जमाना मल्टिप्लेक्सको

  • कहाँ ब्ल्याकमा टिकट लिएर फिल्म हेर्नुपर्ने दिन र कहाँ मसाज सुविधासहितका मल्टिप्लेक्स थिएटर

- गोकर्ण गौतम

अमिताभ बच्चनका फ्यान थिए, लाजिम्पाटका सुवर्ण मल्ल, ५८ । भारतमा रिलिज भएको एक वर्षपछि अर्थात् विसं २०४१ मा विश्वज्योति हलमा अमिताभ अभिनीत सिलसिला ल्याइयो । थाहा पाउनेबित्तिकै विश्वज्योति पुगे । तर, भीड थेगिसक्नु थिएन । फिल्म हेर्ने आँटै आएन । हप्ता दिनपछि बल्ल हेर्न पाए, त्यो पनि ‘ब्ल्याक’मा । एउटै टिकटको दुई सय रुपियाँ तिर्नुपर्‍यो । त्यसमाथि सिट कहाँ पाउनु, चिसो पेटीमा बसेर हेर्नुपर्‍यो । हलको क्षमताभन्दा दोब्बर दर्शक । श्वास फेर्नै मुस्किल । कति बेला फिल्म सकिएला र बाहिर निक्लिउँजस्तो उकुसमुकुस हुन्थ्यो ।

फिल्मप्रेमी उनै सुवर्णलाई ती दिन अपत्यारिलो लाग्छ अहिले । नलागोस् पनि कसरी ? अचेल उनी सोफामा बसेर मात्र होइन, सुत्दै, मसाज गर्दै अनि पेय पदार्थको चुस्की लिँदै फिल्म हेर्न पाइरहेका छन् । सीटीसी मलस्थित सिने डे सेफ (सीडीसी)मा सलमान खानको टाइगर जिन्दा है यही आरामदायी शैलीमा हेरेर बाहिरिँदै गर्दा भेटिएका सुवर्णले हाँस्दै भने, “ऊबेला फिल्म हेर्दा सास्ती पाइन्थ्यो । राम्रो फिल्म पनि ठीक्क लाग्थ्यो । अहिले हलको वातावरणले गर्दा ठीकै खालको फिल्म पनि मज्जाको लाग्छ ।”

सुवर्णकै जस्तो ऊबेला फिल्म हेर्दाको तीतो अनुभव छ, राइजिङ मलस्थित क्युज सिनेमाजका सञ्चालक सुमित मैनालीको पनि । ०५५ तिर विश्वज्योतिमा उर्मिला मातोड्करको रंगीला हेर्दा ब्ल्याकमा पाँच सय रुपियाँको टिकट काट्नु परेको थियो उनले । तैपनि, हलमा छिर्न र बाहिर निस्कनै हम्मेहम्मे पथ्र्यो । हलभित्र उस्तै दुर्गन्ध । तर, यतिबेला उनले क्युज हलमार्फत अन्तर्राष्ट्रिय स्तरको सेवा दिइरहेका छन्, फिल्म पारखीलाई । भन्छन्, “हामीले सिनेमा घरको सवालमा उल्लेखनीय फड्को मारेका छौँ । मल्टिप्लेक्स हाम्रो जीवनशैलीसँग जोडिएको छ ।” 

हो पनि, कुनै समयका हाइभिजन हल अहिले अस्तित्वमै छैनन् । भएका सिंगल थिएटरलाई अस्तित्व जोगाउनै धौ–धौ परिरहेको छ । मल्टिप्लेक्सचाहिँ चकाचक । हिजो गुण सिनेमा र गोपीकृष्ण धाउने दर्शक पनि बिस्तारै विभिन्न मलमा खुलेका सुविधासम्पन्न हलतिर रुचि राख्न थालेका छन् । साँच्चै मल्टिप्लेक्स हलको लहर छाएको छ । मल्टिप्लेक्स पनि ग्राहकको रोजाइ र क्रयशक्ति अनुसार थरीथरीका छन् । जबकि, एक दशक बितेको छैन, मल्टिप्लेक्सले काठमाडौँमा प्रवेश पाएको । नेपालको पहिलो मल्टिप्लेक्स चेन क्यूएफएक्सको सेन्ट्रल सिनेमाका अप्रेसन म्यानेजर विनोद पौड्याल भन्छन्, “छोटै समयमा भएको यो प्रगतिले हाम्रो सहरीकरणको गति र मनोरञ्जनप्रतिको आमरोजाइलाई प्रस्ट पारेको छ ।” उनका अनुसार मल्टिप्लेक्स फिल्म हेर्ने थलोमा सीमित छैन, आफूलाई ‘स्ट्यान्डर्ड’ देखाउने विम्बका रूपमा समेत स्थापित भइरहेको छ ।

