सत्यजीतको उचाइ

- राजेन्द्र पराजुली

शारीरिक रूपमा ६ फिट ४ इन्च उचाइ भएका सत्यजीत रायका सिर्जनाहरू पनि उस्तै उचाइ छुन सफल छन् भन्ने कुरामा सायदै कसैको विमति होला । बहुमुखी प्रतिभाले ओतप्रोत यी बंगाली (जन्मथलो– कलकत्ता) पुरुषलाई थुप्रै विशेषणले सुशोभित गरेर परख्न सकिन्छ । चलचित्रकर्मी, चलचित्र समीक्षक, आख्यानकार, प्रकाशक, संगीतकार, इलुस्ट्रेटरलगायतका सिर्जनात्मक विशेषण यिनका नामका अघिल्तिर प्रयोग गर्न सकिन्छ, प्रयोग हुँदै आएको छ । यद्यपि, यिनको अन्य व्यक्तित्वलाई सफल चलचित्रकर्मले केही थिचिदिएको भान हुन्छ । तर, यिनका साहित्य पनि उत्तिकै उचाइ छुन सक्षम छन् । रायको पहिलो चलचित्र पाथेर पाञ्चाली (सन् १९५५) विभिन्न ११ वटा अन्तर्राष्ट्रिय पुरस्कार हात पार्न सफल भएको थियो । 

यसरी बहुविधामा उत्कृष्टता हासिल गर्न सफल व्यक्तिको सिर्जनालाई अनुवाद गर्नु एउटा जोखिमपूर्ण काममा हात हाल्नुसरह नै हो । नेपाली पाठकले रायका कथा अंग्रेजी, हिन्दीलगायत अन्य भाषामा पढिसकेका छन् । बहुपठित कथाको अनुवाद झनै जोखिमपूर्ण हुन्छ । सामान्य गल्ती पनि पाठकले थाहा पाइहाल्छन् । सत्यजीत रायका कथा शीर्षकको कथासंग्रहमा राखिएका २३ ओटा कथामध्ये अधिकांशमा प्रथम पुरुष शैली अपनाइएको छ । अर्थात्, कथाको प्रोटागोनिस्ट ‘म’ पात्र छ । संसारभरि नै यो शैलीमा कथा लेखन जमेको छ । अन्य सहायक चरित्रमा उनले प्राय: बंगाली समाजका पात्रलाई टपक्कै टिपेका छन् । पहिलो कथा (नीलको खेती)कै चर्चा गर्ने हो भने पनि यसले पाठकमा अनौठो कौतूहल उत्पन्न गरिदिन्छ । अनौठो चिजको खोजमा मान्छेको चासो रहने कुरा यस कथाले पुष्टि गर्छ । यसमा उनले एउटा लेखकलाई प्रोटागोनिस्टका रूपमा उभ्याइदिएका छन् । लेखक अनिरुद्ध बोस उसको एउटा साथीको आग्रहमा आफ्नो थातथलोबाट दुई सय माइल टाढा पर्ने दुमका भन्ने स्थानतिर जान आफ्नै कार चलाएर निस्कन्छ । यही यात्राका क्रममा रायले पाठकलाई बाँधिराख्न चमत्कारी शैली प्रयोग गरेका छन् । यो कथा यात्रा गन्तव्यमा नपुग्दै अर्थात् दुमका पुगेर मित्रमिलन नहुँदै टुंगिन्छ ।

वर्णनात्मक ढंगमा सुरु भएको यो कथाले पाठकमा संशय, कौतूहल, भय तथा खुलदुलीले लपेट्दै अन्त्यसम्म आँखा नझिम्काई पढ्न मीठो बाध्यता खडा गरिदिन्छ । बाटोमा कारको टायर दुईपटक पन्चर हुनु, आँधीबेहरी चल्नु, बाटो भुल्नुजस्ता घटनाले पाठक कथासँगै यात्रारत त हुन पुग्छन् नै, साथमा त्यस घटनाको साक्षी बसेको महसुससमेत गर्छन् । रायले यो (अन्यमा पनि) कथामा चलचित्रको पटकथा शैली अपनाउँदै पाठकका आँखामा प्रोटागोनिस्टले भोगेको वा देखेको दृश्य देखाइदिन सफल भएका छन् । 

