सक्कलबमोजिम नक्कल

  • नियमित नेपाली फिल्मका दर्शकलाई शेरबहादुर नयाँ स्वादको लाग्छ । तर, विदेशी थ्रिलर हेर्नेलाई रिझाउन सक्दैन ।

- गोकर्ण गौतम

निर्माणको आधा शताब्दी पार गरिसक्दा नेपाली फिल्मले विधागत रूपमा छिपछिपे प्रगति पनि हासिल गर्न सकेको छैन । केही वर्षयता मौलिकताको सुगन्ध घनीभूत हुँदै गए पनि अधिकांश फिल्म सूत्रमै अल्झिएका छन्– गीत, फाइट, डान्स, रोनाधोना र रोमान्सको । नयाँ निर्देशकको आगमन बाक्लिएसँगै भिन्न विधाका फिल्महरू आक्कलझुक्कल देखा पर्न थालेका छन् । थ्रिलर जनराको शेरबहादुरलाई त्यही शृंखलाको उपलब्धि मान्न सकिन्छ । हामीकहाँ यस विधाका फिल्म असाध्यै कम बन्ने गर्छन् । त्यसैले शेरबहादुरको निर्माण आफैँमा सुखद हो । तर, मन खल्लो हुने तथ्यचाहिँ, यो सन् २०१४ मा रिलिज भएको अंग्रेजी फिल्म डन्ट ब्रिदको हुबहु कपी हो । पात्र र घटनाक्रम मात्र होइन, कतिपय फ्रेम नै ठ्याक्कै उस्तै छ । त्यसलाई बिर्सने हो भनेचाहिँ शेरबहादुर प्रशंसनीय छ । 

तीन चोरको जीवनमा एक्कासि आइपरेको विपत्को कथा हो, शेरबहादुर । कुमार (कर्मा), माया (मेनुका प्रधान) र बिहारी (रवीन्द्र झा) मिल्ने साथी मात्र होइनन्, चोर्न पनि उत्तिकै माहिर छन् । चोरी सफल हुँदै गएपछि महत्त्वाकांक्षा बढ्दै जान्छ । त्यसैले ठूलो माल हात पार्ने लोभमा भूपू सैनिक शेरबहादुर (सुनील थापा) को घर छिर्छन् । घरमा शेरबहादुर र कुकुरबाहेक कोही पनि हुँदैनन् । तापनि, कुमारको समूहलाई एकपछि अर्को फसाद आइलाग्छ । त्यहाँबाट उम्कन सफल होलान् त ? फिल्म घरभित्र चोर र शेरबहादुरबीच हुने घम्साघम्सीमा केन्द्रित छ ।

डन्ट ब्रिदमा जस्तै शेरबहादुरको चोर ग्याङमा दुई केटा र एक केटी छन् । दुवै फिल्मको घरधनी दृष्टिविहीन हुन्छन् । घरमा कुकुर हुन्छ । मार्ने शैली पनि उस्तै छ । त्यसैले डन्ट ब्रिद हेरेकालाई शेरबहादुर ‘थर्ड कार्बन पेपर’जस्तो लाग्नु स्वाभाविक भइहाल्यो । निर्माण युनिटले ‘ एक हलिउड फिल्मबाट प्रभावित’ भने पनि डन्ट ब्रिदको नामसमेत लिएको थिएन । यसले नियत प्रस्ट हुन्छ ।

अन्यथा शेरबहादुर हेरिरहँदा पट्यारचाहिँ लाग्दैन । फरक पृष्ठभूमि र छविका पात्रको संयोजन सराहनीय छ । सुरुआतको ४५ मिनेट पात्र र उनीहरूको प्रवृत्ति स्थापित गर्न खर्चिएको छ । तैपनि, उनीहरू पोख्त र चलाख चोर लाग्ने पर्याप्त आधार छैन । कुमारको पृष्ठभूमि फितलो छ । खास फिल्मचाहिँ शेरबहादुरको घरमा प्रवेशपछि मात्र सुरु हुन्छ । यसलाई प्रमोद क्षत्रीले लेखेका हुन् ।

घरभित्र कुकुर र चोरहरूको द्वन्द्व, चोर–चोरको मनोविज्ञान, घरधनीको उपस्थितिजस्ता पक्षले दर्शकलाई ‘होल्ड’ गर्छ । अन्तिमतिरको ‘सस्पेन्स’ अनुमानबाहिरको छ । तैपनि, त्यसको ‘ट्रिटमेन्ट’ रसिलो बनाउने सवालमा निर्देशक उम्दा लाग्दैनन् । क्लाइमेक्समा फिल्म तन्काइएको आभास हुन्छ । कुकुर र शेरबहादुरको सम्बन्ध आफैँमा प्रिय लाग्छ । ‘कान्छी मट्याङ...’ आइटम डान्स नभए पनि खास फरक पर्दैन थियो । तैपनि, सन्दर्भ मिलाएरै राखिएकाले भद्दा लाग्दैन । खिचाइ, पृष्ठभूमि संगीत र प्रकाश संयोजन दृश्यलाई मूर्त बनाउन सहायक छन् ।

शेरबहादुर बनेका सुनील थापा पर्दामा ज्यादै भयंकर लाग्छन् । उनको हुलिया, हाउभाउ, बोल्ने शैली चरित्र अनुरूपकै छ । यद्यपि, उनलाई हेरिरहँदा काबिलका ऋतिक रोशनको झल्को नआउने होइन । सुनीलजस्तै अन्य कलाकारको अभिनय फिल्मको सकारात्मक पाटो हो । रवीन्द्र झाको भूमिका अझ सानदार छ । उनको लबजले मन जित्छ । यो फिल्मले उनको माग अझ उच्च हुनेमा शंकै छैन । चोरी गर्नुपछाडिको कथाले मेनुकाको पात्र प्रिय लाग्छ । उनको अभिनयमा स्वभाविकता हाबी छ । लामो समय पर्दामा देख्न नपाए पनि कर्माको कामसँग निराश भइन्न । जान्वी बोहराको भूमिका छोटो तर सम्झनायोग्य नै छ । नचोरिएको हुँदो हो त शेरबहादुरलाई उत्कृष्ट कोटिमा राख्न सकिन्थ्यो । तर, अहिलेकै लागि निर्देशकलाई धाप मार्न सकिन्न । अरूको फिल्म हुबहु उतार्नुभन्दा यही जनरामा नयाँ कथा भनेको भए क्या जाती हुन्थ्यो ।

नियमित नेपाली फिल्मका दर्शकलाई शेरबहादुर नयाँ स्वादको लाग्छ । तर, विदेशी थ्रिलर हेर्नेलाई रिझाउन सक्दैन । 

प्रकाशित: माघ २२, २०७४