तालमा झेल

  • नवलपरासीका अधिकांश प्राकृतिक ताल अतिक्रमण

- नवीन पौडेल

परासी ।। पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका–६ का लालु कोइरी, ६०, नन्दन तालवरपर वस्तुभाउ चराउँदै तालमा पौडिएको सम्झछन् । फराकिलो फाँटमा ठूलो ताल । स्थानीयले यही तालको पानी पिउने गर्थे । ठूलठूला मेला र खेल प्रतियोगितासमेत यसै स्थानमा हुने गथ्र्याे  । प्राकृतिक हरियाली फाँटको बीचमा सुन्दर ताल थियो । अहिले अतिक्रमणमा परेर सबै खेतमा परिणत भयो, ताल सुकेर पोखरी बन्यो । 

विश्व सम्पदा सूचीमा समेत सूचीकृत हुने प्रक्रियामा रहेको  पाल्हीनन्दन गाउँपालिका–६ सनई हकुहीमा रहेको ऐतिहासिक नन्दन ताल अहिले पोखरीमा परिणत भएको छ ।  करिब १ सय ४० बिघामा फैलिएको तालको जग्गामा अहिले स्थानीयले अतिक्रमण गरेर खेती गर्दै आइरहेका छन् । संरक्षण र प्रवद्र्धनका लागि बर्सेनि रकम विनियोजन हुने भए पनि अतिक्रमणकारीको अवरोधका कारण रकम फ्रिज हुने गरेको छ । बर्सेनि अतिक्रमणको चपेटामा पर्नु र संरक्षणका लागि गुरुयोजना नबन्दा तालको अस्तित्त्व नै खतरामा परेको हो । तालमा पानी छैन । ताल क्षेत्रसमेत अतिक्रमण भएर ठूलठूला भवन बनेका छन् । नापी कार्यालयमा ताल लेखिएको क्षेत्रमा राजनीतिक प्रभावमा व्यक्तिका नाममा जग्गा दर्ता भएका छन् ।

विभिन्न सरकारी निकायको कार्यालय स्थापना गर्नुपर्ने भएपछि गाउँपालिकाले अहिले धमाधम सार्वजनिक जग्गा खोजिरहेको छ ।  गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता नन्दन ताल अतिक्रमणको चपेटामा परेका कारण अतिक्रमण हटाएर ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने प्रयास प्रारम्भ भएको बताउँछन् । भन्छन्, “लामो समयदेखि अतिक्रमणमा परेको भए पनि राजनीतिक स्थायित्व नहँुदा अतिक्रमण रोक्न सकिएको थिएन, अतिक्रमण रोकेर सुन्दर पार्क र तालको संरक्षण गर्न कार्ययोजना तयार पारिएको छ ।” ताल अतिक्रमण हुँदै जाँदा जलचर र जल वनस्पतिसमेत लोप हँुदै गएका छन्  ।

नन्दन तालजस्तै पूर्वी र पश्चिम नवलपरासी जिल्लामा रहेका ऐतिहासिक ताल–तलैया धमाधम अतिक्रमण भइरहेका छन् । खेतीपाती वा बस्ती बसाउने नाममा सार्वजनिक ताल–तलैया पुरेर संरचना निर्माण गरिँदासमेत प्रशासन र स्थानीय निकाय मौन बसेपछि अतिक्रमण झन् बढ्दो छ । रामग्राम नगरपालिका क्षेत्रमा मात्र ५० भन्दा बढी ताल तथा सार्वजनिक पोखरी रहेका छन् । केही वर्षअगाडिसम्म स्थानीयले तालको पानी खाने गर्थे । तर, अहिले ताल सुक्दै जाँदा पानीको स्रोतका लागि भौतारिनुपरेको छ । 

पश्चिम नवलपरासीकै बर्दघाट नगरपालिका जहदामा रहेको पुरातात्त्विक एवं ऐतिहासिक महत्त्व बोकेको बुद्धमंगल तालको अवस्था पनि उस्तै छ । करिब १२ बिघा क्षेत्रफलमा फैलिएको ताल वर्षांैदेखि अतिक्रमणको चपेटामा पर्दै अहिले सात बिघामा सीमित भएको छ । 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सरावल गाउँपालिका तुलसीनगरको तालदेखि पूर्वी नवलपरासीको कावासोतीमा रहेको ऐतिहासिक टरुवा ताल पनि संरक्षणको अभावमा छ । सीमसार क्षेत्रका रूपमा रहेको ताल क्षेत्र वरपर भौतिक संरचना भरिएका छन् । कतिपय स्थानीयले त सुकुमबासी समस्या समाधान आयोगबाट पुर्जासमेत लिइसकेका छन् । आठ बिघा क्षेत्रफलमा फैलिएको तालबाट पर्यटकीय क्षेत्रसँगै स्थानीयलाई सिँचाइ सुविधा र खानेपानीको स्रोत समेत भए पनि तालको संरक्षण समितिमा नेतृत्व विवाद हुँदा अहिले तालमा झार पलाउनुको साथै अतिक्रमण भइरहेको छ । 

“हेर्दा सामान्य लागे पनि ताल–तलैया अतिक्रमण गरेर पानीको स्रोत मास्नु भनेको भविष्यका लागि वातावरणीय विनाशको सिकार आफँै हुनु हो,” जिल्ला भूसंरक्षण कार्यालय परासीका प्रमुख लोकनाथ सापकोटाको कथन छ । 

प्रकाशित: माघ १५, २०७४