‘हाम्रो सफाइ टिस्यु पेपरले पुछेजस्तो’

- मनबहादुर बस्नेत

सधैँ फोहोर, लथालिंग देखिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) ६ महिनायता चिटिक्क छ । पशुपतिनाथ मन्दिर क्षेत्र पनि टलक्क टल्किएको छ । सफाइमा यस्तो चमत्कार गरेको हो, खेम्स क्लिनिंग्सले । यी दुवै ठाउँमा यो संस्थाले स्वयंसेवीका रुपमा काम गरेको हो । काठमाडौँका केही स्थानमा सफाइ भए पनि सिंगो काठमाडौँ धूवाँधूलो र फोहोरले आक्रान्त छ । यही सेरोफेरोमा अस्ट्रेलियामा सफाइकै काम गर्ने संस्थाका निर्देशक खेम शर्मा, ३२, सँग गरिएको कुराकानी :

सफाइका लागि टीआईए र पशुपतिनाथ क्षेत्र नै किन छानिएको हो ? 

चितवनको भरतपुर मेरो गृहनगर हो । दुई वर्षअघि हामीले त्यहाँको विमानस्थल सफाइ गरेका थियौँ । त्यसबाट गैरआवासीय नेपाली संघका साथीहरू आकर्षित हुनुभयो र उहाँहरूसँगको सहकार्यमा ६ महिनाअघि टीआईए सफाइ गर्‍यौँ । टीआईए सफाइको फोटो सामाजिक सञ्जालमा हालेपछि खाडी मुलुकमा काम गर्ने नेपालीहरूको कमेन्टले मलाई पशुपतिनाथ क्षेत्रतिर पुर्‍यायो । 

 

के कमेन्ट थियो त्यस्तो ? 

हामी २०/२५ हजार रुपियाँ कमाउन ४८ डिग्री तापक्रमको गर्मीमा यहाँ आएका छौँ । देशमै फोहोरमैला व्यवस्थापनसम्बन्धी काम गरेमा आफ्नै मुलुकमा रोजगारी पाउने थियौँ भन्ने थियो । देशका लागि केही गर्नुपर्छ भन्ने भयो । 

 

त्यसभन्दा अघिचाहिँ नेपालमा यसरी काम गर्ने सोच नै थिएन ? 

अलि पछि योजना बनाएर आउँथे होला । यति चाँडै पक्कै हुँदैन थियो । उहाँहरूको यस्तो भनाइले मलाई तुरुन्तै काम गर्न अग्रसर बनायो । 

 

तपाईंहरूले अहिले गर्ने कामको मोडालिटीचाहिँ कस्तो हो ? 

पशुपति क्षेत्र विकास कोष, वाग्मती सफाइ अभियान र खेम्स क्लिनिंग्सको सहकार्यमा काम गरिरहेको छ । हामीले नि:शुल्क कामदार खटाएका छौँ । 

 

कामदारले केही पनि पाउँदैनन् ? 

पाउँछन् । त्यसको व्यवस्था संस्थाले गर्छ । अहिले ३७ जना पशुपति क्षेत्रमा काम गरिरहेका छन्, उनीहरूलाई वाग्मती सफाइ अभियन्ता र हामीले तलब दिइरहेका छौँ । 

 

पशुपति क्षेत्रमा एक वर्ष सफाइ काम गर्ने भन्नुभएको छ । एक वर्ष नै यसरी चल्ने हो ? 

होइन । भर्खरै मात्र नेपाल इन्भेस्टमेन्ट बैंकले १५ जना कामदारको तलब दिने व्यवस्था गरिदिएको छ । 

सफाइ कामदार हामीसँग पनि छन् तर फिल हुने गरी सफाइ हुँदैन । किन ? 

हामीकहाँ जनशक्ति, उपकरण सबै छ । तर, सफाइको मापदण्ड छैन । उपकरणको प्रयोग, मजदुरलाई उत्प्रेरणा दिने कुराको अभाव भएकाले यत्तिको भए चल्छ भन्ने छ । मजदुरको कामलाई सम्मान दिने वातावरण बनाउनुपर्छ ।

 

सफाइको मापदण्ड भन्नाले ? 

कुन तहसम्म सफाइ गर्ने भन्ने । अधिकतम नतिजा कसरी निकाल्न सकिन्छ भन्ने छैन । 

 

कामप्रतिको सम्मान कसरी जगाउने हो ? 

उपकरण सही तरिकाले प्रयोग गर्न जानियो भने दक्षता बढ्छ । जानेन भने कामदार आफैँ फोहोरी हुन्छ र उसमा काम गर्ने जाँगर आउँदैन । सही तरिकाले काम गर्दा खेल खेलेजस्तै रमाइलो हुन्छ । हामी यही तरिकाले काम गर्न सिकाउँछौँ । 

 

तपाईंहरूले काम गरुन्जेल त सफा होला । तर, छोडेर गएपछि उही हालत होला नि ? 

त्यस्तो हुँदैन । किनभने, हामी सीप नै हस्तान्तरण गर्छौं । सीप त हामी आफैँ लिएर जान सक्दैनौँ नि !

सिंगो काठमाडौँलगायतका सहरहरू फोहोरमैलाको चपेटामा छन् । यस्तो किन भएको हो ? 

मानिसको भीडभाड हुने ठाउँमा फोहोर हुनु स्वाभाविक हो । हामीकहाँ चाहिँ काम गर्ने शैली मिलेको छैन ।  

 

कसरी ? 

विदेशतिर कार्यालय समय, मानिसहरूको आवतजावत नहुने समयमा डिटेल सफाइ गरिन्छ । कार्यालय समय वा मानिस जम्मा हुने बेलामा त टिपटाप मात्रै गर्ने हो । हामी नुहाउँछौँ, त्यो डिटेल क्लिनिंग्स हो । टिस्यु पेपरले पुछ्छौँ, त्यो टिपटाप मात्रै हो । नेपालमा नुहाउनेभन्दा टिस्यु पेपरले पुछ्ने चलन बढी छ, जसले गर्दा फोहोरको समस्या छ । यो कार्यशैली फेर्नुपर्छ ।  

 

स्वयंसेवीका रूपमा छिरेर पछि फोहोर व्यवस्थापनको व्यापारमा पनि हात हाल्ने हो ? 

फोहोरको क्षेत्रमा राम्ररी काम गर्ने योजना छ । हामीसँग अहिले ५० जना तालिमप्राप्त कामदार छन् । रोजगारी सिर्जना गर्ने र सफा ठाउँ बनाउने लक्ष्य छ । 

 

प्रकाशित: पुस २७, २०७४