एमालेमा प्रचण्ड गुट

  • वाम गठबन्धन पार्टी एकीकरणमा परिणत नहुँदै एमालेमा प्रचण्ड हाबी

- बाबुराम विश्वकर्मा

सन्दर्भ १५ पुस ०७४ को हो । नेकपा एमालेको काठमाडौँ–सिन्धुली सम्पर्क मञ्च र नेकपा माओवादी केन्द्रको सिन्धुली उपत्यका संघीय जनसम्पर्क मञ्चले जिल्लाबाट प्रत्यक्ष निर्वाचित सांसदलाई सम्मान तथा बधाई ज्ञापन गर्न राजधानीमा एउटा संयुक्त समारोह आयोजना गरे । समारोहको प्रमुख अतिथि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विशेष अतिथि एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई थिए । जब सम्बोधन गर्ने पालो एमाले सचिव भट्टराईको आयो, उनले सुरुमै भनिदिए, “यस कार्यक्रमका प्रमुख अतिथि हाम्रो पार्टीका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।”

उनले यति भनी नसक्दै कार्यक्रममा सहभागी सयौँ एमाले नेता–कार्यकर्ताले ताली बजाएर उनको कथनलाई स्वागत गरे भने प्रचण्डले पुरानै शैलीमा हाँसेर टाउको हल्लाए । एमालेको उपल्लो जिम्मेवारीमा रहेका भट्टराईले माओवादी अध्यक्षलाई ‘हाम्रो पार्टीको अध्यक्ष’ भनेको उनी चिप्लिएर वा झुक्किएर होइन । किनभने, उनले त्यो भनाइ अहिलेसम्म सच्याएका छैनन् । एमाले सिन्धुली–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष अमरबहादुर थापा भन्छन्, “योगेश दाइले जानी–जानी प्रचण्डलाई हाम्रो पार्टीको अध्यक्ष भन्नुभएको हो, त्यो लाइन अनुसार नै आएको भनाइ हो, झुक्किएर होइन । किनभने, माधव नेपाललगायतको एमालेको हाम्रो टिम प्रचण्डलाई पार्टी अध्यक्ष दिएर नै एकता गर्नुपर्छ भन्नेमा छ, योगेश दाइको भनाइ त्यसैको संकेत हो ।” 

हुन पनि एमालेमा तीन जना पूर्वप्रधानमन्त्री तथा अरू धेरै प्रभावशाली नेता हुँदाहुँदै कार्यक्रममा प्रचण्डलाई प्रमुख अतिथि बनाइएको थियो । त्यसलाई एमाले कार्यकर्ताहरूको प्रचण्ड–मोहकै परिणाम भनेर बुझेको छ, पार्टी संस्थापन पक्षले । अध्यक्ष थापा आफँै पनि नेपाल पक्षीय कार्यकर्ताका रूपमा चिनिन्छन् । 

एमाले सचिव भट्टराई र थापाले गरेको यो संकेतले प्रस्ट पार्छ, दुई वाम दलबीच एकताअघि नै प्रचण्ड एमालेको एउटा गुटको अध्यक्ष नै भइसकेका छन् । १७ असोज ०७४ को सहमति अनुसार ६०/४० को चुनावी भागबन्डा गरेर वाम गठबन्धनबाट चुनावमा होमिएका एमाले र माओवादी पार्टीबीचको एकीकरणमा ११ माघसम्म तात्त्विक प्रगति भएको छैन । आमचुनावअघि एउटै चिह्नमा चुनाव लड्ने र सकभर चुनावअघि नै पार्टी एकता गर्नेजस्ता चर्चा गरिए पनि चुनावपछि पार्टी एकता प्रक्रिया सेलाएको छ र एकता प्रसंग नै ओली–दाहालको ‘वान टू वान’ संवादमा खुम्चिएको छ । 

