विपक्षीका पनि विशेष

  • रोनाल्डिन्हो, जसले हालै फुटबलबाट संन्यासको घोषणा गरे

- ज्ञानेन्द्र आचार्य

सन् २००२ को विश्वकप क्वाटरफाइनलमा इङ्ल्यान्डविरुद्धको त्यो फ्रि–किक । रोनाल्डिन्होको नाम लिनेबित्तिकै धेरैले त्यही गोल सम्झन्छन् । मैदानको दायाँतिर र इङ्ल्यान्डको गोलपोस्टभन्दा करिब ४० यार्ड परबाट हानेको फ्रि–किकमा उनले गोल गरेका थिए । विश्वकपका उत्कृष्ट गोलको सूची बनाउने हो भने सायदै कसैले रोनाल्डिन्होको त्यो गोललाई छुटाउलान् । त्यही विश्वकपले रोनाल्डिन्होलाई चर्चाको शिखरमा पुर्‍यायो । सन् २००२ मा विश्वकप जितेको ब्राजिल निकै बलियो टिम थियो । हरेक पोजिसनमा उत्कृष्ट खेलाडी । रोनाल्डो, रिभाल्डो, काफु, रोबर्टो कार्लोस आदि । यस्ता एकसेएक खेलाडीसँगै त्यसबेला ब्राजिलको टिममा सुरुआती ११ मा अटाउनुले नै रोनाल्डिन्हो कुन दर्जाका खेलाडी थिए भन्ने बुझ्न सकिन्छ । मैदानभित्र उनले जे गर्थे र जसरी खेल्थे, त्यो देख्नेजति सबै उनका फ्यान भइहाल्थे । चाहे त्यो ब्राजिलको समर्थक होस् वा नहोस् । 

ब्राजिलका खेलाडीहरू बलसँगको कौशलताका कारण चिनिन्छन् । यसको श्रेय उनीहरू ब्राजिलमा खेलिने बिच फुटबललाई दिन्छन् । ब्राजिलका लगभग सबै खेलाडी बगरको बालुवामा फुटबल खेल्दै हुर्किन्छन् । यसबाट उनीहरूले बलमाथि नियन्त्रण राख्न र मनै लोभ्याउने खालका कौशल सिकेका हुन्छन् ।

रोनाल्डिन्होको बाल्यकाल पनि लगभग यस्तै थियो । उनी दक्षिण ब्राजिलको पोर्टो अलेग्रो सहरमा जन्मिएका थिए । रोनाल्डिन्हो सानै छँदा ब्राजिलमा रोमारियोको चर्चा थियो । जो उनका आइडल पनि थिए । रोमारियोले जस्तै रोनाल्डिन्होले पनि ब्राजिलको राष्ट्रिय टिमबाट खेल्ने सपना बोकेका थिए । तर, बाल्यकालमा रोनाल्डिन्होका लागि प्रेरणाको स्रोत उनकै दाइ रोबर्टो थिए । फुटबल खेल्न उनले रोबर्टोबाटै सिकेका थिए । हृदयघातका कारण पिताको मृत्युपछि उनको परिवार रोबर्टोकै आशमा थियो । त्यतिबेला रोनाल्डिन्हो मात्रै आठ वर्षका थिए । धन्न रोबर्टोलाई ग्रेमियोले अनुबन्ध गर्‍यो, जसले ब्राजिलको ए डिभिजन लिग खेल्थ्यो । यही क्लबमा रोनाल्डिन्होले अझै सिक्ने र आफूलाई निखार्ने मौका पाए । १८ वर्ष पुग्दा नपुग्दै उनले ग्रेमियोको सिनियर टिमबाट खेले । त्यसपछि त उनको करिअरले जादुयी गति लियो । १९ वर्षमा ब्राजिलको राष्ट्रिय टिमबाट डेब्यु गरे, २० वर्षमा फ्रान्सको पीएसजी पुगे, २२ वर्षमा विश्वकप जिते र २३ वर्षको हुँदा बार्सिलोना पुगे । बार्सिलोनामा हुँदा रोनाल्डिन्हो करिअरको उच्च फर्ममा थिए । 

