कस्मेटिक कम्युनिस्ट कुटी

  • उपन्यासले के भन्छ भने गणतन्त्र र सामाजिक परिवर्तनमा के ही सकारात्मक योगदान भए पनि माओ वादी विद्रोह जसरी उठ् यो, त्यो गलतै हो ।

- राजकुमार बानियाँ

झन्डामा हँसिया–हथौडा । पार्टीको नाम कम्युनिस्ट पार्टी । नारा– विश्वका किसान–मजदुरहरू एक हौँ । अभिवादन– लाल सलाम π चलनचल्तीको सम्बोधन कमरेड नै । तर, असली कम्युनिस्ट कोही छैन । विचार एउटा छ, व्यवहार अर्कै । कोही बुझेर बुझ पचाउँछन्, कोही नबुझीकन अन्धाधुन्ध कुद्छन् । तिनलाई भनिने नयाँ पदावली हो, ‘कस्मेटिक कम्युनिस्ट ।’ यदाकदा लेखकहरू त्यो मनैदखि कम्युनिस्ट आदर्श पछ्याउन खोज्छन् । त्यो वर्गविहीन समाजको स्थापनामा लाग्ने छटपटीमा हुन्छन् । तर, त्यो एक प्रकारले मृगमरीचिकाजस्तै हो ।

विश्वका किसान–मजदुर एक हौँ भन्ने कम्युनिस्टहरू नै दर्जनौँ टुक्रामा विभाजित छन् । कतै विचार मिल्दैन, कतै पोर्टफोलियो । एक जना शीर्ष नेता नवसामन्तजस्ता देखिन्छन्, जसले खाएको रिकापी पनि अरू कसैले उठाइदिनुपर्छ । दुईपटक सशस्त्र आन्दोलन नै भयो । तर, वर्गविहीनता होइन कि नेताको वर्गउत्थानमै विसर्जित भयो । हो, यही ज्वलन्त विरोधाभास जनाउने उपन्यास हो, प्रेमदासको डायरी । रेशम विरहीले औतारी कम्युनिस्ट उभ्याएका छन्, नेपालगन्जको बीपी चोकमा ।

पुरानो टायरको चप्पल, पहेँलो धोती–कुर्ता, पहेँलै गम्छा । निधारमा श्रीखण्डको चन्दन, घाँटीमा रुद्राक्ष र तुलसीको माला । दस औँलामा दसै किसिमका औँठी । पछाडितिर बाँधेको चुल्ठो र गुन्द्रुकजस्तो जुँगा । कसै गरी लाग्दैन– एक क्रान्तिकारीको यस्तो रुन्चे हुलिया π २० वर्षपछि भेट भएका आफ्ना राजनीतिक गुरुको हालत देखेर चम्पाकुमारी उर्फ कमरेड कुमारी सोध्छे– ‘अनि, के छ त दाइ यो पहेँलो वस्त्रको उपादेयता ?’ कमरेड प्रभाकर उर्फ स्वामी प्रेमदास प्रतिप्रश्नै सोध्छ– ‘अनि, के रह्यो त तिम्रो यति लामो उत्सर्गको प्रयोजन ?’

कुमारी र प्रेमदासबीचको जम्काभेटले उपन्यास रोचक बनेको छ । स्वामीले अब चेली कमरेडलाई जवाफ नदिई धरै पाउँदैन । उसले आफ्नो कुटीमा पुर्‍याएपछि डायरी सुम्पन्छ कुमारीलाई । यो डायरी नेपालको कम्युनिस्ट आन्दोलनको टिठलाग्दो वास्तविकता हो । अनि, थाहा हुन्छ– जनसत्ता वा जनमुक्ति काल्पनिक आराधना हो या कुनै जडवत् आख्यान ?

