तमानखोलाको सपना

  • विकासविद्हरूको नजर नपरेको गाउँ

- प्रकाश बराल

तमानखोला (बाग्लुङ) ।। गत महिना तमानखोला गाउँपालिका–६, नर्जाखानीका रनबहादुर छन्त्याल सिकिस्त बिरामी परे । उपचारका लागि नजिकको बजार बुर्तिवाङ पुग्न एक दिनको पैदल, सदरमुकाम बाग्लुङ पुग्न दुई दिन पूरै लाग्ने । तत्काल उपचार नभए ज्यानै जाने जोखिम थियो । बोकेरै उपचारमा लैजाँदा केही दिनअघि गाउँकै गुनदेवी छन्त्यालको बाटैमा मृत्यु भएको थियो । त्यही सम्झेर गाउँलेले जसरी पनि ज्यान बचाउने उपाय खोजी गरे ।

ज्यानभन्दा ठूलो केही होइन भन्नेमा गाउँलेको मत मिलेपछि वडाध्यक्ष कुलबहादुर छन्त्यालको जमानीमा हेलिकप्टर बोलाएर रनबहादुरलाई काठमाडौँ पठाइयो । “उपचारमा भएको खर्चको हिसाब–किताब थाहा भएन, हेलिकप्टर ल्याउँदाको साढे दुई लाख रुपियाँ गाउँलेको चन्दाले तिरियो,” वडाध्यक्ष छन्त्याल भन्छन्, “उपचारबाट फर्केर उनले त्यो रकम कसरी तिर्न सक्छन् र !” अब पनि गाउँमै स्वास्थ्य सेवा पाउन नसके धेरैले घरघरमै मर्नुपर्ने उनले गुनासो गरे । अहिलेसम्म सडक सञ्जालले नछोएको नर्जाखानी, पात्ले र भित्रीवनको यो पीडाले बर्सेनि सताइरहेको छ । खुंखानी, उपल्लो र तल्लो ठासपुरी र बुंगादोभानको सोमरलगायतका दर्जन बढी गाउँमा यस्तै पीडा लुकेको छ ।

साबिकका खुंखानी, बुंगादोभान र तमान गाविस मिलाएर बनेको तमानखोला गाउँपालिकाका बासिन्दाको पीडा सडक अभावमा पटक–पटक बल्झिरहेको छ । गाउँगाउँमा सिंहदरबार आउने आशमा बसेकाहरूले स्थानीय निर्वाचनपछिको सात महिना बेहोरिसकेका छन् । सानो आकारको बजेट, पूर्वाधारबिनाको गाउँपालिकाले वास्तविक पीडामा मलम लगाउन सकेको छैन । सामान्य बिरामी हुँदा उपचार पाउने व्यवस्था तमानखोलेलाई पहिलो आवश्यकता हो । स्थानीय सोमलाल सुन्चौरी भन्छिन्, “सिंहदरबारले कम्तीमा बुर्तिवाङसम्म सडक खुलाइदिए हुन्थ्यो ।” बुर्तिवाङसम्म मध्यपहाडी लोकमार्ग स्तरोन्नतिको क्रममा रहेकाले त्यहाँबाट सदरमुकाम र बुटवलसम्म पुग्न सहज पहुँच छ ।

दुई तिहाइ दलित र एक तिहाइ जनजाति बस्ने नर्जाखानीमा मीठो–मसिनो खाने चाडपर्वमा मात्र हो । बिरामी पर्दा उपचार, बालबालिकाले सहज पढ्ने अवसर र खाद्यान्न खरिदका लागि बजार पुग्ने बाटो बाहेक अरू माग्न पनि उनीहरू जान्दैनन् । विकासका नाममा ठूला आकांक्षा पाल्न नसकेको बताउने छन्त्याल भन्छन्, “यहाँ खानेपानीको पनि समस्या छ, बिजुली आउने कहिले हो पत्तो छैन, हामीले अकालमा मर्नेलाई बचाउने र आफूले पढ्न नपाए पनि छोराछोरीले पढ्न पाए पुग्छ ।” भित्रीवनदेखि ६ घन्टाको पैदल दूरीमा मात्र एउटा माध्यमिक विद्यालय छ । शान्ति मावि खुंखानीमा पढाउन सक्ने अभिभावकले छोराछोरीलाई डेरा खोजेर राख्नुपर्छ । घरैबाट आउजाउ गर्ने सम्भावना छैन । पैदल हिँड्ने बाटो पनि लडेर मरिएलाजस्तो छ । जंगल र खोलाको तीरैतीर हिँड्नुपर्दा समूह बनाएर मात्र हिँड्छन् गाउँले । त्यसैले गाउँमा हातैले गन्ने बाहेक पढेलेखेका भेटिँदैनन् । ढोरपाटन र बुकी लेकमा भेडाबाख्रा चराएर उनीहरूको दैनिकी बितेको छ । 

धान नफल्ने ठाउँ भएकाले चामलको भात खान चाडपर्व कुर्नुपर्ने बाध्यता छ । सधैँ पिठ्यूँमा बोकेर लगेको खाद्यान्नले पुग्दैन । त्यसैले आलु, मकै र कोदोका परिकार खाएर उनीहरूको गुजारा चलिरहेको छ । 