तर, रोचक के छ भने दुई पार्टी एकताअघि नै एमालेभित्र प्रचण्डलाई चाहनेहरूको संख्या बढ्दो छ, उनको गुट र प्रभाव दुवै बलियो बन्दै गएको छ । त्यसैको परिणाम हो, सरकार बन्नुअघि नै पार्टी एकता गरी ओली प्रधानमन्त्री र प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष बन्नुपर्ने एकथरीको आग्रह । एमालेमा आफूलाई चाहनेवालाहरूको संख्या बढ्दै गएकाले हुन सक्छ, प्रचण्ड चुनावपछि झन् शालीन रूपमा प्रस्तुत भएका छन् । उनले अहिलेसम्म एमालेको कुनै पनि गुट र नेतालाई चिढ्याएका छैनन् । यसले एमालेभित्र प्रचण्डलाई बिच्क्याउने अभिव्यक्ति दिनेहरू पनि मत्थर देखिएका छन् । जस्तो : एमाले महासचिव ईश्वर पोखरेलले चुनावलगत्तै पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री एउटै व्यक्ति हुने अभिव्यक्ति दिए । त्यसको एमाले र माओवादी दुवैमा चर्को आलोचना भयो । पोखरेलको अभिव्यक्तिले यतिसम्म असर गर्‍यो कि ओली र प्रचण्डले दुवै दलका कुनै पनि नेता–कार्यकर्ताले एकताविरोधी अभिव्यक्ति दिन नपाउने निर्देशन नै जारी गर्नुपर्‍यो ।

एमाले–माओवादीबीचको एकता पक्कै पनि रातारात सम्भव छैन । त्यसका लागि दुवै दलले केही आधारभूत काम गर्नुपर्ने छ । पहिलो, नीतिगत तथा वैचारिक एकताको खाका र त्यसमा दुवै दलको सहमति । त्यो भनेको एमालेको बहुदलीय जनवाद र माओवादीको एक्काइसौँ शताब्दीको जनवादबीच तादात्म्यता, एकता र समायोजनको खोजी । दोस्रो, संगठनात्मक एकता र समायोजनको रूपरेखा र त्यसमा सहमति । तेस्रो, नेतृत्वको व्यवस्थापनको खाका र त्यसमा सहमति । यी काम गरेपछि पनि एमाले र माओवादीको स्कुलिङ अलग–अलग भएकाले दुई दलका नेता–कार्यकर्ताबीच व्यापक अन्तरघुलन र अन्तरक्रिया जरुरी हुन्छ, एउटै स्कुलिङमा ल्याउन । ओली निकट एमाले नेता विष्णु रिमाल भन्छन्, “यी काम टुंगोमा पुगेपछि एकता महाधिवेशनमा जानका लागि दुवै पार्टीको अन्तरिम नेतृत्व तयार हुन्छ, अन्तरिम विधान लागू हुन्छ र महाधिवेशनमा प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गरेर नै नयाँ नेतृत्व चयन हुन्छ । विधि यही हो ।” यति काम सक्दा कम्तीमा एक वर्ष लाग्ने अनुमान छ । 

तर, पार्टी एकताको विस्तृत मार्गचित्र र खाका तयार गरेर त्यसमा दुवै दलको शीर्ष नेतृत्व सहमत हुनुअघि नै एमालेको आसन्न नेतृत्वको केन्द्रमा प्रचण्ड आइसकेका छन् । एकताको प्रसंग वरिपरि उनै घुमिरहेका छन् । जस्तो : प्रधानमन्त्री र पार्टी अध्यक्ष आलोपालो, दुवै जना पार्टी अध्यक्ष, एउटा प्रधानमन्त्री, अर्को अध्यक्ष, सह–अध्यक्ष, संयोजक, कार्यवाहक अध्यक्ष, सर्वमान्य नेता आदि पद प्रचण्डकै रापबाट उत्पन्न भएका हुन् ।

यसले सिद्धान्त, नीति, विचार र संगठनको विषयमा होइन, एकीकृत पार्टीको नेतृत्व ओली र प्रचण्डमध्ये कसले गर्ने वा दुवैले गर्ने भन्नेमा बहस मोडिएको देखाउँछ । अहिले एमाले र माओवादीका अरू नेताहरूको हैसियत र स्थान के हुनेभन्दा पनि प्रचण्डलाई कुन जिम्मेवारी दिने भन्नेमै एमाले नेताहरूको टाउको दुखाइ भएको छ । रिमाल थप्छन्, “दुई अध्यक्षबीच फुट सिर्जना गर्ने र अरूले खेल्न थालेकै कारण नेतृत्वबारे दुई नेताले समझदारी गरेपछि मात्र पार्टी एकता संयोजन समितिमा ल्याउने भनिएको छ, एकताका धेरै विषय दुई नेताले नै टुंग्याउनु हुन्छ, त्यसपछि तल आउँछ ।”