महँगो शुल्क तिरेर भए पनि सुविधासम्पन्न हलमा फिल्म हेर्न रुचाउने मध्यम र उच्च वर्गलाई लक्षित गर्दै १६ वर्षअगाडि क्वेस्ट इन्टरनेसनलले जय नेपाल हलको सबलीकरण गर्‍यो । साबिकका अन्य हलभन्दा स्तरीय थियो । तर, यो मल्टिप्लेक्स थिएन । जय नेपालपछि क्वेस्टले कुमारी हल पनि यसैगरी सञ्चालनमा ल्यायो । नेपालको पहिलो मल्टिप्लेक्सचाहिँ कमलपोखरीस्थित बिग सिनेमाज हो । तीन पर्दा भएको यो हल नौ वर्षअगाडि भारतीय धनाढ्य अनिल अम्बानीको कम्पनी रिलायन्स मिडिया व्रक्स (आरएमडब्लू)ले खोलेको थियो । सिंगल थिएटरको धक्काधक्की र गन्जागोलले हैरान भएकालाई बिग सिनेमाज छहारी भयो । सुरुआतबाटै दर्शकको ओइरो लाग्यो । नत्र स्थापनाको पहिलो वर्षमै झन्डै आधा करोड नाफा गर्न कसरी सक्षम हुन्थ्यो होला र ? त्यसको तीन वर्षपछि आरएमडब्लूले नेपालकै सांघाई समूहलाई हल बेच्यो र नयाँ नाम राखियो, बिग मुभिज । 

जय नेपाल र कुमारीको सुखद व्यापार र प्रतिक्रियाबाट उत्साही भएको क्वेस्टले बिग खुलेको अर्को वर्ष सुन्धाराको सिभिल मलमा क्यूएफएक्स सिनेमाज खोल्यो । तीन पर्दा भएको यो हलले मल्टिप्लेक्स विस्तारमा नयाँ गति दियो । न बिगमा दर्शक घटे, न सिभिलमा खडेरी लाग्यो । यसको मतलब थियो, हलजस्तै दर्शकको दायरा पनि फराकिलो भइरहेको छ । यतिबेला राजधानीमा क्यूएफएक्सका चारवटा शाखा छन् । सिभिलमा तीन पर्दा भइहाल्यो, कुमारी र लबिम मलमा दुई–दुई अनि जय नेपालमा एक पर्दा छ । त्यस्तै, बिग सिनेमाज र केएल टावरस्थित एफक्यूबमा तीन–तीन पर्दा छन् भने क्युज, सीडीसी, गोंगबुको बिजी मलस्थित बीएसआर मुभिज दुई–दुई । राजधानीबाहिर हेटौँडा, पोखरा, नारायणगढलगायतका सहरमा पनि मल्टिप्लेक्स सुचारु भएका छन् । राजधानीमै ठमेल, न्युरोड, पुतलीसडकमा नयाँ हल खोलिँदैछ । अरू त अरू, टाकिजबाट सिंगल थिएटरमा रूपान्तरण भएको विश्वज्योतिसमेत अब मल्टिप्लेक्सको यात्रा अवलम्बन गर्दैछ । यसका लागि विश्वज्योति मलमा हल बनाउने काम अन्तिम चरणमा पुगेको छ । क्यूएफएक्सका पौड्याल भन्छन्, “हरेक ठूला सपिङ मलमा मल्टिप्लेक्स राखिएको छ । मलमा भीड बढाउने र ब्रान्डिङ गर्ने पहिलो अस्त्र पनि हल नै भएको छ ।” कतिसम्म भने भूकम्पपश्चात् सुक्खा लागेको सपिङ मलमा छिट्टै ग्राहक तान्ने श्रेयसमेत हलले नै पायो । फिल्म हेर्न जाँदा किनमेल गर्ने वा किनमेल गर्दा फिल्म हेर्ने संस्कार बसिरहेको पौड्याल बताउँछन् ।

