कफी विथ गगन

  • १८ वर्षपहिले राजधानी सहरमा कफी सप खोलेका गगन प्रधानले नेपाली कफीलाई अन्तर्राष्ट्रिय स्तरमै ‘ब्रान्डिङ’ गरिदिएका छन् ।

- राजकुमार बानियाँ

अफिसभन्दा टाढाको अफिस, घरेलु बैठकको ठूलो भर्सन–हिमालयन जाभाका संस्थापक गगन प्रधान, ४४, को परिभाषामा कफी सप यस्तै हो । १८ वर्षपहिले राजधानी सहरमा कफी सप खोलेका उनले नेपाली कफीलाई अन्तर्राष्ट्रिय स्तरमै ‘ब्रान्डिङ’ गरिदिएका छन् ।

उनले कफीलाई फगत ‘प्रोडक्ट’का रूपमा मात्र बेचेनन्, विशिष्ट अनुभवका रूपमा बाँडे । सफा ठाउँको अनुभव, राम्रो कफीको अनुभव, राम्रो सेवाको अनुभव, राम्रो किताबको अनुभव, राम्रो बेकरी आइटमको अनुभव, राम्रो बोल्ने स्टाफको अनुभव । चल्तीका चिया पसलभन्दा फरक । अफिस या बैठक कक्षको भव्य सजावटमा । 

उनको कफी सपको उत्तरोत्तर प्रगति कस्तो छ भने स्वदेशमै २९ वटा फ्रेन्चाइज छन् । प्रत्यक्ष रूपमा साढे दुई सयले रोजगारी पाएका छन् । सहरी जीवनमा कफी संस्कृति बनिसकेको छ । क्यानडाको टोरन्टो, बेलायतको लन्डन, चीनको ल्हासा, थाइल्यान्डमा बैंकक, अस्ट्रेलिया र भुटानसम्म विस्तार भएको छ । अमेरिकामा दुईवटा आउटलेट छन्, दुई थपिने क्रममा छन् । 

हिमालयन जाभाको देखासिकी कस्तो भने साइनबोर्ड मात्र होइन, मेनु नै ‘कपी पेस्ट’ गरिएका छन् । काठमाडौँका गल्लीगल्लीमा म:म पसलभन्दा ज्यादा कफी सप खुलेका छन् । उपत्यकामा मात्रै त्यो संख्या एक हजारभन्दा बढी छ । पोखरामा तीन किलोमिटरभित्रै सय वटा एस्प्रेसो मेसिन छन् । “कफी सप खुल्दा म खुसी हुन्छु, बन्द हुँदा दु:ख पनि लाग्छ,” उनको प्रतिक्रिया छ, “प्रोडक्टमा इनोभेसन भएन, कपी पेस्ट मात्रै भयो ।”

गगनको भनाइमा हरेक मानिस मौलिक खुबी लिएर जन्मन्छ । तर, त्यो थाहा नपाई गरिएका व्यवसाय दिगो हँुदैनन् । कुनै बिजनेस मोडल सफल हुँदैमा त्यसको पछि कुद्नु राम्रो होइन । भोलि कफी सप पनि कार्पेट, पस्मिना, गार्मेन्टजस्तो असफल हुन सक्छ । 

भक्तपुरको नवदुर्गा मन्दिरनेर गछेँ टोलमा जन्मेका गगनका बुबा गौरीबहादुर प्रधानले ३५ वर्षअगाडि दरबारमार्गमा कुमारी टुर्स एन्ड ट्राभल्स खोलेका थिए । उनी छोरालाई होटलमा हुने कार्यक्रममा लैजान्थे । होटलको त्यही ‘ग्ल्यामर’ देखेर सानैमा लोभिए गगन । र, भन्न थालेछन्, ‘भविष्यमा डाक्टर–इन्जिनियर होइन, होटल म्यानेजमेन्ट पढ्ने हो ।’ 