नेपाल पक्षको दाउ

स्वाभाविक छ, दुई पार्टीको एकतापछि एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषय लोकतान्त्रिक विधि अर्थात् महाधिवेशनबाट नै तय हुने हो । तर, एकताअघि नै एमालेमा प्रचण्डको प्रभाव बढ्दै गएकाले ओली पक्षीय नेताहरूचाहिँ असुरक्षित अनुभव गर्न थालेका छन् । त्यसको प्रस्ट कारण छ, प्रचण्डलाई एकपटक कार्यकारी भूमिका दिएपछि उनले अरूलाई निल्ने एकथरी एमाले नेताहरूको आकलन छ । 

नेपाल पक्षीय नेताहरू भने ओलीभन्दा आफ्ना लागि प्रचण्ड नै सहज हुने र प्रचण्डमार्फत आफू एकीकृत पार्टीमा हाबी हुने दाउमा छन् । पूर्वअर्थमन्त्री तथा एमाले नेता भरतमोहन अधिकारीले त सार्वजनिक रूपमै प्रचण्डले कार्यकारी प्रमुखका रूपमा पार्टी एकता प्रक्रियाको नेतृत्व गर्नुपर्ने अडान राखेका छन् । भन्छन्, “दुई दलका शीर्ष नेतालाई सामेल गरेर पार्टी एकता संयोजन समितिलाई १७ सदस्यीय बनाउने र त्यसको प्रमुख प्रचण्डजीलाई बनाउनुपर्छ । त्यही समितिले एकता प्रक्रियाको सम्पूर्ण जिम्मेवारी पूरा गर्छ । ओलीले प्रधानमन्त्रीका रूपमा देशको नेतृत्व गर्नुहुन्छ ।”

चार वर्षअघि काठमाडौँमा सम्पन्न एमालेको नवौँ महाधिवेशनबाट पार्टी अध्यक्षमा ओली निर्वाचित भएपछि एमालेभित्रको गुटगत राजनीति कमजोर भएको ठानिएको थियो । किनभने, त्यो महाधिवेशनमा माधव नेपालले अध्यक्षमा ओलीलाई टक्कर दिए पनि पराजय भोगेका थिए । प्रधानमन्त्री भएका बेला भारतीय नाकाबन्दीविरुद्ध निर्वाह गरेको भूमिकाले गर्दा ओलीले लोकप्रियता हासिल गरे । त्यही कारण उनका विरुद्धमा पार्टीभित्र कोही पनि उभिन सकेन । प्रधानमन्त्रीबाट हटेपछि त ओलीले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न केन्द्रीय समितिको बैठक नै राखेर आन्तरिक एकतासम्बन्धी विशेष प्रस्ताव पारित गराइदिए, यसले पार्टीको आन्तरिक एकता सुदृढ गरेको मानिन्छ ।

तर, १७ असोजमा एमाले–माओवादीबीचको वाम गठबन्धन र एकता प्रसंग अघि बढेसँगै एमालेभित्र प्रचण्डको नयाँ गुट तयार भएको हो । वाम राजनीति र एमाले–माओवादी एकतालाई नजिकबाट नियालिरहेका राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन्, “एमालेमा प्रचण्डको गुट मात्र बनेको छैन । प्रचण्ड झन्डै–झन्डै ओलीकै हाराहारीमा एमालेको नेता भइसकेका छन् । एकताअघि नै एमालेमा प्रचण्डको स्वीकार्यता बढ्नु उनका लागि सुनौलो मौका हो ।”

