झटारो: विकासका विलक्षण

- लक्ष्मण गाम्नागे

स्थानीय निकायहरूमा चुनाव हुन नसकेकाले विकास र समृद्धि हुन नसकेको भनेर हामीले बारम्बार सुनेका थियौँ । कुरा हो नै रहेछ । जनप्रतिनिधि नभएरै विकास अड्किएको रहेछ भन्ने कुरा निर्वाचनपछि पक्कापक्की नै भयो । स्थानीय निकायहरूको निर्वाचन भएको पाँच महिना पनि भएको छैन, विकासका लक्षणहरू यति तीव्र गतिमा देखा परे कि हामी त हेर्‍याहेर्‍यै भयौँ । प्रदेश र केन्द्रका चुनावपछि हालैका लक्षणहरू हेर्दा पनि विकासले गति लेला नै जस्तो देखिन्छ । निर्वाचन सम्पन्न भएको ६ महिना पनि नपुग्दै नयाँ सरकार गठन भइहाल्लाजस्तो छ । 

अहिलेलाई स्थानीय विकासकै कुरा गरौँ । हाम्रा जनप्रतिनिधिहरू गाउँगाउँमा विकासका लहर ल्याउन कम्मर कसेर लागिसके । चुनाव जित्ने बित्तिकै विकासको पूर्वाधारको रूपमा रहेको यातायातको विकासमा स्थानीय जनप्रतिनिधिहरूको आँखा पर्‍यो । सुगम मात्र होइन, दुर्गम गाउँपालिकाहरूले पनि सडक पुग्नुभन्दा पहिल्यै मोटर र मोटरसाइकलहरू जोडिसके । भरियालाई बोकाएर भए पनि गाउँपालिकाका आँगनमा उनीहरू गाडी उभ्याउँदैछन् । धेरैले ड्राइभिङ तालिमहरू पनि लिइसके । कम्तीमा अब गाउँपालिकाको आँगनदेखि प्रमुखका घर–आँगनसम्म पुग्ने बाटो अवश्य बन्नेछ । वडाध्यक्षहरूले मोटरसाइकलका लागि टेन्डर आह्वान गरेका छन्, सदस्यहरूले स्कुटर मगाउँदैछन् । यसरी हेर्दा गाउँ, टोल, भीर, पाखा र पहरामा पनि सडक विस्तार हुने लक्षण देखा पर्‍यो । 

विकासको पूर्वाधार भनेकै यही हो । विकासमा हात हालिहाल्नुभन्दा पहिला आधारहरू बलियो बनाउने । सडक बन्नुभन्दा पहिल्यै मोटर तयार राख्ने । काठमाडाैँ र ललितपुर महानगरहरूका मेयरले उपत्यकामा रेल दौडाउने भन्थे । तर, उनीहरूले अहिलेसम्म रेलका डिब्बाहरू खरिद गरेकै छैनन् । ती चलाउने चालक र कर्मचारीहरू नियुक्त गरेर तालिम दिएकै छैनन् । पहिला यो गरिहाल्नु पर्‍यो । बिजुली नपुगेका गाउँपालिकाले तुरुन्तै बल्बहरू किनेर ल्याएर जनतालाई बाँड्दै गरेमा जनताले विकासको अनुभूति गर्दै गर्छन् । यसले अर्कोपल्ट चुनाव जित्ने आधार पनि खडा गर्छ । विकासको यो तरिका धेरै दूरदर्शी र टिकाउ हुन सक्छ ।

गाडी, मोबाइल, तलब–भत्ताको व्यवस्थापनपछि हाम्रा जनप्रतिनिधिहरू विकासका अरू काममा पनि कस्सिएरै लाग्न थालेका समाचारहरू आइरहेका छन् । न्याय सम्पादन गर्ने अधिकारको भरपूर उपयोग गर्दै उनीहरू गाउँगाउँमा हुने लोग्नेस्वास्नी कुटाकुट, छिमेकीले आली ताछेका, केटी भगाएका, जार काटेका, कुखुराले बिस्कुन खाइदिएका, बाहुनलाई सुँगुरले छोएका इत्यादि मुद्दा–मामिलाहरू मिलाउन रातोदिन खटिइरहेका छन् । विकासका लक्षणहरू यसरी धमाधम प्रकट हुँदैछन् ।

थुप्रै गाउँ, नगर, महानगरहरूमा विकासका अरू लक्षणहरू पनि देखा पर्न थालेका छन् । काठमाडाँै महानगरले त सबैलाई नेतृत्व नै गरिरहेको छ । मेयर र उपमेयरहरूबीच तानातान र हानाहान सुरु भइसकेको छ । ताला लगाउने र फुटाउने प्रतिस्पर्धाहरू पनि भइसकेका छन् । एकअर्काको खुट्टा तान्ने, छिर्के हान्ने खेल सुरु भइसकेको छ । राजधानीसँग सिक्दै कति गाउँ–नगरहरूमा हाम्रा जनप्रतिनिधिहरू एकआपसमा भिडन्त गर्न थालिसकेका छन् । प्रवेश निषेध, धर्ना, जुलुस, बहिष्कार आदिका क्रमहरू सुरु भएका समाचारहरू आउँदैछन्् । यसरी विकास र समृद्धिका सयौँ टड्कारा लक्षणहरू पाँचै महिनामा यति धेरै देखिइसके कि यही तरिकाले विकास पनि हुँदै गयो भने पाँच वर्षमा हाम्रो देश स्वर्ग हुने र हामी स्वर्गवासी हुने पक्का छ । प्रतीक्षा गरौँ ।

 

प्रकाशित: माघ ७, २०७४