मन्त्री निवासमा नोकझोंक

- रत्नशमशेर थापा

राजनीतिक दलका नेताहरू आममानिसलाई गुमराहमा पार्न ज्यादै खप्पिस हुँदा रहेछन् । सामान्य अवसर र लाभका कुनै पद दिनुपर्‍यो भने उनीहरू दल निकटका व्यक्तिबाहेकलाई हेर्दै हेर्दैनन् । तर, मुखले भने ‘योग्य र सक्षम व्यक्तिलाई अवसर दिने कुरामा कन्ज्युस्याइँ गर्नु हुँदैन’ भनेर बोलेर थाक्दैनन् । योग्य भए पनि कुनै दल र दल निकटको व्यक्तिसँग नजिक भएन भने त्यसले अवसर तथा लाभको पद कमै पाउँदो रहेछ । 

विसं २०२८ को कुरा हो । ज्ञानेन्द्रबहादुर कार्कीले शिक्षामन्त्रीका साथै भूमिसुधार, कृषि तथा खाद्यमन्त्रीको पनि जिम्मेवारी निर्वाह गरिरहेका थिए । उनैको विशेष निम्तो पाएर राजधानीमा उपलब्ध हामी केही कवि, कलाकार र संगीत क्षेत्रका व्यक्ति मन्त्री निवास पुल्चोक पुगेका थियौँ ।

कवि/कलाकारसँग भलाकुसारी गरौँ र आफ्ना केही कुरा राखौँ भनेर उनले हामीलाई आमन्त्रण गरेका रहेछन् । पुस महिनाजस्तो लाग्छ । दिउँसो यस्तै २ बजे हामी उनको निवासमा पुग्यौँ । पुष्कर लोहनी, भीमनिधि तिवारी, उपेन्द्र श्रेष्ठलगायतका झन्डै १०–१२ जना कवि/कलाकार थियौँ । मन्त्री कार्कीले विषयवस्तुमा प्रवेश गर्नुपूर्व आमन्त्रित व्यक्तिलाई चिया–खाजाको प्रस्ताव गरे । एउटा थर्मसमा चिया र अर्को थर्मसमा ममचा (म:म) ल्याइएको थियो । जाडो महिना † सबैले खुबै मीठो मानेर खाजा खायौँ । मन्त्री कार्की विषयवस्तुमा प्रवेश गर्नै लागेका थिए, पुष्कर लोहनीले खाजाका रूपमा खाएको म:मका बारेमा कुरा निकाल्यो । उसले भीमनिधि तिवारीलाई ‘कविजी † यो त राँगाको मासुको म:म हो ! तपाईंले पनि खाइदिनुभयो ?’ भन्यो । कविजीको होसहवास नै उड्यो । आत्तिँदै मनिर आएर ‘के हो रत्नजी † हामीले खाएको त राँगोको म:म भन्छ त पुष्कर ! साँच्चै हो र ?’ भनेर सोधे । मैले भनेँ, ‘हेर्नूस् कविजी † राँगाको म:म त म पनि खान्नँ । तर, यहाँ दुई–चार डल्ला त मैले पनि खाइसकेँ । ठूलाबडाको घर, ठूला कवि/साहित्यकारको जमघट तसर्थ सत्कार पनि ठूलै खसीबाट गरेका होलान् !’ मेरो कुरा सकिन पाएकै थिएन, त्यहाँ खुब हाँसो भयो । कविजी पनि मुस्कुराए । 

