कमाउने काइदा

  • साहित्यका लागि आफ्नै नाम, पैसाका लागि छद्म नाम

- राजकुमार बानियाँ

अमेरिका भासिएकी साहित्यकार प्रेमा शाह, ७२, को निधन भयो ६ पुसमा । सँगसँगै खुल्यो– शारदा छद्म नाममा चार उपन्यास लेख्ने तिनै प्रेमा हुन् । यसरी उनको खातामा जोडिन आए– एक धून बाँसुरीको, त्रिकोण, कृष्ण–पुष्प र धूलोको फूल । पहेँलो गुलाफ, विषयान्तर, मम्मी, आकाश विभाजित छ आदि आख्यान साहित्यबाटै सग्लो परिचय बनाइसकेकी थिइन् उनले । 

आफ्नो छद्म नामबारे न उनले कहिल्यै स्वीकारिन्, न प्रकाशकले नै गोपनीयता भंग गर्न चाह्यो । “०४० तिर प्रेमा शाहको काठमाडौँ बसाइ आर्थिक रूपमा अप्ठ्यारो थियो,” रत्न पुस्तक भण्डारका गोविन्दप्रसाद श्रेष्ठ स्वीकार्छन्, “केही भरथेग होस् भनेर चल्तीका उपन्यास लेख्न लगाएका हौँ ।”

केही वर्षपहिले ‘बेस्ट सेलर’ ह्यारी पोर्टर शृंखलाकी लेखिका जेके रोलिङका सम्बन्धमा त्यस्तै पोल खुलेको थियो । सन् २०१३ मा उनले रोबर्ट गेलब्रेथ पुरुष नाममा द कक्कुज कलिङ नामक अपराध उपन्यास लेखेको तथ्य खोलिदियो, बेलायती अखबार सन्डे टाइम्सले । रहस्यमय किन थियो भने ह्यारी पोर्टर र द कक्कुज कलिङका सम्पादक र एजेन्ट एकै थिए । लेखनशैली पनि मिल्दोजुल्दो । पछि रोलिङले भनिन्, ‘म बजारको मानसिक दबाबबिना उपन्यास लेखनको शानदार अनुभव गर्न चाहन्थेँ । अर्को नाममा आएको आफ्नो उपन्यासबारे पाठक–प्रतिक्रिया जान्न चाहन्थेँ ।’

मूल लेखक नै विस्मृत हुने गरी छद्म नाममा लेख्ने चलन नयाँ होइन । राजनीतिक, आर्थिक, सामाजिक  वा साहित्यिक कारणवश कतिपय लेखक आधिकारिक नाम पूर्णत: गोप्य राख्न चाहन्छन् । त्यसरी महिलाले पुरुषको नाममा, पुरुषले महिलाका नाममा प्रशस्तै लेखेका छन् । कतिपय लेखक छद्म नाममै प्रसिद्ध पनि भएका छन् । मूलत: नामका कारण लेखकलाई कुनै समस्या नपरोस् भन्ने ध्येय हुन्छ यसमा ।

विशेषगरी नयाँ लेखकलाई पाठकको स्वागत हम्मेसी मिल्दैन । उनीहरूलाई गम्भीरतापूर्वक नलिइएका थुप्रै उदाहरण छन् । कतिपयका लागि छद्मनाम वरदान पनि बनेका छन् । जासुसी उपन्यासमा यस्तो प्रचलन ज्यादा छ । खोजकार शिव रेग्मीका अनुसार नेपाली साहित्यमा छद्म नामको सुरुआत भने मृगेन्द्रशमशेर राणाले गरेको देखिन्छ । आफ्नो समयका प्रख्यात अंग्रेजीबाज मानिएका राणाले विसं ००५ मा रन्दगे रिमी (मृगेन्द्रको उल्टो शब्द)को छद्म नाममा एक पापको कथा उपन्यास लेखेका छन् । यद्यपि, त्यसलाई मौलिक साहित्य मानिएको छैन । कुनै अंग्रेजी उपन्यासको अनुवाद गरी पात्रहरूको नाम मात्र फेरेको आरोप छ उनलाई । 

