चाहियो, वासिङ मेसिन

- रुन्चे राइँलो

लोककल्याणकारी राज्य व्यवस्थामा मुलुकमा कसैले पनि आफ्नो निधारमा भ्रष्टाचारी, अपराधी, तस्कर, दुराचारी आदिको छाप लिएर हिँड्नुपर्ने अवस्था भनेको सारै लाजमर्दो हो । नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, वन कार्यालय आदि कुनै पनि निकायले अनुसन्धान र अभियोजन गरिसकेपछि कोही न कोही दोषी ठहर हुन्छ नै । तिनलाई न्याय दिने ठाउँ चाहिन्छ । तिनको मैलो व्यवहारलाई सुकिलो पारिदिनुपरेको छ । तिनको छविमा लागेको दाग तत्कालै पखालिदिनु परेको छ । एउटा यस्तो वासिङ मेसिन होस्, जसले अपराधीलाई तत्कालै निरपराध बनाउन सकोस् । भ्रष्टाचारीलाई सदाचारीको छाप लगाउन सकोस् । बेइमानलाई इमानदार करार गरोस् । कालो धनलाई सेतो बनाओस् । जेजस्तो उद्यम गरे पनि त्यसलाई धोइपखाली गर्ने एउटा विशेष यन्त्र होस् । तब पो राम राज्य । कतै देख्नुभएको छ यस्तो वासिङ मेसिन ?

प्रकाशित: माघ १६, २०७४