झटारो: यही हो स्थिर सरकार

- लक्ष्मण गाम्नागे

वर्तमान नेपाल सरकार गजबको सरकार हो । यो नेपाली कांग्रेसको नेतृत्वमा गठित भए पनि यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी, माओवादी केन्द्र र अरू अरू पनि दल सहभागी छन् । गएको निर्वाचनमा हारेका, जितेका, राष्ट्रिय दल, लोकल दल सबै यसमा अटाएका छन् । एक–अर्कालाई धूलोमा मिलाउने गरी प्रतिस्पर्धा गरेर चुनाव लडेका दल पनि सँगै बसेर सरकार चलाइरहेका छन् । वाम गठबन्धनको एक मुख्य हिस्सा माओवादी केन्द्रसमेत सरकारमा सहभागी भएकाले यो वाम गठबन्धनको पनि आफ्नै सरकार हो । सरकारमा प्रचण्ड भएपछि ओली छैनन् भन्न मिल्दैन । त्यसैले यो जत्तिको सर्वदलीय र सर्वसम्मत सरकार नेपालको इतिहासमा कमै बनेका थिए होलान् । यो एकदमै बलियो र शक्तिशाली सर्वदलीय सरकार हो । 

यो सरकार अनौठो सरकार पनि हो । सर्वदलीय भए पनि यो सरकार न बहुमतको सरकार हो, न अल्पमतको । यसका विरुद्ध न अविश्वासको प्रस्ताव दर्ता गर्ने ठाउँ छ, न कसैले सजिलै ढाल्न पाउँछ । प्रधानमन्त्रीबाहेक सबैले समर्थन फिर्ता लिए पनि यो सरकार ढल्दैन । कतिपय अबुझहरूले यसलाई कामचलाउ सरकार भनेकामा हाम्रा मन्त्रीहरूले तिनीहरूलाई मुखभरिको जवाफ दिँदै भनेका छन्– यो सरकार कामचलाउ होइन, यसले जस्तासुकै निर्णय गर्न सक्छ, गर्न पाउनुपर्छ । नभन्दै सरकारमा मन्त्री फेरिने क्रम पनि चलिरहेको छ । कर्मचारी सरुवा गर्ने, बढुवा गर्ने र राजनीतिक नियुक्ति गर्ने कामहरू पनि भइरहेकै छन् । नौ–नौ महिनामा सरकार फेरिने अस्थिरता विरुद्ध यो सरकार एक वर्षभन्दा बढी नै टिक्ने सम्भावना देखिँदैछ । 

यस्तो बलियो र सफल सरकार हामीले भोग्न पाएका छौँ । यही सरकारले स्थानीय तहको निर्वाचन गरायो । यसले प्रदेशसभा र केन्द्रको निर्वाचन समेत भव्यताका साथ सम्पन्न गरायो । राष्ट्रियसभाको निर्वाचन पनि गराई छाड्न कम्मर कसेर लागेको छ । निर्वाचनजति सबै सम्पन्न गरेर मात्रै सरकार छाड्नुपरे पनि छाडौँला भन्ने विचारमा यो सरकार पुगेको छ । हो नि त, एउटा लोकतान्त्रिक सरकारलाई निर्वाचनप्रति चिन्ता नभए कसलाई हुन्छ † वामहरूले सरकार बनाए भने मुलुकमा निर्वाचन नै हुँदैन भनेर प्रधानमन्त्रीले भनेकै छन् । तिनीहरूले निर्वाचन नगराउलान् र प्रजातन्त्र धरापमा पर्ला कि भन्ने चिन्ताले पनि देउवाजीको सरकारले सबै निर्वाचनहरू सम्पन्न गराउने अठोट लिएको हो । मौका पायो भने यो सरकारले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखहरूको निर्वाचन गराएर प्रजातन्त्रलाई पूरै मजबुत बनाउन पनि सक्छ । 

यो सरकारलाई यसरी चारैतिरबाट नियालेर हेर्दा के निष्कर्षमा पुगिन्छ भने निर्वाचनपछि बन्ने स्थिर सरकार नै यही हो । स्थिर सरकारको नारा दिएर वाम गठबन्धनले चुनाव जितेको भए पनि अब त्यसका लागि वाम गठबन्धनको सरकारको दरकार परेन । मुलुकमा स्वत: स्थिर सरकार कायम भयो । अझ केही समय यो स्थिर रहिरह्यो भने यसले वाम गठबन्धनका गाँठा खुस्काएर लामै समय सरकार चलाउने सम्भावना पनि छँदैछ । त्यसका लागि चौतर्फी प्रयासहरू भइरहेका पनि छन् । फस्लक्क पारेर वामहरूको गठबन्धन फुस्काउन सम्भव भयो भने यही सरकारले प्रधानमन्त्रीको निर्वाचन पनि गराइदिन्छ र थपक्क पाँच वर्ष चलाइदिन्छ । योभन्दा स्थिर सरकार कस्तो चाहिएको हो र नेपाली जनतालाई ?

प्रकाशित: पुस २३, २०७४