मूल लेखकको नाम पनि दिइएको छैन उपन्यासमा । उनको उपन्यास जंगबहादुर राणाको शासनकालमा ब्रिटिस दूतावासमा चिकित्सकका रूपमा आएका ड्यान्यल राइटलाई चुनौती मान्छन्, इतिहासकार महेशराज पन्त । राइटले हिस्ट्री अफ नेपालमा लेखेछन्, ‘गोरखालीहरू कसरी दिन काट्छन् तथा दिल बहलाउँछन् भन्ने मेरा लागि अझ रहस्यजस्तै छ । कबायद (कवाज) खेल्नुसिवाय तिनीहरूको कुनै काम छैन । तिनीहरू खेलकुद गर्दैनन् । तराईमा जाँदाबाहेक तिनीहरू सिकार खेल्दैनन् । घरमा बसी पढ्नका लागि तिनीहरूको कुनै वाङ्मय छैन । छोटकरीमा भन्ने हो भने तिनीहरूलाई दिन काट्न चाहिने केही कुरा पनि देखिँदैन । यस कारण तिनीहरू गफ छाँट्छन्, जुवा खेल्छन् र भोगविलासमा भुल्छन् ।’

पछि मृगेन्द्रशमशेर मात्र नभएर केशरशमशेर, अर्जुनशमशेर, ब्रह्मशमशेर पुष्करशमशेर, बालकृष्णशमशेर आदि थुप्रै रोलवाला र रोलबाहिरका राणाजी ग्रन्थकारका रूपमा आए ।

मृगेन्द्रशमशेरका लागि रन्दगे रिमी छद्म नाममा लेख्नु जरुरी थियो ? किनभने, उनी चन्द्रशमशेरदेखि मोहनशमशेरसम्मले पत्याएका व्यक्ति थिए । “डाइरेक्टर जनरलले हल्का होइन्छ भन्ने हिसाबमा छद्म नाम राखेका हुन सक्छन्,” रेग्मी भन्छन्, “नाम, पैसा वा सुरक्षाको कारण होइन ।” बरू मौलिक कृति नभएका कारण नाम लुकाएका हुन सक्छन् ।

छद्म नाममा हल्काफुल्का या सस्तामस्ता साहित्य लेख्ने प्रेमा शाह एक्ली छैनन् । वरिष्ठ भाषाशास्त्री एवं प्राध्यापक बालकृष्ण पोखरेलका आठवटासम्म छद्म नाम भेटिएका छन् । वसन्त, रूपावासी, वत्सल, ईसावापुर, लक्ष्मीविलास पाध्या, केकेमनुक्च्यो पोखरेल, गढतिरे साहिँलो, हिमालपाने बराल आदि उनले खुलमखुला स्वीकारेका नाम हुन् । उनले भनेकै छन्, ‘साहित्यिक कृतिबाट केही पाउन सकिनँ । मलाई पाल्ने वसन्त नै हो ।’

विराटनगर छाडेपछि पोखरेललाई त्रिभुवन विश्वविद्यालयको मास्टरीले जीविका चलाउन धौधौ परेको थियो । त्यसैले उनलाई रत्न पुस्तकले युधीर थापामार्का चल्तीका साहित्य लेख्ने प्रस्ताव गर्‍यो । “पाठकले युधीर थापाका उपन्यास दुई–चारबाहेक अरू दोहोर्‍याएर पढ्न छाडे । युधीर थापाको जस्तै धारमा अर्को सिरिज चलाउने हिसाबले पोखरेललाई तयार गरिएको थियो,” श्रेष्ठ सम्झिन्छन्, “बूढाले वर्षमा धेरै लेखे दुईवटा लेख्लान् भनेको त एकैचोटि आठवटा पाण्डुलिपि बुझाए । एक रातमै एउटा लेख्न थालेपछि बाजे तपाईंको किताबले पुग्यो भनेर फर्काएँ ।”

