सार्वजनिक नभएको त्यो सजाय

- कृष्णमान मानन्धर

निरंकुश राणा शासन उन्मूलन गरी मुलुकमा प्रजातन्त्र ल्याउन आन्दोलन चर्काएबापत ७ माघ १९९७ मा चार वीर योद्धा शुक्रराज शास्त्री, दशरथ चन्द, गंगालाल श्रेष्ठ र धर्मभक्त माथेमालाई मृत्युदण्डको फैसला सुनाइयो । श्री ३ जुद्धशमशेर जबराबाट कमान्डर इन चिफ पद्मशमशेर र चार कमान्डिङ जनरल मोहनशमशेर, बबरशमशेर, बहादुरशमशेर, नरशमशेर र वडागुरुज्यूसमक्ष सिंहदरबार बैठकमा उक्त फैसला सुनाइएको थियो । 

शोभा भगवतीको भचाखुसी र विष्णुमती नदीको दोभानमा गंगालाल र दशरथ चन्दलाई गोली प्रहार, धर्मभक्त र शुक्रराजलाई सिफल र टेकुमा फाँसी दिने फैसला भएलगत्तै मेरा पिता कम्पाउन्डर चन्द्रमान सैँजुलाई पकनाजोल सल्लाघारीमा झुन्ड्याएर मृत्युदण्ड दिने निर्णय भएको थियो । तर, उक्त निर्णय गोप्य राखिएको थियो ।

श्री ३ जुद्धशमशेरले सोधेको प्रश्न बुबाले मलाई पनि सुनाएका थिए । जुद्धशमशेरको प्रश्न थियो, ‘रक्तपात मण्डलीले रचेको षड्यन्त्रमा तैँले के जिम्मेवारी बोकेको थिइस् ?’ बुबाको सीधा जवाफ थियो, ‘नारायणहिटी दरबारमा आउने राणा निम्तालुहरूलाई पस्कने भोजमा विष मिलाउने जिम्मा मैले पाएको थिएँ ।’ साँचो कुरो बोलेबापत सैँजु मृत्युदण्डको सजायबाट त मुक्त भए तर सर्वस्वहरण र जन्मकैदको सजायचाहिँ भोगे ।

नेपाल प्रजा परिषद् गठन हुनुअगावै विसं १९८८ मा मैनाबहादुर खत्रीको नेतृत्वमा प्रथम राजनीतिक दल प्रचण्ड गोर्खा खोलिएको थियो । खड्गमान सिंह नेतृत्वको यस दलको प्रमुख उद्देश्य राणा प्रधानमन्त्रीलाई मारेर प्रजातन्त्र स्थापना गर्नु थियो । तर, पोल खुल्न गएकाले अभियुक्तहरू पक्राउ परे । र, कारागारमा कडा यातनापश्चात् मारिए । 

जनताको मौलिक अधिकारसहित राजाको संवैधानिक नायकत्वमा प्रजातान्त्रिक सरकार गठन गर्ने मूल उद्देश्य राखी नेपाल प्रजा परिषद् स्थापना भएको थियो, २० जेठ १९९३ मा । परिषद्का जुझारु नेता थिए– टंकप्रसाद आचार्य, रामहरि शर्मा, चूडाप्रसाद, धर्मभक्त माथेमा, जीवराज शर्मा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्रीलगायत । कम्पाउन्डर चन्द्रमान सैँजु, सिद्धिचरण श्रेष्ठ, गोविन्दप्रसाद उपाध्याय, पुष्करनाथ उप्रेती, बलबहादुर पाण्डे, चित्रबहादुर केसी, हरिकृष्ण श्रेष्ठ, केदारमान व्यथित पनि परिषद्मा सक्रिय थिए । पूर्णबहादुर एमए, सूर्यबहादुर भारद्वाज, सुन्दरराज चालिसे, चन्द्रमान मास्के, गणेशमान सिंह, फणीन्द्रराज हमाल, पण्डित मुरलीधर र रामजी जोशी आदिको पनि सहभागिता थियो ।

