जागिरे दलको जय होस्

- लाल कुमाल

पहिले–पहिले नेकपा एमालेलाई जागिरे पार्टी भन्थे । प्रधानमन्त्री होस् या मन्त्री मात्रै । जे भए पनि सरकारमा जान पुग्थ्यो उसलाई । अहिले ठ्याक्कै एमालेको देखासिकीमा छ, नेकपा माओवादी केन्द्र । साँच्चै भनुँ भने उसलाई नेकपा जागिरे केन्द्र भन्दिए पनि फरक पर्दैन । उसका १६ थान मन्त्री तीन महिनादेखि बिनाविभागीय हैसियतमै झन्डा हल्लाउँदै हिँडिरहेका छन् । तलबभत्ता र सुरक्षाकर्मीमोह त होला, नत्र उनीहरुको देखिने काम केही छैन । विभागीय जागिरेहरुले फागुनसम्मै खाने भएपछि मिडियालाई मसला भने दिन्छन्, ‘सरकारले तत्काल राजीनामा गर्नुपर्छ ।’ आफूले त किन गर्नुपर्‍यो र ? 

जागिरे केन्द्रको बहानाबाजी पनि नानाथरीकै छन् । पहिले भने, ‘चुनाव सार्ने षड्यन्त्र भएकाले सरकार छाड्न मिल्दैन ।’ त्यसपछि भाका सारे, ‘प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको मनोनयनपछि ।’ फेरि निहुँ बनाए, ‘दोस्रो चरणको मनोनयनपछि ।’ अहिले त मन्त्री फिर्ती नै असान्दर्भिक भइसक्यो रे ! जागिर बचाउन कतिसम्म जानेका यार ! अब त उनीहरुको जागिरे पार्टीमै विलय हुने कुरा छ क्यारे ! एउटा जागिरे पार्टीको अर्को जागिरे पार्टीमै विलयपछि महाजागिरे पार्टी बन्नेमा कुनै सन्देह रहेन । धेरैले एकैचाटि जागिर खान खोज्दा भने अलि समस्या भने हुन सक्छ । जागिरे दलको जय होस् !

प्रकाशित: पुस २४, २०७४