चित्रमान्डू

  • नेपाली चित्रकलामा आशलाग्दो चहलपहल

- राजकुमार बानियाँ

नेपाल आर्ट काउन्सिलको ग्यालरीमा १३ देखि २४ पुससम्म ‘रेस्ट्रोपेक्टिभ’ शीर्षकमा एकल कला प्रदर्शनी गरे, वरिष्ठ चित्रकार शंकरराज सिंह सुवालले । १२ दिने प्रदर्शनीमा २० हजारले उनका चित्रकला अवलोकन गरे । प्रदर्शनीमा उनले १९ लाख रुपियाँ पनि कमाए । गणेशको चित्र नै १० लाख रुपियाँमा बिक्री भएको उनको दाबी छ । तर, उनले चित्र–क्रेता व्यवसायीको नाम गोप्य राखेका छन् ।

संस्कृति र इतिहासमूलक चित्रमै ६० वर्ष बिताएका यी चित्रकारलाई यो रकम–कलम भने खासै अनौठो लाग्दैन । उनको मान्यता छ– चित्रको बिक्री होइन, चित्रमा परेको मिहिनेत हेरियोस् । “परम्परागत नेपाली पौभाचित्र एक करोड रुपियाँसम्म बिक्री भएका छन् । त्यस हिसाबले यो केही पनि होइन,” उनी भन्छन्, “यस्तो चित्र रातारात बन्दैन । समय र खर्च पनि त्यही अनुपातमा हुन्छ ।”

कला–बजारको दृष्टिले हिउँद ‘ड्राई सिजन’ हो । तर, काठमाडौँमा साताको दुई–तीनवटा कला प्रदर्शनी भइरहेका छन् । सुवालको चित्र प्रदर्शनी सकिँदा नसकिँदै सिद्धार्थ आर्ट ग्यालरीमा गोपाल कलाप्रेमीको एकल चित्रकला प्रदर्शनी जारी छ । कला बजारमा चिनिन चाहनेका लागि सिद्धार्थ ग्यालरीको बेग्लै महत्त्व छ । ३१ वर्षे इतिहास बनाएको यो ग्यालरीमा चित्रको बिक्री पनि राम्रै छ । जानकारहरूका भनाइमा काठमाडौँका प्राय: कला प्रदर्शनीमा ८–१० वटा चित्र बिक्री भएकै हुन्छन् । 

कलासर्जकलाई जीवन दिने भनेकै ग्यालरीले हो । राजधानीमा अहिले सरकारी बाहेक मुस्किलले १० वटा निजी आर्ट ग्यालरी छन् । तीमध्ये सिद्धार्थ, पार्क, आर्टिस्ट प्रुफ, नेवा:छे, सिंह, मिथिला प्रमुख आर्ट ग्यालरी हुन् । त्यहाँ कम्तीमा महिनामा एउटा कला प्रदर्शनी हुन्छ । “अरू ग्यालरीको कुरा मलाई थाहा हुन्न, मैले सोध्न पनि मिल्दैन,” सिद्धार्थ आर्ट ग्यालरीकी प्रमुख संगीता थापा भन्छिन्, “सिद्धार्थमा सुन्दर किसिमका कलाकृति प्रदर्शनीमा राखिएका छन् । सिजन या राजनीतिक अस्थिरताको प्रभाव हुन सक्छ, कला संकलकमा त्यति सारो उत्साह देखेको छैन ।”

काठमाडौँमा कलाको पछिल्लो माहोल उल्लेखनीय नै छ । अझ साहित्य, संगीत, फिल्म क्षेत्रभन्दा सन्तोषजनक स्थितिमा छ चित्रकला । कला समीक्षक देवेन्द्र थुम्केली यसमा चारवटा पक्षलाई जिम्मेवार देख्छन् । पहिलो– चित्रकलासम्बन्धी प्राज्ञिक संस्थाको बढोत्तरी, दोस्रो– दर्जनौँ कला प्रदर्शनी, तेस्रो– अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र चौथो– नेपाल ललितकला एकेडेमीको स्थापना । 

