यारका अनुहारहरु

- दिपेश नेपाल

एउटा मित्रले आफ्ना संगतमा आएका उकाली–ओरालीहरू गम्न थाल्यो भने उसलाई मानवीय सम्बन्धहरूको क्षीणता, महत्त्व र त्यसमै आफ्ना अनेक रूपको याद ताजा भएर आउँछ । केही धमिला, केही प्रस्ट अनुहारहरूसँग आफ्ना मित्रवत् सम्बन्धको रूपरेखालाई रर्किएर हेर्दा ग्लानि पनि होला, जीवनप्रति धन्य पनि भइएला । नयनराज पाण्डेको संस्मरणात्मक कृति यार उनले संग्रह गरेका २५ त्यस्तै साथीहरूसँगको सम्बन्ध र घटनामा आधारित मित्रताको कसीमा गरेको आत्मदृष्टि हो, जसमा कहीँ हामीले उनकै लयमा आफ्नो कथा भेट्टाउँछौँ, कतै उनलाई नियाल्छौँ र मित्रताप्रति सचेत हुन्छौँ ।

बाल्यकालका छुटेका यादहरू र त्यससँगै याद आउने पात्रहरूको कृतिमा स्थान छ । मित्रताका रोचक, कतै हास्यपूर्ण कथाहरूमा लेखकले स्वाभाविक बालमनोविज्ञानलाई मीठो ढंगले प्रस्तुत गरेका छन् । पुस्तकमा कसैको व्यक्तिचित्र भेटिन्छ, कसैसँगको लगाव, प्रेम र कतै सानो बेलाको सम्झना सल्किएर वयस्क हुँदा पनि तिनले लेखकलाई पछ्याइरहेको थाहा हुन्छ, कुनै विस्मय भएर कुनै कालान्तरमा तीतो सम्झना भएर ।

लेखकले काठमाडौँ आएपछि अनेक मित्र कमाए र आफ्नो निजी संघर्षमा त्यही मित्रबाट इखले जन्माएको धोका बेहोरे, कसैका लागि अल्लारे भइदिए र सुमधुर भइरहेको आउजाउमा उनकै उपस्थिति हाबी भइदियो र त्यो तुहियो । यसो हुँदा पनि लेखकले निरपेक्ष हुने र कृतिको केन्द्रमा रहेको मित्रताको विषयलाई नै उज्यालो पार्ने कोसिस गरेका छन् । पाठकले उनलाई सही देख्दा पनि उनले आफ्नो बचाउ र श्रेष्ठतालाई भन्दा घटना, सम्बन्धको नियति र त्यससँग सम्बन्धित कुराहरूलाई नै प्राधान्य दिएका छन्, यसले संस्मरणलाई स्वतन्त्र बनाइदिएको छ ।

मान्छेका द्वैध चरित्र, करुणा, कुण्ठा आदि अनेक मानवजातिले धारण गरेका विशेषणहरू जीवनमा प्रत्यक्ष रुपान्तरण हुँदा यसका प्रतिक्रियाहरूमा लेखक परेका छन् । शैलीमा अतिशयोक्ति छैन र जीवन–व्यवहारमा मित्र कमाउने र गुमाउने प्रक्रिया मात्र नभएर तिनको स्थायी अवशेषले आफ्ना हदहरूप्रति सचेत र विवेकी तुल्याएको उदाहरण संस्मरणको अन्त्यसम्म पुग्न प्रेरित कथाहरूमा पाइन्छ । ‘टिकट’, ‘पेटीकोट’, ‘हेलमेट’, ‘राम्री’, ‘कमिज’जस्ता संस्मरणमा मानव सम्बन्धहरूका अनेक कोण देख्न पाइन्छ र त्यसमा सिंगो मान्छे नदेखिएर समाजका अवयवहरू, चरित्रका स्खलनहरू, सम्बन्धका नरम केन्द्रहरू र दैनिक जीवनका कठिनाइ र विचलनहरू देखिन्छन् । प्रत्येक संस्मरणको अन्त्य आइपुग्दा त्यसले निजत्व निखारेर हामीलाई आफ्नै अनुहार देखाएको पनि भान हुन्छ । 

