एचक्यू ट्रिभिया एन्ड्रोइडमा पनि

- नेपाल संवाददाता

एचक्यू ट्रिभिया अहिलेको सबैभन्दा लोकप्रिय मोबाइल गेम हो । यो अनलाइन गेम हो, जसमा प्रयोगकर्तालाई समान्य ज्ञानमा जस्तै प्रश्नहरु सोधिन्छ । सोधिएका प्रश्नहरुको सही जवाफ दिएबापत नगद पुरस्कार जित्न सकिने कारण एचक्यु ट्रिभिया एक्कासि लोकप्रिय मोबाइल गेम बनेको हो ।

पहिला यो गेम आईओएस प्रयोगकर्ताका लागि मात्रै उपलब्ध थियो । अहिले भने यो गेम एन्ड्रोइडमा पनि उपलब्ध भएको छ । यसमा सहभागी हुन प्रयोगकर्ताले प्ले स्टोरबाट एचक्यू ट्रिभियाको एप डाउनलोड गर्नुपर्नेछ । यो खेल नेपाली समय अनुसार बिहान पौने २ बजेबाट सुरु भई पौने ८ बजेसम्म चल्छ । यो समयभित्र प्रयोगकर्ताले एपमार्फत एचक्यू ट्रिभिया खेल्न सक्नेछन् । पुरस्कार जित्नका लागि सोधिएका १२ वटै प्रश्नको सही जवाफ दिनुपर्छ । प्रत्येक प्रश्नको जवाफ दिनका लागि मात्रै १० सेकेन्ड समय हुनेछ । यो गेमका लागि हजारौँ डलरको पुरस्कार तोकिएको हुन्छ । र, उक्त रकम सही जवाफ दिनेहरुलाई बराबर बाँडिन्छ ।

प्रकाशित: पुस २५, २०७४