नेपालको नक्साजस्तै फैलिएको जिल्लामा कर्णालीजस्तै मानिने तमानखोला पुरानो बुंगा दोभान, तमान र खुंखानी गाविसलाई मिलाइएको हो । “भूगोलले ठगेकाले हामीले विकास देख्न पाएनौँ,” २० वर्षीया सपना गोतामे भन्छिन्, “समयमा परीक्षण गर्न नपाएर दुईपल्ट गर्भ खेर गयो ।” गोतामेले १५ वर्षमै विवाह गरेकी थिइन् । अहिले उनको काखमा एक वर्षको छोरा छ । नियमित उपचार र खोप लगाउनेबारे अझै उनलाई थाहा छैन । बाल विवाह गर्न हुँदैन भनेर सिकाउने कोही नभएपछि उनी रोगी बन्न बाध्य भइन् । 

दसैँपछि बुर्तिवाङदेखि १२ किमि परको बुंगा दोभान बजारसम्म मात्र सडकको ट्रयाक खुलेको छ । त्यो पनि साँघुरा मोडले निकै जोखिम छ । गाउँको विकास गर्ने प्रतिबद्धता जनाएर चुनाव जितेका यहाँका जनप्रतिनिधिहरूलाई अहिले आफ्ना सबै वडामा सडकको ट्रयाक खोल्ने मुख्य चुनौती छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढा भन्छन्, “सबैभन्दा टाढा र कठिन भूगोलमा रहेकाले तमानखोला गाउँपालिकाको विकास कर्णालीजत्तिकै जटिल छ । उम्मेदवार बन्दा काम सजिलै सकिएला भन्ने सोचे पनि जितेर आएपछि चित्त बुझाउन सकेको छैन ।” प्रयास भने गरिरहेको उनको दाबी छ । उनी विजयी भएर आएपछि बुर्तिवाङदेखि बुंगा दोभान हुँदै खुंखानीको तल्लो गाउँसम्म जिप चल्ने सडकको ट्रयाक खोलिएको छ । 

गाउँपालिकाको १५ लाख रुपियाँ बजेटमा स्थानीय श्रमदान मिलाएर बनेको सडकले बुंगा दोभानको एउटा बस्तीसम्म खाद्यान्न ढुवानीमा ठूलो राहत मिलेको छ । बुंगा दोभानदेखि तमान जोड्ने १२ किमि सडकको ट्रयाक र देउरालीदेखि सोलेडाँडा जोड्ने १० किमि सडक बन्दैछ । सोलेबाट म्याग्दीको दरबाङ भएर बेनी पुग्दा यहाँका बासिन्दालाई दैनिक उपभोग्य वस्तु खरिदका लागि सहज हुन्छ । कर राजस्व संकलन हुने अहिलेसम्म कुनै बाटो छैन । किसानले पालेका खसीबोका र भेडा निकासीको कर लिने योजना गाउँपालिकाले बनाएको छ । गाउँपालिकाभित्र १३ वटा लघु जलविद्युत् छन् । अब स–सानो लगानी गरेर बत्ती बाल्नुभन्दा एउटै ठूलो आयोजना बनाउन सकेमा राजस्व संकलन हुने प्रशासकीय अधिकृत खिमबहादुर विकको चाहना छ । “कम्तीमा एउटा ५० मेगावाटसम्मको विद्युत् आयोजना बनाउने र पहरा रंगाएर पर्यटक भित्र्याउने बाहेक अरू उपाय छैन,” उनी भन्छन्, “पहरा मात्र भएकाले पहाड चढ्ने साहसिक खेलमार्फत पर्यटक भित्र्याउन सकिन्थ्यो कि !” तर, पर्यटक ल्याउनका लागि रणनीतिक सडक बन्नुपर्ने उनको तर्क छ ।

गाउँपालिकाको आफ्नै भवन छैन । स्थानीय स्वास्थ्य संस्थाका केही कोठा प्रयोग गरेर कार्यालय स्थापना गरिएको छ । २५ लाख रुपियाँ लगानी गरेर स्वास्थ्यचौकीमा तला थपेपछि कामचलाउ कार्यालय राखिएको छ । प्रशासकीय अधिकृत, लेखापाल र ६ वडामध्ये दुई जना वडासचिवबाहेक अन्य कर्मचारी छैनन् । गाउँपालिकाका प्रत्येक वडामा पैदलै जानुपर्ने बाध्यता छ । खानेपानीको पनि समस्या छ । विद्युत्, यातायात, विद्यालयसमेत नभएकाले गाउँपालिकाले दीर्घकालीन रूपमा ६ नम्बर वडाको पात्ले, नर्जाखानी र भित्रीवनलाई एकीकृत बस्ती विकास गर्ने योजना बनाएको छ । तर, त्यसका लागि करोडौँ रुपियाँ लाग्छ । गाउँपालिकाको एकल प्रयासले त्यो योजना पूरा नहुने विक बताउँछन् । राष्ट्रिय योजनामा सूचीकृत भए झन्डै चार सय घरलाई खानेपानी, विद्युत्, यातायात, शिक्षा, स्वास्थ्यलगायतका काम एकै स्थानमा 

पुर्‍याउन सकिन्छ । 

प्रकाशित: पुस २५, २०७४