कमजोर कथानक

  • खोज वा यात्रा कथाको उत्साह रोमाञ्चकतामा टिकेको हुन्छ तर यात्री उपन्यासमा मूल विषयको अभाव त होइन तर प्रयोगहरू ठीक ठाउँमा पर्न सकेका छैनन् ।

- दिपेश नेपाल

जातीय विभेदलाई निरुत्साहित गर्ने एउटा उपाय हो, इतिहासमा फर्केर समान उदय वा उद्गमको उदाहरण दिनु । जेबी दर्लामीको उपन्यास यात्रीमा संकेत गर्न खोजिएको कथा विस्थापित हुँदै हुर्किएको सभ्यताको मर्म बुझ्नु र जातीय इतिहास अनि परम्पराको बचावको बीचमा अर्कै जाति वा भूगोलका मानिससँगको हार्दिक सम्बन्धको कल्पना गर्नु हो । खोज वा यात्रा उपन्यासको रङ दिन खोजिए पनि यात्री जोडदार कथानक र नाटकीयताको अभावमा फितलो कृति बन्न पुगेको छ । कथामा भावनात्मकता र रोचकता दुवैको अभाव छ ।

हिमाली गुफामा भेटिएको प्राचीन पुस्तकको कथा थाहा पाउन खोजेको मूल पात्र यात्रीले चराङको गुम्बाबाट चोरेर लगेको लिपि नखुलेको पुस्तकमा लेखिएको कुरा जान्ने हुटहुटीले ऊ पहिला तिब्बत र पछि मंगोलियासम्म पुगेको छ । यात्रीले पुस्तकको सहारामा नश्ल मूलको खोजी गरेजस्तो पनि देखिन्छ । तिब्बतबाट उसलाई मंगोलियाको गुर्बानसम्म महिनौँको पैदल यात्रापछि पुग्न मद्दत गरेका कर्माका माध्यमबाट दोहोरिरहने टिप्पणीले स्वतन्त्र तिब्बत र त्यो चाह गर्ने तिब्बतीहरूप्रति कथा नरम बनेको छ भने चिनियाँ व्यवस्थाप्रति कठोर शब्दहरू प्रयोग गरिएको छ । कर्मा र यात्रीको लामो यात्राका प्राविधिक योग्यतालाई छोड्ने हो भने पनि यात्रालाई थोरै अनुच्छेदमा अटाउन खोज्दा रोमाञ्चकता हराएको छ र ती केवल बयानजस्ता मात्र भएका छन् । कहीँ गैरआख्यानलाई औपन्यासिक कलेवर दिन खोजेजस्तो मात्र देखिएको छ । 

उपन्यासकी एक प्रमुख पात्र नेजुई (बोलोर)सँग यात्रीको सम्बन्ध भाग एकमा भावनात्मक उत्कर्षमा देखाउन खोजिए पनि त्यसको विकास पाठकलाई अस्वाभाविक लाग्न सक्छ । बोलोरसँगको ठट्यौला संवाद कतिलाई रुचिपूर्ण लागे पनि उसको नेपालमा मंगोलियन मूल पुर्खा बसोवास गरेको कुरालाई जातीय बुझक्कीहरूले फरक–फरक कोणबाट लेलान् । उपन्यासको भाग एक भूगोल, समय र भावनात्मक हुर्काइमा हतारमा भएजस्तो लाग्छ भने यात्रीले आफूले लिएर आएको पुस्तकमा उस्तो चासो नदिँदा मूल कथा सायद अर्कै केही हो कि भन्ने भान पनि पर्छ । बोलोर, उसको बाजे र अन्य पात्रहरूसँग बोल्ने माध्यम भाषा अंग्रेजी भनेर कथाले जटिलता हल गर्छ । तापनि, धेरै ठाउँमा त्यो सहजजस्तो लाग्दैन र प्राविधिक रूपमा सीमाभंग भएजस्तो पनि लाग्छ ।

