जीवित धरोहर

  • एक सय वर्ष नाघेका ज्येष्ठ नागरिकका जीवन कथा

- गोकर्ण गौतम, -वेदराज पौडेल

खोटाङ जिल्ला पर्‍यो, पाथेका गाविस, वडा नम्बर एकै भयो ।

नाम लक्ष्मीप्रसाद, थर गिरी, उमेर सय वर्षमाथि भयो ।

चिल्लो गाला । खाइलाग्दो ज्यान । चहकिला आँखा । घाँटीमा रुद्राक्ष माला । कम्मरमा पटुका । त्यहीँ उनेको खुकुरी । यस्तै हुलियामा थिए, लक्ष्मीप्रसाद गिरी । रिपोर्टिङका लागि बूढानीलकण्ठ–१०, एकता टोलस्थित उनको निवास पुग्नुअघि लागेको थियो, कुराकानी गर्न निकै सास्ती हुनेछ, आखिर १ सय २ वर्ष पुगेका वृद्ध न परे । तर, कुराकानीको सुरुआतमै माथि उल्लिखित श्लोक सुनाएर गिरीले आफ्नो परिचय दिए, वडो रसिक शैलीमा । पुराना स्मृतिहरूलाई पल्टाउन खोज्दा अझ पुलकित देखिए । जोश कुनै तन्नेरीको भन्दा कम नलाग्ने । उस्तै ऊर्जावान । मुस्कुराइरहनु पर्ने । वजनदार आवाज । एक जुग बितिसक्दा पनि नरित्तिएको उत्साह र उमंग । आफ्नो जीवनका उकाली–ओराली सुनाउन उत्तिकै उत्सुक ।

घुस्की–७, सुनसरीका सौखीलाल मलाहा दास १ सय ५ वर्ष पुगे । तर, सेतै फुलेको कपाल कालो हुन थालेको छ । झरेका सबै दाँत फेरि पलाइरहेका छन् । ४० वर्षभन्दा बढी लगाएको चस्मा फालिदिए । अहिले चस्माबिनै अक्षर पढ्न सक्छन् । न सुत्नलाई कुनै समस्या छ, न हिँडडुल गर्न । अनि, किन नलागोस् त, दासलाई दोस्रो जुनी लिएझैँ । हालसालै उनको जन्मोत्सवका अवसरमा सात दिने भागवत पुराण र २४ घन्टे अष्टजाम लगाइयो । उमेरजन्य हिसाबले शरीरमा देखिने सामान्य समस्याबाहेक स्वस्थ र तन्दुरुस्त छन् । बरू, ज्यान अझ फुर्तिलो हुन थालेको आभास हुन्छ । 

१ सय ७ वर्ष बिताएका काठमाडौँ, टोखाकी पूर्णाकुमारी पाँडे र मोरङ, केराबारीका अडिमर्दन थापा अनि १ सय २ वर्ष पुगेका हेटौँडा उपमहानगरपालिका–१६, गौरीटारका बेनिराम पोखरेलको सक्रियता पनि गिरी र दासभन्दा कम्तीको छैन । नेपालीको सरदर आयु ७० वर्ष भए पनि गिरीहरू यस्ता ‘भाग्यमानी’ पनि हुन्, जसले जीवनका गौरवशाली एक शताब्दी बिताए । तैपनि, न मनबाट उमंग हरण भएको छ, न शारीरिक दुर्बलता नै । बरू, सकारात्मक सोच र व्यवहार अझ प्रगाढ हुँदै गएको छ । कुनै भौतिक निर्माण एक सय वर्ष पुगेपछि स्वत: सम्पदा मानिन्छ । अनि, मान्छेचाहिँ सय वर्ष पार गरेपछि के हुन्छ नि ? नि:सन्देह जीवित सम्पदा । जो अनुभव र भोगाइका खानी बनेका छन् । समाज, संस्कृति र राजनीतिक घटनाक्रमका अनेक आयामको साक्षी बसेका छन् । यी जीवित सम्पदाहरूको जीवनकथा रोचक मात्र छैन, उत्तिकै प्रेरणादायी पनि छ ।

