अल–क्वासा र यादहरू

  • अल–क्वासालाई एक वर्ष पनि बचाउन सकिनँ मैले । पानीमा डुबेर मरी । मैले आँखा झिमिक्क पनि गर्न नपाउँदै ऊ बद्र्याम्म खसेकी थिई, डेढ सय मिटर गहिरो विजयपुरको खोँचमा ।

- गनेस पौडेल

तिमीलाई थाहै छ, मलाई सपनामा पनि ‘म सपना देखिरहेछु’ भन्ने हेक्का हुन्छ । सपना देखिरहँदा म सपनाको प्लटलाई नियन्त्रणसमेत गर्न सक्छु । त्यसैले म कहिल्यै दु:स्वप्न देख्दिनँ । एकान्तमा लखेट्दै आउने बाघ–सर्प हुन् या मुटु थिचेर ऐँठन पार्न आउने भूत–प्रेत, मलाई एकछिनमै थाहा हुन्छ, यो सपना हो । बाघसँग लड्नु, गोमनको दाँतलाई कान्छी औँलामा अड्काएर टहलिनु अथवा भूत–प्रेतको टुप्पी रिङ्गाएर मिल्काइदिनु मेरा आमस्वप्नचर्या हुन् ।

तर, मान्छेलाई धोका दिने भनेकै आफ्नै क्षमताले हो । म आफ्नै सपनाहरूबाट धेरैपटक धोकाधडीमा परेको छु । तिमी पनि त मेरो एक सपना थियौ नि विपश्वी ! 

हिजोको सपनामा म घ्यान्जेको घोडा समातेर लगाम कस्दै थिएँ । 

घ्यान्जे लोमान्थाङका जोधारे युवा हुन्, जो हरेक हिउँदको घाम ताप्न मेरो गाउँमा झर्थे । अहिले उनी उल्कै बूढो भइसके । हामी उनका घोडाहरू चोरेर चढ्थ्यौँ । घोडा चढेरै माइलौँ टाढा (दूरी अलि बढी लागे आफैँले घटाउनू) पुग्थ्यौँ । उनी हामीलाई घुँयेत्रो मार्दै लखेट्थे । भेटे भने लात्तीले भक्कु गोद्थे । मेरा धेरै बालसखाले उनको पिटाइ खाएका छन् । कसो कसो म सधैँ जोगिएको हुन्थेँ । तर, हिजोको सपनामा म घ्यान्जेबाट जोगिइनँ । जोगिनँ नचाहेको होइन, जोगिनै सकिनँ । मलाई ‘यो सपना हो’ भन्ने आभासै भएन । जसरी मान्छेहरू ‘यो जिन्दगी हो’ भन्ने हेक्कै नराखी बाँच्छन्, त्यस्तै सपना भयो । घोडामा चढेर कुँडहर फाँटको नहरैनहर भाग्दा अचानक मेरो पिठ्युँमा घ्यान्जेको घँ‘येत्रो लाग्यो । म रनाहा पर्दै बारीमा बजारिएँ । बजारिँदा म ठीक ११ वर्षको थिएँ, टीनएज पनि नलागेको बबुरो तर मेरो बगलीबाट फुत्त खसेको थियो एलिनोर हर्मनको सेक्स विद द क्विन ।

मेरी विपश्वी, तिमीलाई सम्झँदा हरेकपटक बगलीबाट किन खस्छ यो किताब ? (नरिसाउनू, मैले ‘मेरी’ भनेर आफ्नी भनेको होइन, क्राइस्ट–जननीको नाम थापेको हुँ । मलाई थाहा छ, तिमी मेरी होइनौँ, अरू कसैकी हौ ।)

हर्मनको यो किताब यौन वेदनाको इतिहास हो । नारीहरू सदैव पुरुषको उत्पीडनमा परे, त्यो चल्तीको टपिक हो । तर, ‘न’ र ‘र’ को स्थान फेरेर बन्ने ‘रानी’हरू सामान्य नारीभन्दा झन् पीडित हुन्थे भन्ने कल्पना कमैलाई हुन्छ । मलाई कहिलेकाहीँ आभास हुन्छ, कुनै जन्ममा म सोफिया डोरोथियाहरू थिएँ र बाँचेकी थिएँ, कहिल्यै सुटिङ नगरिएको ट्रयाजिक सिनेमाको भद्दा जिन्दगी । हाम्रा प्रेमी फिलिप क्रिस्टोफहरू अहिले कता जन्मेका होलान् ? के मलाई जस्तै आभास उनीहरूलाई पनि हुन्छ ?