कमरेड कुमारीको हालतले निकै संवेदनशील बनाउँछ पाठकलाई । आखिर १० वर्षे छापामार युद्धको परिणति के हो ? त्यही शब्दको अर्थहीन व्यापार । कुमारी बाहुनकी छोरी थिई । कथित बर्जुवा शिक्षा बहिष्कार गर्छे । सामन्त बाबुको तमसुक च्यात्छे । घर–परिवारबाट परित्यक्त हुन्छे । रामु विकसँग लगनगाँठो कस्छे स्वयं प्रभाकरको रोहवरमा । पति बेपत्ता छ । छापामार युद्ध सकिएपछि न घर जान सक्छे, न त माइत नै । नेता कमरेडहरू लासको सिँढी चढेर प्रतिष्ठाको कौसीमा पुग्छन् । रगतमा लतपतिएका सत्तासीनको अनुहार देखेर दिगमिग लाग्छ उसलाई । डायरी पढेर थाहा हुन्छ उसलाई । पति मारिइसकेको छ । साथी कवितालाई पनि युद्धले निलिसकेको छ । कमरेड छन्दबहादुरसँग अब भौतिक भेट हुने छैन । 

आख्यान भनेकै लेखकीय परिकल्पना हो । तर, प्रेमदासको डायरी सम्पूर्ण रूपमा काल्पनिक आख्यान होइन । फ्याक्ट्स आर स्ट्ेरन्जर द्यान फिक्सन भन्ने चरितार्थ हुन्छ यो उपन्यास पढ्दा । फूलबुट्टा भरेका कुराभन्दा उपन्यासलाई पठनीय बनाएको छ तथ्यले । उपन्यासको प्रमुख पात्र प्रभाकर उर्फ प्रेमदास भनेकै कस्मेटिक कम्युनिस्टको असली अवतार हो । सशस्त्र विद्रोह र संसदीय प्रणाली दुवैमा निरपेक्ष छ । कति दिग्भ्रमित छ भने पार्टीको निर्णय स्वीकार्न पनि सक्दैन, पार्टी छोड्न पनि सक्दैन । विवाह पनि गर्दैन तर लसपसमा रुचि छ । र, अन्त्यमा स्वामी आवरण त्यागेर पलङमुनिको सुटकेसबाट कोट, सर्ट, पाइन्ट र टाईमै ठाँटिएर मुक्तिको भिक्षा माग्छ, कमरेड कुमारीसँग । ऊ भन्छे, ‘म तपाईंका अनुभवको अग्निपरीक्षामा कसरी होमिन सक्छु ? के म कसैको जीवनको प्रयोगशाला हुँ र ?’ तर, उसको झिनो विद्रोह त्यही एउटा संवादमा सकिन्छ ।

यो उपन्यास प्रभाकरको यात्रा, कथा र अनुभवको आख्यान हो । कम्युनिस्ट आन्दोलनको चक्रव्यूहमा उजाडिएका धेरैको घरबारको कथा पनि हो । प्रेमदास आफैँमा कम्युनिस्ट आन्दोलनको प्रतीक हो । खासमा प्रेमदास जोगी होइन । हो भने पनि नक्कली जोगी मात्रै हो । ऊ धनी बाबुको छोरो हो, स्कुलमा पढाउँछ । राजनीतिमा लागेर दुनियाँका जवान छोराछोरीलाई स्कुलबाट छुटाउँछ, सयौँ कार्यकर्ता बनाउँछ । 

उपन्यासको कथा पूर्वदीप्ति शैलीमा बगेको छ । प्रेमदास कस्तो चरित्र हो भने घरीघरी रूप बदलिरहन्छ । सुरुमा भावनाले बहकिएर लाग्छ । तर, पार्टीभित्रका अनेक तिकडमबाजीमा पटक–पटक पराजित हुन्छ । पार्टी विभाजनमा मूलधार नछाडे पनि अल्पमतमा पर्छ जहिल्यै । उसका विचार र कार्यशैली पक्षधर पनि विभिन्न लोभानी–पापानीका सिकार हुन्छन् । जेल पर्छ र छुट्छ पनि । माओवादी विद्रोहका बेला सत्ता र प्रतिसत्ताको निसानामा परेका कारण भारततिर भासिएर नक्कली जोगी बन्छ, स्वामी प्रेमदासका रूपमा । त्यो पनि माओवादी विद्रोहको चियोचर्चोका लागि ।