विपक्षी खेलाडी र समर्थकहरूको पनि सम्मान र माया पाउने कमै खेलाडीमा पर्छन् रोनाल्डिन्हो । सन् २००५ मा रियल म्याड्रिडविरुद्ध उसकै मैदानमा रोनाल्डिन्होले दुई गोल गरे । ती दुवै गोल यति स्तरीय थिए कि रियल म्याड्रिडका समर्थकले पनि उनको सम्मानमा ताली बजाएका थिए । एल क्लासिकोमा (रियल म्याड्रिड र बार्सिलोनाबीचको खेल) एउटा क्लबको समर्थकले अर्को क्लबका खेलाडीलाई सम्मान गर्नु निकै दुर्लभ घटना हो । रोनाल्डिन्होभन्दा अघि यस्तो सम्मान म्याराडोनाले बार्सिलोनाका लागि खेल्दा सान्टियागो बर्नबाउ (रियल म्याड्रिडको मैदान)मा पाएका थिए । त्यसयता यस्तो सौभाग्य अन्य कुनै खेलाडीलाई मिलेको छैन । 

बार्सिलोनामै पनि उनलाई राम्रो सम्मान गरिन्थ्यो । उनको कुशल खेलबाट सबै कायल थिए । बार्सिलोनाले त सन् २००३ मा उनलाई भित्र्याएपछि क्लबको इतिहास नै बदलिएको मान्छ । किनभने, उनको आगमनसँग बार्सिलोनाको सुखका दिन फर्किएका थिए । त्यसबेला बार्सिलोना एउटा स्तरीय मिडफिल्डरको खोजीमा थियो । सन् २००३ मा डेभिड बेकह्यामलाई म्यानचेस्टर युनाइटेडबाट रियल म्याड्रिडले खोसेपछि मात्रै बार्सिलोनाको ध्यान उनीमाथि परेको थियो । त्यतिबेला बार्सिलोनामा नयाँ प्रशिक्षक आएका थिए, फ्रन्क रायकार्ड । रायकार्ड र रोनाल्डिन्हो आएपछि बार्सिलोनाले घरेलु फुटबलमा राम्रो नतिजा ल्याउन थाल्यो र १४ वर्षपछि बल्ल च्याम्पियन्स लिग पनि जित्यो । यसका लागि रोनाल्डिन्हो मुख्य हतियार थिए । बार्सिलोनामा हुँदै रोनाल्डिन्हो एकपटक बलुन डियोर र दुईपटक फिफा वर्ष खेलाडी पनि बने । 

बार्सिलोनाका आइकनिक खेलाडी जाभीले पनि रोनाल्डिन्हो आएपछि बार्सिलोनाले प्रगति गर्न थालेको बताएका छन् । रोनाल्डिन्हो पाँच वर्ष बार्सिलोनमा हुँदा जाभीसँगै खेलेका थिए । बार्सिलोनाका अहिलेका कप्तान आन्द्रेस इनियस्टाका अनुसार महत्त्वपूर्ण खेलअघि टिमलाई प्रेरित गर्ने अद्भुत क्षमता पनि रोनाल्डिन्होमा थियो । उनको प्रशंसा गरेर नथाक्ने बार्सिलोनाका अर्का खेलाडी हुन्, लियोनल मेसी । जसलाई रोनाल्डिन्होले भाइजस्तै मान्छन् । मेसी अन्तर्मुखी स्वभावका छन् । तर, रोनाल्डिन्होप्रति उनको ठूलै सम्मान छ । यी दुवैलाई आफ्नो पहिलो भेट राम्रै याद छ । मेसी बार्सिलोनाको सिनियर टिमका लागि छानिएका थिए । सिनियर टिमसँगको पहिलो प्रशिक्षणपछि नै रोनाल्डिन्होलाई लागेको थियो, मेसी नै पछि बार्सिलोनालाई माथि पुर्‍याउने खेलाडी हुनेछन् । रोनाल्डिन्होकै सहयोगमा मेसीलाई सिनियर टिमसँग घुलमिल हुन सजिलो भयो । यहाँसम्म कि बार्सिलोनाका लागि मेसीको पहिलो गोलमा रोनाल्डिन्होले नै पास मिलाइदिएका थिए ।

