गुगलको क्लिप्स

- नेपाल संवाददाता

गुगलले नयाँ क्यामेरा बजारमा ल्याएको छ । यस क्यामेरालाई क्लिप्स नाम दिइएको छ । र, यसको मूल्य २ सय ४९ डलर तोकिएको छ ।

क्लिप्स यस्तो स्मार्ट क्यामेरा हो, जसले फोटो कति बेला खिच्ने भनेर आफैँ निर्णय गर्छ । यो स्मार्टफोन आर्टिफिसियल इन्टेलिजेन्समा आधारित रहेका कारण फोटो खिच्नका लागि यसले विशेष पलका लागि पर्खने गर्छ । क्लिप्स निकै सानो आकारको क्यामेरा हो । त्यसैले यसलाई जहाँ पनि अड्याउन वा झुन्ड्याउन सकिन्छ । यसको आकार मात्रै दुई/दुई इन्चको छ ।

एकपटक चार्ज गरेपछि यो तीन घन्टासम्म चल्छ । र, अन गरिसकेपछि विशेष पलको फोटो खिच्न यो तयार रहन्छ । यसबाट भिडियो पनि रेकर्ड गर्न मिल्छ । यसमा आफ्नै मेमोरी पनि हुन्छ । जुन १६ जीबी क्षमताको हुन्छ । तर, यसमा कुनै किसिमको डिस्प्ले भने छैन । त्यसैले यसले खिचेका फोटो र भिडियो हेर्नका लागि छुट्टै डिभाइस जस्तै स्मार्टफोनको प्रयोग गर्नुपर्छ । गुगलका अनुसार यसलाई गुगल, सामसुङ, आईफोनलगायत अन्य थुप्रै स्मार्टफोनसँग जोडेर यसले खिचेका फोटो र भिडियो

हेर्न सकिन्छ ।

प्रकाशित: माघ २३, २०७४