विरहीले उपन्यासको स्टेरिङ चितवन, काठमाडौँ, नेपालगन्ज हुँदै भारतका विभिन्न सहरतिर घुमाएका छन् । यद्यपि, चितवन झरेको पहाडी बस्तीको चित्रण हुन्छ प्रारम्भमा । चितवनमा धनीजति कम्युनिस्ट र गरिबजति कांग्रेस भएको रोचक प्रसंग पनि आएको छ । ०१५ मा टिकौलीको खगेरी खोला सिँचाइ योजना सुरु भयो । नहरमुनिको हजारौँ बिघा जमिन हराभरा भए, नहरमाथिका जमिन उजाड । भरतपुरदेखि दक्षिणी भेगका मानिस दुई वर्गमा बाँडिए । सम्पन्न किसानहरू कम्युनिस्ट भए, नहरमुनिका किसानसँग धान किनेर खानेहरूचाहिँ कांग्रेस । 

एक कम्युनिस्ट नेताले विधवा बुहारीलाई गर्भवती बनाउने जेठाजुलाई उन्मुक्ति दिएबापत घूस खाएको प्रसंग पनि छ । चितवन कम्युनिस्ट आन्दोलनको उर्वरभूमि मानियो र मानिन्छ पनि । माओवादी विद्रोहीको त मुख्य नेतृत्व पनि चितवनकै थियो । तर, खास रणभूमि भने पश्चिम नेपाल हुन पुग्यो । बाँदरमुढेलगायतका अपराध भने त्यहाँ भए । राजनीतिक आख्यान भनेकै इतिहासको प्रतिच्छाया हो । त्यस्ता उपन्यासमा समाजको सूक्ष्म विश्लेषण हुन्छ र भविष्यको मार्गदर्शन पनि । आख्यानको त्यो चुनौती संवरण गरेका छन् विरहीले । खास गरी राणाकालदेखि गणतन्त्रकालसम्मको कम्युनिस्ट आन्दोलनको चिरफार गरेको छ यस उपन्यासले । 

उपन्यासले के भन्छ भने गणतन्त्र र सामाजिक परिवर्तनमा केही सकारात्मक योगदान भए पनि माओवादी विद्रोह जसरी उठ्यो, त्यो गलतै हो । रत्नलाल ब्राह्मण, श्रीपाद अमृत डाँगे, कानु सन्याल, चारु मजुमदारको नक्सलबाडी आन्दोलनको फोटोकपी झापा आन्दोलनबारे उपन्यासमा खासै महत्त्व दिइएको छैन । तैपनि, त्यो गलत भएको झापाली मालेले ०३९ मै स्वीकारिसके । माओवादीले स्वीकार्न बाँकी भए पनि केपी ओलीले भन्दिसकेका छन् । 

नेपाली कम्युनिस्टमा कुनै दूरदृष्टि नभएको र नेतृत्व तहमा आत्मविश्वास पनि नभएको उपन्यासको निष्कर्ष छ । जनमतसंग्रहमा बहुदल र निर्दलमा केही फरक छैन भन्ने पनि कम्युनिस्ट नै हुन् । पछि गएर उनीहरूले बहुदल निर्दलभन्दा प्रगतिशील हो भन्ने स्वीकारे । ०४६ मा पनि उनीहरू विभाजित भए । संयुक्त राष्ट्रिय जनआन्दोलनका नाममा अलग भए र आन्दोलनलाई खासै सघाएनन् । माओवादी विद्रोहको कुरुपतालाई पनि उनले छाडेका छैनन् । माओवादीले भारतीय संरक्षण र आशीर्वाद पाएको र माओवादीले नाटकीय रूपमा आत्मसमर्पण गरेको उपन्यासको जिकिर छ । उपन्यासमा कम्युनिस्टहरू कि मारिएका छन् कि आन्दोलन त्यागेका छन् । पलायनको कथा हो, प्रेमदासको डायरी । 

धर्मलाई अफिम मान्ने तर माक्र्सवादकै अफिममा लठ्ठिरहने वाम राजनीतिको कटु अनुभवलाई नै आख्यानीकरण गरेका छन् लेखकले । जीवन्त प्रस्तुतिका कारण लेखककै कथा भन्ने भान पर्न सक्छ । पाठकलाई लाग्न सक्छ, कति रियल हो कति सर्रियल ? तर, यसमा उनको तालुकात देखिँदैन । लेखक न जोगी भएका छन्, न कुटीमै बसेका छन् । पहिलो उपन्यास भए पनि लेखकले फराकिलो क्यानभासमा औपन्यासिक आनन्द दिएका छन् । 