सन् २००८ ताका रोनाल्डिन्हो चोटका कारण सताइन थाले । त्यसमाथि पेप ग्वार्डिओला प्रशिक्षक बनेपछि उनले बार्सिलोनाको टिम फरक ढंगले बनाउन थाले । र, रोनाल्डिन्हो इटालीतिर लागे । त्यहाँ एसी मिलानबाट उनले लिग पनि जिते । तर, त्यहाँ पनि चोटका कारण उनी त्यति प्रभावकारी भएनन्, जति पाँच वर्ष बार्सिलोनाका लागि थिए । एसी मिलानपछि उनले केही वर्ष ब्राजिलमै लिग खेले र एकपटक मेक्सिको गएर पनि खेले । र, हालै मात्र उनले खेल जीवनबाट संन्यासको घोषणा गरेका छन् ।

रोनाल्डिन्होको मैदानबाहिरका किस्सा पनि उत्तिकै रंगीन छन् । भनिन्छ, उनी प्रशिक्षणमा खासै ध्यान दिँदैनथे । कहिलेकाहीँ त उनी ट्रेनिङ किटबिनै प्रशिक्षण थलो पुग्थे । किनभने, अघिल्लो रातभरि नै उनी पार्टीमा हुन्थे । उनको यही स्वभावका कारण पीएसजीले उनलाई बेच्ने निर्णय गरेको पनि भनिन्छ । र, बार्सिलोनामा हुँदा पनि उनको यो बानी सुध्रिएन । उनले बार्सिलोना छोड्नुपछाडि चोटबाहेकको अर्को कारण यो पनि होला । 

बार्सिलोना छोडेपछि पनि त्यहाँको इतिहासमा उनको छुट्टै स्थान छ । क्लब र खेलाडी सबैले उनलाई आदर पनि गर्छन् । यस्तै एउटा मन छुने घटना पनि छ । हरेक सिजनअघि बार्सिलोनाले क्लब स्थापना गर्ने जोआन ग्याम्परको नाममा खेल खेल्छ । सन् २०१० मा ग्याम्पर ट्रफीका लागि एसी मिलानलाई निम्त्याइएको थियो । त्यतिबेला रोनाल्डिन्हो एसी मिलानमै थिए । खेल सुरु हुनुअघि खिचिने टिम फोटोका लागि बार्सिलोनाका कप्तान कार्लेस पुयोलले रोनाल्डिन्होलाई पनि बोलाए । सायद यो एक मात्रै यस्तो घटना होला, जहाँ टिम फोटोमा विपक्षी खेलाडी पनि थिए । त्यो पनि विपक्षीकै जर्सीमा । बार्सिलोनाको जर्सी लगाएका ११ खेलाडीसँगै एसी मिलानको जर्सीमा रोनाल्डिन्हो टिम फोटोमा अटाउनुको एउटै कारण छ । बार्सिलोनाको क्लब, समर्थक र खेलाडी सबैले उनीप्रति दर्शाउने सम्मान र माया । त्यसैले उनी आजसम्म पनि बार्सिलोनाका सद्भावना दूत छन् । 

चोटका कारण उनको खेल जीवन एकाएक ओरालो लाग्यो, जसले फुटबल रुचाउने सबैलाई दु:खी बनायो । किनभने, उनको खेल नै त्यस्तै थियो, सबैको मन लोभ्याउने । आठ–दस वर्ष मात्रै उनी उच्च फर्ममा देखिए । र, यत्तिमै उनले ब्राजिलबाट विश्वकप, कोपा अमेरिका र कन्फेडरेसन्स कप सबै एक–एकपटक जिते । यत्तिमै उनले यस्तो खेल देखाए कि उनलाई अझै पनि सबैभन्दा कुशल खेलाडी नै मानिन्छ ।

ब्राजिलका एक पूर्वफुटबल खेलाडी टोस्टाओ त उनीबारे यसरी व्याख्या गर्छन्, “रोनाल्डिन्होसँग रिभेलिन्होको जस्तो ड्रिबलिङ, गेरसनको जस्तो भिजन, गारिन्चाको जस्तो जोस, जर्जिन्हो र रोनाल्डोको जस्तो पेस र पावर अनि जिकोजस्तै प्राविधिक क्षमता र रोमारियोको जस्तै रचनात्मक क्षमता छ ।” यी सबै नामहरू ब्राजिलका सर्वकालीन राम्रा खेलाडी भनेर चिनिन्छन् । सीधा र सजिलोसँग टोस्टाओको कुरा बुझ्न खोज्ने हो भने रोनाल्डिन्हो उत्कृष्ट, जादुयी र पूर्ण फुटबल खेलाडी हुन् । 

प्रकाशित: माघ १४, २०७४