हल विस्तार मात्र भइरहेको छैन, हलहरूबीच प्राविधिक अब्बलता हासिल गर्ने प्रतिस्पर्धा पनि उत्तिकै छ । जस्तो : नेपालको पहिलो लक्जरी सिनेमा घर सीडीसीकै कुरा गरौँ । यहाँको सिने डाइनमा ६२ सिट छन्, जहाँ बटन थिचेपछि मसाज पनि हुन्छ । सुती–सुती फिल्म हेर्न पाइन्छ । हलका कर्मचारीले सिटमै खानेकुरा ल्याइदिन्छन् । इच्छा हुनेले बियर वा अन्य पेय पदार्थ पिउँदै फिल्म हेर्ने सुविधा उपलब्ध छ । सिने डाइनमा जति हेरे पनि आँखा नदुख्ने र अन्य असर नगर्ने स्तरीय पर्दा छ । संसारभर ख्याति कमाएको मायर साउन्ड सिस्टमले बेग्लै आनन्द गराउँछ । अर्को पर्दा सिने थिएटरमा गोल्ड ४० सिट र नर्मल १ सय २९ सिट छन् । टिकट मूल्यचाहिँ ६ सयदेखि १ हजार ६ सय रुपियाँसम्म छ । सीडीसीका जनसम्पर्क म्यानेजर पवन शाक्य भन्छन्, “नियमित दर्शक त छँदैछन्, दिनानुदिन नयाँ दर्शकको उपस्थिति बढेको छ । पहिलो पाँचतारे हल हुनुको नाताले पनि यो आकर्षणमा परेको हो ।” खासगरी सम्पन्न वर्ग र विभिन्न क्षेत्रमा नाम कमाएका सेलिब्रिटीहरूको गन्तव्य बनेको छ यो हल । 

क्युज सिनेमाज्मा एक महिनाअगाडि सोनीको फोके प्रोजेक्टर जडान गरिएको छ । यो अत्याधुनिक प्रविधिले दृश्य एकदमै सजीव र लाइभ हुन्छ । क्यामेराले खिचेको गुणस्तर घट्दैन । यहाँ टिकट काटेपछि जुस र बदाम/केराउ दर्शकको सिटमै आइपुग्छ । फराकिलो सोफा र अर्को सिटसँगको पर्याप्त दूरी छ । एकअर्कालाई ‘डिस्टर्ब’ हुन्न । 

यी मात्र होइन, अन्य मल्टिप्लेक्सको साउन्ड सिस्टम, प्रोजेक्सन, हलभित्रको वातावरण लोभ्याउने खालकै छ । ब्ल्याकमा टिकट काट्ने र बेच्ने रवैया पूरापूर अन्त्य भएको छ । घरमै बसेर इन्टरनेटमार्फत टिकट काट्न पाइन्छ मल्टिप्लेक्सको । कुन सिटमा बस्ने, रोजाइ आफ्नै । कर्मचारीको व्यवहार उस्तै सरल र मिजासिलो । न हलभित्र अनावश्यक होहल्ला । वातानुकूलित हल । फराकिलो प्रतीक्षालय । क्युजका सञ्चालक मैनाली भन्छन्, “पहिले एक्लैएक्लै वा साथीसँग गएर फिल्म हेरिन्थ्यो, अहिले परिवार नै लिएर फिल्म हेर्न थालिएको छ । यसले हलको व्यापार फस्टाएको छ । अझ आधुनिक प्रविधि र सरल व्यवस्थापन गर्नुचाहिँ हाम्रो चुनौती हो ।”

भीडभाड, धक्काधक्की, ठेलमठेलमा कष्टपूर्वक फिल्म हेर्दा मनोरञ्जन होइन, तनाव बढाउँछ । त्यसैले पारिवारिक र सुगम वातावरणमा फिल्म हेर्ने चाह कसलाई नहोला र ? 

प्रकाशित: माघ ९, २०७४