ब्याडमिन्टनले प्रख्यात डाँडागाउँ

  • एकै गाउँका पाँच अन्तर्राष्ट्रिय खेलाडी

- विद्या राई

भोजपुर ।। नेपाली ब्याडमिन्टन जगत्मा भोजपुरे खेलाडीको एकछत्र वर्चस्व कायमै छ, पुरुष र महिला दुवै स्पर्धामा । राष्ट्रिय होस् या अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, उनीहरूको दबदबा र सहभागिता अझै कायमै छ । त्यसमा पनि सबै खेलाडी एकै गाउँका छन् ।

विसं ०५९ यता नेपाली ब्याडमिन्टनका लागि भोजपुर उर्वरभूमि नै साबित भयो । सरादेवी तामाङ, नंसलदेवी तामाङ, विकास श्रेष्ठ, रत्नजित तामाङ, विवेक श्रेष्ठ र नवीन श्रेष्ठ नेपाली ब्याडमिन्टनमा आफ्नो प्रतिभा प्रमाणित गरेका खेलाडी हुन् । तामाङ र श्रेष्ठ परिवारका उनीहरू सदरमुकामस्थित एकै गाउँ (भोजपुर–७, डाँडागाउँ)का खेलाडी हुन् । सरादेवी, नंसलदेवी र रत्नजित तामाङ एकै घरका तीन दिदीभाइ हुन् । विकास र विवेक श्रेष्ठ परिवारका दुई दाजुभाइ तथा नवीन पनि श्रेष्ठ परिवारकै हुन् । 

उनीहरू सबैले १०/११ वर्षकै उमेरमा ब्याडमिन्टन खेल्न थाले । यसको श्रेय ब्याडमिन्टन खेलाडी दानबहादुर तामाङलाई जान्छ । उनी सरादेवी, नंसलदेवी र रत्नजितका बुबा हुन् । उनीलगायत अग्रज ब्याडमिन्टन खेलाडी मिलेर विसं ०४९ मा जिल्ला ब्याडमिन्टन संघ खडा गरेका थिए । प्राय: खेलाडीले ‘जुनियर लेभल’ को स्पर्धादेखि नै ब्याडमिन्टनमा लगातार प्रभुत्व जमाए । 

सरादेवी, विकास, विवेक र नवीन ‘जुनियर लेभल’मा नै राष्ट्रिय च्याम्पियन बनेका थिए भने रत्नजित र नंसलले पनि राष्ट्रिय स्तरका अन्य प्रतियोगितामा पदक जितेका थिए । जुनियर लेभलदेखि नै राष्ट्रिय च्याम्पियन हुनु यतिन्जेलसम्म ब्याडमिन्टनमा सफलता पाउने आधार बनेको थियो उनीहरूलाई । बाँकी जीवनलाई पूर्ण रूपमा खेल जगत्मा समर्पित गर्ने जग बन्यो । तर, उनीहरूको संघर्ष कथा भने कम मार्मिक छैन । दानबहादुरको छत्रछाया नपाएका भए संघर्षका लागि साहस र उत्साह पक्कै पाउने थिएनन् । जिल्लामा उनैले ब्याडमिन्टनको वातावरण तयार गरिदिएका थिए । उनको घरैमाथि आउटडोर कोर्ट छ, त्यसैमा सिक्ने र सिकाउने गर्थे । त्यसताका उनी क्षेत्रीय तथा राष्ट्रिय स्तरका स्पर्धामा जिल्लाको प्रतिनिधित्व गर्थे । उनका शिष्यहरू, जो अहिलेका अन्तर्राष्ट्रिय खेलाडी छन्, उनीहरूलाई प्रतिस्पर्धामा लिएर जान्थे । जति नै संघर्ष गर्न परे पनि तीन परिवारका खेलाडीको गजबको तालमेल छ । दानबहादुरलाई सबै ब्याडमिन्टन खेलाडीले गुरु थापे । सरादेवीको पाइला पछ्याउँदै विकास, नंसल, विवेक, रत्नजित र नवीन ब्याडमिन्टनमा लागे । यद्यपि, नवीनलाई ब्याडमिन्टनमा टेकाउनु र मलजल गराउनुका पछाडि विवेकको हात रह्यो । सरादेवी, नंसलदेवी, विकास र रत्नजित काठमाडौँमै बसेर खेल्थे । विवेक काठमाडाँै र गृह जिल्ला ओहोरदोहोर गरिरहन्थे । आफू सिक्थे र अरूलाई सिकाउँथे । त्यही मौकामा नवीन अघिल्ला पुस्ताको बिँडो थाम्ने खेलाडी बने । “ब्याडमिन्टनमा जम्दै जाँदा एकपछि अर्कोले बिँडो थाम्नुपर्छ भन्ने दबाबले नै वर्चस्व जमाउन सकियो,” नवीन सुनाउँछन् ।