उपन्यासको दोस्रो भाग प्राचीन पुस्तकको कथा हो, जहाँ निम्मी भन्ने पात्रले विगतमा फर्केर आफ्नो गाउँ, सभ्यता र मानिसहरूको कथा भनेकी छन् । त्यसमा प्राकृतिक कारणले, विश्वासको भिन्नताले र एउटा समुदायले अर्को समुदायमाथि गरेको दमनले हुनुपरेको विस्थापनको कथा छ । उपन्यासको पहिलो भागमा जस्तै यहाँ पनि ठूलो परिवेश सँगाल्दा भएको हतार देखिन्छ । यद्यपि, कठिन यात्रा, त्यहाँभित्रको विरोध, लोककथा शैलीका केही अन्तरकथाहरूले उपन्यासको स्मरणीय खण्ड यसैलाई बनाएको छ । निम्मीको बाजे, बुबा, बज्यै, पारूहाङ काकालगायतका पात्रहरूलाई केही मात्रामा भए पनि विश्वसनीय बनाएकाले उनीहरूको हिमाली यात्रामा पाठक सामेल हुन सक्छ । ब्रह्माले सुनाएको कथामा पनि विश्व–इतिहासमा भएका ठूला सभ्यताको भूमि र संस्कृति अनि संस्कारबाट हुनुपरेको विस्थापन वा विचलनको कथा भेटिन्छ । चित्रात्मकताको अभाव देखिने यात्रा वर्णन युद्धको एउटा अंशमा प्रखर र स्वाभाविक भएको देखिन्छ । तर, दोस्रो भागपछि आएर बढी नै प्रतीकात्मक र सन्देशमुखी हुन खोजेजस्तो लाग्छ ।

उपन्यासको तेस्रो भाग सबैभन्दा कमजोर खण्ड नै मान्नुपर्छ । प्राचीन पुस्तकको कथाको प्रभाव यात्री र बाँकी सुन्नेलाई प्रत्यक्ष परेको लामो समयसम्म देखिँदैन । भाग एकमा जस्तै यात्री, बोलोर र बाजेको वरिपरि घुमेको कथामा कुनै पर्यटकको गाइडबुकको विवरणलाई कथा रूप दिइएजस्तो मात्र देखिन्छ । फेरि पनि कथानक, भावनात्मक विकास र नाटकीयतामा कथाले मिहिनेत गरेको देखिँदैन । अन्त्य गर्न हतारिएजस्तो फितला संवाद र कोरा बयानहरूले उपन्यासमा मूल कथा के हो अलमल परिन्छ । 

नयाँ भूगोलको नयाँ शब्दमा भनेका जानकारी कथालाई कत्तिको फाइदाजनक हुन्छ, थाहा छैन । तर, यात्रीमा त्यस्ता थुप्रै अनावश्यक नयाँ कुरा छन्, जुन प्रभावका हिसाबले पाठकलाई तानिरहने क्षमता राख्दैनन् । इतिहास र पुर्खाको चेतना आफैँमा बहुकोणबाट व्याख्या हुने विषय भए पनि उपन्यासले चेतनाको सामान्यीकरण गर्न उन्मुख देखिन्छ । सामान्य पाठकलाई किताब पढेर भ्याउँदा याद आइरहने कुनै विशेष कथा हँुदैन । आत्मा, धर्म र प्रेमको पुरानै चर्चाहरू पनि अनावश्यक लाग्छ । बोलोर र यात्रीको सम्बन्धमा सायद रोनाधोना अलि बढी नै छ । अचानक आउने हिउँको डल्लो, घोडा चढ्ने अस्ट्रेलियन केटो, बारम्बार जोड गरिएको कायर शब्द अनि केही तन्काइएका संवादहरू, फितला हौसलाहरू आदिले उपन्यासमा चुम्बकीयता पैदा गर्न सकेका छैनन् । 

शैलीका दृष्टिकोणले यात्री औसत उपन्यास हो । उपन्यासमा केही कुरा ठाडै भनेजस्तो लाग्छ भने केही कुरा धेरै नै प्रतीकात्मक लाग्छ । यसर्थ, मध्यमार्ग यसमा छैन, जहाँ थोरै देखाएर धेरै भन्न सकिन्छ । खोज वा यात्रा कथाको उत्साह रोमाञ्चकतामा टिकेको हुन्छ तर यात्री उपन्यासमा मूल विषयको अभाव त होइन तर प्रयोगहरू ठीक ठाउँमा पर्न सकेका छैनन् । 

प्रकाशित: पुस २५, २०७४