पद्मावत: आकर्षक रंगको औसत पेन्टिङजस्तो

  • पद्मावत हेर्दा हुन्छ, रणवीरको अभिनय, दीपिकाको सौन्दर्य र चौधौँ शताब्दीको समाज थोरबहुत बुझ्नका लागि ।

- गोकर्ण गौतम

तमाम लफडा र हिंसात्मक घटनालाई झेल्दै सञ्जयलीला भन्साली निर्देशित फिल्म पद्मावत प्रदर्शन भएको छ । सुरुमै दुई कुरा भनौँ । एक, न यो फिल्ममा राजपुतको आस्था र संवेदनामा चोट पुर्‍याउने कुनै दृश्य छ । दुई, न यसले रामलीला र बाजीराव मस्तानीपछि भन्सालीप्रति चुलिएको अपेक्षा पूरा गर्छ । ‘लार्जर देन लाइफ’ कथामार्फत पर्दामा चमत्कार गर्न माहिर भन्साली यसपटक ‘लुक्स’मै रमाएको आभास हुन्छ । चौधौँ शताब्दीको संसारलाई चित्रित गर्ने मामलामा चाहिँ उनको अब्बलता देखिन्छ । यो फिल्म सुफी कवि मलिक मुहम्मद जयासीद्वारा सोह्रौँ शताब्दीमा रचित कविता ‘ पद्मावती’मा आधारित छ, जसले पद्मावती रानीको सौन्दर्य, सौर्य र समर्पणको बखान गरेको छ । तर, भन्सालीको फिल्ममा रानीभन्दा सुल्तान अलाउद्दीन खिलजी हाबी छन् । 

सिंघल राज्यकी राजकुमारी पद्मावती (दीपिका पादुकोण) र मेवाडका महाराज रावल रतन सिंह (साहिद कपुर)को संयोगले भेट हुन्छ । दुवै एकअर्कालाई औधि मन पराउँछन् र पद्मावती मेवाडकी महारानी बन्छिन् । दिल्लीका सुल्तान खिलजी (रणवीर सिंह)ले उनको सौन्दर्यबारेमा सुन्छन् । र, उनलाई एक झलक देख्नकै खातिर मेवाडमाथि हमाल गर्छन् । निकै हिंस्रक र धोकेबाज खिलजीले पद्मावतीलाई पाउलान् ? रतन सिंह आफ्नो राज्य र रानीको रक्षा गर्न सक्षम होला ? फिल्म यिनै सवालवरपर घुमेको छ ।

क्लाइमेक्समा संघर्षभन्दा कोरा आदर्शलाई आत्मसात् गरिएको छ 

खिलजीमा बढिरहेको महत्त्वाकांक्षाबाट फिल्मको सुरुआत हुन्छ । उनी राज्य विस्तारका लागि जस्तोसुकै निकम्मा काम गर्न पनि तयार हुन्छन् । यता, पद्मावतीको जोडी आदर्श र सद्गुणलाई शिरोपर गर्छ । तर, एउटा राजगुरुलाई देशनिकाला गर्नु नै उनीहरूका लागि अभिशाप भइदिन्छ किनभने खिलजीलाई पद्मावतीको बयान गर्दै मेवाडसम्म आउने बाटो तिनै गुरुले देखाउँछन् । यसले तत्कालीन समयको प्रतिशोध, प्रेम र आशक्तिलाई चित्रण गर्छ । तर, मेवाडको सिमानामा खिलजीको सैनिक डफ्फा सेल्टर लिएर बसेपछि फिल्मको लय बिग्रन्छ । खिलजीको सन्काहा चरित्र स्थापित गर्न एकै प्रकृतिका अनेक दृश्य देखाइन्छ । जबकि, खिलजी र मेवाडका राजाको चर्को द्वन्द्व र पद्मावतीको पराक्रमको गाथाको अपेक्षा हुन्छ त्यतिबेला । किनभने, पद्मावती युद्धनीतिमा जानकार पनि हुन्छिन् । तर, प्रकाश कपाडियासँग मिलेर भन्सालीले लेखेको पटकथा पात्रहरूबीचको टकराव र त्यसले निम्त्याउने परिणामभन्दा झिनामसिना दृश्यमै अल्झिएको छ ।