अध्यक्षका रूपमा ओलीको उत्थानले एमालेले इतिहासमै सबैभन्दा ठूलो सफलता हासिल गरेको छ । स्थानीय चुनाव होस् वा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव, एमालेले पाएको सफलतामा ओलीको राप र तापले काम गरेको छ । ओली शक्तिशाली वाम सरकार र एकीकृत वाम दलको नेतृत्व गरेर इतिहास रच्ने रहरमा छन् भने प्रचण्ड एउटै कम्युनिस्ट केन्द्र बनाएर त्यसको नेता हुने दाउमा । त्यसैले दुई दल एक भएमा एकीकृत पार्टीमा प्रचण्डबाहेक ओलीलाई अहिले टक्कर दिने कोही हुने छैन । किनभने, १५ वर्ष पार्टी महासचिव र एकपटक प्रधानमन्त्रीका रूपमा वरिष्ठ नेता नेपालको सम्पूर्ण नेतृत्व क्षमता परीक्षण भइसकेको छ भने अर्का वरिष्ठ नेता झलनाथ खनाल पनि अध्यक्ष र प्रधानमन्त्रीका रूपमा परीक्षित भइसकेका छन् ।

दोस्रो तहको एमाले नेतृत्वले सार्वजनिक क्षेत्रमा आफ्नो क्षमता र योग्यता देखाउन नसकेकाले उसले प्रमुख नेताको वरिपरि बसेर आफूलाई फाइदा हुने विधि मात्रै खोजेको छ । त्यसैले ओलीपछि एमालेमा सशक्त नेतृत्वको खडेरी नै देखिएको छ । तर, एमाले–माओवादी एकतापछि त्यो खडेरी प्रचण्डबाट पूर्ति हुने ठानेर एकथरी एमाले नेता–कार्यकर्ता प्रचण्डलाई आफ्नो पार्टी अध्यक्षका रूपमा हेरिरहेका छन् । विश्लेषक श्रेष्ठ भन्छन्, “माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमका लागि ओलीभन्दा प्रचण्ड नै अनुकूल नेता हुन् । त्यसैले त्यो समूह प्रचण्डलाई नै एमालेको अध्यक्ष बनाउनुपर्ने पक्षमा अहिलेदेखि नै लागेको हो ।”

दुई पार्टीको एकता बहससँगै तत्कालीन महासचिव मदन भण्डारीले ०४९ मा लेखेको एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)को सच्चा उत्तराधिकारी ओलीले आफूलाई ठानेका छन् । तर, एकता प्रसंगसँगै एमाले उपमहासचिव घनश्याम भुसालले जबजको ‘च्याप्टर क्लोज’ भनेर ओली समूहलाई रुष्ट र माओवादी नेतृत्व अनि प्रचण्डलाई प्रफुल्ल पारेका छन् । ज्ञातव्य रहोस्, भुसाल नवौँ महाधिवेशनमा नेपाल समूहबाट उपमहासचिव भएका हुन् ।

एमालेभित्र प्रचण्डको गुट र प्रभाव बढ्दै गएकाले नै ओलीले पछिल्लो समयमा प्रचण्डसँग वान टू वान संवाद थालेका हुन् । ओली निकट एक नेता भन्छन्, “दुई अध्यक्षलाई फुटाएर आफू हिरो हुने खेल सुरु भयो, त्यसैले ओली प्रचण्डसँग प्रत्यक्ष संवादमा जानुभएको हो ।” 

प्रचण्ड रणनीति

ओलीसँग वान टू वान संवाद गरे पनि प्रचण्डको एमालेका अरू समूहका नेतासँग पनि उत्तिकै सुमधुर र सन्तुलित सम्बन्ध छ । उनी दुवै समूहलाई रिझाएर एमालेमा आफ्नो प्रभाव बढाउने र नेतृत्व लिने रणनीतिमा छन् । त्यसैको परिणाम हो, वरिष्ठ नेता माधव नेपालको चुनावी अभियानमा सघाउन पुग्नु । त्यति मात्र होइन, उनी माओवादीलाई सूर्य चिह्नमै चुनाव लडाउनसमेत राजी भएका थिए । तर, नारायणकाजी श्रेष्ठलगायतले नमानेपछि आफ्नै चिह्नमा उनको दल चुनावमा गयो । एमालेका दुवै समूहका नेता–कार्यकर्तालाई रिझाउनकै लागि उनी माओवादीलाई ‘एमालेको भाइ’को संज्ञा दिन थालेका छन् । १५ पुस ०७४ मा राजधानीमा भएको सिन्धुली जमघटमा पनि उनले वाम नेता ऋषि देवकोटा आफ्नो राजनीतिक गुरु भएको बताएर एमाले कार्यकर्ताको ताली खाए । विश्लेषक श्रेष्ठ भन्छन्, “एमालेमा एकताअघि नै प्रचण्डको अघोषित नेतृत्व स्थापित भइसकेको छ । पार्टी एकताको केन्द्रमा प्रचण्ड हुनुको कारण नै त्यही हो ।”