श्रेष्ठका अनुसार रत्न पुस्तकमा पोखरेलले वसन्त छद्म नाममा बुझाएका ३२ मध्ये २७ वटा उपन्यास मात्रै छापियो । बाँकी पाण्डुलिपि च्यातेर फाले । यसमा पोखरेललाई पनि कुनै दु:खमनाउ थिएन । किनभने, उनले सबै उपन्यासको ‘कपी राइट’ बेचेका थिए । त्यति बेला कपी राइटमा कुनै मोलमोलाइ हुँदैनथ्यो । ‘टोकन अफ लभ’का रूपमा स्थापित लेखकले पाँच सय रुपियाँ पाउँथे, नवोदितले तीन सय मात्र । पुरस्कारस्वरूप दिइन्थ्यो लेखकस्व । लिनेदिने दुवै कुरा गोप्य हुन्थ्यो । “म रत्न पुस्तकको लेटरप्याड दिएर भन्थेँ– ल गुरुजी, गुरुदक्षिणा टक्राउँm ?” श्रेष्ठ थप्छन्, “लेखकले जति लेखे, मैले त्यति दिएँ । यति दिने, उति लिने भन्ने थिएन ।” 

त्यति बेला उपन्यासको मूल्य एक–दुई रुपियाँ थियो । १० प्रतिशत रोयल्टी कुरेर को बस्ने ? रत्न पुस्तकले बीचैमा रोकिदिएपछि पोखरेलले युधीर थापाको ३४ उपन्यासको रेकर्ड भंग गर्न पाएनन् । युधीर थापाको अश्लील उपन्यास मानिने लुकेको समाजले मुनामदनको एक लाखको बिक्रीलाई उछिनेको थियो ।

पोखरेलजस्तै छद्म नाममा लेख्ने अर्का लेखक हुन्, श्रीधर खनाल । उनले दीर्घबाहुका छद्म नाममा १३ वटा जासुसी उपन्यास लेखे । उनको पहिलो उपन्यास शब्दभेदी लडाइँ नयाँ नेपाल प्रकाशनले छापेको थियो, ०२२ मा । त्यसपछि उनले लेखे, मृगतलास । उनले छद्म नाम पनि जासुसी उपन्यासकै लागि ‘क्वाइन’ गरेका रहेछन् । दीर्घ भनेको लामो, बाहु भनेको हात अर्थात् अपराधी जतिसुकै टाढा भए पनि कानुनको लामो हातले समाउँछ । 

अंग्रेजीका जासुसी उपन्यास पढ्ने लत लागेका जमानाका पत्रकार खनालका भेनसका हिप्पीहरू, नांगिएकी सुन्दरी, मेजरको सर्प, बिखालु इच्छापत्र र बाह्र बजेको घन्टी रत्न पुस्तक (पहिलेको नाम चन्द्रप्रसाद एन्ड ब्रदर्स) ले छापेको हो । ०२५ मा उनले १० वटा जासुसी मौलिक उपन्यास लेख्ने सम्झौता गर्दा पेस्कीस्वरूप तीन हजार रुपियाँ लिएका रहेछन् । “नामका लागि लेखेँ भने छद्म नाम छ, पैसाका लागि भनुँ भने कपीराइट बेचेको हुँ,” उनी भन्छन्, “प्रकाशकले लिएको भन्दा पनि मैले दिएको हुँ । प्रकाशकले त कति कमाए–कमाए, कति संस्करण छापे–छापे ।”