विपश्वी π हाम्रा लोग्नेहरू बरन्डामा सिगार पिउँदै बस्थे, तल पटांगिनीमा घोडा–घोडीलाई क्रीडा गर्न लगाउँथे : तिनताकाको दरबारिया नीलो फिल्म । घोडक्रीडा हेरीहेरी आफ्नो लिविडो उकास्थे अनि रापिँदै खोपीमा पस्थे । हामी निर्बस्त्र भएर तिनका आक्रमण पर्खिबसेका हुन्थ्यौँ । राज्यको उत्तराधिकारीको जन्मका खातिर पनि बलात्कार जरुरी थियो । देशको सुरक्षाको सवाल जो थियो । जन्म र सुरक्षाका खातिर असुरक्षित जिन्दगी बाँच्नु नै स्त्रीको नियति भइआएको छ । तिनका लिंगले डामेको भागमा मलाई अचेल पनि दुखेको आभास हुन्छ । तीन सय वर्षसम्म दुख्ने त्यो कस्तो डमाइ हो ? के आइमाईहरू अझै डामिन्छन् ?

प्रेमले नभई कूटनीतिको करले भाषा र संस्कृति केही नमिल्ने राजालाई कलिली छोरी सुम्पन्थे, राजा । संवादसमेत असम्भव हुने यस्ता पार्टनरसँग जिन्दगीभर मुस्किलले एक दर्जन सहवास हुन्थे । भएका सहवास घोडाको बलमा हुन्थे । हर्मनको इतिहास पढ्दा तिमीलाई आफ्नै देशकी भृकुटी झल्कोमा आएकी हुन सक्छे । अनि, तिमीले सम्झेको हुन सक्छौ, स्रङचङ गम्पोको गोरुसिङ्गे जुँगा । राजनीतिक कोपभाजनमा यौवन र जीवन सुम्पने सबैले देशको विभूति हुने अवसर पाउँदैनन् । भृकुटी बरा भाग्यमानी हुन् !

मेरा लागि घोडा प्रेमको होइन, बलात्कार र घृणाको विम्ब हो । 

जेएम सिन्जेको नाटक पढ्नुपथ्र्यो केटाकेटीमा, राइडर्स टू द सी । आफ्नो वंश धान्ने अन्तिम छोरालाई हाटमा पठाउनुअघि उसकी बूढी आमाले सपनामा एउटा ‘ग्रे पोनी’ देख्छे । नभन्दै घोडाले पछारिदिएर उसको अन्तिम सन्तान समुद्रमा खस्छ र मर्छ । घोडा मृत्युको विम्ब हो, विपश्वी π आयरल्यान्डको त्यो टापुमा कसैले पौडन नसिक्दा रहेछन् । समुद्रमाथि आश्रित आदिवासीले पौडन नसिक्ने कुरा सुन्दा तिमीलाई अचम्म लागेको होला । तर, जब समुद्रमै डुबेर मर्ने पक्का हुन्छ, पौडन जान्नुभन्दा नजान्नु नै बेस हुन्छ । पौडन जान्नेहरूको मृत्यु बडो भयानक पो हुन्छ समुद्रमा । 

मृत्यु र पानीको साइनोमा म इलियट सम्झन्छु । द वेस्ट ल्यान्ड बाजेको ‘डेथ बाइ वाटर’ च्याप्टरले मलाई सधैँ छप्ल्याङ–छप्ल्याङवाला छटपटी हुन्छ । मलाई पानी यति मन पर्छ कि रोजेर पाइने भए म डुबेरै मर्न चाहन्थेँ । पानीमा डुबेरै मरेको हो कवि शेली (अरू मरुवाको लिस्ट गुगलले भन्ला) । म जस्तो डुलन्दास मर्ने भनेकै कि डुबेर हो कि टायरले कच्याक्क किचिएर हो या हिउँ–पैह्रोले छपक्कै पुरिएर । इलियटलाई पढेको राती नै मैले ‘ पानी’ शीर्षकको कविता लेखेको थिएँ । 

वरिपरि खेलाएर सतत माछाहरू 

अर्को जन्म छ भने कतै 

मलाई पानी भएर जन्मने इच्छा छ 

मेरो ईश्वर !

