्वाद पनि नचाहिने । र, युट्युब यस्तो ‘प्लेटफर्म’ हो, जहाँ स्वादिलो खुराक छ भने हिट हुन समय लाग्दैन ।

निश्चित उमेर समूहमै किन नहोस् ? जस्तो : यहाँ प्रयुक्त तीन कलाकारहरू युवा पुस्तामाझ औधि प्यारा छन् । आ–आफ्नो क्षेत्रमा ख्याति चुमिरहेका छन् । जबकि, सामाजिक सञ्जालबाट टाढा रहने वा नयाँ पुस्ताका गतिविधिलाई महत्त्व नदिनेका लागि उनीहरू बिलकुलै अपरिचित हुन सक्छन् । तर, भित्रभित्रै आफ्नो समूहमा पकड दरिलो भइसकेको छ । यही गुणले त उनीहरूलाई ‘स्लिपर हिट’को कोटिमा राख्न थालिएको छ । जो नवीन माध्यम, शैली र सिर्जनामार्फत छिट्टै तर उल्लेखनीय उपलब्धि चुमिरहेका छन् । तन्नेरीहरूलाई मनोरञ्जन मात्र दिएका छैनन्, ऊर्जा र आत्मविश्वास पनि प्रवाह गरिरहेका छन् । 

स्वरले भुतुक्कै 

स्वप्न सुमन बच्चैदेखि गीत गाउन हुरुक्कै हुन्थे । तर, गायक नै बन्छु भन्ने योजना थिएन । धरानको सैनिक आवासीय महाविद्यालयबाट एसएलसी पास गरेपछि लहलहैमा गितार सिके । संगीतको चस्का अझ गहिरो भइदियो । पुराना कर्णप्रिय गीतहरू गुनगुनाउन थाले । पुरानो मोबाइल थियो, त्यसकै क्यामेरा ‘अन’ गरेर अगाडि बस्थे र गितार बजाउँदै गाउँथे । त्यही होम भिडियो युट्युबमा राख्न थाले । स्वप्न सुमन भन्छन्, “भिडियोको क्वालिटी राम्रो हुन्नथ्यो । तैपनि, अरूबाट मेरो स्वरको प्रतिक्रिया पाउँथेँ । अपलोड गर्थें ।” बिस्तारै उनका कभर सङ रुचाइन थालियो । त्यही बेला एउटा कम्पनीले उनका कभर गीतलाई व्यवस्थित ढंगले खिचेर युट्युबमा राखिदिने प्रस्ताव राख्यो । उनले नकार्ने कुरै थिएन । यहीबाट उनको युट्युब यात्राले औपचारिकता पायो । पहिलो एकल गीत ‘के सारो राम्रो...’ सार्वजनिक भएपछि त उनको लोकप्रियता फराकिलो भयो । 

स्वर त सुमधुर छ नै, अझ तन्नेरीवयले आत्मसात् गर्ने शब्द चयनले स्वप्न सुमनलाई धेरैको ढुकढुकी बनाएको छ । हरेक गीतमा एउटा बेग्लै प्रेमिल संसार निर्माण गर्ने प्रयास हुन्छ उनको । कन्सर्टका लागि देशका विभिन्न सहरमा पुगिरहेका यी गायक भन्छन्, “गीत लेख्दा मेरो जीवनमा भएको घटनाबाट प्रेरित हुन्छु । आफ्नो भावना इमानदार भएर पोख्छु । त्यसैले गीतमा मेरा उमेर समूहका साथीहरूले आफूलाई पाउँछन् ।” सायद यही कारण हुनुपर्छ, ‘कसरी भनुँ...’को लिरिकल भिडियोले युट्युबमा ९३ लाख भ्युज बटुलेको छ । ‘कुनै दिन...’, ‘म तिम्रो...’जस्ता सोलो ट्रयाक उत्तिकै हिट छन् । युट्युबमा ‘म तिम्रो...’को मुन्तिर पुकार श्रेष्ठले लेखेका छन्, “मुटु छुने गीत । कल्पनाको नयाँ संसारमा हराएजस्तै महसुस भयो ।” ‘मोहनी लाग्ला है...’, ‘छिटको गुन्यु...’, ‘ए कान्छा ठट्टै...’मा लगायतका कभर सङ पनि उनको प्रसिद्धिका लागि सहायक बनेका छन् । 

