बिमा: बचत र सुरक्षा पनि

  • पहिले करबलले गरिने बिमा अहिले आवश्यकता

- माधव बस्नेत

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय हेरिटेज प्लाजा कमलादीमा ३ माघमा निकै भीड देखिन्थ्यो । त्यहाँ एकातर्फ अधिकर्ता (बिमाकर्ता खोज्ने र विश्वस्त बनाउने) तालिम चलिरहेको थियो । अर्कातर्फ बिमा रकम तिर्नेहरूको लाम थियो । अर्को कोठामा नयाँ बिमाकर्ताहरू कसरी थप्ने योजना बनिरहेको थियो । एलआईसी नेपालको शाखा कार्यालय मीनभवनको दृश्य पनि यस्तै थियो । सबैजसो जीवन बिमा कम्पनीमा पछिल्ला दिनमा यस्तै दृश्य देख्न पाइन्छ । अर्थात् बैंकमा जत्तिकै भीड लाग्न थालेको छ, जीवन बिमा कम्पनीहरूमा पनि । त्यसकै परिणाम जीवन बिमा कम्पनीले सवा खर्बको लगानी गरिसकेका छन् ।

प्राकृतिक, दैवी तथा मानवीय कारणले आकस्मिक रूपमा उत्पन्न हुने जोखिम, हानि–नोक्सानी तथा घटनाविरुद्ध आर्थिक संरक्षण लिने/दिने उद्देश्यले बिमा गरिन्छ । मानवीय जीवनसँग सम्बन्धित आर्थिक क्षतिको जोखिमविरुद्ध गरिने बिमा जीवन बिमा हो । यस्ता बिमा कम्पनीहरूलाई नेपाल सरकार मातहतको बिमा समितिले निगरानी गर्छ । सूर्य लाइफ इन्स्योरेन्स कम्पनीका कार्यकारी अधिकृत शिवनाथ पाण्डेका भनाइमा बिमा सम्भावनाको ढोका हो । त्यसैले यसको पहिलो आधार विश्वास हो । बैंकहरूलाई राज्यले जुन मात्रामा गम्भीर रूपमा लिएको छ, बिमा कम्पनीहरूलाई त्यही रूपमा लिनुपर्ने सूर्य लाइफका कार्यकारी अधिकृत पाण्डेको सुझाव छ । भन्छन्, “बिमा भनेको बैंकजस्तै बचत पनि हो । सुरक्षा पनि हो । यसलाई सरकारले अझ राम्ररी नियमन गर्दै सुरक्षित बनाउनु पर्छ ।” बिमालाई अनिवार्य गरिने हो भने राज्यलाई पेन्सनको भार नपर्ने पाण्डे बताउँछन् । जीवन बिमा भनेको जीवन हुँदै पाउने बिमा पनि हो । तर, मृत्युपछि मात्र बिमाको रकम पाइन्छ भन्ने गलत बुझाइ रहेकाले बिमा व्यवसाय ठूलो रूपमा फस्टाउन सकेको छैन । 

बिमा तीन प्रकारका छन्– जीवन बिमा, निर्जीवन बिमा र पुनर्बिमा । जीवन बिमाले मानिसको व्यक्तिगत जीवनसँग मात्र सरोकार राख्छ । यो बिमा जीवित व्यक्तिका हकमा मात्र कार्यान्वयन हुन्छ । निर्जीवन बिमा घर, गाडी, उद्योगधन्दा, कृषि, पशु आदिका लागि गरिन्छ । पुनर्बिमा चाहिँ जोखिमको भार कम होस् भनेर बिमा कम्पनीहरूले नै आफ्नो बिमा गराउँछन् । रिलायबल लाइफ इन्स्योरेन्सका सहायक कार्यकारी अधिकृत अगम मुखियाका भनाइमा जीवन बिमा पनि तीन प्रकारले गरिन्छ । एउटा सावधिक जीवन बिमा । अर्को आजीवन जीवन बिमा र तेस्रो म्यादी जीवन बिमा हो । 

सावधिक जीवन बिमा गर्दा कति वर्षका लागि गरेको हो, त्यस अवधिमा बोनससहित रकम फिर्ता हुन्छ । यसबाहेक मृत्यु, दुर्घटना, अंगभंग भए पनि यसको सुविधा पाइन्छ । आजीवन जीवन बिमाचाहिँ स्वाभाविक होस् वा आकस्मिक, मृत्यु भएपछि बोनससहित परिवारले पाउँछन् । म्यादी बिमा गरिएको छ भने दुर्घटनामा परी मृत्यु भए रकम पाइन्छ । नत्र त्यो रकम फिर्ता हुन्न । धेरैजसो जीवन बिमा कम्पनीहरूले पछिल्लो समयमा सावधिक तथा आजीवन भनेर बिमा गर्न थालेका छन् । 

