शिक्षा सेनानी

  • ‘तपाईंको सबैभन्दा महत्त्वपूर्ण काम के हो ?’ कसैले सोधे सुरेशराज शर्मा एकछिन पनि नसोची भनिदिन्छन्, ‘प्राविधिक शिक्षालय ।’

- राजकुमार बानियाँ

एकै समय आफ्ना विद्यार्थी मुलुकको राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापति हुनु दुर्लभ संयोग हो । त्यस्तो संयोग मिल्यो, प्रख्यात शिक्षाविद् सुरेशराज शर्मा, ७७, लाई । उनले आईएस्सी–बीएस्सी पढाएका रामवरण यादव राष्ट्रपति, झलनाथ खनाल प्रधानमन्त्री र छत्रमानसिंह गुरुङ प्रधानसेनापति भए ०६७–६८ तिर ।

 

त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा २७ वर्ष बिताएका यी केमिस्ट्री–अध्यापकको विषयमा एक जना पनि फेल भएनन् । ‘तपाईंले पढाएको राम्रो भएन’ पनि कसैले भनेनन् । विद्यार्थीको आदर र सम्मानको हकदार भए जहिल्यै । “शिक्षक–विद्यार्थीको सम्बन्ध अर्कै हुँदो रहेछ,” उनी भन्छन्, “तीन उच्च ओहोदामा आफ्ना विद्यार्थी पुग्नु एक शिक्षकका निम्ति गौरवकै कुरा हो ।” यद्यपि, उनले कहिल्यै प्रचार–प्रसार गरेनन् । प्रथम राष्ट्रपति रामवरण यादव र उनको घर एकै ठाउँमा रहेछ । जनकपुरको ब्रह्मपुरी टोलमा रहँदा यादव उनका ‘फ्यामिली डाक्टर’ पनि रहेछन् ।

 

सिन्धुलीको खुर्कोटमा जन्मेका शिक्षाका यी पायोनियरले घरमै संस्कृत शिक्षा पाए । ००६ तिर पिता विष्णुप्रसाद उपाध्याय ढुंगेललाई लागेछ– अब छोराछोरीलाई अंग्रेजी नपढाए गरिखान सक्दैनन् । त्यसपछि सर्लाहीबाट अंग्रेजी पढाउने शिक्षकका रूपमा झिकाए, केशवबहादुर राजभण्डारीलाई । बडाहाकिमले शंका गरेछन्, ‘कतै राणाविरोधी त होइन त्यो मास्टर ?’ ‘फस्र्ट बुक’ पढाउन थाल्नेबित्तिकै केशव मात्र पक्रिएनन्, उनलाई झिकाउने विष्णुप्रसाद पनि समातिए । दुवै जना अड्डासार हुँदै भद्रगोल जेल परे । 

 

उनका पिता कडा कांग्रेसी थिए । उनको घरमा बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर पुगिरहन्थे । सूर्यप्रसाद उपाध्याय त उनका नातेदार नै हुन् । जेलबाट छुटेपछि पनि केशव मास्टरसित पत्राचार भएपछि पुन: जेल हालियो विष्णुप्रसादलाई । ००७ लगत्तै सिन्धुली जिल्ला अदालतको डिठ्ठा बनाइएका पिताजीकै पहलमा खुर्कोटमै स्कुल खुल्यो र त्यहाँ वर्ष दिन पढेर ६ पास भए । त्यसपछि दाजु नरेश, नवराज सुवेदी र उनी सीमापारिको सोनवर्षा स्कुल भर्ना भए ।

 

