[झटारोे] वृद्धवृद्धा : एक सुझाव

- लक्ष्मण गाम्नागे

एमालेको सरकारले कुनै दिन ज्येष्ठ नागरिकलाई भत्ता दिने निर्णय गरेर चुनाव जितेको थियो । पछि भत्ता बढाउने घोषणा गरेर कांग्रेसले बाजी मार्‍यो । भर्खरै सम्पन्न निर्वाचनमा सरकार बनेपछि दुई हजार रुपियाँको भत्तालाई पाँच हजार पुर्‍याउने घोषणा गरेपछि त एमालेले कांग्रेसलाई झन्डै बढार्‍यो । चुनाव जित्न बूढाबूढीको सेवा गर्नुबाहेक अरू उपाय छैन भन्ने टुंगोमा दुवै दल पुगे । वृद्धवृद्धाको सेवा गर्ने मौका नपाएर अरू दलहरू सधैँ पछि परेको परेकै भए । ज्येष्ठ नागरिकहरूको सेवामा दुवै दलहरू यति कठोरतापूर्वक उत्रिए कि उनीहरू पालैपालो एकअर्कालाई माटोमै मिलाउने गरी पछारपछार गर्दैछन् । चुनावमा घोषणा गरेको पाँच हजार कसरी जुटाउने भनेर तनाव भइरहेका बेला हालसालै शेरबहादुरजीले वृद्धभत्ता दिने उमेर खर्लप्पै घटाएर ओलीजीलाई डङ्ग्रङ्गै लडाएदिए । 

अब कांग्रेस पक्षका बूढाबूढीहरू ओइरिने भए भनेर एमाले आत्तियो । उसले पत्रकार सम्मेलन नै गरेर देउवाजीका घोषणा उल्टाउने बतायो । तर, बूढाबूढीको पक्षमा भएको निर्णय उल्टायो भने एमाले सिद्धिने पक्का छ । बरू, बूढाबूढीको सेवामा थप कडा घोषणाहरू गरेर देउवाजीको होस उडाउनु एमालेका लागि लाभदायक हुनेछ । त्यस्ता सेवा–सुविधाहरूको घोषणा यसप्रकार हुन सक्नेछ : 

– नयाँ सरकार गठन हुनासाथ छुट्टै बूढाबूढी मन्त्रालय गठन गरिनेछ । सरकारको पहिलो निर्णय सरकारी जागिरबाट अवकाश पाउने ५८ वर्षको उमेरलाई नै वृद्धभत्ता पाउने उमेर कायम गरिनेछ । 

– ज्येष्ठ नागरिकका लागि सबै नगर तथा गाउँपालिकाहरूमा नि:शुल्क पाँचतारे अस्पताल बनाइनेछ । जहाँ खान, बस्न, कुरुवा लगायत सबै सरकारले व्यवस्था गर्नेछ । टोलमा प्रत्येक पाँच जना बूढाबूढीका लागि एक जना डाक्टर र प्रत्येक बूढाबूढीका लागि एक जना सुसारेको व्यवस्था गरिनेछ । 

– ४० वर्षको उमेरदेखि चस्मा भत्ता र ४८ वर्षदेखि दाँतभत्ता दिइनेछ । साथै, दाँतको बिमा गर्ने व्यवस्था लागू गरिनेछ । ५२ वर्षदेखि चाउरी भत्ता र ५५ वर्षदेखि लौरो भत्ता दिइनेछ । 

– जन्मोत्सव तथा विवाहको वर्षगाँठ मनाउन नगद, एक जोर दौरा–सुरुवाल र गुन्युचोली दिइनेछ । चौरासी, जंकु, वैतरणी तथा मृत्यु संस्कार विशेष भत्ता साथै मृत्यु भएको सात वर्षसम्म परिवारलाई पिण्डभत्ता उपलव्ध गराइनेछ । 

– इच्छुक एकल वृद्ध वा वृद्धाका लागि सरकारले जीवनसाथी व्यवस्था गर्नेछ । 

– ५८ वर्षमाथि ८५ वर्षभन्दा कम उमेरमा मृत्यु भएका वुद्धवृद्धालाई सहिद घोषणा गर्ने र परिवारलाई १० लाख रुपियाँ एकमुष्ठ उपलव्ध गराइनेछ । 

यस्ता अनगिन्ती सेवा–सुविधाहरू घोषणा गर्न बाँकी नै छन् । वाम गठबन्धनले चिन्तै गर्नु पर्दैन । ५८ वर्ष पुगेको भोलिपल्टदेखि ज्येष्ठ नागरिक हजुरबा–हजुरआमाहरूलाई ओछ्यानबाट उठाउने, खाना खुवाउने, घाम तपाउने, मालिस गर्ने आदि थप सेवा प्रदान गर्न सकिन्छ । यति सेवा गर्ने कि तिनीहरूलाई घरबाट निस्कनै नदिने । निस्कन खोजे भने जान चाहेको ठाउँसम्म सरकारी सुसारेले बोकेर लैजाने । आफ्नै खुट्टाले टेकेर उभिन दिँदै नदिने । यस प्रकारका अनेक सेवा–सुविधाहरू घोषणा गरेर वाम सरकारले ज्येष्ठ नागरिकमाथिको पकड अझ बलियो बनाउँदै कांग्रेसलाई थला पार्न सक्नेछ ।

एउटै खतरा के छ भने देउवा सरकारको धुकधुकी अझै केही दिन रहन्छ । यी घोषणाहरू पनि देउवाजीले अहिले नै गर्दिए भनेचाहिँ वामहरू उठ्न निकै समय लाग्ने गरी मूच्र्छा पर्नेछन् । अत: यी घोषणा हुन बाँकी सेवा–सुविधाबारे देउवाजीका कानमा चाहिँ कतैबाट पनि नपरोस् है !

प्रकाशित: माघ २१, २०७४