‘के देउवाजी बलियो हुनुभयो त ?’

  • अब कांग्रेसका दिन के गर्दा फर्केलान् त ?

- सन्तोष आचार्य

शेखर कोइराला नेपाली कांग्रेसका यस्ता नेता हुन्, जो न पार्टी सभापति शेरबहादुर देउवाको गुटमा छन्, न त वरिष्ठ नेता रामचन्द्र पौडेलको गुटमा । देउवा र पौडेल गुटमा रमाएकाले पार्टी जीवन्त हुन नसकेको उनको ठम्याइ छ । ४ माघको बिहान नेपालसँग कोइरालाले यिनै कुरा प्रस्ट्याए । त्यही कुराकानीको सम्पादित अंश : 

निर्वाचनमा नेपाली कांग्रेसको पराजयका खास कारण के–के हुन् भन्ने लाग्छ तपाईंलाई ?

हाम्रो संगठन धेरै कमजोर भइसकेको रहेछ । देश संघीय संरचनामा गइसक्यो । तर, पार्टी पुरानै संरचनामा छ । नेवि संघ, तरुण दल, महिला संघजस्ता भ्रातृ संगठनहरूको अस्तित्व छ कि छैन भन्ने प्रश्न उठ्यो, यसपटकको निर्वाचनमा । पार्टीले टिकट दिइसकेपछि कांग्रेसको उम्मेदवार नितान्त एक्लो देखियो । पार्टीको संरचनाले कहीँ पनि काम गरेन । पार्टीले होइन, व्यक्तिले चुनाव लडेजस्तो भयो । 

वाम गठबन्धन कारक होइन ?

सरकार फेरिइरहने प्रवृत्तिबाट जनता वाक्क थिए । वाम गठबन्धनले दिएको स्थिरताको नारालाई जनताले विश्वास गरे । हामीले लोकतान्त्रिक गठबन्धन भन्यौँ । तर, यो गठबन्धन कांग्रेसको हितका लागि भएकै रहेनछ । यो त केही दलका अमुक नेताका लागि मात्र बनेको रहेछ । 

तपार्इंको आफ्नै पराजयको कारण नि ?

म ६ सय ७५ मतको अन्तरले पराजित भएँ । यसमा विभिन्न कारण होलान् । स्थानीय निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवादेखि रामचन्द्र पौडेलसँग लडेर–भिडेर जित्न सक्ने उम्मेदवारहरूलाई मैले टिकट दिलाएँ । उनीहरूलाई जिताउन सहयोग पनि गरेँ । यही कारण अर्को पक्षले असहयोग गर्‍यो, यस्तै आन्तरिक कारणले पराजित हुन पुगेँ । 

पार्टी पराजित हुनुको दोषचाहिँ कसले लिने ? 

जसले पार्टीको नेतृत्व गरिरहेको छु भन्छ, उसैले बढी दोष लिने हो । हामी पुरानो र प्रजातान्त्रिक पार्टी भएकाले मतदाताले हामीलाई मात्रै भोट दिन्छन् भन्ने मानसिकता नेतृत्वमा देखियो । कांग्रेस सरकारमा हुँदा र नहुँदा गरेका कमी–कमजोरीहरू पनि हाम्रो हारको कारण बन्न सक्छ भन्ने नेतृत्वले बुझ्न चाहेन । यसमा प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग प्रकरण होला, प्रहरी महानिरीक्षक र राजदूत नियुक्ति प्रकरण पनि हारको कारण बन्यो । 

कांग्रेस र माओवादी सरकारमा सँगै थियो । स्थानीय निर्वाचनमा पनि दुई पार्टीबीच सहकार्य थियो । तर, माओवादीलाई तपार्इंहरूले धकेलेर एमालेसँग गठबन्धन बनाउनुपर्ने तहमा पुर्‍याइदिनुभयो । दुई ठूला कम्युनिस्ट पार्टी एक ठाउँमा आएपछि कांग्रेसको पराजय निश्चित हुन्छ भन्ने कांग्रेस नेतृत्वलाई थाहा भएन ?

माओवादी र हामी सरकारमा सँगै हुँदा संसद्मा एक दिन प्रचण्डजीले ‘तपार्इंसँग कुरा गर्नुछ’ भन्दै कुनातिर लानुभयो । उहाँले ‘एमालेले मलाई संविधानसभाको निर्वाचनमा ४० प्रतिशत सिट दिँदैछ, म के गरुँ ?’ भन्नुभयो । मैले सुझावमा उहाँलाई ‘हामी त्यति त दिन सक्दैनाँै, पार्टी नेतृत्वसँग कुरा गर्नूस्, कहीँ न कहीँ मिल्ने ठाउँ भइहाल्छ नि †’ भनेँ । माओवादीलाई सरकारमा सँगै लिएर हिँडेपछि कांग्रेसको पनि केही दायित्व थियो । हाम्रो पार्टी नेतृत्वले माओवादी हामीसँगै हुन्छ, एमालेसँग जाँदैन भनेर सोच्नु नै गलत थियो । 

उसो भए कांग्रेसले माओवादीसँगै गठबन्धन बनाउनुपथ्र्यो, होइन ?