८७ वर्षीय यी पाका लेखकलाई अझै पनि खेद लाग्छ, आफ्नो अन्तिम उपन्यास बज्रयोगिनीको खजाना छाप्न नपाएकामा । “भारतमा दीर्घबाहु स्तरको जासुसी लेखक नभएको चर्चा हुन्थ्यो तर के गर्नु मेरो सबभन्दा उत्कृष्ट उपन्यास नै छापिएको छैन,” उनी भन्छन्, “अहिले त जासुसी उपन्यास पनि छैनन्, लेखक पनि छैनन् ।” आफ्नो उपन्यास छापिए जासुसी उपन्यासको बजार ब्यूँतिने उनको दाबी छ ।

त्यो जमाना जासुसी उपन्यासकै थियो । अन्तर्राष्ट्रिय चितुवा, सुलसुले पस्दा, नारायणगढ हत्याकाण्ड, शेष पर्व आदि हातहातै सकिन्थे । फिल्म रिलिज भएजसरी आउँथे हिन्दी उपन्यास । आगामी उपन्यास भनेर बकाइदा लेखिन्थ्यो । छाया नाममा उपन्यास लेख्नेमा विजय चालिसे पनि पर्छन् । उनले बीके चालिसेका नाममा लेखेको जासुसी उपन्यास हो, होटल राँकीमा हत्या । उनले रत्न पुस्तकलाई चार सय रुपियाँमा कपीराइट बेचेका रहेछन् । तर, दस्तखत भेटियो बाबु रमेश विकलको । आफ्ना मित्र त्रिरत्न मानन्धरले पनि त्रिनामाको नाममा जासुसी उपन्यास लेखेको शिव रेग्मीको कथन छ । 

सहयोगी प्रकाशन, एजुकेसन इन्टरप्राइजेज, राष्ट्रिय प्रकाशन, भक्तबहादुर बुक सेलर, नयाँ नेपाली प्रकाशन, पुस्तक संसार, सगरमाथा प्रकाशन आदिले त्यस्ता उपन्यास प्रकाशन गर्थे । अहिले ती दिन इतिहास भइसकेका छन् । “अहिले लेखकका रूपमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, रुक्मांगद कटवाल, विनोद चौधरीहरू बिक्छन्,” श्रेष्ठ प्रश्न गर्छन्, “त्यो व्यक्ति बिकेको कि कृति बिकेको हो ? कृति भए त अरूको पनि बिक्नुपर्ने होइन ?”

जीवन गुजारा या अतिरिक्त आयआर्जनका लागि उपन्यासै लेख्नुपर्दैन । आफ्नै नाममा लेख्नु पनि पर्दैन । त्यसैले त शंकर लामिछानेले जेके मिश्रका नामबाट लेखे, विश्वका ६ महान् राजनीतिज्ञ (०२५) । मधुवन पौडेलले एमपी पौडेलका नामबाट लेखे, ब्रिटिसकालीन भारतको इतिहास । लेखकहरू साहित्यिक गुणवत्ता नभएका बिकाउ साहित्यमा आफ्नो नाम राख्न चाहँदैनथे वा डराउँथे । जे जस्तो हुन्छ, सबै किताबमा आफ्नो नाम दिएर पाठकलाई विस्मित तुल्याइदिने लेखकभन्दा ती कति गम्भीर थिए, थिए । 

नेपाली पुस्तक बजारको त्यो पाटोलाई साहित्यको मर्यादा राख्ने काम नै मान्छन्, सांग्रिला बुक्सका मणि शर्मा । “बजारु पुस्तकमा छद्म नाम लेख्नुमा आफ्नो स्तर नगिरोस् भन्ने मनसाय नै देखिन्छ,” शर्मा भन्छन्, “जति रद्दी साहित्य लेखे पनि गजक्क फुलेर बस्नुभन्दा छद्म नाममा लेख्नु धेरै हदसम्म ठीक हो ।” त्यसबाट साहित्यको उन्नति भयो या अवनति ? त्यो बहसको छुट्टै विषय हो । 

प्रकाशित: माघ १८, २०७४