म तँलाई मैभित्र डुबेर मरेको हेर्न चाहन्छु ।

एकताका अल–क्वासा पालेको थिएँ, फार्म हाउसमा । फार्म हाउस आउनुअघि अल–क्वासाको नाम के थियो वा थिएन, मलाई थाह भएन । उसको मालिकले उसलाई पोखराको कुनै तथाकथित महोत्सवमा ल्याएर मान्छे बोकाएको थियो । आफ्नो कुप्रिएको पिठ्युँमा महोत्सवभर अनगिन्ती मान्छे बोकेर उसले मालिकका लागि पैसा कमाइदिएकी थिई । तर, उसको कमाइ बोकेर मालिक एक्लै राजस्थान फर्कियो, अल–क्वासा लावारिस भई । मौसम र हावापानी नमिल्ने यो उराठ सहर पोखराका व्यस्त सडकमा दिनरात भौँतारिएर मालिक खोज्दै दगुरी । नालाको कालो पानी पिउन थाली । डाला थापेर बेच्न बसेका बूढी आमाहरूका सागसब्जी खोसेर खाई । पर्खालमाथिबाट लामो घाँटी छिराएर किसानले जेनतेन हुर्काएका धानका बाला चपाउन थाली । अल–क्वासा सहरवासीका लागि घाँडो हुन थाली । ऊ दुई वर्ष सडकछाप भएर बाँची । 

‘उद्दार’ नामको लामै कथाको प्लट बुनेर बल्लतल्ल ल्याइपुर्‍याएको थिएँ अल–क्वासालाई फार्म हाउसमा । फार्म हाउसमा टेक्नेबित्तिकै ऊ भकाभक चर्न थालेकी थिई हरियो घाँस । दुई वर्षदेखि अघाउन्जी चपाउन नपाएको घाँसले पेट टुम्म पारेपछि बल्ल पल्टेकी थिई ऊ बालुवामा, चार खुट्टा फालेर । 

तर, अल–क्वासालाई एक वर्ष पनि बचाउन सकिनँ मैले । पानीमा डुबेर मरी । मैले आँखा झिमिक्क पनि गर्न नपाउँदै ऊ बद्र्याम्म खसेकी थिई, डेढ सय मिटर गहिरो विजयपुरको खोँचमा । म असहाय भएर हेरेको हेर्‍यै भएँ । बिचरीको लास पनि भेटिएन । साउनको बाढीले उन्मत्त विजयपुरमा डुबुलडुबुल गर्दै उसको यामानको शरीरबाट कसरी फुस्किएको थियो होला प्राणको मसिनो गाँठो ? 

‘बरू सडकमै लावारिस भएको भए ऊ अझै बाँचिरहेकी हुन्थी । मैले बेक्कारमा ल्याएछु ।’ मृत्युशोकले विह्वल भएको मलाई सान्त्वना दिन आएका कृष्णमणि र शिव शर्मालाई सुकसुकाउँदै भनेको थिएँ मैले । 

‘दु:खी भएर सय वर्ष बाँच्नुभन्दा सुखी भएर एक दिन बाँच्नु बेस ।’ शिवले सान्त्वना पस्केको थियो । तर, के फार्म हाउसमा एक्ली अल–क्वासा साँच्चैको खुसी थिई ? 

प्रिय विपश्वी † अल–क्वासासँग भेटिनुअगाडि मलाई उँmट देखेर डर लाग्थ्यो । तर, अचेल उल्कै माया लाग्छ ऊँटको । मलाई ऊँट सिकाएर गई ऊ । कुनै बखत राजस्थान पुगेँ भने उसको मालिकलाई दुई थप्पड गालामा चट्काउन मन छ । तर, मेरो थप्पड खानकै लागि उसको मालिक के अझै ज्यूँदै होला ? 