विकास र विवेकका लागि इन्डोरमा खेल्नुपर्ने ब्याडमिन्टन खुला आकाशमुनि सिकेर एकैचोटि प्रतिस्पर्धामा जम्नु त्यसबेला चानचुने कुरा थिएन । ‘जुनियर लेभल’को राष्ट्रिय च्याम्पियन जसोतसो भए । त्यसपछि खेल जीवनमा समर्पित हुन गृह जिल्ला बसेर सम्भव थिएन । सबै खेलाडी एकपछि अर्को गर्दै काठमाडौँ पुगे । डेरा लिएर बसे । सामान्य परिवारमा जन्मे–हुर्केका उनीहरूलाई डेरा भाडा तिर्न समेत धौधौ पथ्र्याे । सरादेवी, नंसलदेवी र रत्नजितको सवालमा केही सहजता थियो । उनीहरूका बुबाआमाको मनग्य साथ थियो । विकास र विवेकको सवालमा निकै कष्टकर नै रह्यो । ब्याडमिन्टनका लागि पारिवारिक वातावरण पाउनुपर्ने बेला उनीहरूका बुबाले सदाका लागि संसारबाट बिदा लिए ।

विकास जुनियर लेभलमा पहिलोपटक राष्ट्रिय च्याम्पियन हुनु तीन महिनाअगावै बुबा बितेका थिए । सिनियर लेभलमा लगातार तीनपटक राष्ट्रिय च्याम्पियन बने, उपत्यकाबाहिरका खेलाडीमध्येको यो नै उनको पहिलो ह्याट्रिक थियो । बुबा बितेपछि घरको जेठो छोरो भएको हैसियतले पारिवारिक जिम्मेवारी पनि थियो । 

०६० मा काठमाडौँमा भएको प्रतियोगितामा जुनियरतर्फ राष्ट्रिय च्याम्पियन भए । त्यसपछि ब्याडमिन्टन खेल्नकै लागि गृह जिल्ला छाडेर विराटनगर जानुपर्‍यो । विराटनगरमा उत्तम सिम्खडासँग तीन महिना प्रशिक्षण गर्ने मौका मिल्यो । यो नै कभर्ड हलभित्रको पहिलो प्रशिक्षण थियो । त्यसपछि काठमाडाँै बस्नुपर्ने भयो । सरादेवी तामाङ ०६० देखि नै महेन्द्र पुलिस क्लबबाट खेल्न थालिसकेकी थिइन् । त्यसपछि विकास पनि ०६१ बाट क्लबमा आबद्ध भए । क्लबबाट दिइने सीमित तलबले काठमाडाँैमा बस्न निकै सकस थियो । 