रोगमुक्त जीवन

अचेल अधिकांश नवजात शिशुले पहिलो रात घरमा बिताउन पाउँदैनन्, अस्पतालमा जन्मिछन् । लक्ष्मीप्रसाद गिरी १ सय २ वर्ष पुगे तर अहिलेसम्म एक रात अस्पताल बस्नुपरेको छैन । त्यति मात्र होइन, पुस दोस्रो साता उनको सिंगो शरीरको स्वास्थ्य परीक्षण (होल बडी चेकअप) गरियो तर कहीँ कतै समस्या देखा परेन । चमत्कार भएन र ? यसको राज के होला ? गिरी मुस्कुराए, “बच्चैदेखि धेरै दहीदूध खाइयो । सकिन्जेल काम गरियो । कहिले कसैको कुभलो गरिएन । रिस उठ्दैन । त्यही भएर त होला, यति लामो आयु पाएको ।” यत्ति भनेपछि सकेसम्म पुराना यादहरू सम्झन खोजे उनले । र, ती पानाहरू पल्टाउँदै खोटाङको पाथेका पुगे, जहाँ उनी जन्मिएका थिए, १५ असार १९७३ मा । बुबा प्रताप गिरी र रुक्मिणीको कोखबाट ।

बुबा गाउँको मुखिया थिए । शानसौकत बेग्लै । तैपनि, वस्तुभाउ नपाली, खेतीकिसानी नगरी धरै थिएन । गिरीको पहिलो सम्झना नै खर्कमा गाईभंैसी चराएको रहेछ । एकसाथ २५ वटा गाईभंैसी लैनो हुन्थे । दूध बेच्यो भने पाप लाग्छ भन्ने जमाना थियो त्यो । सित्तँैमा अर्कालाई दिन पाए धर्म । एक टिन (करिब १८ किलो) घिउलाई १२ रुपियाँ पथ्र्यो । रुप्पे धार्नी खसीको मासु । उनको विवाहको प्रसंग अझ अचम्मलाग्दो छ । जम्मा ६ वर्ष ४ महिनाका थिए, दुलहा बन्दा । दुलही नन्दकुमारी पुरीचाहिँ उनीभन्दा अढाई वर्ष जेठी । ती दिनहरू सम्झँदा अझ उनको मुहारमा मुस्कान नाच्छ । थोरै लजाउँदै भने, “बिहे भनेको के हो, थाहै थिएन । डोलीमा चढ्न डराउँथँे । त्यही भएर बोकेरै दुलहीको घरसम्म लगियो ।” सातवटी कुमारीलाई सिंगारिएको थियो । ३० जना कलाकार थिए, बाजा बजाउन । जन्ती नै चार सयजति, वल्लो–पल्लो गाउँ पूरै उर्लिएको थियो, आखिर मुखियाको एउटै छोराको बिहे न पर्‍यो । 

बिहेपछि नै हो, गिरीले अक्षर चिनेको । स्कुल त कहाँ हुनु र ? घरमै सिके साँवा अक्षर । मकैको खोया डढाएर फलेकामा पोतिन्थ्यो, त्यही पाटीमा खरीले लेख्नुपथ्र्यो । राणाविरुद्धमा लाग्यो भने पाता फर्काइन्छ भनेर कोही चुइक्क मुख खोल्दैनथे । राणा शासनको पतन भएर प्रजातन्त्रको आगमन हुँदा गिरी गाउँमै थिए । काठमाडौँतिरको आन्दोलन पत्तै पाएनन् । पहिलो पटक गाडी चढेकै ००८ मा रहेछ, भारतको आसाम जाँदा । त्यहाँ केही महिना बिताएपछि फेरि खोटाङ फर्किए । ०६० मा जेठो छोरोको घर झापा आए । केही दिन बसेर फर्कने योजना थियो । तर, अझसम्म त्यो दिन आएको छैन । गिरीलाई दु:खी तुल्याउने एउटै कारण हो यो, झापा झरेपछि कहिल्यै जन्मघर फर्कन पाएनन् । अब त आश पनि छैन । यी कुरा गरिरहँदा उनका आँखा रसाइसकेका थिए । 