त्यसपछि मन्त्री कार्कीले आफ्ना कुरा राख्न थाले । दार्जीलिङ/आसामतिर कवि/कलाकारलाई घुम्न पठाउने र त्यहाँको कला–संस्कृतिका साथै साहित्यिक महत्त्व आदान–प्रदान गर्ने हेतुले हामी केही व्यक्तिलाई त्यसतर्फ पठाउने आफ्नो सोच भएको कुरा उनले गरे । यत्तिकैमा उनले ‘अहिले मलाई तुरुन्तै जर्मनी जानुपर्ने भएकाले यस कामलाई तुरुन्त कार्यान्वयन गर्न सकिनँ, पछि यहाँहरूलाई त्यो अवसर अवश्य जुटाउनेछु’ भनेर आफ्नो भनाइ टुंग्याए । मलाई झनक्क रिस उठ्यो । मैले भनेँ, ‘मन्त्रीज्यू † तपाईंले भन्नुभएको कुरामा मलाई विश्वास लागेन ।’ उपस्थित कवि/कलाकार मेरो कुराले स्तब्ध भए । यत्तिकैमा मन्त्रीले प्रतिप्रश्न गरे, ‘तपाईंलाई मेरो के कुरामा विश्वास लागेन ?’ मैले भनेँ, ‘सित्तैँमा आएका कोटामा त विदेश नपठाउने तपाईंहरूले श्री ५ को सरकारले खर्च बेहोर्ने गरी हामीलाई दार्जीलिङ/आसाम घुम्न पठाउनुहोला भनेर कसरी विश्वास गर्ने ?’ 

त्यतिबेला रुस र चीनबाट कला र संस्कृतिको आदान–प्रदान गर्ने भनेर ती देशको भ्रमणका निम्ति खुबै निमन्त्रणा पठाइन्थ्यो । त्यस्ता कोटामा हाम्रा मन्त्री र सरोकारवाला निकायका व्यक्ति पञ्चायत नजिक र मन्त्रीका आसेपासेहरूलाई त्यता पठाउने काम गर्थे । मैले त्यही कुरा उठाउँदै हामी साहित्य र कला क्षेत्रका मानिसहरूलाई यसअघि आएका कुनै पनि ‘कल्चरल डेलिगेसन’मा विदेश पठाउने काम भएको छैन तसर्थ अब पनि होला भनेर विश्वास गर्ने आधार नभएको कुरा दोहोर्‍याएँ ।

मेरा कुनै पनि प्रश्नको जवाफ नदिएपछि म अलिक आवेशमा आएर ‘संस्कृति भनेको के हो ? नृत्य मात्रै संस्कृति हो र ?’ भन्दै अलिक चर्को स्वरमा भनेँ, ‘तपाईंहरू पदमा बसेर देश सेवा गर्नुहुन्छ, हामी पदमै नबसेर पनि देश सेवा गरिरहेका छौँ ।’ यति भन्न मात्र के पाएको थिएँ, भीमनिधि तिवारीले ‘हेरौँ, जर्मनीको भ्रमणबाट फर्केर आएपछि के गर्नुहुँदो रहेछ, त्यतिन्जेल आश गरौँ !’ भनेर मलाई रोक्न खोज्नुभयो । त्यत्तिकैमा मैले थपेँ, ‘हामीकहाँ त एउटा सोर्स र अर्को फोर्स भएपछि मात्र कोर्स बन्छ । अहिलेसम्म उहाँहरूले गरेको यत्ति हो ।’ 

यसरी जुन उत्साह र उमंग लिएर हामी त्यहाँ भेला भएका थियौँ, मन्त्रीसँगको त्यो नोकझाेंकले जमघट अलिक खल्लो बनायो । त्यसपछि साँझ नपर्दै हामी त्यहाँबाट फर्कियौँ । 

मन्त्री कार्की जर्मनीको साताव्यापी भ्रमण गरी फर्किए । तर, हामी कवि/कलाकारलाई दार्जीलिङ/आसाम पठाउने भन्ने उनको वचन भने वचनमै सीमित रह्यो । उनको निमन्त्रणा आउला र दार्जीलिङ/आसाम घुमेर त्यहाँको कला–संस्कृतिबारे ज्ञान हासिल गरौँला भन्ने कवि/कलाकार आशैआशमा रहे । उनको कार्यकालमा त्यस्तो आश कहिल्यै पूरा भएन ।

प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: माघ ३, २०७४