त्यसो त प्रदेश र प्रतिनिधिसभाको चुनावपछिका राष्ट्रिय राजनीतिक मुद्दामा पनि प्रचण्ड ओलीभन्दा फरक देखिए । चुनावपछि ओली राष्ट्रपतिबाट कुनै पनि हालतमा राष्ट्रियसभासम्बन्धी अध्यादेश जारी गर्न नहुने पक्षमा थिए भने प्रचण्ड अध्यादेश जारी गराउने पक्षमा । त्यस्तै, राष्ट्रियसभाबिना नै सरकार गठन गर्नुपर्ने, प्रदेश प्रमुखको नियुक्ति तथा अस्थायी राजधानी नयाँ सरकारले तोक्ने, प्रदेश प्रमुख जबर्जस्ती तोकिए सांसदहरूले शपथग्रहण नगर्नेजस्ता अभिव्यक्ति दिएका थिए ओलीले । जबकि, यी मुद्दामा प्रचण्ड मौन थिए । 

राष्ट्रियसभाको चुनावका बारेमा पनि बहुमतीय प्रणालीमा गरिनुपर्ने ओलीको अडान थियो भने प्रचण्ड, वरिष्ठ नेता नेपाल र पूर्वअध्यक्ष खनाल आदि ओलीभन्दा फरक धारमा उभिएका थिए । एमाले उपाध्यक्ष वामदेव गौतमले त राष्ट्रियसभाको चुनावबिना सरकार गठन नहुने भनेपछि ओली आफ्नो अडानबाट पछि हटेर प्रचण्डलाई राष्ट्रपतिकहाँ पठाएर अध्यादेश स्वीकृत गर्न लगाए । प्रचण्ड, नेपाल, खनाल र गौतमले ओलीको अडानलाई साथ नदिएकैले हो, ओलीको इच्छाविपरीत राष्ट्रपतिबाट अध्यादेश जारी गरिनु । विश्लेषक श्रेष्ठ भन्छन्, “राजनीतिक गतिरोध प्रचण्ड, गौतमलगायतले खोलेका हुन् । अरूको साथ नपाएपछि ओली आफ्नो अडानबाट पछि हटेका हुन् ।”

नेपाल र प्रचण्ड मिले आफू कमजोर हुने ठानेर नै होला, ओलीले नेपालसँग पनि पछिल्लो समय निकटता बढाएका छन् । स्रोतका अनुसार बालकोटमा प्रचण्ड–ओलीजस्तै नेपाल–ओलीबीच पनि वान टू वान वार्ता बाक्लिएको छ । स्रोतका भनाइमा ओलीले नेपाललाई कुनै फर्मुला दिएका हुन सक्छन् । यसको अर्थ पार्टी एकीकरणपछि भावी नेतृत्वमा नेपाललाई उनको स्थान देखाइदिएका हुन सक्छन् । 

प्रचण्ड पनि के कम, उनी पनि ओलीजसरी नै एमालेका बाँकी नेतासँग उत्तिकै सघन संवादमा छन् ।

ओली र उनको कोर समूह प्रचण्डलाई कुनै पनि हालतमा अध्यक्ष नदिने, सह–अध्यक्ष वा अरू कुनै भूमिका दिएर एकता गर्ने सोचमा छ भने अर्काथरी एमाले प्रचण्डलाई अध्यक्ष र ओलीलाई प्रधानमन्त्री बनाएर एकता प्रक्रियालाई अघि बढाउने पक्षमा छन् । पूर्वअर्थमन्त्री अधिकारी भन्छन्, “ओलीपछिको एमालेको नेता प्रचण्ड नै हो । माधव नेपाललगायतका अरू वरिष्ठ नेतालाई सम्मानजनक व्यवस्थापन गर्न नयाँ पद सिर्जना गर्नुपर्छ । नेताहरूले एकअर्काप्रति सशंकित भएर एकता प्रक्रियाबाट पछि हट्न मिल्दैन ।” 

प्रकाशित: माघ १५, २०७४