त्यसअगाडि क्षणभरमै हुने रतन सिंह र पद्मावतीको प्रेमको विकासक्रमले पनि मन छुँदैन । तर, पद्मावतीको सौन्दर्य शब्दमा मात्र सीमित छैन, पर्दामा उनलाई अझ सुन्दर देखाउन भन्सालीले कुनै कसर बाँकी राखेका छैनन् ।

उनको आभूषण, गहना र व्यक्तित्व साँच्चै महारानीकै लाग्छ । यहाँ उल्लेख गर्नुपर्ने अर्को पक्षचाहिँ, रानीको नामबाट फिल्मको नाम राखिए पनि यो पूरापूर खिलजीको सनक, आक्रोश, महत्त्वाकांक्षा, धोका र राक्षसी प्रवृत्तिको फेहरिस्त हो । जसरी बाजीराव मस्तानीमा मस्तानी अर्थात् दीपिकाको जबर्जस्त भूमिका थियो । त्यही अपेक्षा पद्मावतमा गरियो भने निराश हुनुपर्छ । यद्यपि, राजगुरुसामु परीक्षा दिएको, रतन सिंहलाई मुक्ति दिलाउन दिल्ली पुगेको, राज्यका महिलालाई त्यागका लागि उत्प्रेरित गरेको जस्ता दृश्यमा उनको प्रभाव देखिन्छ । बरू, आकर्षणको केन्द्रमा खिलजी बनेका रणवीर छन् । कतै–कतै ‘लाउड’ लागे पनि पर्दामा साँच्चै भयंकर लाग्छन् । उनले फेरि एकपटक आफूलाई अथाह क्षमता भएको अभिनेताका रूपमा पुष्टि गरेका छन् । रतन सिंहका रूपमा साहिद विश्वसनीय लाग्दैनन् । अन्तिम दृश्यले चाहिँ उनको चरित्र बचाएको छ । बरू, खिलजीका गुलाम बनेका जीम सब्रको अभिनय र भूमिका दुवै सम्झनलायक छ । 

भन्सालीका फिल्ममा गीतको प्रयोग र खिचाइ जादुयी हुने गर्छ । तर, यसपटक फिल्मको गति धीमा बनाउने अपजस गीतलाई नै जान्छ । ‘घुमर...’ र ‘एक दिन...’ बाहेक अन्य गीतको प्रयोग सान्दर्भिक लाग्दैन । खिचाइ त भव्य छ नै, त्यसमा के शंका भयो र ! लाग्छ, सुन्दर क्यानभासमा आकर्षक रंग पोतिएको औसत पेन्टिङ हो, पद्मावत । जहाँ पात्रको संवेदनाभन्दा सेट डिजाइन, गरगहना, पहिरन, फ्रेमजस्ता पक्ष सबल छन् । मेवाडमाथि खिलजीको आक्रमण शैली बडो चातुर्य, वैज्ञानिक र आधुनिक लाग्छ ।

 

पद्मावत हेर्दा हुन्छ, रणवीरको अभिनय, दीपिकाको सौन्दर्य र चौधौँ शताब्दीको समाज थोरबहुत बुझ्नका लागि । तर, यसलाई हेर्नैपर्ने फिल्मको कोटिमा चाहिँ राख्न सकिन्न । यत्ति पक्का छ, फिल्म हेरेपछि पद्मावतीप्रति प्रेमभन्दा यो फिल्मलाई लिएर भारतमा भइरहेको घृणित राजनीतिप्रति बढी घृणा जाग्छ ।

प्रकाशित: माघ १२, २०७४