त्यतिबेला भक्तपुरमा राम्रा स्कुल थिएनन् । त्यसैले उनकी आमाले बानेश्वरमा रेनर्स रेजिडेन्सियल हाइस्कुल देखेर त्यहीँ जग्गा किनी घर बनाइन् र छोरालाई पढाइन् । गगनले एसएलसी भने सिद्धार्थ वनस्थली स्कुलबाट दिए ०४८ मा । स्कुले साथी ‘बोर्ड फस्ट’ भए तर गगनले द्वितीय श्रेणीमा चित्त बुझाए । “नबुझे पनि बुझेँ भन्नैपर्ने, नोट सार्नैपर्ने र घोक्नैपर्ने,” उनी भन्छन्, “मलाई त बुझ्नै गाह्रो हुन्थ्यो । म औसत विद्यार्थी मात्रै थिएँ ।”

शंकरदेव क्याम्पसमा आईकम पढ्दासम्म देशबाहिर जाने सोच थिएन उनको । “बिहान कलेज जाने, दिउँसो साथीहरूसँग घुम्ने, एकैखालको जीवनशैलीले मोनोटोनस भयो,” उनी सम्झन्छन्, “परिवर्तनका लागि बाहिर जाने निधो गरेँ, त्यो पढाइका लागि मात्र होइन, कामका लागि, भविष्यका लागि ।”

अन्तत: सन् १९९४ मा अस्ट्रेलिया गए गगन । सिड्नीको विलियम ब्ल्यू इन्टरनेसनल होटल म्यानेजमेन्ट कलेज भर्ना भए । अस्ट्रेलिया गएपछि भने उनी राम्रा विद्यार्थी गनिए । पढाइ पनि छर्लंग बुझ्न थाले । 

उनका लागि अस्ट्ेरलिया ‘एक्सपेक्टेसन भर्सेज रियालिटी’जस्तै भयो । सिड्नीजस्तो महँगो सहरमा ‘पर्सनल’ र ‘प्रोफेसनल लाइफ’ बीच सन्तुलन मिलाउन बडो सकस । “मैले यतिका वर्ष कफी सप चलाइसकेँ, कोही पनि भर्‍याङ चढेर दाइ यहाँ काम पाइन्छ भनेर सोध्न आएको छैन,” उनी भन्छन्, “म एक दिनमै ४० ठाउँमा जागिर खोज्दै हिँडेँ ।” 

त्यतिबेला सिड्नीमा पाँच जना पनि नेपाली थिएनन् । अस्ट्रेलियामा पढ्न आयो भनेर हाँस्थे कतिपय । रेस्टुराँमा ‘पार्टटाइम’ काम पाए । “नेपालमा हातले माझ्नुपथ्र्यो भाँडा । त्यहाँ डिसवासिङ मेसिनले माझ्थ्यो,” उनी ती दिन सम्झेर भावुक हुन्छन्, “मैले त्यहाँ मभ गरेँ, कस्टमर सर्भिस गरेँ, बर्गर बनाएँ, वेटरको काम गरेँ ।” समस्या के भने कलेज गयो, काममा जान नभ्याउने । काम गर्न गयो, कलेज जान नभ्याउने । 

गगन बिहान ६ बजे उठ्थे । ७ बजेको रेलमा स्याउ चपाउँदै जान्थे कलेज । पौने ८ बजे कक्षा सुरु हुन्थ्यो । दिउँसो ४ बजे कलेज छुट्थ्यो । झोलामै हालेको लुगा फेरेर रेस्टुराँमा काम थाल्थे साँझ ५ बजे । ११ बजे राती बल्ल काम सकिन्थ्यो । साढे १० बजेसम्म मात्र रेल चल्थ्यो । त्यसपछि नाइट राइडर एक घन्टाको फरकमा चल्थ्यो । घर पुग्दा राती १–२ बज्थ्यो । फेरि बिहान ६ बजे उठिसक्नुपथ्र्यो ।

खान पनि नभ्याउने, निद्रा पनि नपुग्ने कठिन जिन्दगी । क्याफिनका लागि कफी र इन्स्ट्यान्ट इनर्जीका लागि चकलेटमा लत बस्यो उनको । धन्न १८–१९ वर्षे ऊर्जाले धान्यो । यस्तै धपेडीमा बित्यो चार वर्ष । “क्लासमा ननिदाइयोस् भनेर कफी पिउँथँे, भोक मेटाउन चकलेट,” उनी भन्छन्, “धन्न क्लासमै चकलेट खान पाइन्थ्यो, कफी लैजान पाइन्थ्यो । चकलेट सस्तो थियो । खान समय लाग्दैनथ्यो ।”