उपन्यास पढ्दा के थाहा हुन्छ भने नेपालमा दुई धार छ कम्युनिस्टको । एउटा दरबारिया धार, अर्को भारतीय धार । यथार्थमा दुवै कम्युनिस्ट होइनन् । एउटाले अर्कोलाई भारतपरस्त या दरबारपरस्त आरोप लगाइहाल्ने । पुष्पलाल श्रेष्ठलाई कांग्रेस र भारतपरस्त भनिन्थ्यो भने केशरजंग रायमाझीमार्कालाई दरबारपरस्त । प्रदीप गिरी भनिरहन्छन्– कम्युनिस्ट राजा महेन्द्रको कोखबाट जन्मेका हुन् । उनको तर्कमा के दम छ भने तरुण पत्रिका पढ्ने पाठक सीधै जेल जानुपथ्र्यो । रुसी र चिनियाँ कम्युनिस्ट साहित्य भोटाहिटीमा निरञ्जनगोविन्द वैद्य र चितवनमा मदनमोहन जोशीको पसलमा खुलेआम किनबेच हुन्थ्यो । दरबारको छत्रछाया कम्युनिस्टहरूले पाएको भन्न करै लाग्छ ।

प्रेमदासको डायरीमा आम उपन्यासभन्दा केही फरक रसास्वादन हुन्छ । अन्य उपन्यासमा तानपुराको एउटै राग जस्तो कि प्रेमैप्रेम हुन्छ वा राजनीति नै राजनीति । आवरणमा राजनीतिक उपन्यास भए पनि यसले प्रेम सम्बन्ध र सामाजिक मनोविज्ञान पनि राम्ररी उधिनेको छ । राम्रा लेखक भईकन पनि लो प्रोफाइलमा बस्न रुचाउने विरहीको गद्यशैली सुकुमार छ । अर्को शब्दमा भन्नुपर्दा शास्त्रीय मानको छ । सामाजिक यथार्थको आलोकमा उभिएको प्रस्तुत उपन्यास दर्पण मात्र भएको छ, दीपक हुन सकेको छैन । स्वकीय भावहरू र कल्पनाहरू अपुग छन् । कला पक्षमा अलिक कमजोर छ । 

खासमा कम्युनिज्म वर्गविहीन र न्यायपूर्ण समाजको परिकल्पना हो । यो अद्भुत दर्शनलाई नेपाली कम्युनिस्ट नेताहरूले भने गायत्रीकरण गरिदिए । अझ कतिपयले पुरानिदै गएको यो भौतिकवादी दर्शनलाई खोटरहित र सीमारहित रूपमा बुझ्छन् । उपन्यासको दाबी छ– नेपालमा कोही पनि कम्युनिस्ट छैन । नेताहरूमै सामन्तवादी मनोविज्ञान हाबी छ र सर्वहारा जीवनपद्धति कतै पनि छैन ।

कम्युनहरू सनकमा बने र सकिए । उपन्यासमा पुष्पकमल दाहाल पनि छन्, मोहन वैद्य पनि छन्, मोहनविक्रम सिंह पनि कतै न कतै पात्रका माध्यमले उभिएका छन् । यो उपन्यास कम्युनिस्ट आन्दोलनको उठान र बैठान अनि विगत, वर्तमान र भविष्य चिहाउने एउटा आँखीझ्याल हो । विद्यमान विचलन र विसंगतिको कथा भन्दाभन्दै पनि यी लेखकको झिनै सही, फेन्टासी छ– कम्युनिस्ट पार्टीको पुन:गठन । नक्कली माक्र्सवाद र ढोँगी कम्युनिस्टविहीन पार्टी । त्यो पनि सोम शर्माकै सातु–व्यापार योजनाजस्तो नहोला र ? 

प्रेमदासको डायरी

लेखक : रेशम विरही

प्रकाशक : शिखा बुक्स

पृष्ठ : ३०३

मूल्य : ३९५ रुपियाँ 

प्रकाशित: माघ ३, २०७४