लेखकले आफूलाई चोखो पारेर उपस्थित गराएका छैनन्, गल्ती गरेको स्वीकार गरेका छन् । र, त्यसलाई बाध्यकारी देखाएका पनि छैनन् । यसर्थ विधाको सौन्दर्य कायमै राखेका छन् । राजनीतिक वृत्त, मुकुण्डे परोपकारसित सम्बन्धित किस्साहरूमा लेखकले देखाउन खाजेको पात्र, परिवेश र प्रवृत्ति घतलाग्दा छन् । प्रत्येक पाठको सुरुमा प्रयोग गरिएका चित्रहरूले संस्मरणको ओज बढाएको छ । लेखकका साहित्यिक वृत्तका यारहरूसितका संस्मरणमा लेखक विशेषत: आफ्नै मूल्यको खोज गरिरहेका देखिन्छन्, जसमा सामान्य जीवन–व्यवहारमा जो कोही अविवेकी र एकोहोरो हुने मनस्थिति उत्पन्न हुन सक्ने र तिनको पछिपछि ग्लानिको भाव आउने निक्र्योल छ । संस्मरणका पछिल्ला पाठहरूमा मित्रता जोगाउन गरेको प्रयास, एकअर्कालाई सहन, पचाउन सक्ने खुबी, सहभाव र आदरको संस्मरणात्मक विम्ब पाइन्छ ।

भावनात्मक बल गरेका छैनन् लेखकले । संस्मरणहरूमा निचोड निकाल्न भन्दा जस्तो हो, त्यस्तै भन्न गरेको इमानदार प्रयास देखिन्छ र प्रभाव पार्न नाटकीयताको प्रयोग गरेको पनि त्यति पाइँदैन । उनले आफ्नो जीवनमा स्थान दिएका पात्रहरू पुन: सजीव भएर आएका छन् । लेखक र उनीहरूबीचको सम्बन्ध बन्ने, बिग्रने, सम्झने प्रक्रियामा र लेखक स्वयंको मनोविज्ञानमा हामीले औसत मान्छेका रूपहरूको कल्पना गर्न सक्छौँ । 

तर, पछिल्ला पाठहरूमा जसरी भूमिकाले रोचकता र गोप्यताको साहित्यिक प्रयोग पाइएको छ, तिनै सुरुका पाठहरूमा भने बोझिला छन् । अझ ‘मजाक’मा लेखकले अतिशय भावनात्मक भएर संस्मरण होइन कि टिप्पणी लेखेका हुन् कि जस्तो लाग्छ । मित्रतालाई केन्द्रमा राखेर पनि धेरै वाक्यहरूमा लेखक विषयविमुख भएका पनि देखिन्छन् र निजी जीवनका बयानहरूलाई असरल्ल छरिदिइएको पनि लाग्छ । संस्मरणसँग साझै सम्बन्धित नभए पनि प्रयोग गरिएका चित्रहरू कुनैले भर गुमाएको पाइन्छ । लेखकले आदर्श बयान गरिरहने धारलाई पछ्याएका त छैनन् । तर, सिर्जनाका दृष्टिले संस्मरणहरू सबै उत्तिकै सशक्त भने छैनन् । र, लेखक जत्ति आफ्ना लागि संवेदनशील भएका छन्, त्यो सबै ठाउँमा पाठकमा प्रवाह भएको पाइँदैन ।

कथात्मक शैलीका संस्मरण पठनका हिसाबले सामान्य र रोचक छन् । तिनमा क्लिष्टताको गन्ध छैन । सबै पाठहरूमा लेखकलाई जानेका बाहेकलाई यथेष्ट सामग्री उपलब्ध छैन । तर पनि, तिनले संकेत गर्ने हाम्रो समयका मान्छेको जीवन र त्यसैबीच गाह्रो गरी बन्ने र सजिलैसँग मेटिने मित्रवत् सम्बन्धहरूमा गहिरो चासो राखेको छ । संस्मरणहरूमा लेखकले खोजी गरेका र सम्झिएका मित्रताको मूल सामान्य मान्छेले पनि खोजी गर्न सक्छ, यसका लागि आफूलाई विरलता र तिक्तताको तराजुमा भारी भएर तल गएको हेर्न पनि सक्नुपर्छ । सायद यही आँट नै कृतिको केन्द्रमा छ ।

यार

लेखक : नयनराज पाण्डे

प्रकाशक : फाइनप्रिन्ट बुक्स

पृष्ठ : २४०

मूल्य : ४७५ रुपियाँ 

प्रकाशित: माघ १४, २०७४