नखोलिएका केही पाटा

  • अनेकाैँ छन् 'स्वर्ग'भित्र यस्ता नलेखिएका कथाहरू र नखोलिएका व्यथाहरू

- विश्वास हमाल

हाम्रो कार्यालयमा एक सहकर्मी छ । ऊ सधैँ समयभन्दा दुई–तीन घन्टाअगाडि आइपुग्छ । तर, जाने बेलामा सबैभन्दा पछाडि । लाग्छ, उसको सारा जिन्दगी त्यही कामको वरिपरि घुमेको छ । अनि, प्रत्येक दिनजसो उसले केही न केही लिएर आएको हुन्छ– बिस्कुट, केक या फलफूल । त्यो उसको खुसी बाँड्ने तरिका रे ! कहिलेकाहीँ अफिसको टेबलमा ती खानेकुरा देखिएन भने हामी सोध्छौँ, ‘आज थोमस आएन कि क्या हो ?’ हामीसँगै काम गरेको दुई वर्ष भइसक्यो, उसको जिन्दगी त्यस्तै नै छ । 

लाग्छ, उसको दु:ख–सुख, आफ्नो–बिरानो सबै चीज त्यही कार्यालयमै छ । ५५ वर्षको भइसक्दा पनि विवाह गर्ने कोही पाएन रे ! उसले चाहेर एक्लो जीवन बिताएको होइन । ऊ चाहन्छ, उसको पनि कोही होस् । हेर्दा औसत अनुहार भए पनि कुनै केटीले बिहे नै गर्ने गरी पत्याएनन् भन्छ ऊ । उसको एक्लोपना, उसको जिन्दगी अनौठो छ । यदि नेपालमा जस्तो बाआमा, नातागोताले मिलाइदिएर मागी विवाह हुन्थ्यो भने सायद उसको पनि कोही हुन्थ्यो । विवाहपछि खुसी हुने/नहुने कुरा त आफ्नै ठाउँमा छ । तर, पनि मन बहलाउने परिवार हुन्थ्यो । 

अहिले करोडाैँ ‘थोमस’हरू यसरी नै बाँचेका छन्, पश्चिमी देशहरूमा । एक्लोपना अहिले विकसित देशहरूको ठूलो समस्या भएर निस्केको छ । रेडियो, टेलिभिजनमा विज्ञापन बज्छ, बिलबोर्डहरूमा अक्षर टाँसिन्छ, ‘आफ्नो मान्छेलाई हेलो भनाैँ, केही शब्द बोलौँ, एक्लोपना निराशापूर्ण हुन्छ ।’ यस्तै थोमसहरूको समस्या समाधानका लागि धेरै सामाजिक संस्थाहरू काम गरिरहेका छन् । बेलायतमा मात्रै करोडाैँ युवाहरू यो समस्याबाट गुज्रिरहेका छन् । यो समस्या यति जटिल भइसक्यो कि प्रधानमन्त्री टेरेसा मेले यसको समाधानका लागि एक्लोपना मन्त्रीसमेत चुनेकी छन् । 

बेलायत, अमेरिका या विकसित देशहरूमा मोटोपनाको ठूलो समस्या छ । सस्तो र अस्वस्थ खानाले यति बिगारेको छ कि प्रत्येक पाँच जनामा तीन जना ओभरवेट छन् । जति ठूलो भुँडी, त्यति धेरै रोग हुने समस्याले पश्चिमी देशहरूलाई धेरै नै समस्या पारेको छ । खाना कम गरेर होस्, जिम धाएर होस् या डाइटिङ गरेर होस्, अहिले लाखाैँ–करोडाैँको एक मात्र सपना छ, स्वस्थ रहने र त्यसका लागि ‘ तौल घटाउने’ पहिलो काम । समस्या कहाँ छैन ? विकसित देशमा धेरै तौल भएर समस्या, हाम्रोतिर पौष्टिक आहार नपाएर समस्या । त्यसैले पनि होला, विश्वका थोरै तौल हुने देशहरूमा तेस्रो स्थानमा हाम्रो देश परेको छ । 

पश्चिमी देशहरूमा १८ वर्ष पुगेपछि घर छोडेर एक्लै बस्नु एउटा जीवनशैली नै हो, जसका राम्रा या नराम्रा आफ्नै पक्ष छन् । तर, अहिले यो पनि समस्या बन्न गएको छ । बेलायती जीवनको कुरा गर्दा, यहाँ महँगी यसरी बढ्दैछ कि घर किन्ने पनि अब सामान्य बेलायतीको एउटा सपनाजस्तै भएको छ । पछिलो २० वर्षयता युवाहरू आमाबाबुसँगै बस्न थालेका छन् । आमाबाबुसँगै बसेको छु भन्न यिनीहरूलाई हीनताबोध हुन्छ ।