अचेल घरभित्र त हिँडडुल गर्न सक्छन् तर बाहिर निस्कन मुस्किल पर्छ । घरमा बसिरहँदा सबैभन्दा ‘मिस’ गर्ने कुरा रहेछ, श्लोक र भजन । किशोरवयदेखि नै भजन गाएर रातरातभर जागा बस्थे । वालन खेल्थे । विवाहमा खाँडो जगाउँथे । गिरी भन्छन्, “मनमा आँट त छ तर के गर्नु, छोराहरूले बाहिर जान दिँदैनन् । श्लोक र भजन गाएको खुब झल्को आउँछ ।” तर, जीवनप्रति असन्तुष्टि भने फिटिक्कै छैन । अहिले त हरेक दिन स्वर्णिम जस्तो लाग्छ रे † नलागोस् पनि कसरी † छोरा, नाति, पनाति हुँदै खनाति पुस्तासम्म जो देख्न पाएका छन् ।

सम्झनाका तरेली 

केराबारी गाउँपालिका–६, मोरङका अडिमर्दन थापा १ सय ७ वर्षका पुगे तर उनको स्मरण शक्ति तिख्खर छ । न दीर्घकालीन कुनै रोगले नै गाँजेको छ । १९६८ मा धनकुटाको चौबीसे, ओख्रेमा बाबु प्रसादसिंह र आमा भक्तमायाको कोखबाट जन्मिएका हुन् उनी । बाबु गाउँका मुखिया थिए । त्यसैले पनि उनीसँग राणाकालका धेरै याद जोडिएका छन् ।

त्यतिबेला राणाहरू आउँदा उनका बाले गाउँ–गाउँमा उर्दी गर्थे, झार्लाङीका लागि । विकासका लागि श्रमदान गर्न जानुलाई झार्लाङी भनिन्थ्यो । काम गराउँथे तर पैसा दिँदैनथे । घरको एक जना अनिवार्य जानुपथ्र्यो । नजाने घरका सदस्यलाई कालो पोसाकधारी सिपाहीले कुटपिट गर्थे । आफू पनि सेउती खोलामा श्रमदान गर्न गएको अझ याद छ उनलाई । अर्को, बच्चै छँदाको एउटा प्रसंग पनि सुनाए, एकपटक एक व्यक्तिले गाउँमा छिमेकीलाई काटेर मारे । त्यसपछि राणाका सिपाहीले ती व्यक्तिलाई पनि काटेर मारे । उनी सम्झन्छन्, “तापनि, कोही केही बोल्न सक्दैनथे । गाउँका सबैले सिपाहीले जे भन्थे, त्यही मान्थे ।” ००७ मा माधवशमशेर राणा धनकुटाका बडाहाकिम थिए । कांग्रेसका सेनाले तमोरको पुल भत्काएपछि उनले भाग्ने ठाउँ पाएनन् । लेउतीबाट गोली हान्दै कांग्रेसका लडाकूले धनकुटा कब्जा गरेपछि बडाहाकिम सुइँकुच्चा ठोकेका थिए । प्रजातन्त्र आए पनि घरमा कुनै उत्साह थिएन, कारण घरमा राणाको प्रभाव थियो । 

 ११ वर्षका थापाले विवाह गर्दा दुलही भवैताचाहिँ १५ वर्षकी थिइन् । ५ वर्षपछि छोराछोरी भए, त्यसपछि मात्र श्रीमतीसँग बोलचाल भयो । त्यतिबेला गाउँमा उनका ६ घर थिए । गाईबस्तु चराउन जाँदाका क्षणहरू सम्झँदा अझ रोमाञ्चित हुन्छन् । पैसाको कारोबारभन्दा पहिले सामानको साटासाट हुन्थ्यो । त्यतिबेला धरान झरेर घिउसँग नुन साटेर लगेको उनी सम्झन्छन् । मगर गाउँ थियो, साथीभाइहरू भेला भएर रूखमा रहेका मौरी काढ्थे । जंगल जति फाँड्यो, मुखियाको स्वीकृति लिएपछि आफ्नो हुन्थ्यो । त्यसैलाई खेत बनाइन्थ्यो । पुलकित हुँदै उनले सुनाए, “छेलो हान्ने, गिर खेल्ने गरिन्थ्यो । पौठेजोरी पनि खेलियो ।” 

