बढ्यो साख

- नेपाल संवाददाता

फिल्म संख्यालाई आधार मान्ने हो भने वेनिशा हमाल गिनेचुनेकी हिरोइनमा पर्छिन् । सफलतालाई नियाल्दाचाहिँ उनी अझ फिल्म उद्योगमा स्थापित हुनै संघर्ष गरिरहेको भान हुन्छ । अरु त अरु, उनकै अभिनय र भूमिकालाई समेत दिल खोलेर प्रशंसा गर्न पाइएको छैन । सायद यही अभावपूर्ति गर्ने आत्मविश्वास भएर होला, वेनिशा फुरुङ्ग छिन् यतिबेला । राज हो, फिल्म ब्लाइन्ड रक्स । दृष्टिविहीन युवती सृष्टि केसीको वास्तविक जीवनमा आधारित यस फिल्ममा वेनिशाको मुख्य भूमिका रहेको छ । उनले अहिलेसम्म निर्वाह गरेमध्ये सबैभन्दा चुनौतीपूर्ण भूमिका सम्भवत: यही हो । त्यसमाथि निर्माण पक्षले प्रचारप्रसारमा उनलाई नै प्राथमिकतामा राखेको छ । अनि, कसरी नछाओस्, वेनिशाको मुहारमा मुस्कान ? फिल्म १८ फागुनमा प्रदर्शन हुँदैछ ।

प्रकाशित: माघ २१, २०७४