नोटबुक

- राजकुमार बानियाँ

देश–निर्माता कि राष्ट्र–निर्माता ?

सरकारी पात्रोमा २७ पुसको बिदा परेलगत्तै एकथरी १२ हात उफ्रिहाले । गणतान्त्रिक पात्रोबाट हटेको बिदा बौरिएपछि उनीहरुको कन्सिरी तात्यो । उही सुगा शैलीको ‘कन्स्पिरेसी थ्योरी’ जोड्न थाले– पृथ्वीनारायण राष्ट्र–निर्माता होइनन्, देश–निर्माता हुन् । उनले एकीकरण गरेका होइनन्, राज्यविस्तार गरेका हुन् । कीर्तिपुरेका यति धार्नी नाक–कान काटे । आदि ।

यो देशमा पृथ्वीनारायणको मानहानि जति गरे पनि हुन्छ । किनभने, उनी प्रतिवाद गर्न आउँदैनन् । कतिपयका (कु)तर्क सुन्दा लाग्छ, उनी आधुनिक नेपालका सूत्रधार नभएर महाअपराधी हुन् । अन्तर्राष्ट्रिय फौजदारी अदालतमा लगेर कोर्रा हान्नुपर्ने या देश–निकाला गर्नुपर्ने युद्ध सरदारको सम्झनामा राष्ट्रिय एकता दिवस मनाउने ?

कसैले मानोस् या नमानोस्– राष्ट्रिय दृष्टिकोणबाट हेर्ने पहिलो नेपाली उनै हुन् । पुगनपुग ५२ वर्षमै उनले नेपाल नामक देश जिम्मा लगाएर गए । राज्य विस्तार गरे पनि एकीकरण गरे पनि आजको नेपालका सर्जक उनै हुन् । तीन सहर जितेपछि उनी किन जुँगामा ताउ लगाएर बसेनन् ? राज्य नै अंशबन्डा गर्ने समयमा नेपाललाई संगठित गर्नु कति सामन्ती कदम हो ? उनको दिव्योपदेश प्रगतिशील किन छैन ? उनीहरु सुन्नै चाहँदैनन् ।

हो, पृथ्वीनारायणका थुप्रै गल्ती छन् । उनले माक्र्सवाद, लेनिनवाद, माओवाद या पहिचानवादको सुइँकै पाएनन् । आफ्ना सन्तान–दरसन्तानबाट हुने खराबीको सजाय आफूले पाउँला भन्ने दूरदृष्टि राखेनन् । सुरा, सुन्दरी या आमोदप्रमोदमा रमाएनन् र भुरेटाकुरे राजामा खुम्चिन चाहेनन् । विद्वान् महोदय– विदेशी राजा, चिन्तक, थेसिस सबै राम्रा, हाम्रा पितापुर्खा मात्रै असभ्य, अपठित र हिंस्रक ? इतिहासलाई सरापेर मात्रै बस्ने कि भविष्यलाई सुन्दर बनाउने ?

अफिस छ, सर्भिस छैन

काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा असलमा रसायनशास्त्री रहेछन् । रसायनशास्त्रमै विद्यावारिधि लिए पनि उनले त्यसमा समय दिनै भ्याएनन् । नत्र उनलाई अनुसन्धानमा रुचि छ । हिजो यस्तो भयो भन्ने होइन कि भोलि के हुँदैछ भन्न सक्ने अनुसन्धान । 

व्यक्तिचित्रका क्रममा पुसको दोस्रो साता भेट्दा उनले गुणस्तर नियन्त्रण (क्वालिटी कन्ट्रोल)को प्रसंग पटक–पटक उठाए, ‘हामीकहाँ दूध, पानी, मासु केहीमा पनि ढुक्क हुने अवस्था छैन । न औषधिमा त्यो सुरक्षाको भावना आयो, न त इन्धनमै । यहाँ त मौका पाउनासाथ क्वान्टिटीदेखि क्वालिटीसम्म खेलवाड गरिहाल्छन् । ग्राहकलाई ठग्न पाउँदा नै उनीहरुलाई खुसी मिल्छ ।’