ब्याचलर इन होटल म्यानेजमेन्ट गरेलगत्तै नेपाल फर्कने थियो उनको सोच । तर, सन् १९९७ मा टुरिजम पढ्नका लागि बहिनी पनि उतै गइन् । थप दुई वर्ष वर्किङ भिसामा बस्नुपर्‍यो गगनले । थुप्रै साथीहरूसहित सन् १९९९ मा फर्किए उनी । नेपाल आएको तीन दिनमै एउटा पाँचतारे होटलमा काम पाए । त्यसरी अड्किन नपाएको भए उनलाई साथीहरूजस्तै उतै फर्कनुपर्ने हुन सक्थ्यो । 

पाँचतारे होटलको व्यवस्थापनसँग उनको मेल खाएन । यो ठाउँ मेरा लागि होइन भनेर एक हप्तामै छाडिदिए । उनी निर्णय चाँडै गर्न सक्छन्, राम्रो होस् या नराम्रो । उनी त आफ्नै लगानीमा केही गर्न चाहन्थे । नेपाली बजारमा के छैन ? उनले ‘मार्केट स्टडी’ गरे ६ हप्ताजति । उनले थाहा पाए, काठमाडौँमा कफी सप नै रहेनछ । 

त्यतिबेला तारे होटल अन्नपूर्णमा मात्रै थियो कफी सप । र, कफीको नाममा इन्स्ट्यान्ट कफी दूध–चिनी वा चिनीमा मात्रै पकाएर खाने चलन थियो । “मैले अस्ट्ेरलियामै कफीको चार हप्ताको वर्कसप लिएको थिएँ । ज्ञान अपुग लागेर अमेरिकाको क्यालिफोर्निया गएँ,” उनी भन्छन्, “स्पेसियाल्टी कफी एसोसिएसन अफ अमेरिकाको तालिम लिएँ र कफी मेसिन लिएर आएँ ।”

२९ नोभेम्बर १९९९ मा १३ लाख रुपियाँको लगानीमा हेरिटेज प्लाजा, कमलादीमा हिमालयन जाभा सुरु गरे गगनले । त्यतिखेर काठमाडौँको सबभन्दा ठूलो र राम्रो भवन त्यही थियो । विदेशी निकायका थुप्रै कार्यालय थिए त्यहाँ ।

हिमालयन जाभा नाम नै किन राखे त ? अस्ट्रेलियामा पढ्दा उनी प्राय: जाभा हाउसको कफी खाँदा रहेछन् । खासमा जाभा इन्डोनेसियाको एउटा टापु हो, संसारकै अब्बल कफी उत्पादन हुने ठाउँ । अमेरिकातिर जाभा भनेकै कफी हो । नेपाली कफीले नधाने जाभाको कफी ल्याउने सोच थियो उनको । त्यसैले सम्बन्ध जोडिदिए, हिमालय र जाभा । “त्यतिबेला नेपाली भनेपछि सबथोक नराम्रो मानिन्थ्यो, खानादेखि कफीसम्म,” उनी भन्छन्, “मैले पहिलो दिनदेखि नै नेपाली कफीको प्रवद्र्धन गर्ने अठोट लिएँ ।”

जीवनमा कतिपय गलत काम पनि गरे उनले । तर, त्यसबाट पनि केही सिके । उनले फ्रेस बिन्सबाट कफी सप खोल्ने क्रममा ‘ मार्केट रिसर्च’ गर्दा चार–पाँच सय जनालाई सोधेछन्, कस्तो कफी खानुहुन्छ ? दिनमा कतिपटक आउनुहुन्छ ? कस्तो वातावरण चाहनुहुन्छ ? दिनमा कति खर्च गर्नुहुन्छ ? “ती सबैको उत्तरले मलाई त हौसला दियो तर अधिकांशले झूटो जवाफ दिएका रहेछन्,” उनी हाँस्छन्, “दिनमा तीनचोटि आउँछु भन्ने मान्छे एक वर्षमा तीनचोटि पनि आएनन् ।” 

