पदमार्गको लयमा टेम्के

  • हिमाली शृंखला दृश्यावलोकनका लागि उत्कृष्ट गन्तव्य

- विद्या राई

भोजपुर ।। पूर्वी पहाडको टेम्के डाँडाबाट देखिने विहानीको झुल्के घाम । घामका सुनौला रश्मिहरू सेताम्मे हिमशृंखलामा ठोक्किन पुगेका मनोरम दृश्य लोभलाग्दा देखिन्छन् । खोटाङ, दिक्तेलकी उसन राई,२१ मध्यपहाडी राजमार्गको ४८ किलोमिटर बाटो छिचोल्दै टेम्के चढिन् । “क्या ! सुन्दर ठाउँ, स्वर्गमा पुगेझै लाग्यो ।” विहानीको सूर्योदयसँगै पूर्वी भेगमा पर्ने कञ्चनजंघादेखि पश्चिमी भेगसम्मका दुईदर्जन बढी हिमशृंखलाहरू एकैचोटी नियाल्न पाउदा दंग देखिइन्,उसन । 

 

टेम्के पुग्न मध्य पहाडी राजमार्गमा पर्ने चखेवा भञ्ज्याङको जिरो पोइन्टबाट लगभग दुईदेखि चार घण्टा पैदलै उकालो चढ्नुपर्छ । घनघोर जंगलबीचमा गोरेटो बाटो पछ्याउदै टेम्के निस्किन सकिन्छ । टेम्केमा थोरै भए पनि समतल परेको जमिन । मुन्तिर देखिने चखेवाको फाँटिला चउर । पारिपट्टि देखिने मेरुङ डाँडा, हाँसपोखरी, मैयुङ डाँडा, बागखोर तथा सुन्तले डाँडा उसैगरी मनमोहक देखिन्छन् । खोटाङको पर्यटकीय महत्वको रुपाकोट क्षेत्र, दिक्तेल बजार, भोजपुर सदरमुकाम अनि दुवै जिल्लाका गाउँहरू नियाल्न पाउँदा उनको मन फुरुंग थियो ।  

 

चखेवास्थित ‘जिरोपोइन्ट’ बाट पश्चिम–दक्षिण लागेपछि टेम्केको यात्रा सुरु हुन्छ । पूर्वी पहाडी जिल्लाहरू भोजपुर र खोटाङको संगमस्थलमा पर्ने टेम्के–चखेवा क्षेत्र हँुदै मध्य पहाडी राजमार्गबाट जोडिएको छ । दुवै भोजपुरबाट ४२ किलोमिटर पश्चिम तथा खोटाङबाट ४८ किमि पूर्वी भेगमा पर्छन् । मध्य पहाडीले राजधानी हँुदै आउनेका लागि खोटाङको हलेसी–दिक्तेल तथा भोजपुर सदरमुकाम भएर आउनेका लागि चेखेवा–टेम्के क्षेत्र जोडेको छ ।

 

चखेवाका ८० वर्षीय रामबहादुर राईका भनाइमा मध्य पहाडी राजमार्गले यातायातको पहुँच पुगेकाले पनि यी क्षेत्रले विगतका तुलनामा पर्यटकीय गन्तव्यका रुपमा स्थान पाउँदै गएका छन् । मध्यपहाडी राजमार्ग दशकअघि छिमेकी जिल्ला धनकुटाको लेगुवाघाट–भोजपुर सदरमुकाम हँुदै खोटाङ जोडिएको थियो । पछिल्ला वर्षमा स्तरोन्नति तथा कालोपत्रे भइरहेकाले यातायातमा सहजता भएको छ । 

 