बनाउनुपथ्र्यो, सिट बाँडफाँटमा कुरा मिलाएर । प्रचण्डजी र हाम्रो पार्टी नेतृत्वबीच पनि कुराकानी भएको हो । तर, के कुरा मिलेन, त्यो उहाँहरूलाई नै थाहा होला । अर्को गल्ती पार्टी नेतृत्वबाट के भयो भने एमाले र माओवादीको गठबन्धन बनिसकेपछि हामीले अरू कुनै दलसँग गठबन्धन बनाउनु हँुदैनथ्यो । 

प्रसंग फेरौँ, निर्वाचनमा कांग्रेसलाई प्रत्यक्षतर्फ र समानुपातिकतर्फ आएको मत परिणामले के 

संकेत गर्छ ? 

समानुपातिकमा आएको मतको अर्थ हो, नेपाली जनताले अहिले पनि कांग्रेस पार्टी ठीक छ भनिरहेका छन् । प्रत्यक्षतर्फबाट आएको मतको अर्थ हो, उम्मेदवार चयनमा गम्भीर गल्ती भयो । 

भनेपछि, संसदीय बोर्डले जसरी उम्मेदवार छनोट गर्‍यो, त्यो नै गलत थियो ?

चाहे शेरबहादुर देउवा भन्नुहोस् वा रामचन्द्र पौडेल, दुवै जना गुटमा धेरै नै रमाउन थाल्नुभयो । गुटमा रमाएपछि संसदीय बोर्ड २१ सदस्यीय बन्न पुग्यो । जबकि, यो ११ सदस्यीय हुनुपथ्र्यो । शेरबहादुरजी र रामचन्द्रजी दुवैलाई आ–आफ्नो मान्छे राख्नुपर्ने भएकाले नै बोर्ड ठूलो बनेको हो । बोर्ड नै अवैधानिक भयो भन्ने आवाज अहिले उठिरहेको छ । संगठनमा काम नगरेका तर पैसाको बलमा उम्मेदवार बनेका दृष्टान्त पनि छन् । पैसाकै भरमा टिकट दिने प्रवृत्तिले संगठनलाई कमजोर बनायो । 

अब कांग्रेसका दिन के गर्दा फर्केलान् त ?

अब महासमिति बैठक चाँडोभन्दा चाँडो बोलाउनुपर्छ । महासमितिले व्यापक रूपमा विधान संशोधन गर्नुपर्छ । तीनवटा उपसभापति बनाउने र महामन्त्री थप्नेजस्ता कुराहरूमा मात्र लाग्नु हुँदैन । केही मान्छेलाई पदमा राखेर मात्र समस्या समाधान हुने होइन । केन्द्रीय समितिका केही साथीहरूलाई सम्बोधन गरेर मात्र पनि हँुदैन । हामी तल जरासम्मै पुग्नुपर्छ । पार्टीको ‘ओभरहलिङ’ नै आवश्यक छ । महासमितिबाट पार्टीगत समस्याहरू व्यापक रूपमा सुधार गरेर महाधिवेशनमा जानुपर्छ । 

कुनै पढेलेखेको क्षमतावान् व्यक्तिले कांग्रेसमा काम गर्न चाह्यो भने उसले चाहेको जिम्मेवारीमा पुग्न २०/२५ वर्ष लाग्छ । त्यसैले तपाईंहरूसँग नयाँ पुस्तालाई आकर्षित गर्ने कुनै मुद्दा नै छैन भन्ने गुनासो छ । के भन्नुहुन्छ ?

वास्तवमा नेपाली कांग्रेस ‘कन्जरभेटिभ’ पार्टी भइसकेको छ । जबकि, परिस्थिति धेरै बदलिसक्यो । हामीले बीपी कोइरालाको बेलाको जस्तो सोच्नु हँुदैन । युवा पुस्ताको मात्र कुरा होइन, त्यस्ता अरू पनि छन् । उनीहरू तलबाट आउने हो भने कहिल्यै माथि पुग्न सक्दैनन् । हाम्रो पार्टी संरचना नै त्यस्तै छ । तसर्थ, जबसम्म हामीले उनीहरूलाई ‘ल्याटरल इन्ट्री’ दिँदैनौँ, तबसम्म उनीहरूलाई हामी आकर्षित गर्न सक्दैनौँ ।

अब कांग्रेसलाई युवा नेताहरूले हाँक्न पाउनुपर्छ भन्ने मागमा तपाईंको धारणा के हो ?