०१५ को पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेसका ढगलसिंह लिम्बूलाई भोट हालेदेखि गत असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा समेत भाग लिएका छन् । तर, प्रतिनिधिसभाको निर्वाचनमा भने मतदान केन्द्र टाढा भएकाले भोट हाल्ने मौका पाएनन् । तर, आक्रोशचाहिँ रहेछ मनमा । भन्छन्, “कसले के नाप्छ र दु:ख गरीगरी भोट हाल्न जानू ?” ०३७ को जनमतसंग्रहमा नीलोमा भोट हालेको सम्झिए उनले । त्यतिबेला पहेँलोमा हाल्नेको अलग लाइन र नीलोमा हाल्नेको अलग लाइन हुन्थ्यो । १० वर्षको हुँदा पहिलो पटक धान लिन तराई झरेका थिए उनी । त्यतिबेला एक सय रुपियाँको ५० मुरी धान आउँथ्यो र बोकाएर धनकुटा लगिन्थ्यो । 

उनले अनेक सम्झनाहरू सँगालेका छन् जीवनमा । कति तीता, कति मीठा । तर, जीवनसँग कहिल्यै विरक्ति छाएन । सकुन्जेल संघर्ष गरिरहे । सबै जोड्ने हो भने सन्तानको संख्या १ सय ५ पुग्छ । दंग छन् उनी । यी वयोवृद्धको जीवन सार यस्तो छ, “असल कर्म गर्‍यो भने कहिल्यै सास्ती हुन्न ।” 

अझै तन्दुरुस्त

विसं १९९० को भूकम्प आउँदा सौखीलाल मलाहा दास २२ वर्षका थिए । भूकम्पले गाउँमा हात्ती छिर्ने जत्रो जमिन फाटेर भलभली पानी निस्किएको र त्यसमा कुहिएका मुढा र कालोपानी निस्किएको सम्झना छ उनलाई । भूकम्पपछि उनले आफ्नो घर अलिक पश्चिमतिर सारेर बनाए । अहिले उनका छोरानातिले त्यही स्थानमा झुरुप्प घर बनाएर बसेका छन् । उनको साथमा अहिले तीन छोरा, बुहारी, १६ नातिनातिना र २१ पनाति–पनातिनी छन् । सबैलाई उनी चिन्दैनन् पनि । 

००७ मा विराटनगरको बडाहाकिमको कार्यालय कांग्रेसका सेनाले कब्जा गरे । त्यसलाई फिर्ता गराउन राजधानीबाट आएका सेनालाई कोसी तर्न नै नदिने योजनामा सुनसरीको पश्चिम कुशाहा (हालको जुद्धगंज)मा सरकारी सेना र कांग्रेस सेनाबीच भिडन्त भयो । त्यसबीचमा कांग्रेसका एक कार्यकर्तालाई सरकारी सेनाको गोली लाग्यो र उनले त्यहीँ प्राण त्यागे । तर, कांग्रेसका सेनाले सरकारी सेनालाई पराजित गरी कोसी तर्न दिएनन् । उनीहरू राजधानी फर्के । युद्ध भएको १५ दिनसम्म पनि कांग्रेसका सेनाले घरीघरी गोली पड्काउँदै कोसी किनारमा बसेको सम्झना ताजै छ उनको मानसपटलमा । 