रमाइलो प्रसंग– हिमालयन जाभाको साइनबोर्डले ‘कन्फ्युज्ड’ गरायो धेरैलाई । कतिपय कम्प्युटर इन्स्टिच्युट ठानेर आए । ठूला र भव्य सोफा खाली–खाली देखेका कतिपय फर्निचर सो रुम सम्झेर आए । कतिपय नयाँ ग्राहक कफी तीतो, टर्रो भनेर फर्किए । हेरिटेज प्लाजा उनलाई फापेन । बाथरुम, पानी र बिजुली समस्या थपिए । 

अस्ट्रेलियामै मेकानिकल इन्जिनियरिङ पढेर फर्केका साथी आनन्द गुरुङ उनीकहाँ कफिन गइरहन्थे । भनिरहन्थे, ‘गगन, ठमेलतिर खोल्ने भए सोच है । मलाई पनि कफी सपमा लगानी गर्न मन छ ।’ त्यसरी र्‍याङठ्याङ मिलेपछि आनन्दकै ठमेलस्थित घरमा पाँच महिनामै सर्‍यो, हिमालयन जाभा । गगनका व्यावसायिक जोडी बने, आनन्द । 

ठमेलको कफी सप दुई वर्ष चल्दै चलेन । सबभन्दा बढी बिक्री भएको दिन ४ हजार ५ सय रुपियाँ । “अस्ट्रेलियामा पढ्दा कफी मेरो जरुरत भयो, त्यो जरुरतलाई मैले प्यासनमा बदलेँ । त्यसपछि प्यासनलाई व्यवसाय बनाएँ,” उनी भन्छन्, “कफीमा प्यासन र रिटर्न अफ इन्भेस्टमेन्ट (आरआई)को ज्ञान नभएको भए म तीन महिनामै बन्द गर्थें ।” 

कफी सपका ग्राहक प्राय: नेपालमा बस्ने विदेशी हुन्थे । “हामीले त्यस्तो विज्ञापन केही गरेनौँ । मुखमुखै प्रचार भयो,” उनी हौसिन्छन्, “विदेशमा बस्ने नेपाली बिदामा आएका बेला परिवार, साथीसँगी लिएर आउन थाले । कफी सबैको प्रिय पेय भयो ।”

गगनको व्यावसायिक जीवनमा अहिले थकाली खाना पनि थपिएको छ । तर, त्यसलाई उनी ‘एक्सिडेन्टल बिजनेस’ मात्र मान्छन् । बौद्ध स्तुपामा हिमालयन जाभाको आउटलेट खोल्न खोज्दा उनले एक दशकसम्म ठाउँ नै पाएनन् । त्यसका लागि चलेको थकाली भान्साघर नै किन्नुपर्‍यो । कफी सप त खुल्यो तर भान्साघरका सारा सामान कहाँ थन्काउने ? सामान किनेका थिए, २२–२५ लाखमा । तर, त्यसलाई १० लाख दिन पनि कोही तयार भएन ।

संयोगवश ठमेलको कफी सपमै आए, थकाली सेफ शम्भु बस्नेत । सिंगापुरमा पढेका र थकाली खानाका लागि प्रसिद्ध पोखराको मोनालिसा होटलमा झन्डै ११ वर्ष बिताएका शम्भुलाई समेत साझेदार बनाएर छाता गणेश टंगालमा खोलियो, नीलगिरि थकाली डिलाइट्स । ८० जनाले एकै साथ खाना खान सक्ने यो ठाउँमा मुस्ताङबाटै आलु, फापर, दाल र सुकुटी झिकाइन्छ ।

गगनले इन्डियन, थाई, इटालियन आइसक्रिम रेस्टुराँमा पनि लगानी गरेका छन् । तर, ध्याउन्न कफीमै छ । “नेपाली खाना नेपाली र नेपाल मन पराउनेले मात्र खान्छन्,” उनी भन्छन्, “नेपाली कफीचाहिँ संसारभरिका मानिसको प्रिय पेय भइसकेको छ । कफी ग्लोबल सोसल बेभरेज हो ।” उनको एक मात्र उद्देश्य डलरलाई जस्तै संसारभरि नेपाली कफी सर्वस्वीकार्य बनाउनु हो ।