गुणस्तर मापनका लागि यहाँ सरकारी निकाय बग्रेल्ती छन् । वाणिज्य विभागलाई काम देखाउन दसैँ आउनुपर्छ, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई तलबमा मात्र त्यो काम गर्ने जाँगर चल्दैन । कमसेकम स्वच्छ पानी पिउन पाउनु नागरिकको आधारभूत अधिकार हो । यहाँ त सहरहरुका पिउने पानी आउँदैन वा सरकारी निकाय वा नगरपालिकाले दिने पानीको गुणस्तरमै विश्वास गर्न सकिने आधार छैन । हेलो सरकार ! ‘क्वालिटी कन्ट्रोल’ कुन चराको नाम हो ?

अब पुरुष आरक्षण

बस–माइक्रो बसमा महिला, ज्येष्ठ नागरिक र अशक्त आदिका लागि आरक्षण छ । तर, महिलाहरु प्राय: आरक्षित सिट अन्य महिलाका लागि ‘सुरक्षित’ छाडिदिन्छन् । भलै कतिपय पुरुष सज्जनले बलजफ्ती उठाएर महिला सिटमै फर्काइदिन्छन् । 

संयोगवश पुरुष आरक्षण भएको बसमा चढ्न पुगिएछ एक दिन । झ्यालनेर लेखिएको रहेछ, ‘पुरुष सिटमा बस्दा कस्तो लागिरहेको छ त ?’ यद्यपि, त्यसमा महिला नै विराजमान थिए । त्यो पुरुष सिट थियो कि थिएन ? वैधानिक आरक्षण हो या होइन ? थाहा छैन । पुरुषकै लागि आरक्षणको अभ्यास गरिएको हो भने खबर खुसीकै होला ।

महामहिमको फेसन

सार्वजनिक यातायातकै प्रसंग हो, केही भद्र महिलाले राष्ट्रपति विद्यादेवी भण्डारीको साडी–सोखलाई गफको विषय बनाए । एउटीले भनिन्, ‘एकै दिनका कार्यक्रममा पनि फरक–फरक साडी लगाउँछिन् । एक दिन लगाएको साडी अर्को दिन लगाउँदिनन् ।’ अर्कीले थपिन्, ‘मुलुकको इज्जतको पनि सवाल हो । राष्ट्रपतिले त किमती र महँगो डिजाइनको ब्रान्डेड साडी लगाउनैपर्‍यो नि ?’

उनीहरुले राष्ट्रपतिको पहिरनबारे अनौठो तथ्य बाहिर ल्याइदिएजस्तो लाग्यो । गुगल गरेर हेर्दा सार्वजनिक समारोहमा खिचिएका महामहिमका साडीका सयौँ फोटा फेला परे । ती साडी एकअर्कासित मिलेनन् । 

राष्ट्रपतिको मासिक तलबभत्ता १ लाख ५० हजार ५ सय ५० रुपियाा छ । यस हिसाबमा त उनको तलबभत्ता साडीमै खर्च हुने रहेछ । स्वाभाविक उत्सुकता हो– राष्ट्रपतिले दिनमा कतिपटक साडी फेर्छिन् ? उनका साडी कति छन् ? त्यो कहााबाट आउाछ ? साडीमा मासिक कति खर्च हुन्छ ? राष्ट्रपतिको साडी डिजाइनर को हो ? उनलाई राज्यका तर्फबाट साडीको छुट्टै व्यवस्था हुादो हो कि ? साडी उनको सोख हो कि विवशता ? ‘कोड ड्रेस’ तोकिए महामहिमलाई सजिलो पथ्र्याे कि ? 

प्रकाशित: माघ ९, २०७४