विगत एक वर्षयता स्वप्न सुमन च्यानल आर्बिटरीसँग अनुबन्ध भएका छन् । यही कम्पनीले उनका लागि भिडियो प्रोडक्सन टिम खडा गरेको छ । कन्सर्टहरूको आफू ‘डिल’ गर्दैनन् । सबै कम्पनीले हेर्छ । उनी केवल गायनमा केन्द्रित हुन्छन् । वाह † करिअरको सुरुआतमै यस्तो व्यावसायिक शैली ।

फ्यानको सामीप्य पनि उल्लेखनीय छ । भन्छन्, “मेरो गीत रुचाउने फ्यान होइनन्, परिवारका सदस्य हुन् । जसले मलाई आत्मीयता दिलाउँछन् ।” कसैले उनका लागि गीत लेखेर पठाउँछन्, कसैले गिफ्ट । अचेल त आफ्नो पेन्टिङ आफैँले उपहार पाउन थालेका छन् । चकलेटी लुक्सका धनी यी गायक भन्छन्, “देख्दा सामान्य लाग्ने यस्ता कुराले मलाई प्रोत्साहन दिन्छ । त्यसैले हरेक दिन राम्रो गर्ने प्रयास गरिरहेको छु । मलाई संगीतले चिनायो, त्यसैले सबैभन्दा बढी संगीतलाई सम्मान गर्छु ।” 

युट्युबका इन्टरटेनर

सविनको उद्देश्य एउटै छ, जसरी भए पनि अरूको मुहारमा मुस्कान ल्याउने । स्कुल जीवनबाटै सुरु भएको यो स्वभावलाई उनले अहिले युट्युबका माध्यमबाट व्यावसायिकतामा बदलिरहेका छन् । कहिले नाच्छन्, कहिले विभिन्न हास्य अभिनय गर्छन् । नाच्न र कोरियोग्राफी गर्न युट्युबबाटै सिकेका हुन् । हँसाउने कलाचाहिँ एक्लै हुँदा सोच्छन् र नोट गरिहाल्छन् । भन्छन्, “मलाई डान्स र कमेडीलाई मिसाउन मन लाग्छ । त्यसमा नेपालीपन घुसाउन सकियो भने त झन् मज्जा ।” उनको सफलताको कारण पनि यही हो । उनका डान्स स्टेप फरक तर सरल हुन्छ, जो कोहीले पकड्न सक्ने । कमेडी भिडियोमा हाम्रै वरपरका घटनामाथि व्यंग्य गरिरहेका छन् । 

जस्तो : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखैमा भोटका लागि उम्मेदवारले गर्ने अनेक हर्कतमाथि मजाक गर्दै भिडियो बनाए । कहिले बिदा भएपछि दंग हुने विद्यार्थीको मनोविज्ञान ठट्यौली शैलीमा उतार्छन्, कहिले फरक फुटबल क्लबका फ्यानहरूबीचको घम्साघम्सीलाई । यसरी बनाइएका हरेक भिडियो ट्रेन्डिङमा देखा परिहाल्छन् । भिडियो खिच्नेदेखि सम्पादन र कलरिङसम्म आफैँ भ्याउँछन् । उनका दुई युट्युब च्यानल छन्, दुवै भेरिफाइड । २ लाख ११ हजार सब्सक्राइबर रहेको च्यानल ‘बिस्ट अफिसियल’मा डान्स भिडियो अपलोड गर्छन्

 भने १ लाख ६८ हजार सब्सक्राइबर रहेको ‘सविन कार्की–बिस्ट’मा कमेडी । ‘बिस्ट’ उनको स्टेज नाम हो । स्ट्यान्ड–अप कमेडी उनको सोख हो । कार्टुन्ज क्रुलाई स्थापित गरेको जस पाएका सविन भन्छन्, “फरक शैलीले आफ्नो क्षमता देखाउने हो भने डान्स र कमेडीमा अरू धेरै प्रतिभाका लागि ठूलो सम्भावना छ ।”