कक्षा ८ देखि नै साइन्स, कमर्स र आर्ट्स छुट्याएर पढाइ हुने रहेछ त्यहाँ । आर्ट्स पढेको एक वर्षपछि मामा कुलचन्द्र कोइरालाले सम्झाए, ‘अबको जमानामा आर्ट्स पढेर काम छैन ।’ मामाकै करबलमा उनको टोली जनकपुर रवाना भयो, साइन्स पढ्न । सिन्धुली–जनकपुर ओहोरदोहोर गर्दा मलेरिया लागेर दाजु बिते र उनी थला परे । त्यसपछि हजुरबुबाले नातिको पढाइका खातिर बसाइँ नै जनकपुर सारे । पहिलो पटकको एसएलसीमा ‘ब्याक’ भएका उनी ०१३ मा पार भए । र, त्रिचन्द्र कलेजमा बीएस्सीपछि भारतको कर्नाटक विश्वविद्यालयबाट एमएस्सी गरे । ०२१ मा फर्कनासाथ त्रिचन्द्र क्याम्पसमै अध्यापक जीवन सुरु भयो । 

 

पढाउँदा पढाउँदै शर्माको ‘इन्ट्री’ भयो, राजदरबारको शाखाको रूपमा रहेको जाँचबुझ केन्द्रमा एउटा कार्यदलको सदस्य भएर । “कांग्रेसपुत्रको दरबारसँग सम्बन्ध भनेर कतिपय अनौठो मान्छन्,” उनी हाँस्छन्, “त्यसको कारण पनि केमिस्ट्री नै हो ।” घटना के रहेछ भने उनका विद्यार्थी पुरनप्रसाद श्रेष्ठका दाजु रहेछन् तत्कालीन युवराज वीरेन्द्रका सचिव नारायणप्रसाद श्रेष्ठ । उनीमार्फत जाँचबुझ केन्द्रको ढोका खुल्यो । साँच्चै भनुँ भने ब्रिटिस काउन्सिलबाट युनिभर्सिटी अफ साउथ ब्याङ्कका लागि पीएचडीको छात्रवृत्ति पाइसकेका उनी दरबारमा अलमलिने पक्षमा थिएनन् । तर, २५ वर्षे युवराज वीरेन्द्रसँग उनको ‘केमिस्ट्री’ मिलिहाल्यो । उनी राष्ट्रिय शिक्षा समितिको सदस्य–सचिव हुँदै बूढानीलकण्ठ स्कुलका सञ्चालक समिति अध्यक्ष भए ।

 

एक दिन उनलाई राजा भइसकेका वीरेन्द्रले फ्याट्टै सोधेछन्, ‘ भन त सुरेश, म दीपेन्द्र (युवराज)लाई कहाँ पढाउँm ?’ उनले जानेको सल्लाह दिए, ‘दीपेन्द्रको र अरूको करिअर फरक छ । दीपेन्द्रको राजा हुने करिअर हो । त्यस्तो करिअर अरू कसैको पनि छैन । राजा भएपछि देश धनी होस् वा गरिब, नागरिक सभ्य हुन् वा असभ्य, आफ्नो मुलुकलाई माया गर्नैपर्छ । १५–१६ वर्षसम्मको शिक्षा यतैको जाती ।’ 

 

उनको सोचाइ राजासँग मिलेछ, रानीको मिलेनछ । चिरनशमशेर थापादेखि नारायणप्रसाद श्रेष्ठसम्मका दरबारिया सचिवले आफ्ना छोराहरूलाई बाहिर पढाउन थालेका रहेछन् । रानीलाई के लागेछ भने सचिवका छोराहरूलाई चाहिँ बूढानीलकण्ठबाट झिकेर बाहिर पढाउने, हाम्रो छोरालाई चाहिँ बूढानीलकण्ठमै पढाउने ? रानी ‘छोरालाई पढ्न बाहिर पठाउनुपर्छ’ भन्ने, राजा ‘अहिले बेला भएको छैन, पर्ख न अलि वर्ष’ भन्ने । 

 

राजासँग मात्र बेखुसी भइनन् रानी, झोक चलेछ सुरेशराज शर्मासँग । त्यसबीचमा खुला प्रतियोगिताबाट आएका बेलायती हेडमास्टर जोन टाइसनलाई बिदा दिने प्रसंगमा शर्माले विमति राखे । र, भोलिपल्टै राजीनामा दिए । तत्कालै स्वीकृत भएर आयो । अचम्म के भने उनले राजीनामा दिएपछि टाइसन थप चार वर्ष हेडमास्टर भए । 