हामी केटाकेटी ऊँटलाई मरुभूमिको घोडा भनेर पढ्थ्यौँ । अल–क्वासा मरेको रात सपनामा एउटा खैरो बछेडो अनि अर्को एकसिंगे युनिकोर्न पालैपाले हिनहिनाएका थिए । त्यो हिनहिनाहट विजयपुर खोलाको खोँचमा ठोकिन्थ्यो र गहिरो प्रतिध्वनि बनेर फर्किन्थ्यो । इको अर्थात् नर्गिसकी नायिका यति घनघोर उदासीमा उपस्थित हुन्छे भन्ने मैले कहिल्यै अनुमान गरिनँ । त्यो प्रतिध्वनि कुनै लास्ट अफ् द मोहिकन्सको कोरसजस्तो सुनिन्थ्यो । सपनामा घोडा हिनहिनाएको आवाज कसैले सुन्न नपरोस् π बलात्कारको पीडा खप्न नसकेर पूरै युरोपेली रानीहरू एकसाथ चिच्याएको आवाजजस्तो लाग्छ, मलाई घोडा हिनहिनाएको स्वर । 

म १०/११ वर्षको हुँदो हुँ । घरमा आएको थियो एउटा खैरो–कालो गोरु । रङ अनुसारले नै उसको नाम थियो, गुरे । घरको पहिलो गोरु । तिनताका फागुन­–चैततिर पोखराको टुँडिखेलमा गोरु मेला लाग्थ्यो । वरपरका किसानहरू आउँदो बर्खालाई ताकेर गोरु बेच्न ल्याउँथे । आमाले हिउँदभरि साग बेचेर कमाएको पैसाले ल्याउनु भएको थियो त्यसलाई । 

अर्को बर्खामा त जसै गोरु किनिछाड्छु भन्ने अठोट लिएर त्यो हिउँद पूरै घरबारीमा तरकारी लगाउनुभएको थियो आमाले । पुस–माघको ठण्डीमा राती अबेरसम्म हामी केटाकेटीसमेत मिलेर लसुन, प्याज, छ्यापी र साग पखाल्दै मुठा पार्ने काममा व्यस्त हुन्थ्यौँ । एक खाँग्रे तरकारी पखालेपछि बल्ल सुतिन्थ्यो । हामी बिहान उठ्दा आमा ओछ्यानमा हुनुहुँदैनथ्यो, १५ किलोमिटर टाढाको बजारमा खाँग्रे बोकेर डुलिरहनुहुन्थ्यो । ‘यो जाडोमा बूढी आमा कुन बेला उठेर हिँडेकी होलिन् ?’ सोचेर मलाई रुन आउँथ्यो । कात्तिकदेखि फागुनसम्म रिठ्ठो नबिराई हरेक दिन तरकारी बेचेपछि बल्ल जगेडा भएको थियो अतिरिक्त १ हजार ६ सय अर्थात् गुरे गोरुको परल मोरु । 

दु:खले किनेको भएर होला, गुरे मलाई अहिलेसम्म पालेकामध्ये सर्वाधिक प्यारो जनावर लाग्छ । यसको भकारो सोहोर्दा, यसलाई कुँडो पकाउँदा, पराल थुत्दा वा चराउन भनेर माटेको खर्कमा लग्दा मलाई कहिल्यै दु:ख लागेन । थकाइ लागेन । सात वर्ष लगातार हाम्रो परिवारको सेवा गरेर कात्तिकको एक साँझ गुरे बित्यो । शोकको त्यो साँझ हाम्रो घरमा भात पाकेन । त्यसपछि हाम्रो परिवारमा कुनै अर्को गोरु आएन । अब त गोरुको जमाना पनि गयो । 

म कहिलेकाहीँ सोच्छु, मेरी छोरीले पनि जनावरसँग जोडिएका गहिरा संवेदनाहरूबाट गुज्रने अवसर पाउली ? 

प्रिय विपश्वी † सिजन स्वस्थानीको छ । मन भने आफ्नो स्थानमा छैन । तिमीलाई प्रेमपत्र लेख्न बसेको म खोइ किन हो, जनावरका यादहरूमा अल्झिन पुगेँ । सायद मजत्तिको अस्थिर मान्छे जन्मिन बाँकी नै छ । त्यसो त संसारका कुनै पनि चीज स्थिर छैनन् । भएको भए पृथ्वी किन जन्मजात चक्कर काटिरहन विवश हुन्थी ? सूर्य आफैँ रापिएर बस्न किन अभिशप्त हुन्थ्यो ? खोला बरा किन दौडिरहन्थ्यो ? आकाश किन वर्षिरहन्थ्यो ? किन मेरो जिन्दगीमा मान्छेभन्दा पनि गहन सम्बन्ध राखेर आउँथे, घोडा, ऊँट, गोरु र अनन्त जनावरहरू ? 

प्रकाशित: माघ ३, २०७४