दु:खको कुरा त विकास च्याम्पियन हुँदासम्म आफ्नै र्‍याकेट थिएन । पहिलोपटक च्याम्पियन हुँदा अर्काको र्‍याकेटले खेलेर च्याम्पियन भएका थिए । च्याम्पियन हँुदा अर्काको र्‍याकेटले खेल्नु पनि उनका लागि संघर्ष नै थियो । च्याम्पियन भइसकेपछि अहिलेसम्म र्‍याकेट किन्नुपरेको छैन । उनका भाइ विवेक अहिले पनि गृह जिल्लामा जुनियर खेलाडीलाई प्रशिक्षणमा व्यस्त भेटिन्छन् । बिहानै उठ्नु, र्‍याकेट र सटल बोकेर ब्याडमिन्टन कोर्टमा पुग्नु तथा जुनियर खेलाडीलाई खेल्न सिकाउनु उनको दैनिकी नै बनेको छ । त्यसबापत न त उनले तलबभत्ता नै बुझ्छन्, न लाभोपार्जन नै गर्छन् । “आफूजस्तै, आफूभन्दा पनि राम्रा खेलाडी उत्पादन गर्न सेवाभावले सिकाउँछु,” विवेक भन्छन् । उनले यहीँ बसेर प्रशिक्षण थालेको हाल वर्ष पूरा हँुदैछ । नवीन श्रेष्ठ, सुवास तामाङ, लोकमाता राईलगायत च्याम्पियनहरू उनैले उत्पादन गरे । नवीन राष्ट्रिय च्याम्पियन मात्र भएनन्, अन्तर्राष्ट्रिय खेलाडीका रूपमा प्रतिनिधित्व गरिरहेका छन् । सुवास क्षेत्रीयस्तरको अन्डर–१४ का च्याम्पियन हुन् । बिहानको समय अढाई–तीन घन्टा जुनियर खेलाडी उत्पादनका लागि र्‍याकेट, सटल लिएर कोर्टमै पुग्छन् । आर्थिक अवस्था कमजोर भएका तर सम्भावना बोकेका नौ जना खेलाडीलाई जर्सी नि:शुल्क दिएका छन् । उनीसँग दैनिकजसो १० देखि १५ जना जुनियर खेलाडी सिक्न आउँछन् । 

सरादेवी, नंसलदेवी, रत्नजित र नवीन काठमाडाँैमा बसेका छन् । नंसलदेवी, रत्नजित र नवीन प्रतिस्पर्धामा उत्रिरहेका हुन्छन् । एकै जिल्लाका तथा एकै गाउँका रत्नजित र नवीनको प्रतिस्पर्धा चल्ने गर्छ । अहिलेसम्म सरादेवी तीनपटक, नंसलदेवी दुईपटक र रत्नजित तीनपटक सिनियर लेभलमा राष्ट्रिय च्याम्पियन बनिसके । नंसलदेवीले यस वर्षको ‘पल्सर स्पोटर्स अवार्ड’ जितिन् । उनकी दिदी सरादेवी तामाङ र भाइ रत्नजित तामाङको सानदार जित पनि उल्लेखनीय छ । एकै घरका तीन दिदीभाइको चर्चा जिल्लाभित्र मात्रै होइन, राष्ट्रका लागि तामाङ परिवार उदाहरण बनेको छ । यी ६ खेलाडी राष्ट्रिय च्याम्पियन भएपछि अन्तर्राष्ट्रिय खेलहरूमा सहभागिता जनाउन थालेका थिए । 

तर, अबदेखि भोजपुरको प्रतिनिधित्व खोइ भन्ने प्रश्न जन्माएको छ । नवीनपछि उही स्तरको खेलाडी जन्मिन सकेका छैनन् । जति पनि राष्ट्रिय स्तरका खेलाडी जन्मिए, सबैले आफ्नै व्यक्तिगत लगानीमा संघर्षका साथ खेलेका थिए । अहिले पनि खेलिरहेका छन् । सरकारले चासो नदिँदा आर्थिक अवस्था कमजोर भएका तर खेलमा अब्बल क्षमता बोकेका कतिपय खेलाडी जिल्लाबाट बाहिर जान सकेका छैनन् । 

प्रकाशित: पुस २५, २०७४