 

राजाले उनलाई यति मन पराए कि पीएचडी गर्न जान्छु भन्दा दिएनन् । भनेछन्, ‘अहिले थप पढ्न किन जानुपर्‍यो र ? हामीलाई काम गर्न सक्ने मान्छे चाहिएको हो ।’ उनको धेरै प्रयासपछि स्वीकृति दिएछन् । पीएचडी नसकिँदै मेल बक्समा राजाका निजी सचिव नारायणप्रसाद श्रेष्ठले राष्ट्रिय शिक्षा समितिको सदस्य–सचिवका निम्ति राजाले खोजेको बेहोरामा पत्र भेटे । उनले गोलमटोल प्रत्युत्तर दिए । तैपनि, ६ महिना पर्खिएर उनैलाई सदस्य–सचिव बनाइयो । तीन वर्षका लागि शिक्षा समितिमा गएका थुप्रै वर्ष त्यतै अलमलिए । 

राजासँग प्राविधिक र व्यावसायिक शिक्षामा रहेको उनको फरक मतले पछि गएर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) खडा भयो । नौ वर्ष त्यसका संस्थापक कार्यकारी निर्देशक भए शर्मा । लोकसेवा आयोगबाटै त्यस्ता सीपको दक्षता हुनेलाई सेवा प्रवेशको मान्यता दिलाए । “एकातिर घरेलु उत्पादनलाई पत्याउने स्थिति थिएन भने अर्कातिर सहरी क्षेत्रमा डकर्मी, सिकर्मी, प्लम्बर, मेकानिक्स, इलेक्ट्रिसियनजस्ता मिस्त्री सीमापारिबाट आइरहेका थिए,” उनी भन्छन्, “मैले व्यावसायिक शिक्षालाई पूरै सीपमूलक बनाउन ट्रेड स्कुलको मोडलमा लगेँ ।” 

 

र, काठमाडौँको बालाजु प्रशिक्षण केन्द्र, भक्तपुर, ललितपुरका साथै जुम्ला, जिरी (दोलखा), उत्तरपानी (धनकुटा), लाहान (सिराहा), दिपायल (डोटी), लालमटिया (राप्ती), लेते (मुस्ताङ)मा यस्ता प्राविधिक शिक्षालय खुले । सीपमा दख्खल भएकाले मात्र प्रशिक्षकमा नियुक्ति पाए । नीतिमा आएको यस्तो फेरबदलको प्रत्यक्ष लाभ पिछडिएको क्षेत्रलाई भयो । हजारौँ युवा निर्माण, कृषि र स्वास्थ्यका सीपले सुसज्जित भए । महिला सहभागिता बढेर गयो । लेखपढ गर्न नसकेका युवाहरूलाई ‘निकम्मा’ को आरोप लगाएर निराश बनाउन खोज्थ्यो समाजले । सीप सिकेर आत्मसम्मानका साथ बाँच्न सक्ने परिवेश दिए उनले ।

 

‘तपाईंको सबैभन्दा महत्त्वपूर्ण काम के हो ?’ कसैले सोधे उनी एकछिन पनि नसोची भनिदिन्छन्, ‘प्राविधिक शिक्षालय ।’ शर्माको जीवनको सुखानुभूति छ त्यसमा । त्यो काम उनलाई अझै पनि सपना देखेजस्तो लाग्छ । “पहिले नेपालगन्जको कोसेली भनेकै तरकारी हुन्थ्यो जुम्लालाई, अहिले कर्णालीका फलफूल र तरकारी नेपालगन्ज, सुर्खेततिर जान्छन्, त्यही एउटा शिक्षालयले सिंगो कर्णालीलाई दुई सय वर्षअगाडि ल्याइदिएको छ,” उनी भन्छन्, “सीटीईभीटीको आठ वर्षमा जुन रफ्तार थियो, त्यो स्लो डाउन भएको छ । अझ बलियो पार्नुपथ्र्यो । मैले जति बनाएँ, त्यसभन्दा माथि गएन ।”