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ललितकला क्याम्पसमा स्नातकोत्तर तहको पढाइ हुन्छ भने काठमाडौँ विश्वविद्यालयको कला विभागले पनि स्नातक कार्यक्रम सुरु गरिसकेको छ । यसबाहेक सिर्जना कलेज अफ फाइन आर्ट पनि छ । कक्षा १२ सम्म चित्रकलाको पढाइ हुने विद्यालयको संख्या नै आधा दर्जन पुगेको छ । तथ्यांक अनुसार काठमाडौँमा तीन, ललितपुरमा दुई, भक्तपुर र कास्कीमा एक–एक त्यस्ता विद्यालय छन् । यस अतिरिक्त ‘हबी क्लास’ लिने संस्था नै एक दर्जनभन्दा बढी छन् । तिनले एक महिनादेखि एक वर्षसम्मका कोर्स सञ्चालन गर्दै आएका छन् । 

व्यक्तिगत र संस्थागत रूपमा चित्रकला प्रदर्शनी गर्न स्थान भने पर्याप्त छैनन् । खास गरी दुई वर्षअघिको भुइँचालोले अधिकांश ग्यालरी भत्किए । अझ ललितकला संस्था (नाफा)को भवन भत्किएपछि प्रदर्शनी कक्षको अभाव कला सर्जकहरूले झेलिरहेका छन् । यद्यपि, भुइँचालोले गर्दा क्षति पुगेका निजी क्षेत्रका अधिकांश ग्यालरीले दुई वर्षमै पुनर्जीवन पाइसकेका छन् । नियमित प्रदर्शनीका कारण कलाप्रेमीको घेरा पनि फराकिलो हुँदै गएको छ । 

बाहिरी विश्वसँगको सम्पर्क र आउजाउका कारण चित्र किन्ने, संकलन गर्ने वा सजाउने सौखिनको संख्या नजानिँदो गरी बढ्दैछ । अझ कला नै उपहारका रूपमा दिने र लिने चलन सुरु भएको छ । हाउजिङ, अपार्टमेन्ट र इन्टेरियर डिजाइनमा पेन्टिङ या आर्ट पिसको सजावट पनि सामान्य भइसक्यो । वास्तु विज्ञानका आधारमा देवदेवीका चित्र राख्ने भन्ने चलन पनि छ । घरका भित्ता खाली राख्नुहुन्न भन्ने मान्यता राख्नेहरू पनि बढेका छन् । 

बैंक, व्यावसायिक फर्म या कम्पनीले पनि कलाकृतिको संग्रहमा रुचि देखाएका छन् । र, त्यसले कलासर्जकको जीविका सहज बनाउँदै लगेको छ । “सम्पन्नताको मानक बैंक ब्यालेन्स, घर, कार या घडेरी मात्रै होइन, कला र संस्कृति पनि हो भन्ने पश्चिमी प्रभावमा कला संकलन तथा संग्रहतर्फ आकर्षित भइरहेका छन्,” थुम्केली भन्छन्, “खास गरी कलाकृति उपहार दिँदा विदेशी मित्रहरू मक्ख पर्ने अनुभव नेपालीको छ ।”

चित्रकला आर्थिक दृष्टिले सन्तोषजनक रहेको टिप्पणी गर्छन्, ललितकला एकेडेमीका पूर्वसदस्य–सचिव केके कर्माचार्य । नयाँ–नयाँ प्रकाशकको आगमन, पुस्तक बजारको विस्तार, प्रविधिको विकास, एनिमेसन, विज्ञापन आदिका कारण कलाकारहरूले यसबाटै जीविका निर्वाह गर्न सक्ने स्थिति आएको छ । “कविता लेखेर, गीत गाएर र चित्र बनाएर खान पाइन्छ भन्ने मान्यता थियो,” कर्माचार्य भन्छन्, “अहिले सर्जकको मान राख्न थालिएको छ । यो सकारात्मक पक्ष हो ।”