एलआईसी नेपालका कायममुकायम प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तियारका अनुसार बिमा गर्नुको खास कारण तीनवटा छन् । पहिलो मृत्युबाट उत्पन्न हुने आयस्रोतको क्षतिमा परिवारलाई आर्थिक सुरक्षा दिनु, दोस्रो बिमा लगानीको उत्कृष्ट तरिका भएकाले यसका कारण राम्रो बोनस रकम, बिमालेखमा कर्जा सुविधा र परिपक्वता लाभ पाइन्छ । तेस्रो, बचत गर्ने बानी भई पुँजी निर्माण हुन्छ, जसबाट व्यक्तिले भविष्यमा आर्थिक गर्जो टार्न र व्यवसाय सुरु गर्न सक्छ ।

वैशाख ०७२ मा आएको विनाशकारी भूकम्पमा परी नौ हजार नागरिकले ज्यान गुमाए । जसमा जीवन बिमा गर्नेको संख्या करिब तीन सय मात्र रहेछ । यही घटना काफी छ बिमाप्रति सर्वसाधारणको सचेतना कति कमजोर छ भन्ने बुझ्न । बिमा कम्पनीका सबैजसो प्रमुख कार्यकारी अधिकृतहरू जीवन बिमाप्रतिको सचेतना निकै नै कमजोर रहेको स्वीकार गर्छन् । “दुर्भाग्य नै भनौँ, नेपालमा बिमा सचेतना त्यति राम्रो छैन,” एलआईसीका कायमुकायम कार्यकारी अधिकृत दस्तियार भन्छन्, “हामीहरूले आमजनमानसमा जसरी गाँस, बास र कपास आधारभूत आवश्यकता हुन्, त्यसरी नै जीवन बिमा पनि अपरिहार्य कुरा हो भनेर बुझाउन सकेका छैनौँ । तथापि, दिनानुदिन परिस्थिति सुधार हँुदै गएको छ ।”

नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत विवेक झाको स्वीकारोक्ति पनि दस्तियारसँग मिल्दोजुल्दो छ । झाका भनाइमा धेरैजसो बिमा आफन्त, अधिकर्ता आदिको आग्रहमा हुने गरेको छ । बिमा गर्नु आर्थिक जोखिम टार्नु हो भन्ने बुझाइका अपवाद घटनाबाहेक कोही पनि आफैँ उत्सुक भएर बिमा गर्न आउँदैनन् । यस्तो हुनुमा बिमा कम्पनीहरूको समेत कमजोरी रहेको झाको ठम्याइ छ । भन्छन्, “बिमा कम्पनीहरूले पनि यसको महत्त्व बुझाउन सकेका छैनन् । त्यसमाथि बिमा कम्पनीले ठग्छन् । दाबी भुक्तानी माग्दा दु:ख दिन्छन् । दिँदैनन् भन्ने भ्रम परेको छ । त्यसैले पनि यसप्रतिको सचेतना कम भएको हो ।”