उनको पेसा नै माछा मार्ने थियो, एक दिन माछा मार्न कुशाहा घाट गए । फर्कंदै गर्दा उनलाई कांग्रेसका सेनाले परैबाट बन्दुक ताके । डरले थरथरी काँपे पनि बालुवामा नै सेनाले देख्ने गरी जाल हाने । र, उभिरहे । सेनाले घेरा होलेर सोधपुछ सुरु गरे । करिब एक घन्टाको सोधपुछपछि मात्र ‘ल तिमी राणाको जासुस होइन रै’छौ जाऊ’ भनेर छाडिदिए । उनी हाँस्दै सुनाउँछन्, “कालकै मुखबाट फर्किएजस्तो लागेको थियो । थोरै यताउता भएको भए त सीधै गोली हान्थे ।” राजा महेन्द्रसँग जोडिएको रोचक प्रसंग छ उनीसँग । सप्तकोसीको पुल नबनीकनै एकपटक राजा महेन्द्र पूर्व आएका बेला उनैले कुशाहाघाटबाट राजालाई नदी पार गराएका थिए । राजालाई तार्नु पहिले माझीहरूबीच प्रतिस्पर्धा भएको थियो, जसमा उनले जिते र राजालाई तार्ने अवसर पाए । सकुशल नदी तारिदिएबापत महेन्द्रले दिएको चाँदीले बेरिएको काठे बहना अहिले पनि उनको घरमा सजिएको छ । 

पहिले सप्तरीसम्म मोरङ जिल्ला फैलिएको र सबै अड्डा रंगेलीमा रहेकाले त्यहीँ गएर जग्गा पास गर्ने, लिखत गर्ने र कर तिर्ने गरेको सम्झन्छन् । उनले गाउँमै एक जना भारतीय शिक्षकबाट पढ्ने अवसर पाएका थिए । त्यतिबेला विद्यालय नहँुदा ठूला मान्यजनले घरमै भारतबाट शिक्षक झिकाएर राख्ने र आफन्त, गाउँले समेतलाई पढाउँथे । उतिबेला माछा मार्ने, अहिले शाकाहारी भएका छन् । अहिले दिनमा तीनपटक खान्छन् । बिहान खाजाका रूपमा सुक्खा रोटी र दूध, मध्याह्न दाल, भात र दूध अनि राती दूधसँग रोटी खान्छन् । दीर्घ रोग कुनै छैन । नियमित औषधि खाँदैनन् । बिहान–बेलुका एक किलोमिटर लौरो टेकेर हिँड्छन् । गीतका सौखिन हुन्, गुनगुनाइरहन्छन् । भन्छन्, “आफन्त मात्र होइन, छिमेकीसमेत अहिले आशीर्वाद लिन आउँछन् । धेरै खुसी लाग्छ ।” 

इच्छाशक्तिको कमाल 

५२ वर्ष भयो, पूर्णाकुमारी पाँडेका पति पदमबहादुर पाँडेको निधन भएको । त्यसपछि उनले एक छाक मात्र खान थालिन् । १० वर्षअघि छोरा केदारबहादुर पनि बिते । त्यसपछि त दुवै छाक अन्न खान छोडिन् । १ सय ७ वर्ष पुगे पनि उनको स्फूर्ति साँच्चै जादुइ लाग्छ । खुट्टा कमजोर भएर हिँडडुल गर्न ‘वाल्कर’को सहारा लिन्छिन् । नत्र एउटा सबल मान्छेमा हुनुपर्ने सबै गुणले भरिएकी छन् उनी । नुहाउन, लुगा धुन, शौचालय जान, खान कसैको सहारा चाहिँदैन । आँखा–कान सकुशल छन् । यसको रहस्य के होला ? त्यसैले जीवनकहानीभन्दा उनको दैनिकी नियालौँ ।

बिहान ४ बजे उठिसक्छिन् । नुहाएर पूजापाठ गर्छिन्, ६ बजेभित्र । त्यसपछि कालो चिया पिउँछिन् । अनि, एक गिलास दूध । १० बजेतिर सागसब्जी खान्छिन् । दिउँसो २ बजेतिर जुस र दूध लिन्छिन् । सुत्ने बेला फेरि दूध । बीचबीचमा हल्का ध्यानयोग गर्छिन् । यसरी नै बित्छ, उनको दिन । तर, मुहारको चमकमा कति पनि फिक्कापन देखिन्न । मंसिरमा धादिङ पुगेर आइन् । दुई वर्षअगाडिसम्म त घरमा कमै भेटिन्थिन्, आफन्त, इष्टमित्र र मन्दिर पुगेरै भ्याइनभ्याइ हुन्थ्यो । भन्छिन्, “आफू जति खट्यो, ज्यानलाई त्यति नै सुविस्ता हुन्छ ।” अचेल समस्या भनेको पुराना कुराहरू अलि बिर्सन थालेकी छन् । यत्ति हो ।