विशेष गरेर नयाँ वर्ष, मंसिरमा लाग्ने बालाचतुर्दशी तथा चैतमा लाग्ने रामनवमी मेलाका अवसरमा राजधानी लगायत छिमेकी देशहरूबाट पर्यटक, तीर्थालु भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । चखेवाकी होटल व्यवसायी जयकला राई भन्छिन्, “होटलमा मान्छे धान्न सकिन्न, कोही ओलाङचुङगोलाबाट आएको भन्छन्, कोही दार्जीलिङबाट, कोही काठमाडौँबाट आउँछन् ।” टेम्के डाँडासम्म पुग्ने मोटर बाटो खोलिएको छ । बर्षातले मोटर बाटो बिग्रेका कारण गाडीहरू लैजान सकिंदैन । साँघुरो बाटो भए पनि बाइकचाहिँ चुचुरोसम्म पुर्‍याउन सकिन्छ । चखेवा–टेम्के क्षेत्र भोजपुर र खोटाङ सदरमुकामबासीहरूका लागि छुट्टीको सदुपयोग गर्दै घुमघाम तथा वनभोज खाने गन्तव्यका रुपमा पनि विकास हुँदै गएको छ । 

 

असोजदेखि चैतसम्म टेम्के अवलोकनका लागि दैनिकजसो पर्यटक आउने गर्छन् । विहानको झिसमिसेदेखि साँझसम्म टेम्के चुचुरोदेखि चखेवा आसपासमा मानिसहरूको आवतजावत बाक्लिएको हुन्छ । अधिकांश पर्यटकहरू चखेवाका होटलहरूमा बास बस्छन् । विहानको सूर्योदय हेर्न ३ बजे नै उठेर झोलीतुम्बासहित उकालो चढ्छन् । केही पर्यटकहरू अघिल्लै दिन पुगेर ‘टेन्ट क्याम्पिङ’ गर्छन् । हालै म पनि ‘टेन्ट क्याम्पिङ’ गर्न टेम्के पुगेकी थिएँ । ‘टेन्ट क्याम्पिङ’ को फाइदा भनेको विहानैको सूर्योदय,  हिमशृंखलाहरूमा ठोक्किन पुगेका घामका सुनौला रश्मिहरू, पारिलो र न्यानो तापसँग रमाउन पाइन्छ । 

 

१८ वर्षदेखि पर्यटक पथप्रदर्शकको काम गर्दै आएका इन्सु राईका अनुसार टेम्केबाट दोर्जेलाक्पा, गौरीशंकर, नुम्बुर, कर्रियालुङ, क्वाङ्दे, टेंगिरे गिटौ, पिकफेर गोसार, चोयु, एकलखे, कुसुम कंगारु, थामसेर्कु,, खाङतेगा, क्यासेर हिमाल अर्थात् चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्से सार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंघा, कुम्भकर्ण, जन्नु लगायत दुई दर्जन बढी हिमशृंखलाहरूको दृश्यवलोकन गर्न सकिन्छ । ८ हजार मिटर माथिका मकालु, ल्होत्से, कञ्चनजंघा, सगरमाथा, ल्होत्सेसार र चोयु गरी ६ वटा हिमालहरू हेर्न सकिन्छ । हिमाल नचढ्ने तर सकेसम्म नजिकै र एकै ठाउँबाट हेर्न चाहने पर्यटकका लागि टेम्के हिमाली शृंखला दृश्यावलोकनको उत्कृष्ट गन्तव्यभित्र पर्छ । पर्यटन प्रवद्र्धन गर्न सके अन्नपूर्ण क्षेत्रको दृश्यावलोकन गर्न सकिने ‘पुनहिल भ्यु पोइन्ट’ को विकल्प हुन सक्छ । यहाँबाट तिब्बत, भारतका दार्जीलिङ, कालिङपोङ सिलिगुढी, भुटान, पूर्वी नेपालका १६ वटै जिल्लाहरू प्रस्ट देख्न सकिन्छ । 

 

पूर्वी पहाडकै पर्यटकीय गन्तव्यको महत्व बोकेको टेम्के डाँडादेखि हाँसपोखरी–मैयुङ हँुदै साल्पासिलिचुङसम्म पर्यटन प्रवद्र्धनका लागि मुन्धुम पदमार्गको अवधारणा अघि सारिएको छ । र, उक्त पदमार्ग टेम्केबाटै सुरु हुन्छ । 

 

पूर्वको कञ्चनजंघा रेन्जदेखि पश्चिमका रेन्जहरू एक सय ८० डिग्रीको रेन्जमा हेर्न सकिन्छन् । र, रमाइलो के भने यस्ता डाँडाहरू संसारमै विरलै मात्र देख्न पाइन्छन् । 

प्रकाशित: माघ १, २०७४