यति हुँदाहुँदै पनि नेपाली कलाले छलाङ नै मारिसक्यो भन्ने उनलाई लाग्दैन । “१० वर्षसम्म ढुकेर दुई–चारवटा पेन्टिङ बिक्री भयो भनेर धाक लगाउनुको तुक छैन,” उनी कलाकारको प्रवृत्ति केलाउँछन्, “हामीकहाँ ठूलठूला व्यवसायी या बैंकरहरूलाई बोलाएर यति र उति किन्यो भनेर हल्ला मच्चाउने चलन छ । लाखौँमा चित्र बिक्री भएको समाचार आउँछ तर पछि त्यही चित्र नबिकेर फेरि अर्को प्रदर्शनीमा राखिएको समाचार आउँदैन ।” चर्चाका लागि जितबहादुर रायमाझीदेखि उत्तम नेपालीसम्मले महँगो मोल राखेको उनको आरोप छ ।

कर्माचार्यको विश्लेषणमा कलाकारको मिहिनेतको तुलनामा १०–२० लाख केही पनि होइन । बिक्रीका हिसाबले त आधुनिक चित्रभन्दा परम्परागत चित्रको अवस्था राम्रो छ । एकमुष्ट रकम आएजस्तो लागे पनि समयको गणना गर्दा दिनको एक हजार पनि नपर्ने उनको अनुभव छ । पुराना थांका कलाकार मानबहादुर दोङका अनुसार त्यस्ता कलाको अन्तर्राष्ट्रिय बजार वार्षिक २० अर्बभन्दा माथि छ ।

परम्परागत थांका, पौभा र मूर्ति कलाकारहरूको संख्या नै २५ हजार छ । विश्वकला बजारको केन्द्रका रूपमा चिनिएका चीन, भारतलगायत मुलुकमा यस्ता धार्मिक या परम्परागत चित्र बिक्री हुन्छ ।

सिर्जना कलेज अफ फाइन आर्टका अध्यापक समेत रहेका वरिष्ठ चित्रकार कर्माचार्यको बुझाइमा कलाको विकास भएको मान्ने हो भने पनि कुशल सर्जक कमै छन् । “विकास नभएको त भन्न मिल्दैन तर यो समयले गरेको विकास हो । यति पनि नहुने हो भने हामी के रहन्छौँ त ?” उनी थप्छन्, “राम्रा कलाकृतिको सिर्जना नेपाली कलाकारका लागि चुनौती हो ।”

सुखद पक्ष के भने नेपाली कलासर्जकहरू विश्वव्यापी पहुँचमा पुगेका छन् । अनौपचारिक अध्ययनमा सातामा एक जना नेपाली कलासर्जकले विदेशमा कलाप्रदर्शनी गरेका हुन्छन् । कतिपय कलासर्जकले एक्सपोजर पाउँदै गएका छन् । नेपाली कला युरोप–अमेरिकासम्म फैलिएको मात्र छैन, कलाप्रतिको बुझाइ पनि परिष्कृत हुँदै गएको छ । अन्तर्राष्ट्रिय कला कार्यशाला तथा प्रदर्शनी, बहस, गोष्ठी पनि उत्तिकै भइरहेका छन् । 

ललितकला एकेडेमीको संरचना बने पनि त्यसले दूरगामी महत्त्वको काम भने गरिसकेको छैन । “गर्‍यो भनौँ भने नतिजा बाहिर देखिँदैन,” कला समीक्षक थुम्केली भन्छन्, “गरेको छैन भनौँ भने प्राज्ञहरूलाई एकछिन पनि फुर्सद छैन ।” एकेडेमीको नेतृत्व तह ललितकलाको उत्थानमा के–के काम गर्ने भन्ने भन्दा पनि आन्तरिक झगडामै रुमल्लिएको छ । 

सिद्धार्थ आर्ट ग्यालरीकी प्रमुख थापा एकेडेमी या सरकारी तहबाट कुनै पनि सहयोग नपाएको गुनासो गर्छिन् । राष्ट्रिय गौरवको कार्यक्रम बनेको ‘काठमाडौँ ट्रिएनाले’का लागि एउटा चिट्ठी लेखिदेऊ भन्दा पनि एकेडेमीले सघाउन नसकेको तीतो अनुभव छ उनीसँग । “अहिले कला क्षेत्रमा जेजति काम भएको छ, त्यो सबै निजी क्षेत्रको देन हो,” उनी भन्छिन्, “यसमा सरकार या एकेडेमीको कुनै हात छैन ।” 

प्रकाशित: माघ ५, २०७४