उनलाई थाहा छ– कफी सप, पानी, दूध, मेसिन जति नै राम्रो भए पनि कफीका लागि दाना अब्बल चाहिन्छ । अब उनको ‘ड्रिम प्रोजेक्ट’ हो, कफी खेती । त्यसैले खेती पनि सुरु भइसकेको छ, चियाको राजधानी फिक्कलमा । “हामीले चिया खाने ठाउँमा कफी खान सिकायौँ, अब चिया खेती हुने ठाउँमा नमुना बगान बनाउने चाहना छ । हाम्रो बिग पिक्चर त्यही होला ।”

कफी स्कुल पनि चलाएका छन् उनले । सन् २०११ तिर अस्ट्रेलियामा कफी सप खोल्न गएका बेला उनले थुप्रै नेपाली विद्यार्थीको बिजोग देखे । त्यसैले उता जाने विद्यार्थीका लागि ठमेलको आफ्नै कार्यकक्षमा कफी तालिम दिन थाले । एक–दुई जना हुँदै १२ जनासम्म प्रशिक्षार्थी भएपछि सिभिल मलमा खोले, हिमालयन जाभा बारिस्टा कफी स्कुल । मक्को मेसिनको डेमोन्स्ट्रेसन, हिमालयन जाभाकै नयाँ कर्मचारी र कफी सप खोल्न चाहनेलाई तालिम पनि त्यहीँ हुन्छ । 

अर्को वर्षसम्म कफीबाट क्याफिन हटाउने डिक्याफ प्रविधि भित्र्याउने कार्यक्रम छ उनीसँग । र, यो पनि नेपाली कफीकै प्रवद्र्धनका लागि हो । उनको सहकार्य अमेरिकाको फुड एन्ड ड्रग्स एड्मिनिस्ट्रेसनसँग जारी छ । उनको एक सूत्रीय सपना छ– अमेरिकी मापदण्डको नेपाली कफी ।  

कफीजस्तै म्युजिक–लभर हुन्, गगन । उनको सांगीतिक रुझान बुझाउँछन्, फेरी–फेरी लगाउने टी–सर्टले । गन्स एन्ड रोजेज, मेटालिका आदि हार्ड रक ब्यान्डको टिसर्ट लगाउन रुचाउने उनले छोरा गौरव र छोरी निरोशियालाई पनि संगीतको लत लगाइसकेका छन् । 

पत्नी नूपुर श्रेष्ठलाई उनले पहिलोपटक आफ्नै कफी सपमै भेटेका थिए । ब्ल्यूबर्ड डिपार्टमेन्टल स्टोरमा सेल्स एन्ड मार्केटिङ म्यानेजर रहेकी नूपुर खासमा कफी सपसँग टाइअप गर्न आएकी थिइन् । तर, गगनसँग पो टाइअप भइन् । मुम्बईबाट एमबीए गरेकी नूपुर नेपालीजस्तै लागेन रे उनलाई । पछि काकीमार्फत उनकै प्रस्ताव आयो र घरजम भयो । 

केही दिनअघि उनकी पत्नीले अनायासै सोधिछन्, ‘हाम्रो बिहे भएको १४ वर्ष भयो । तर, तपाईं घर फर्कंदा कहिल्यै दु:खी देखिनुहुन्न, किन ?’ उनले लामै प्रवचन दिएछन्, ‘काम गर्दा टेन्सन त हुन्छ । कफीका लागि आधारभूत रूपमा तीन कुरा चाहिन्छ– नियमित बिजुली, गुणस्तरीय पानी र दूध । हामीकहाँ तीनवटै कुरा राम्रो छैन । तर, पनि मेरो प्यासन भएकाले यसमै खुसी छु । पहिले व्यापार नहुँदा त खुसी थिएँ, अहिले चम्किँदा झन् किन दु:खी हुनू ?’ 

प्रकाशित: माघ ७, २०७४