 

प्रजातन्त्र स्थापनापछि उनले सीटीईभीटी मात्र छाडेनन्, त्रिभुवन विश्वविद्यालय पनि छाडे र स्थापना गरे, काठमाडौँ विश्वविद्यालय (केयू) । खासमा केयूको जननी काठमाडौँ भ्याली क्याम्पस हो । त्रिविको सम्बन्धन लिएर इन्जिनियरिङ अध्ययन संस्थानको भवनबाट कक्षा सुरु गरेको मुलुककै अब्बल साइन्स कलेजले पाँच वर्षमै विश्वविद्यालयको अवतार लियो । “प्रजातन्त्रको आगमनसँगै त्रिविको शैक्षिक क्यालेन्डर बिग्रियो, दुई वर्षको कार्यक्रम तीन–चार वर्ष लाग्न थाल्यो,” उनी सुनाउँछन्, ‘स्वायत्त कलेज या मानित विश्वविद्यालय नपाएपछि छुट्टै विश्वविद्यालय खोल्न पुग्यौँ ।” सीताराम अधिकारी, भद्रमान तुलाधर आदिको टिम अनि रणबहादुर शाह, मोहनगोपाल खेतान, युनाइटेड मिसन टू नेपाल, जापानी समाजसेवी यामाजी आदि दाताको सहयोगी हात पाए उनले ।

 

गोजीमा करोड नहुँदै अर्बौंको विश्वविद्यालय बनाउने सपना देख्नु सन्कीपन थियो शर्माको । धुलिखेलमा अहिले एक हजार रोपनीमा सात अर्ब बराबरको सम्पत्ति छ । मुलुकमै पहिलोपटक कम्प्युटर र मेकानिकल इन्जिनियरिङ, फार्मेसी, एमबीए, बीबीए सबै केयूले नै थालनी गर्‍यो । चारवर्षे स्नातक सुरु भयो । भारतको विडला इन्स्टिच्युट अफ टेक्नोलोजी, मणिपाल एकेडेमीलगायत संस्थासँगको सहकार्यमा केयू अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक संस्था बन्यो । “हालसालै केयूमा २६ सय विद्यार्थीमध्ये २४ सयले दीक्षान्त लिए भने त्रिविमा ६८ हजारमध्ये ९ हजारले मात्रै,” उनी तुलना गर्छन्, “ग्लोबल र्‍यान्किङमा केयू ४ हजार ३ सयमा आउँछ, त्रिवि ५ हजार ८ सयमा ।” दक्षिण एसियाको सयवटा उत्कृष्ट विश्वविद्यालयमा नेपालको केयू मात्रै छ । “अहिले १० वटा युनिभर्सिटी छन् । स्थापनाको हिसाबले हामी तेस्रो हौँ,” उनलाई गर्व छ, “हामीभन्दा पछि सातवटा आए । तर, केयूभन्दा यो पो राम्रो भन्ने अवस्था छैन ।” 

 

काठमाडौँ विश्वविद्यालयमा २१ वर्ष उपकुलपति भए शर्मा । ६ कार्यकाल नियुक्ति भयो लगातार । उनीभन्दा एक वर्ष बढी मदनमोहन मालवीय वनारस हिन्दु विश्वविद्यालयका उपकुलपति भएका थिए । उनले रणनीतिक रूपमा राजनीतिबाट जोगाए विश्वविद्यालयलाई । “छैटौँपटक छाडिदिएको भए पोलिटिक्सको पोल्टामा जाने रहेछ, दलहरूको भागबन्डा लगाउने योजना थियो,” उनी सम्झन्छन्, “अहिले विश्वविद्यालयमा राजनीति घुसेको छ, शिक्षक, कर्मचारी, विद्यार्थी युनियन छन्, भोलि अप्ठ्यारो पर्न सक्छ ।” ११ जना प्रधानमन्त्रीसँग काम गरे । तर, कसैसँग औपचारिकबाहेकका सम्बन्ध बढाएनन् ।