पछिल्ला दिनमा भने बिमाप्रतिको सचेतना बढ्दो छ । उदाहरणका लागि नेपाल लाइफलाई नै लिन सकिन्छ । यो बिमा कम्पनीले यस वर्ष मात्र ५० हजार व्यक्तिको नयाँ बिमा गराएको छ भने वैदेशिक रोजगारमा जाने झन्डै ५५ हजारले यस कम्पनीमा बिमा गरेका छन् । हालसम्म १५ लाख नागरिकले नेपाल लाइफमा बिमा गरिसकेको झाको दाबी छ । नयाँ बिमा र वैदेशिक रोजगारसमेत गरी नेपाल लाइफले यस वर्ष मात्र सवा दुई अर्ब रकम असुल गरेको छ । कुल गरी नेपाल लाइफले मात्र ५३ अर्ब रुपियाँको बिमा लगानी गरेको छ । आफूहरूले ३ लाख २० हजार व्यक्तिको बिमा गरिसकेको सूर्य लाइफका कार्यकारी अधिकृत पाण्डे बताउँछन् । गत असोजबाट मात्र सञ्चालनमा आएको रिलायबल लाइफ इन्स्योरेन्सले समेत १९ हजार ६ सय जनाको बिमा गराइसकेको छ । एलआईसी नेपालले ८ लाख ५० हजार व्यक्तिको बिमा गरेको कायममुकायम प्रमुख कार्यकारी अधिकृत दस्तियारको भनाइ छ । यो सचेतना बढ्दै गएको संकेत हो । रिलायबल लाइफका सहायक कार्यकारी अधिकृत अगम मुखिया भन्छन्, “पहिलेको तुलनामा बिमाप्रतिको सचेतना एकदमै बढ्दै गएको छ ।” बिमा गर्नेमध्ये वैदेशिक रोजगारीमा जानेको संख्या ठूलो छ । सरकारले वैदेशिक रोजगारीमा जाने शतप्रतिशतलाई बिमा अनिवार्य गराएको छ । उनीहरूले वैदेशिक रोजगार अवधिभर मात्र बिमा गर्छन् । यस हिसाबले हेर्दा बिमा गर्नेको संख्या ठूलो देखिए पनि मुलुकभित्रै बस्ने थोरैले मात्र गराएको बुझ्न कठिन छैन ।

सर्वसाधारण जीवन बिमा गराउन उत्सुक नहुनुको पछाडि बिमा दाबी झन्झटिलो र सहज ढंगले भुक्तानी पाइँदैन भन्ने बुझाइ पनि प्रमुख कारण हो । जीवन बिमाभन्दा निर्जीवन बिमाका कारण यसप्रति नकारात्मक धारणा रहेको जानकारहरू बताउँछन् । हुन पनि अवस्था कस्तो छ भने घर, गाडीजस्ता निर्जीवन बिमामा ग्राहकलाई बढी नै सास्ती दिने गरेको देखिन्छ । जसका कारण जीवन बिमाप्रतिसमेत नकारात्मक प्रचार भएको हो । यद्यपि, जीवन बिमामा पनि समस्या नै नभएको चाहिँ होइन । खासमा जीवन बिमा निरोगी नागरिकले गर्ने हो । तर, प्राणघातक रोगको पहिचान भइसकेपछि बिमा गराउने, झूट्टा विवरण पेस गरेर सुविधा लिन खोज्नेजस्ता घटनाका कारण विवाद पर्ने, भुक्तानी दिन समस्या हुने बिमा कम्पनीहरूको दाबी छ । व्यवसाय आफैँ चल्ने नभई व्यक्तिले चलाउने भएकाले एकाध व्यक्तिको नियत गलत हुनेबित्तिकै समग्र क्षेत्र बदनाम भएको नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत झा बताउँछन् । “पीडितले गरेको दाबी भुक्तानी नगर्ने हो भने बिमा कम्पनी खोल्नुको अर्थ छैन,” उनी भन्छन् । 

दाबी भुक्तानी छिटो दिए बिमा गर्नेहरूको संख्या स्वत: बढ्ने झाको अनुभव छ । एलआईसीका कायममुकायम सीईओ दस्तियारका अनुसार उनको कम्पनीले बिमा दाबी गर्न आएकामध्ये ९९.७५ प्रतिशत घटनामा रकम रोकेको छैन । गम्भीर घटनाहरूमा आफूहरूले ‘फिल्ड’मै पुगेर भुक्तानी दिइरहेको नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत झा बताउँछन् । थप्छन्, “झूट्टो विवरण पेस गर्ने अपवादबाहेक शतप्रतिशतले बिमा भुक्तानी पाएका छन् । अपवाद घटनालाई लिएर बिमाप्रति नकारात्मक धारणा बनाउनु भएन ।” त्यसो त जीवन बिमा कम्पनीका समस्याहरू पनि उत्तिकै छन् । बिमा कम्पनीहरूले विमितप्रति लामो अवधिको दायित्व बहन गर्नुपर्छ । तर, लगानीको क्षेत्र तथा अवसर संकुचित तथा अल्पकालीन छन् । त्यसैले राज्यले प्रभावकारी ढंगले यस क्षेत्रका समस्याहरू पहिचान गरी बिमा कम्पनीहरूलाई थप जिम्मेवार र सुरक्षित बनाउने हो भने जीवन बिमा गर्नेहरूको संख्या अझ बढ्ने देखिन्छ । 

प्रकाशित: माघ ९, २०७४