उमेर पुगेपछि पनि छुट्टै बस्न नसक्नु असफल जिन्दगीको विशेषता मानिन्छ, पश्चिमी देशतिर । धनीहरूका लागि त केही समस्या छैन । तर, मध्यम र निम्न वर्गीयहरूको आफ्नै व्यथा छ । घरभाडा, जीवनशैली अनि यात्रा यति महँगो छ कि तलब आएको दुई–तीन दिनमै उनीहरू फेरि एक पाउन्डका लागि हारगुहार गर्छन् । क्रेडिट कार्ड र किस्तै–किस्तामा जसोतसो जिन्दगी चलेको छ सबैको । त्यसैले त बच्चा पाउने चाहना हुँदाहुँदै पनि आर्थिक समस्या अनि आफ्नो वासस्थान नहुँदा धेरै दम्पतीले त्यो चाहना पूरा गर्न सकेका छैनन् । काम नगरी यहाँ कसैलाई पनि खान छैन । अनि, बच्चा हुर्काउनका लागि श्रीमान्–श्रीमतीबाहेक हाम्रो नेपालतिर जस्तो काका–काकी, हजुरबुबा–हजुरआमा कोही हुँदैन । जागिर गरेर जीवन धान्ने समय बच्चा हुर्काउन परेपछि अरू व्यावहारिक समस्या आउँछन् । 

वर्षको आठ महिना चिसो हुने बेलायतमा करोडाैँ मानिस यति गरिब छन् कि उनीहरू घर तताउने हिटर चलाउने सामथ्र्य पनि राख्दैनन् । सुन्दा पत्यार लाग्न गाह्रो पर्छ । तर, यही चिसो अनि गरिबीका कारण वर्षाैँ १५ हजारको मृत्यु हुने गर्छ । विद्यालय शिक्षा नि:शुल्क भए पनि विश्वविद्यालयको महँगो शुल्क तिर्न नसकेर पढ्न नपाउनेहरू लाखाैँ छन् । पढ्नका लागि सरकारले शैक्षिक ऋणको सहुलियत दिए पनि पढाइ सकेर वर्षौंसम्म काम नपाई त्यही ऋण तिर्न नसकेर बेहाल हुनेहरूको पनि अर्कै कथा छ ।

नेपाल बस्दा सोचिन्थ्यो, बेरोजगारी समस्या नेपालमा मात्रै होला । विकसित देशमा त त्यस्तो कहाँ हुन्छ होला । तर, यताका समस्या नेपालको जस्तो विकराल नभए पनि समस्या अनगिन्ती रहेछन् । हाम्रोतिर बाल अधिकार नै छैन भने यतातिर बाल अधिकारका नाममा चाहिनेभन्दा बढी नै स्वतन्त्रता दिइएको छ । घर होस् या विद्यालय, बालबालिकाहरू धेरै नै स्वतन्त्र देखिन्छन्, आफ्नै बा–आमा, अभिभावक अनि शिक्षक–शिक्षिकासँग पनि कुनै आदर र सम्मान नगरी व्यवहार गर्ने ।

यौनलाई यति सस्तो साधनका रूपमा हेरिन थालिएको छ कि प्रत्येक दिनजसो समाचार आउँछन्, स्कुले विद्यार्थी र शिक्षक वा शिक्षिकाबीच यौन सम्पर्क । अनि, शिक्षक र शिक्षिका गिरफ्तार । अनि फेरि अर्को ठूलो समस्या छ किशोरी आमाहरूको । १४ देखि १९ वर्षका किशोरीहरू असुरक्षित यौन सम्पर्कका कारणले आमा बन्छन् । वर्षमा ५० हजार किशोरी बेलायतमा आमा बन्छन् । 

नेपालजस्तो अभावैअभाव भएको देशमा हुर्किएर विदेशका चिल्ला सडक र अग्ला भवन देख्दा केही समयका लागि ‘स्वर्ग’ नै हो कि जस्तो लागे पनि बिस्तारै स्वर्गभित्रका पाटाहरू खोलिँदै जाँदा रहेछन् । अनेकाैँ छन् स्वर्गभित्र यस्ता नलेखिएका कथाहरू र नखोलिएका व्यथाहरू । 

प्रकाशित: माघ १५, २०७४