 

५२ वर्षको हुँदा केयूको उपकुलपति भएका उनलाई लाग्छ, ढिलो रिटायर्ड भएकाले अर्को योजना बनाउने समय पुगेन । पत्नी उर्मिलाले एक दिन भनिछन्, ‘काठमाडौँ विश्वविद्यालय बनाएको ठीकै छ तर यो काम नगरेको भए पनि ती विद्यार्थी कहीँ न कहीँ गएर पढ्थे । अब आफ्नो खुट्टामा उभिन नसकेका निम्ति केही गर्नूस् न †’ नभन्दै उनले सिन्धुली कम्युनिटी टेक्निकल स्कुल खोले । त्यो न सरकारी हो, न निजी । परिणाम: ओभरसियरको अन्तिम नतिजा नपाउँदै ४८ मा ४८ ले नै काम पाइसकेका छन् । 

यी शालीन शिक्षा सेनानीको अनुभवमा शिक्षाका दुई संसार छन्, ज्ञान अनि सीप । हातले जान्ने र दिमागले समात्ने शिक्षा । सीपको बाटो छोटो छ, ज्ञानको बाटो लामो । यहाँ गडबडी के भने आफूलाई मात्र काम लाग्ने शिक्षा छ, अरूका लागि काम लाग्ने शिक्षा छैन ।

 

“ज्ञानमा एक तिहाइ अंक ल्याए पनि पास हुन्छ, सीपमा त पूर्णांक नल्याई धरै छैन,” उनी भन्छन्, “डिग्री या परीक्षामुखी अवधारणाले बेरोजगारी बढ्यो । सीपले काम नलाग्नेलाई पनि धारिलो बनाउँछ ।”

युलेन्स स्कुलले नयाँ विद्यालय भवन शर्माकै नाममा राखेको छ । स्वीस अर्बपति युलेन्ससँग उनको राम्रो सम्बन्ध थियो । स्वीटजरल्यान्डको भरवियरमा निम्त्याएका थिए युलेन्सले । ड्राइभरले रिसिभ गर्‍यो उनलाई । उनी युलेन्सका परममित्र रहेछन् युलेन्स । भिलेज काउन्सिलको चेयरम्यान पनि । देशकै धनी मानिस ड्राइभिङमा किन ? ड्राइभरसाहेबले भनेछन्, ‘मलाई विभिन्न देशबारे जान्न मन छ । किताब पढेर म त्यो फस्ट ह्यान्ड थाहा पाउन्न । अन्तर्राष्ट्रिय विमानस्थलमा ड्राइभिङ गरेँ भने म त्यो थाहा पाउँछु ।’ हाम्रो र विदेशीको हेराइ नै बेग्लै छ । 

 

शर्माले १० लाख राशिको ‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेसनल एक्सिलेन्स’ पाए । रामवरण यादव राष्ट्रपति भएका बेला महाउज्ज्वल राष्ट्रदीप मानपदवी पाए । उनलाई थाहा छ, तक्मा पोल्टामा राखेर दंग पर्ने आफू मात्रै हो । “बेलायतमा उपल्लो तहको तक्मा पाए नामअगाडि ‘सर’ लेख्न पाइन्छ । सर लेखिएकोलाई देशकै उच्च सम्मानित नागरिक भनेर बुझ्ने चलन छ,” उनी भन्छन्, “यहाँ बाहिर जानुपर्‍यो भने नीलो पासपोर्ट पनि दिँदैनन् । जसले दुरुपयोग गरेको छ, त्यसले नै रातो पासपोर्ट लिएको छ ।”