पाँडे बाग्लुङमा जन्मिइन् । काठमाडौँमा हुर्किन् । बिहेवारी यतै भयो । जीवनका ४० वर्ष धादिङमा बसिन् । त्यहाँ उनीहरूको मनग्ये खेतबारी थियो । उनी १३ वर्ष पुग्दै थिइन्, बिहे हुँदा । घर डल्लुमा थियो, विवाह नरदेवीमा भयो । जेठी श्रीमतीबाट सन्तान भएन भनेर उनलाई माग्न आए । बुबाआमाले ‘हुन्छ’ भनिदिए । उनले नाइनास्ती गर्ने कुरै भएन । तर, नेपाली सेनाका क्याप्टेन रहेका पदमबहादुरका छोरा पो रहेछन् । उनले सुनाइन्, “आफ्नो कर्मै सौतेलो रहेछ । तर, घर नगरी सुखै थिएन ।” धन्न ! श्रीमान्को माया पाइन् । त्यसैले खास पछुतो रहेनछ । 

एक दिन नरदेवीमा किनमेल गरिरहेकी थिइन्, एक्कासि जमिन हल्लाउन थाल्यो । मान्छेहरूको भागाभागमा उनी निकै आत्तिइन् । र, एक जना पुरुषले नडराउ भन्दै ढाडस थिए । ती थिए, कविशिरोमणि लेखनाथ पौड्याल । घर नजिकै भएकाले पौड्यालसँग चिनजान थियो । पौड्यालले माया गरेर बिस्कुट किनिदिएको अझ झलझली सम्झिन्छिन् उनी । डिल्लीबजारको स्कुलमा नेपाली पढ्ने मौका पाइन् । ०१३ तिर झाडावान्ताको आतंक फैलियो । एकै परिवारका नौ जनासम्म बिते । यो महामारीले उनलाई पनि समायो । तर, बेलैमा उपचार भयो र बाँचिन् । “गाउँघरतिर भएको भए सायदै बाँचिन्थ्यो ।” सात वर्षपछि डा अञ्जनीकुमार शर्माले उनको पित्तथैलीबाट ४८ वटा पत्थर निकाले । ०३० मा पाठेघर निकालियो । १८ वर्षपछि एक फुट आन्द्रा निकालेर फालियो । त्यसपछि दुवै आँखाको मोतीविन्दुको अप्रेसन गरियो । चिकित्सक थिए, शशांक कोइराला । त्यसपछि फेरि दुवै खुट्टा ‘फ्याक्चर’ भयो । उनकी जेठी छोरी गीता भन्छिन्, “आमामा अनेक समस्या देखिए पनि समयमै उचित उपचार भयो । त्यसैले केहीले हानि गर्न सकेन । त्यसबाहेक दीर्घजीवी बनाउन उहाँको इच्छाशक्तिको पनि उस्तै भूमिका छ ।” 

पाँडे ब्रह्मकुमारी राजयोगसँग जोडिएकी छन् । १२ वर्ष भयो, सेतो कपडा लगाउन थालेको । आफैँ बत्ती कात्छिन्, एक लाख पुगेपछि पूजा गर्न पठाउँछिन् । ध्यानमै धेरै समय बित्छ । त्यसबाहेक कुकुरसँग खेल्छिन्, कुकुर हरदम उनकै वरपर हुन्छ । कहिल्यै कोहीसँग रिसाउँदिनन् । भन्छिन्, “धर्म गरेकी रहेछु र बाँचेँ । नत्र त मरिहाल्थे नि !” 