त्यति मात्र कहाँ हो र ! उनी दुमका नपुग्दै अन्य थुप्रै घटनाको सामना गर्न बाध्य हुन्छन् । रात बिताउन हठात् उपलब्ध घरको बयान यसरी गरेका छन् कि त्यसले पाठकका मनमा एउटा संशय र भय उत्पन्न गरिदिन्छ । झ्याल ढोका सबै लगाइएको छ तर कोठाको वातावरण अनायास बदलिन्छ, घर कुर्न बसेको चौकीदार अचानक बेपत्ता भइदिन्छ, नाडीघडी, टर्च तथा सुटकेस नै गायब हुन्छ । प्रोटागोनिस्टलाई आफू नै आफू नरहेको भान पर्छ । कोठामा जे थिए, त्यो उनले लगेका थिएनन् र जे थिएन, त्यो उनले लिएर गएका थिए । अब यस्तो परिस्थितिमा पाठकका आँखा विस्फारित त हुन्छ नै, मनभित्र कताकता एक प्रकारको भय र संशयसमेत पैदा हुन पुग्छ । यो कथा अन्त्य हुँदा पाठकले लामो स्वास तान्ने छन् र भन्ने छन्, ‘कथा अझै लम्ब्याएको भए हुने नि !’

उनका २३ ओटै कथाले पाठकमा गज्जबको खुलदुली मच्चाइदिन्छन् । बीसाँै शताब्दीको पश्चिम बंगालको धर्म–संस्कृति, मान्छेका रहनसहन, स्थानीयता, विभेदकारी सोच, गरिबीमाथिको थिचोमिचोजस्ता कुरालाई पनि रायले बडो कलात्मक ढंगमा कथामा उतारेका छन् । हरेक कथाले केही न केही सन्देश प्रदान गरेका छन् । यही सन्देशात्मक तथा मान्छेलाई सजग बनाउन सक्ने घटनालाई उनले कथामा प्राथमिकताका साथ उतारेका कारण पनि रायका यी कथाहरूलाई ‘बालकथा’ भनिएको हुनुपर्छ । त्यति मात्र होइन, कतिपय कथामा प्रयुक्त मायावी र तिलस्मी चरित्र, स्वैरकल्पना, शिक्षाप्रद सन्दर्भका कारण पनि यिनलाई बालकथा भनिएको हुनुपर्छ । तर, वास्तवमा यी बालकथा होइनन् । उनले कुनै उमेर समूहका निम्ति यी कथा लेखेका थिए भने त्यो किशोर वयका लागि दृष्टिगत गरेका थिए । समग्रमा भन्दा यी कथा सबै खाले उमेरका पाठकका लागि रुचिकर छ । किनभने, अधिकांश कथामा बदलिँदो समाजको चित्र भेटिन्छ । मान्छेका मनोदशा, तीव्र अर्थात् समयजस्तै छिटोछिटो परिवर्तन हुने मनलाई उनले राम्ररी केलाएका छन् । 

कतिपय मान्छेका चरित्र असामान्य हुन्छन् । तिनले आफ्ना स्वभावगत जटिलता पनि भित्रभित्रै हुर्काइरहेका हुन्छन् । तिनमा निहित ईष्र्या, कुण्ठा, प्रतिशोध, क्षमाशीलता, उच्चताभास तथा लघुताभासलगायतका सन्दर्भलाई उनले मिहिन तथा कलात्मक ढंगले केलाएका छन् । कुनै–कुनै ठाउँमा प्रोटागोनिस्ट उपदेशकजस्तो पनि देखिन्छ । तर, ती कोरा उपदेश लाग्दैनन् । समाजमा ठूलो हिस्सा ओगटेको जमात क्रमश: स्वार्थी बन्दै गएको छ, त्यो भीडलाई उनी गज्जबले व्यंग्य गर्छन् । 