अत्याचारी राणा शासनविरुद्ध जागरण ल्याउन शुक्रराज शास्त्री र पण्डित मुरलीधरले कथा वाचनको माध्यम अपनाएका थिए । निरीह जनतामाथि राणा शासकले चलाइरहेको दमन र अत्याचारबारे सामग्री छापिएका भारतीय पत्रिका पटनाबाट जनता, इलाहबादबाट चाँद, कलकत्ताबाट आडभान्स  काठमाडौँ ल्याइएका थिए । यी पत्रिका र पर्चाबाट राणाहरू भित्रैदेखि डगमगाएका थिए । दुर्भाग्य † परिषद्का गतिविधिको पोल राणा सरकारमा रामजी जोशीले खोलिदिनासाथ धरपकड सुरु भयो । योजना तुहिन पुग्यो ।

तत्कालीन अधिराजकुमार महेन्द्रलाई गद्दीसीन बनाई राजा त्रिभुवनलाई गोर्खा धपाउने योजना श्री ३ जुद्धशमशेरले रचेका थिए । यसका लागि राजा त्रिभुवनले प्रजा परिषद्सँग सम्बन्ध गाँसेको प्रमाणको खोजी भएको थियो । प्रमाण फुत्काउन चन्द्रमानलाई सिंहदरबारभित्र बाँसमा झुन्ड्याई दुई सय कोर्रा हान्दा पनि उनले मुख खोलेनन् । र, श्री ३ जुद्धशमशेरको योजना असफल हुन पुगेको थियो । 

रिसले रन्थनिएर क्रूर राणा प्रधानमन्त्री जुद्धशमशेरले चार जना क्रान्तिकारीलाई मृत्युदण्ड दिने जिम्मेवारी हजुरिया जनरल नरशमशेरलाई सुम्पिए । बाँकी परिषद्का सदस्यहरूले आजन्म जेल सजाय पाए, जसमा कम्पाउण्डर चन्द्रमान सैंजु पनि थिए । 

राणा घेराभित्र रहेका राजा त्रिभुवनले परिषद्ले चलाएको अभियानमा कसरी सहानुभूति र सहयोग जुटाउन सकिन्छ भन्ने विषयमा सरसल्लाह लिन कम्पाउन्डर चन्द्रमान सैँजुसँग सम्पर्क राखेका थिए । सैँजु त्रिभुवनका सहायक चिकित्सक पनि थिए । 

परिषद्का सदस्यहरूमध्ये खास गरी धर्मभक्तले सैँजुसँग सम्पर्क राखी शोभा भगवती मन्दिर परिसरमा गोप्य वार्ता गरेका थिए । सैँजुले यस विषयमा राजा त्रिभुवनसँग विन्ती बिसाउने निधो गरे । तर, राजा त्रिभुवन मान्न तयार भएनन् । कैयन् दिनसम्म चन्द्रमानले राजा त्रिभुवनको मनस्थिति सावधानीपूर्वक नियालिरहे ।

प्रजा परिषद्प्रति ध्यानाकृष्ट गराउन सैँजुले पुन: विन्ती बिसाए । त्यसपछि राजाबाट सोधनी भयो, ‘के प्रजा परिषद्का नेताहरूले राणाविरुद्धको अभियान सफल पार्न सक्लान् त ?’ सैँजुको जवाफ थियो, ‘परिषद्को गतिविधि र उद्देश्य मैले राम्ररी बुझेको छु । यसमा जस्तोसुकै चुनौतीपूर्ण काम गर्न तिनीहरू सक्षम छन् ।’ 

ती नेताको अनुहार हेर्ने राजा त्रिभुवनको इच्छा भयो । र, चन्द्रमानले उनीहरूलाई लैनचौरमा जम्मा गराए । त्रिभुवनसँगको क्षणिक देखादेखपछि परिषद् सञ्चालन निम्ति चन्द्रमानमार्फत दरबारबाट आर्थिक अनुदान मिल्न थाल्यो । सोही अनुदानबाट पर्चा छपाउने र छर्ने काममा भयो । लिथो मेसिनबाट पर्चाहरू छपाउँदै जात्रा–पर्वमा जम्मा भएका जनताबीच लुक्दै छर्न थालियो । र, जसले राणा शासन समाप्त पार्ने पृष्ठभूमि तयार पारेको थियो ।

चार वीर सहिदकै निडरता र त्यागका कारण मुलुकबाट १ सय ४ वर्षे जहाँनिया निरंकुश राणा शासन अन्त्य भएको र उनीहरूकै त्याग र बलिदानबाट प्रजातन्त्र प्राप्तिको मार्गप्रशस्त भएको त्यो गौरवपूर्ण इतिहास कसैले बिर्सन सक्दैन । 

प्रकाशित: माघ १६, २०७४