सुखद शताब्दी आयु

दीर्घायुसँगै स्मरण शक्ति ह्रास हुनु स्वाभाविक हो तर हेटौँडाका १ सय २ वर्षका बेनिराम पोखरेल अन्य शारीरिक समस्याबाट मुक्त छन् । ठमठमी हिँड्न सक्छन् । हरदम उनको मुहारमा मुस्कान देखिन्छ । न केहीको लोभ, न कुनै ईष्र्या । निकै शान्त र खुसी जीवन बाँचिरहेका छन् उनी, शताब्दी पार गरिसक्दा पनि । 

पोखरेललाई आफ्नो जीवनकालका महत्त्वपूर्ण कुरा अझै सम्झना छ । अर्घाखाँचीबाट पोखरा, काठमाडौँ हुँदै हेटौँडा आएको, आफ्नो विवाह, श्रीमतीलाई सानीमाको कोसेली, आफूले जोडेको जमिन, भारतमा मजदुरी गर्न गएको, बाबुले तिरेको ऋण आदि इत्यादि । १९७३ मा अर्घाखाँचीमा जन्मिएका पोखरेल विवाह गर्दा १४ वर्षका थिए, पत्नी सात वर्ष कान्छी । घोडा चढेर गई बेहुलीलाई डोलीमा राखेर बोक्दै ल्याएको स्मरण गर्दै उनी भन्छन्, “दुलहीलाई डोलीमा बोकेर ल्याउनेहरू देखेर मलाई त्यतिबेला निकै माया लागेको थियो । बिहेमा बुहारीका लागि भनेर बर्मादेखि सानीआमाले गहना ल्याइदिनुभएको थियो ।” उनका ८ छोरा १ छोरीमध्ये १ छोराको मृत्यु भइसक्यो । श्रीमती पनि थला परेकी छन् । १७ नाति, आठ नातिना, आठ पनाति र एक पनातिनीका अभिभावक हुन् उनी । सन्तानलाई ऋण नबोकाएकामा ज्यादै सन्तोष लागेको छ उनलाई । 

०२५ मा अर्घाखाँचीबाट पोखरासम्म स्थल यातायात र पोखरादेखि काठमाडौँसम्म हवाई यातायात प्रयोग गर्दै हेटौँडा ओर्लिएका पोखरेल परिवारको अहिले एउटा टोल नै बनेको छ । १२ हजार ५ सय रुपियाँमा साढे सात बिघा जमिन हेटौँडामा किनेको सुनाउँछन् उनी । पश्चिम पहाड अर्घाखाँचीबाट धानखेती गर्न भन्दै हेटौँडा झरेका थिए उनी । अर्घाखाँचीमै हुँदा साहूसँग एक सय रुपियाँ ऋण लिँदा ४३ मुरी धान र मकै ब्याज तिरेका थिए उनले । उतिबेला हजार रुपियाँ हुनेको नामै हजारिया साहू हुन्थ्यो । अर्घाखाँचीमै रहँदा रोजगारीका लागि भारतको सिलोङमा सुन्तला बगैँचाको पहरेदारी गर्दा मासिक सात रुपियाँ तलब पाउने एकवर्षे जागिर खाएर फर्के । हेटौँडा आएपछि एकपटक गाउँकै एक घरमा लुटपाट भयो । उनी निकै आत्तिए । सोही कारण आफूसँग भएको सात तोला सुन प्रतितोला तीन सयका दरले बेचेर जग्गा किने । अहिले पनि उनको दिनचर्या आँगनमा बसेर बटुवासँग गफिनमै बित्छ । दाल उनको एक मात्रै भोजन बनेको छ । कान–आँखामा खासै समस्या छैन । पाचन प्रणालीचाहिँ थोरै कमजोर हुन थालेको छ । पोखरेलले हाँस्दै भने, “बाँकी त सबै स्वर्गीय छ । यो उमेरमा आएपछि केही असन्तुष्टि नहुँदो रहेछ ।” 

(साथमा, सुरेश श्रेष्ठ, हेटौँडा)

प्रकाशित: माघ २, २०७४