गिरिजाप्रसाद कोइराला ८४ वर्षको उमेरमा युवा हुनुहुन्थ्यो । उहाँ सडकमा नउत्रिएको भए गणतन्त्र आउँथ्यो ? नेपाली कांग्रेस भनेको युवाहरूको जोस र पाकाहरूको होसबाट चल्ने पार्टी हो । केही युवा नेताले कांग्रेसको ‘कल्चर’ नै बुझेनन् । युवा र पाका पुस्ता दुवैको सम्मिश्रण गरेर जानुपर्छ । पार्टी केन्द्रीय समितिमा ४० प्रतिशत त युवा नै छन् । देशभरिका पार्टी सभापतिहरू पनि अधिकांश युवा नै छन् । खोइ त चुनावमा राम्रो परिणाम आएको ? त्यसैले युवा मात्र भनेर हँुदैन, सम्मिश्रण आवश्यक छ ।

गुटैगुटको कांग्रेसभित्र गुटको अन्त्यचाहिँ कसरी होला ?

नेवि संघ, तरुण दल, महिला संघ, दलित संघ आदिको नेतृत्वमा पार्टी सभापति देउवाजीका मान्छेहरू छन् । अनि, के यसबाट देउवाजी बलियो हुनुभयो त ? पार्टी बलियो भयो त ? पार्टी बलियो बनाउन सोच महत्त्वपूर्ण हो, आफ्नो मान्छे भनेर हुँदैन रहेछ । फरक मत राख्नेहरूलाई पनि समेट्न सक्नुपर्छ । विभिन्न विचार दिन सक्ने मानिसहरूलाई ठाउँ दिने हो भने पार्टी बलियो हुने हो । अरूको विचार नै नसुन्ने अनि कसरी पार्टी बलियो हुन्छ ? पार्टीभित्र ज–जसले गुट चलाइरहनुभएको छ, सबैको अवस्था यस्तै छ । उहाँहरू त्यहाँबाट माथि उठ्नुपर्‍यो । 

कसरी त ?

पार्टीभित्र विचार राख्न पाउनुपर्छ, विचार नै राख्न पाइँदैन त भन्नु भएन नि ! अनि, अलग विचार राख्नेलाई कांग्रेस होइन भन्न मिल्छ ? मैले आफ्नो विचार राख्न खोज्दा ‘शेखर त आफ्नै गुट बनाउँदैछ’ भनिन्छ । आफ्नो भनाइ राख्न नपाउने हो भने पार्टी ‘अटोक्रेटिक’ देखिन्छ । 

चुनाव हारेपछि कांग्रेसलाई लिएर विभिन्न टीका–टिप्पणी भए, पार्टी सभापतिले निर्वाचन परिणाम आउनासाथ केन्द्रीय समितिको बैठक बोलाउनु पर्दैनथ्यो ? सभापतिले बैठक नबोलाएपछि हामीहरूले आफ्नो कुरा कहाँ राख्ने ? जबकि, हामीले पटक–पटक बैठक बोलाउन भनेका छौँ । विचार ‘भेन्टिलेट’ गर्न ठाउँ नदिने अनि आफ्नो कोटरीलाई च्यापेर मात्र बसिरहने ?

फेरि फरक प्रसंग, कोइराला परिवारका तपाईं तीन सदस्य बेलाबेला भेटघाट गर्नुहुन्छ । एकताको सन्देश दिन यसो गरिएको भनिन्छ । के विगतमा कोइराला परिवार विभाजित भएकाले पार्टीले दुर्दशा भोग्नुपरेको भन्न खोजिएको हो ?

शेरबहादुरजी, रामचन्द्रजीलगायत आफ्नो कोटरी वा गुटसँग बसेर छलफल गर्नुहुन्छ । तर, हामीले भेटघाट गर्दा किन यत्रो ‘इस्यु’ बनेको भन्ने मैले बुझेको छैन । हामी तीन जना एक ठाउँमा उभिएका छौँ भन्ने कुरा कांग्रेसलाई होइन, नेपाली जनतालाई स्पष्ट पारिदिनुहोस् ।

पहिले एक हुनुहुन्थेन र ?

पहिले पनि थियौँ । तर, मिडियाले नै फलानो यो गुटमा छ, ढिस्कानो अर्को गुटमा छ भन्ने गरेकाले नि !

 

प्रकाशित: माघ ८, २०७४