‘खगम’ संग्रहको दोस्रो कथा हो, यसमा उनले अहिलेका मान्छेमाथि व्यंग्य कस्दै भनेका छन्, ‘त्यो सबैतिर मोतीमय बुट्टा भएको भर्खरै काँचुली झिकिएको छाला थियो । तर, के त्यो साँच्चै सर्पकै छाला हो ? सर्प कहिल्यै त्यति चौडा हुँदैनथ्यो । अनि, सर्पको शरीरबाट बाहिर निस्केका हातखुट्टा पनि हुँदैनथे । त्यो त साँच्चै मानिसको शरीरबाट काडिएको छाला थियो । त्यो मानिसको छाला, जो मानिस हुन छाडेको थियो । ऊ अहिले गुँडुलिएर दुलामा पल्टिरहेको थियो । ऊ विषाक्त दाँत भएको गोमन सर्प थियो ।’ अहिलेका मान्छेमाथि गरिएको यसभन्दा सटीक व्यंग्य अर्को के हुन सक्ला र † त्यसैगरी संग्रहको अठाराँै कथा ‘शसमल महोदयको अनौठो रात’ शीर्षकको कथामा प्रयुक्त एउटा वाक्य हामीले अहिले भोगिरहेको यथार्थसँग ठ्याक्कै मेल खान्छ । ‘म आज जिउँदै भएको विशुद्ध संयोगले मात्र हो,’ कथामा एउटा पात्रले भनेको छ । 

पछिल्लो समय कथा (साहित्यका अन्य विधा पनि) सीधा विषयमा प्रवेश गर्दै पाठकलाई झट्का दिन सक्ने हुँदा मात्र बजारले पत्याउने अवस्था पैदा भएको छ । वर्णनात्मकतालाई उति विधि रुचाउन छाडिएको हो कि भन्ने आभास पनि हुन थालेको छ । तर, यी भनेका कथा भन्ने शैली मात्र हुन्, महत्त्वपूर्ण कुरा त कथालाई भन्ने तरिका नै हो । हुन त २३ ओटै रचना कथा नै हुन् तर रायको मस्तिष्क बढी मात्रामा चलचित्रतर्फ केन्द्रित रहेको हुनाले यी कथा पनि दृश्यप्रधान र वर्णनात्मक हुन पुगेका छन् । अक्षरमा दृश्य उतार्न खप्पिस यी कथाकारका कथाहरूबारे जति चर्चा हुनुपर्ने हो, त्यति भने भएको पाइँदैन । तथापि, पहिलो चलचित्र नै सुपरहिट बनाएका रायका यी कथा उनका सिनेमाका अघिल्तिर निम्छरा देखिन पनि सक्छन् ।

नेपाली साहित्यलाई थुप्रै सिर्जना तथा अनुवाद कृति उपहार दिएर गुन लगाउँदै आएका लेखक खगेन्द्र संग्रौलाले रायका केही कथाको नेपालीमा अनुवाद गरिदिएर बीसौँ शताब्दीको भारतीय आख्यानको स्वाद लिने मौका पाठकलाई जुराइदिएका छन् । रायका कथा वर्तमान पुस्ताका पाठकका निम्ति रुचिकर होला या नहोला ठोकुवा गर्न सहज छैन । तथापि, भारतमा कथालेखनको परम्परालाई रायका यी कथाले प्रतिनिधित्व अवश्य पनि गर्छन् ।  

