स्मरण: फिल्मी शैलीमा बीपीको गिरफ्तारी

- रत्नशमशेर थापा

सधैँझैँ १ पुस ०१७ का दिन पनि म साइकल चढेरै त्रिचन्द्र कलेज पुगेको थिएँ । आईए दोस्रो वर्षमा अध्ययनरत सहपाठी एवं अत्यन्तै हितैषी मित्र नातिकाजी पनि साइकल चढेरै कलेज पुगेका थिए । बिहीबारको त्यो बिहान त्यस्तै १० बजेको हुँदो हो, कक्षा सुरु भइसकेको थिएन । आकाश पनि खुलेको थिएन, धुम्म कुइरो लागेको थियो ।

नातिकाजीले ‘प्रधानमन्त्री बीपी कोइरालाले तरुण दलको अधिवेशन उद्घाटन सत्रमा जोडदार भाषण दिने खबर छ, हिँड सुन्न जाउँm’ भनी प्रस्ताव गरे । मलाई पनि उनको कुरा ठीकै लाग्यो । उनी त जानैपर्ने रहेछ किनभने त्यहाँ गाउन लागिएको स्वागत गीतमा संगीत उनैले भरेका रहेछन् । सोचेँ, साथीलाई साथ पनि हुने, तरुण–विद्यार्थीसम्बन्धी बीपीका कुरा पनि सुन्न पाइने ।

हामी दुई जना साइकल चढेर त्रिचन्द्र कलेजबाट थापाथलीतर्फ लाग्यौँ । कुनै राणाको भव्य दरबारलाई कार्यक्रम स्थलका रूपमा सजाइएको थियो । ठूलठूला पर्खालले घेरिएको त्यस दरबारको बाहिरपट्टि साइकल राखी हामी दरबारभित्र प्रवेश गर्‍यौँ । दरबारको पिँढीलाई मञ्च बनाएर त्यसको प्रांगणलाई सभास्थलको रूप दिइएको थियो । जहाँ, तरुण दलका झन्डा फरफराइरहेका थिए । युवा–विद्यार्थी र आमन्त्रितहरू आउने क्रम जारी नै थियो ।

देशैभरिका तरुण दलका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रम भव्य र आकर्षक थियो । त्यसबेला नेपाली कांग्रेसको रापताप पनि चर्कै थियो । जसको छनक त्यहाँ पनि देख्न पाइन्थ्यो । प्रतिनिधिहरूका लागि खानाको व्यवस्था गरिएको थियो । ठूलठूला डेक्चीमा पुलाउ पाकिरहेको थियो । 

हामी पुगेको पनि झन्डै डेढ घन्टापछि १२ बजेतिर तरुण दलका अध्यक्ष सिंहध्वज खड्काको अध्यक्षतामा कार्यक्रम सुरु भयो । अतिथिको आसन ग्रहण गराउने क्रममा प्रधानमन्त्री बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय आदि नेताहरूका साथ नातिकाजीलाई पनि मञ्चमै बोलाइयो । मञ्चको तलपट्टिको पहिलो लहरमा बसेर म त्यो सब हेरिरहेको थिएँ ।

बीपी कोइरालाले कार्यक्रमको उद्घाटन गर्दै सानो मन्तव्य दिए । त्यो ज्यादै मन छुने खालको थियो । समसामयिक सन्दर्भका साथै तरुण–विद्यार्थीहरूको अबको भूमिकालाई लिएर उनले आफ्ना विचार राखेका थिए । तरुणहरूप्रति बीपीको ठूलो आशा र विश्वास रहेको उनको अभिव्यक्तिबाट थाहा हुन्थ्यो । 

सांगीतिक समूहले स्वागत गीत गाएर सहभागीहरूलाई स्वागत गर्‍यो । त्यस क्रममा नातिकाजीले हार्मोनियम बजाए । युवाहरूले तालीको गडगडाहटले सांगीतिक समूहलाई हौसला प्रदान गरे । स्वागत गीतपछि श्रीभद्र शर्माले मन्तव्य दिइरहेका थिए, राजदरबारका कर्णेल समरराज कुँवर, सुरेन्द्रबहादुर शाह (जो पछि जनरल कमान्डर इन चिफसमेत भए)सहित सैनिक पोसाकमै कार्यक्रम स्थलमा प्रवेश गरे । मञ्चमा पलेटी कसेर बसेका अतिथिहरूका बीचमा रहेका बीपीलाई समरराजले झट्ट देखेनन् । उनले बीपीका अंगरक्षक नजिकै पुगेर कानमा केही कुरा गरे । बडीगार्डले दाहिने हातको चोरऔँलाले बीपी बसेको स्थलतर्फ संकेत गरे । एउटा संयोग नै भनौँ, समरराज र बीपीका आँखा जुधे । उनले प्रधानमन्त्रीलाई सलाम गरे । बीपीले टाउको हल्लाउँदै सलाम फर्काए । त्यसपछि उनी बीपीका अंगरक्षकलाई लिएर कार्यक्रमस्थलबाट बाहिरिए । 

बीपीले जुरुक्क उठेर चारैतिर हेरे । कार्यक्रम स्थललाई पर्खालबाहिरबाट सेनाले घेरिसकेको रहेछ । झन्डै तीन सयको संख्यामा आएका सेनाले कार्यक्रम स्थल पूरै घेरा हालेको थियो । त्यहाँबाट भाग्ने र प्रतिकार गर्न सक्ने कुनै गुन्जायस थिएन । बीपीका अंगरक्षक लिएर बाहिरिएको दुई मिनेट पनि बितेको थिएन, समरराज तुरुन्तै सैनिक टुकडीका साथ कार्यक्रम स्थलमा प्रवेश गरे र ‘कोही पनि आफू बसेको स्थानबाट यताउति नगर्नू, त्यसो गरेमा गम्भीर परिणाम भोग्नुपर्नेछ’ भन्दै चेतावनी दिन थाले । प्रधानमन्त्री बीपी कोइराला र गणेशमान सिंहलाई सँगसँगै मञ्चबाट तल ओराले र तयारी अवस्थामा राखिएका जिपमध्ये एउटामा चढाएर लगे । लगत्तै अरू नेता पनि समातिए । 

सहभागीहरूबीच भागाभाग हुन थाल्यो । यहीबीच कार्यक्रममा सहभागी तरुण दलका एक नेता कमल चित्रकार नाराबाजीमा उत्रिए । सेनाले उनलाई पनि तत्कालै पक्राउ गर्‍यो र अर्को जिपमा राखेर लग्यो । यसपछि मात्र सहभागीहरूले नेताहरूलाई गिरफ्तार गरिएको र मुलुकमा ठूलै अनिष्ट निम्तिएको आशंका गरे । हामी पनि बिस्तारै सभास्थलबाट बाहिरियौँ र आ–आफ्ना साइकल समातेर बाटो लाग्यौँ । यसरी बीपीलगायतका नेताहरूको फिल्मी शैलीमा गिरफ्तारीको पर्दा पटाक्षेप भयो ।

प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: माघ १७, २०७४