कबड्डीकै धङधङी

  • कबड्डी सिरिज र दयाहाङका फ्यानका लागि हो, मिस्टर झोले ।

- गोकर्ण गौतम

नयाँ सन्दर्भ, परिवेश र शैलीका कथा भन्नु निर्देशकको पेसागत दायित्व र नैतिक जिम्मेवारी हो । रामबाबु गुरुङले कबड्डीमार्फत यस्तै सिर्जनशील निर्देशकका रुपमा उपस्थिति जनाए, मौलिक कथालाई हास्य स्वादमा पस्किएर ।कबड्डी कबड्डीमा त्यही शैलीलाई दोहोर्‍याए । हल्का बासी लागेकै हो, सिक्वेल हुनुको नाताले त्यो पाच्य रह्यो । दुई वर्ष बित्यो । तर, अझ कबड्डीको धङधङीबाट मुक्त हुन सकेका रहेनछन् । उनको नयाँ फिल्म मिस्टर झोले हेर्दा जो कोहीलाई यस्तै लाग्छ । जबकि, यसको कबड्डीसँग कुनै सरोकार नै छैन । तीन वर्षअगाडि प्रदर्शित झोलेको सिरिज हो यो । तर, लेखक/निर्देशक रामबाबुले मिस्टर झोलेलाई ताजगी दिलाउन चाहेनन्/सकेनन् । हास्य रसका संवादबाट दर्शकलाई सान्त्वना दिने काइदामा चाहिँ गुरुङ निपूर्ण लाग्छन् । 

दर्जीको छोरो कर्णे (प्रवीण खतिवडा) सुवेदारकी छोरी नानीमैयाँ (दिया पुन)लाई मन पराउँछ । नानीमैयाँको दिलचाहिँ पूर्णे (दयाहाङ राई) तिर छ । मनमा एकअर्कालाई माया गर्ने भए पनि नानीमैयाँ र पूर्णे झगडा गरिरहन्छन् । औँसीमा जन्मिएकाले नानीमैयाँसँग कोही विहे गर्न मान्दैनन् । उनका बाबुलाई यही चिन्ता छ । उता, शिक्षक गुणबहादुर (बुद्धि तामाङ) को मन चोरेकी छिन्, मिस कमली (वर्षा राउत) ले । उनीहरूको बीचमा आइपुग्छन्, सहरबाट एक फिरन्ते गुण्डा (विजय बराल) । यिनै दुई प्रेमकथामा आउने उकालीओरालीसँगै फिल्म सकिन्छ ।

सुरुमै भनिहालौँ, यो फिल्म बनाउनुको एउटै उद्देश्य देखिन्छ, जसोतसो दर्शकलाई ‘होल्ड’ गर्ने । पात्र र घटना मार्फत नवीनताको अनुभव गर्ने मौका पाइन्न । प्रश्न आउँछ, कसरी ? जवाफको लागि कबड्डीकै प्रसंग उप्काउनुपर्ने बाध्यता आइलाग्छ किनभने कथाको सेटिङ र पात्रको समीकरणमा उल्लेखनीय भिन्नता छैन । फरक भन्नु लोकेसन मुस्ताङबाट कास्की पुगेको छ । बाँकी उही–उही । जस्तो, दयाहाङको स्वभाव कबड्डीकै काजीको जस्तै छ । पहिले दयाहाङ, बुद्धि र विजयसँगै रक्सी पिउथे । मिस्टर झोलेमा विजय ‘आउट’ भएका छन् । यो ग्याङमा प्रवीणको प्रवेश भएको छ । बुलेट बाईक लिएर गाउँ छिर्ने विजयको चरित्रले कबड्डीका निश्चल बस्नेत र कबड्डी कबड्डीका सौगात मल्लको याद दिलाउँछ । प्रवीणको फिल्मी हुलिया र स्टाइल पनि निश्चल र सौगातबाटै सापटी लिइएको हो । कमलमणि नेपाल यसमा पनि दलित नै हुन् । कबड्डीकी मैयाँ र मिस्टर झोलेकी नानीमैयाँ कसलाई उस्तै नलाग्ला ?

कबड्डीलाई चटक्कै भुलेर मिस्टर झोलेलाई नियाल्ने हो पनि भने टाउकोमा हात राख्नुपर्ने अवस्था छ । मुख्य पात्रलाई आत्मसात् गर्ने पर्याप्त आधार छैन, न तिनको पृष्ठभूमि नै बलियो र विश्वसनीय छ । लक्का जवान पूर्णेलाई बैंकले घर लिलामी गर्न लाग्दासमेत फिटिक्कै वास्ता छैन । गाउँकै स्कुलमा पढाउने शिक्षक गुणबहादुर बिहानै रक्सी धोक्छ । कमली मिस घरी शिक्षकतिर लागेजस्तो लाग्छ, घरी फिरन्ते गुण्डातिर । नानीमैयाँलाई रिस मात्र उठ्छ । कर्णेको काम प्रेम गर्नेबाहेक अर्को छैन । आफ्नै अगाडि खुकुरी लिएर मार्न लखेट्दा पनि प्रहरी वाल्ल परेर बस्छ । दृश्यबाटै पात्र र घटनाक्रम छर्लङ हुन्छ, तैपनि सूत्रधारको सहारा लिइएको छ, जुन आफैँमा लज्जास्पद लाग्छ । 

फिल्ममा सबल पक्ष पनि उत्तिकै छन् । जस्तो, यो कुनै विदेशी फिल्मबाट प्रभावित छैन । पूरापुर नेपाली स्वादकै छ । पात्र, तिनका हुलिया, मनोविज्ञान, स्वभाव मौलिक लाग्छ । फिल्म कमेडी जनराको हो । तर, हँसाउनकै लागि जर्बजस्ती दृश्य थोपरिएको छैन । न त घिनलाग्दा द्विअर्थी संवाद नै छन् । बरु रसिला संवाद र स्वभाविक अभिनयमार्फत दर्शकको मुहारमा मुस्कान छाउँछ । साधारण पात्रका साना सपनालाई प्राथमिकता दिइएको छ । अनावश्यक ‘अड् एंगल’ लाई निषेध गरिएको छ । ‘ओखती...’ गीत मिठासपूर्ण मात्र होइन, सान्दर्भिक पनि छ । दयाहाङ ठीकठाक मात्र छन् । प्रवीणको चरित्र र अभिनय आकर्षक छ । टोले गुन्डाको रुपमा विजयले सम्झनलायक काम गरेका छन् । बुद्धिले केही नयाँ गर्ने जमर्को गरेका छन् । यही अनुपातमा महिला चरित्र खासै जमेका छैनन् । रामबाबुले बलिउड वा अन्य सूत्रलाई पछ्याएनन्, त्यो सकारात्मक हो । तर, आफ्नै सूत्रमा रमाउन थालेका छन्, यो पनि प्रत्युत्पादक नै हुन्छ । सर्जक कुनै सूत्र र घेरामा सीमित हुनुहुन्न । कम्तीमा रामबाबुप्रति त्यो अपेक्षा गर्न सकिंदैन । 

कबड्डी सिरिज र दयाहाङका फ्यानका लागि हो, मिस्टर झोले । जसोतसो ‘टाइमपास’ हुन्छ । तर, कथा र प्रस्तुतिमा नयाँपन खोज्ने दर्शकचाहिँ निराश हुन्छन्, नि:सन्देह । 

 

प्रकाशित: पुस २८, २०७४