संग्रौला स्वयंमा कुशल लेखक त हुन् नै, साथमा उनले सधैँ सत्तालाई औँला ठड्याउँदै प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएका छन् । झर्रो नेपाली मौलिक भाषा–शैलीका प्रयोक्ता उनको लेखनी टाढैबाट चिन्न सकिन्छ । कतिपय सवालमा संग्रौला र रायका विचार मेल खान्छन् । कम्तीमा पनि यी दुवै लेखकले ‘भुइँमान्छे’को गरिबी तथा अभावको खिल्ली कहिल्यै उडाएका छैनन्, तिनका पक्षमा बोलिरहेका छन्, कलात्मक ढंगमा आवाज उठाइरहेका छन् ।

रायका कतिपय कथामा ‘सस्पेन्स’ भेटिन्छ । एउटा चलचित्र निर्देशकले ‘दर्शकलाई सिनेमाको अन्तिम दृश्यसम्म टिकाइराख्न’ सस्पेन्सको सहारा लिनु अन्यथा होइन । हरर, सस्पेन्स, कताकता म्याजिकल रियालिज्मलाई पनि उनले आत्मसात् गरेको देखिन्छ । उनका अधिकांश कथाले पाठकलाई अन्तिमसम्म तानिरहन्छन् र यसरी पाठकलाई तान्न उनले विभिन्न उपाय लगाएका छन् । रायले आफ्ना कतिपय कथामा एडभेन्चर शैली पनि अपनाएको देखिन्छ । यति हुँदाहुँदै पनि उनले कथामा उपस्थित गराउने मूल पात्रलगायत अन्य चरित्र जिउँदाजाग्दा हुन्छन् । ती पात्रलाई उनले आफ्ना कथामा यसरी टपक्क टिप्छन् कि पाठकलाई तिनको चरित्र आफूले सधैँ देखिरहेको वा संगत गरिरहेको व्यक्तिजस्तै लाग्छ ।

रायका कथाबारे अब यो बेला आएर कुनै खोट खोज्नु आवश्यक छैन । अब उनका अधिकांश सिर्जना ‘क्लासिक’ भइसकेका छन्, विश्वसम्पत्ति भइसकेका छन् । उनका कथालाई नेपाली भाषा (अंग्रेजीबाट)मा अनुवाद गर्दा त्यसको स्वादमा पर्न गएको तलवितलबारे नै चर्चा गरिनुपर्छ । 

कतिपय कथामा हिज्जेगत भाषिक त्रुटि भेटिन्छन् । कतिपय वाक्यको गठन अलि मिलेका छैनन् भने कतिपय ठाउँमा चन्द्रविन्दुको प्रयोगसमेत सही छैन । यिनलाई झिनामसिना त्रुटि मात्र मान्नुपर्छ । समग्रमा संग्रौलाको कुशल अनुवादकारिता यस पुस्तकमा पनि प्रतिविम्बित छ । अन्त्यमा, छिमेकी भारत तथा अन्य मुलुकका साहित्य बेलाबखत नेपालीमा अनूदित भएर आउने क्रम जारी नै छ तर नेपाली साहित्यलाई त्यसरी नै अन्य मुलुकका भाषामा अनुवाद गर्ने काम भने निकै कम मात्रै हुन सकेको छ । यस्तो काम संग्रौलाजस्ता सिद्धहस्त लेखक तथा अनुवादकको अगुवाइमा र अचेल बग्रेल्ती खुलेका प्रकाशकले त्यस कर्ममा सघाउ पुर्‍याउन सके उत्तम हुन्थ्यो । उत्कृष्ट नेपाली साहित्यको स्तरीय अनुवादले अन्य मुलुकका पाठकलाई प्रभाव पार्न सक्ने उपयुक्त समय अहिले नै हो । 

सत्यजीत रायका कथा

अनुवादक : खगेन्द्र संग्रौला

प्रकाशक : रेडइन्क बुक्स

पृष्ठ : २७२

मूल्य : ३५० रुपियाँ 

प्रकाशित: माघ २२, २०७४