र्‍यापका नयाँ सितारा 

रौतहटको गरिब परिवारमा हुर्किएका भिटेनले उचित शिक्षादीक्षा पाएनन् । बच्चैबाट अभावको सामना गर्नुपर्‍यो । ती पलहरू सम्झँदा अझ पनि मनमा खिल रोपेजस्तो हुन्छ । तर, त्यसलाई स्वीकार्नुको विकल्प थिएन । बरू, त्यसबेलाका कष्टकर भोगाइलाई शब्दमा उतारे । अनि, आफैँले आफ्नै मर्जी अनुरूप निस्फिक्री गाए ‘गरिब...’ । गीत रेकर्ड भएर जब श्रोतामाझ पुग्यो, शब्द र गायकीले तानिहाल्यो । अर्थात्, पहिलो गीतबाटै हल्का नै सही ‘मार्क’ भए । जतिबेला १५ वर्ष टेक्दै थिए, नयाँ पिढीको धड्कन मानिएका यी र्‍यापर भन्छन्, “मेरो आफ्नै भोगाइ पोखिएकाले धेरैलाई आफ्नै भावनाजस्तो लागेछ । किनभने, गरिबी त हाम्रो साझा समस्या हो ।” त्यसो त यो गीत मात्र होइन, उनका हरेक गीतमा गहन अर्थ लुकेको हुन्छ । 

मार्मिक शब्द त भइहाल्यो, फरक र ऊर्जाशील गायकी शैलीले भिटेनको साख अझ बढाएको छ । जस्तो : आक्रोश पोखिएको शब्द छ भने ठूलो आवाज निकाल्छन् । पीडा छ भने मलिन स्वर । प्रेमभाव पोख्दा स्वर सुमधुर बनाउने प्रयास गर्छन् । उनी अनुभव बोल्छन्, “यसो गर्दा गीतले जीवन्तता पाउने र दर्शक/श्रोतालाई छिट्टै इन्गेज गर्छ ।” स्टेज प्रस्तुति–शैली पनि अन्य र्‍यापरभन्दा भिन्न हुन्छ । सकेसम्म क्याजुअल पहिरनमा निकै सहज ढंगले स्टेजमा देखा पर्छन् । उनको बुझाइमा र्‍यापरमा लुक्स, प्रस्तुति–शैली, हाउभाउदेखि शब्दको भाव अनुरूप उच्चारण गर्न सक्ने क्षमता हुनुपर्छ । होइन भने त टिक्नै मुस्किल हुन्छ । उनलाई पनि सुरु–सुरुमा र्‍याप गाएर जीवन चल्ला भन्ने भरोसा थिएन रे ! उत्साही हुँदै सुनाउँछन्, “तर, अहिले कन्सर्टबाटै मनग्ये आम्दानी हुँदोरहेछ । आफ्नो सिर्जना र व्यवहारचाहिँ अब्बल हुनैपर्छ ।”

अंग्रेजी र्‍याप इमिनेमको जबर्जस्त फ्यान हुन् उनी । हातमा ‘डी–१२’ ट्याटु खोपाएका छन् । त्यो इमिनेमको क्रिउ नाम हो । त्यस्तै, अर्को हातमा इमिनेमकै एल्बम ब्याड मिट्स इभिलको ट्याटु छ । कानमा समेत ट्याटु खोपेका छन् । यम बुद्धको अवसान र भिटेनको उदय करिब–करिब एकै समयमा भयो । सोही कारण कतिपयले उनलाई यम बुद्धसँग तुलना गर्छन्, जुन उनी आफैँलाई असहज लाग्छ । अन्डरग्राउन्ड फ्रि स्टाइल र्‍याप ब्याटल हुँदै व्यावसायिक र्‍याप गायनमा फड्को मारेका भिटेन भन्छन्, “यम दाइसँग मेरो मात्र होइन, कसैको तुलना हुँदैन । फेरि उहाँ र मेरो शैली नै भिन्न छ ।” कन्सर्टमा उनका ‘मान्छे खत्तम...’, ‘लाउरेको फेसन...’, ‘चुरोट...’, ‘बैनी...’जस्ता गीतको धेरै माग हुन्छ । उस्तै परे, माहौल अनुरूप फ्रि–स्टाइल र्‍याप गाइदिन्छन् । कन्सर्टदेखि गीतहरूको उत्पादन हेर्नका लागि म्यानेजर राखेका छन् । हरेक गीतमा भिन्न शैली र स्वाद पस्कने प्रयास हुन्छ । क्यानडा र जापानको सोको तयारीमा रहेका यी र्‍यापर भन्छन्, “यात्रा भर्खरै सुरु भएको छ । गर्न धेरै बाँकी छ । र्‍यापलाई सम्मानित गराउनु मेरो भित्री उद्देश्य हो ।” 

(तस्विरमा क्रमश: स्वप्न सुमन, सविन कार्की र भिटेन ।)

प्रकाशित: माघ २३, २०७४