‘फिल्ममा मधेसको अनुहार बल्ल देखिँदैछ’

- मनबहादुर बस्नेत

५० को दशकदेखि नै नाट्य क्षेत्रमा सक्रिय नाम हो, रवीन्द्र झा । दुई दशकभन्दा बढी समय नाटकमा बिताएका झा दुई वर्षदेखि फिल्मी क्षेत्रमा सक्रिय छन् । जात्रापछि उनको चर्चा चुलिएको छ । झा अभिनीत शेरबहादुर रिलिजको तयारीमा छ । तीन फिल्ममा अनुबन्धित भइसकेका व्यस्त कलाकार झासँगको कुराकानी : 

अधिकांश नाट्यकर्मीहरू नाटक खेल्दाखेल्दै चाँडै फिल्मी पर्दामा आएका छन् । तर, तपाईंलाई त नाटकबाट फिल्ममा फड्को मार्न लामो समय लाग्यो नि ? 

म जनकपुरमै बसेर नाटक खेलेँ । केही समय इटहरी बसेँ । दुई वर्षअघि मात्रै एन्टेना फाउन्डेसनको रेडियो नाटक निर्माता बनेर काठमाडौँ आएँ । धेरै समय काठमाडौँबाहिर बसेकाले ढिलो भयो । 

ठूलो पर्दामा देखिन पनि काठमाडौँ बस्नैपर्ने रहेछ ? 

फिल्म खेल्ने भएपछि निर्देशक र कलाकारबीच भेटघाट, छलफल भइरहनुपर्छ । बाहिर बस्ने कलाकार लिँदा फिल्मको लागत बढ्छ । किनभने, उसलाई बोलाएर होटलमा राख्नुपर्छ । निर्देशकले भनेको बेला कलाकार नआउन पनि सक्छ । यी कुरा काठमाडौँमा बस्दा सहज हुन्छ । 

काठमाडौँबाहिर बस्दा फिल्म खेल्न अफर आएन ? 

राम्रा फिल्म खेल्ने प्रस्ताव आएन । 

राष्ट्रिय अनुसन्धान विभागको जागिर किन छोड्नुभएको ? 

अनुसन्धानको जागिर बुबाले लगाइदिनुभएको थियो । ड्युटीका बेला रेडियोमा नाटक प्रसारण हुँदा म निकै आकर्षित हुन्थेँ । जागिरमा मनै अडिएन । 

बुबाले कत्रो बल लगाएर जागिर लगाइदिनुभएको थियो होला । चटक्कै छोड्न सक्नुभयो ? 

कहाँ सजिलै छोड्नू ! ‘पेट पाल्न सरकारी जागिर नै खानुपर्छ’ भनेर परिवारमा सबै रिसाए । बुबा त बोल्दै बोल्नुभएन । १५ दिन एकोहोरो कचकच गरेपछि ‘लौ त जे गर्छस् गर’ भन्नुभयो र नाटक पढ्न दिल्ली गएँ । 

दिल्लीको आदि नाट्य दृष्टिमा के सिक्नुभयो ? 

सुरुमै त्यहाँ कडा शारीरिक व्यायाम गरायो । जिमखानामा पनि त्यति कडा व्यायाम हुँदैन होला । त्यो देखेर कस्तो नाटक सिक्न आइएछ जस्तो लाग्यो । किनभने, मलाई नाटक खेल्न यस्तो व्यायामको आवश्यक हुन्छ भन्ने थाहै थिएन । 

त्यस्तो व्यायाम किन सिकाइएको रहेछ ? 

नाटकमा ‘बडी’को विभिन्न आकृति बनाएर अभिनय गर्नुपर्छ । बाँदरको दृश्य देखाउनु परेमा आफ्नो शरीर सोही आकृतिमा ढाल्नुपर्‍यो । नाटकमा शरीरका अंगलाई एकदमै लचकदार बनाउनुपर्छ । यसका लागि व्यायाम अनिवार्य रहेछ । यस्तो व्यायाम नेपालमा धेरै पछि सुरु भएको हो । अझै पनि त्यहाँको जस्तो छैन । मैले पहिलो वर्ष उत्कृष्ट गरेपछि दोस्रो र तेस्रो वर्ष छात्रवृत्ति पाएँ ।

त्यो सीप नेपालमा उपयोग गर्ने वातावरण थियो ? 

मैले पढाइ सकेर आएपछि मिथिला नाट्य कला परिषद्का नाटकमा प्रयोग गरेँ । 

नाट्य कलाकारलाई त्यसबेला मधेसी समाजमा कस्तो रूपमा हेरिन्थ्यो ? 

मधेसी समुदायमा डाक्टर, इन्जिनियर बन्नुपर्छ भन्ने दृढ मान्यता थियो, छ । नाटक खेल्नेलाई नौटंकी गर्‍यो भनिन्थ्यो ।

अनि, अहिले नि ? 

अहिले त मेरा छोराछोरीलाई पनि कलाकार बनाइदिनुपर्‍यो भन्दै गुहार्न आउँछन् । 

फिल्म/नाटक छान्दा तपाईंको बटमलाइन के हुने गर्छ ? 

त्यो ‘क्यारेक्टर’मा म उपयुक्त छु कि छैन भनेर हेर्छु । त्यसपछि दर्शकले यो भूमिकामा मलाई पचाउँछन् कि पचाउँदैनन् भन्ने सोच्छु । 

फिल्म र नाटकको अभिनयको फरक के हो ? 

फिल्ममा हरेक कुरा निर्देशकको वशमा हुन्छ भने नाटकमा चाहिँ कलाकारकै हातमा । किनभने, फिल्ममा संवाद, हाउभाउ बिग्रियो भने सच्याउन पाइन्छ, नाटकमा पाइन्न । 

फिल्ममा पाइला टेक्नासाथै तपाईं भटाभट अनुबन्धित हुन थाल्नुभयो । धेरै फिल्म खेल्दा अभिनयमा असर गर्दैन ? 

आफ्नो काम नै यही हो । भ्याएसम्म खेल्नैपर्‍यो नि † त्यो भनेर जस्तो पायो, त्यस्तै फिल्मचाहिँ खेल्दिनँ । 

मधेसमा नेपाली भाषाका फिल्मप्रतिको आकर्षण कत्तिको छ ? 

५० को दशकअघिसम्म राम्रो थियो । त्यसपछिको एक दशक नेपाली फिल्म हेर्न छोडियो र हिन्दी बढी हेरिन थालियो । ६० को दशकमा भोजपुरी फिल्मले थिच्यो । दुई वर्षयता भने नेपाली फिल्म हेर्ने दर्शक बढ्दै छन् । 

बढ्नुको कारण के होला ? 

फोटो खिचेपछि पहिले म कहाँ छु भनेर आफूलाई हेर्छौं । फोटोमा तपाईंको अनुहार नै छैन भने किन हेर्ने ? नेपाली फिल्ममा मधेसको अनुहार थिएन, अब बिस्तारै समेटिन थालिएको छ । 

 

प्रकाशित: पुस ३०, २०७४