 

बेलायतमा पढ्दा उनलाई सोधिएछ, ‘तिम्रो सोख केमा छ  ?’ किताब पढ्ने उनको जेहेन्दारीलाई सोख नै मानिएन । पुरानो जमाना कस्तो भने गीत गाए पनि बिग्रियो भन्ने, फुटबल खेले पनि सप्रियो नभन्ने । ‘राम एक अच्छा लड्का था ।’ खुला समाजका निम्ति ‘अच्छा’ अर्थ हुन्छ– कुनै पनि एड्भेन्चर नभएको । प्रकृति ‘सुप्रिम आर्टिस्ट’ लाग्छ उनलाई । प्रकृतिको असलियत नखलबलिएको ठाउँ हेर्ने रहर लाग्छ । पदयात्रामा जाँदाखेरि कोरिया र अस्ट्ेरलियाका पर्यटकले भनेछन्, ‘यहाँ केही सुविधा छैन । तर, यहाँका मानिस छटपटिएका छैनन् । यही अनौठोपन हामीलाई मन परेको छ ।’ 

 

१० वर्ष कान्छी उर्मिलासँग घरजम गरेका उनका चार छोरी भए । कान्छी छोरीको भने सुत्केरी अवस्थामा ब्रेन ह्यामरेज भएर निधन भयो । त्यतिबेला जन्मेका ११ वर्षीय नाति उनीसँगै बस्छन् सुन्दर नगरी धुलिखेलमा । सुरेशका ११ जना भाइ र चार जना बहिनी छन् । दुई आमाबाट जम्मा २३ जना जन्मेका रहेछन् । बुबाले भनेका थिए, ‘जनकपुरमा पढ्नेलाई म सघाउँछु, काठमाडौँमा पढ्नेलाई तँ सघाइदे ।’ साइन्स पढ्ने भाइहरूलाई उनले पढाए । एकाधबाहेकका सबै भाइले स्नातकोत्तर गरेका छन् । कानुनविद् सूर्य ढुंगेल उनकै भाइ हुन् । 

 

पुख्र्यौली सम्पत्तिमा कसैले पनि भर पर्नु परेन । “हाम्रो पुख्र्यौली सम्पत्ति तीन पुस्तासम्म एक भाइ छोरा मात्रै भएकाले जस्ताको तस्तै छ । दुई जना आमा मिलेर एकै ठाउँ बसे,” उनी सुनाउँछन्, “प्यारेन्टल प्रोपर्टी हामीले कमाएको होइन, जोगाइदिएको आमाहरूले हो । त्यसै ले जनकपुरको घर ८५ लाखमा बेचेर आमाहरूलाई इच्छाएको काम गर्न दियौँ ।” 

 

‘हू इज द अनर अफ काठमाडौँ युनिभर्सिटी ?’ शर्मालाई प्राय: सोधिने प्रश्न यही हो । यसबारे उनले कहिल्यै सोचेनन् । केयू उनैले बनाएका हुन् तर आफ्ना निम्ति बनाएका होइनन् । उनी त्रिविबाटै पेन्सन खान्छन् । आउजाउको सुविधाका लागि केयूले एउटा गाडी दिएको छ, चालकसहित । खिलराज रेग्मी कुलपति हुँदा ‘संस्थापक उपकुलपति’ भन्ने दर्जा पाएका छन् । “केयूले विश्वविद्यालय बनाउने हाम्रो ताकत देखायो । कोसिस गरे हुन्छ भन्ने सन्देश दियो,” उनको विश्लेषण छ, “संस्थाको जीवनमा संकट, आँधीबेहरी या भूकम्प आउँदैन भन्ने होइन । त्यो दिनलाई पार गर्ने क्षमता भयो भने मात्रै संस्था बच्छ । त्यो दिन नआउँदासम्म के हुन्छ, के हुन्छ भन्नै सकिन्न ।” 

प्रकाशित: पुस २४, २०७४