गुगलको नयाँ अपरेटिङ सिस्टम

- नेपाल संवाददाता

स्मार्टफोनका लागि एन्ड्रोइड र कम्प्युटरका लागि क्रोम ओएसपछि गुगल अहिले अर्को अपरेटिङ सिस्टम (ओएस) फ्युसिया विकास गर्न लागेको छ । गुगलले फ्युसिया अपरेटिङ सिस्टम बनाउन लागेको खुलासा ६ महिनाअघि नै भएको थियो । तर, हालै मात्र यो कुरा पुष्टि भएको छ । किनभने, अहिले गुगलले फ्युसिया अपरेटिङ सिस्टमको डेभलपर भर्सन रिलिज गरेको छ ।

गुगलले फ्युसिया ओएस परीक्षणका लागि आफ्नै ब्रान्डको ल्यापटप पिक्सेलबुक छानेको छ । अर्थात्, पिक्सेलबुक प्रयोगकर्ताले यो डाउनलोड गरेर इन्स्टल गर्न सक्नेछन् । तर, फ्सुसिया ओएस अझै पूर्ण रुपमा विकसित भइसकेको भने छैन । त्यसैले यो कस्तो अपरेटिङ सिस्टम हो र यसमा अन्य अपरेटिङ सिस्टमका तुलनामा के फरक फिचर छन् भनेर जान्नका लागि अझै केही समय कुर्नैपर्छ । तर, एउटा कुरा के पक्का छ भने फ्युसिया ओएस पूर्ण रुपमा गुगलले नै तयार पारेको अपरेटिङ सिस्टम हुनेछ । एन्ड्रोइड र क्रोम ओएस गुगलले नै बनाएको भए पनि यी सबै लिनक्समा आधारित रहेर बनाइएका अपरेटिङ सिस्टम हुन् । फ्युसिया जिरकनमा आधारित छ । र, जिरकन पनि अपरेटिङ सिस्टमका लागि गुगलले नै तयार पारेको आधार हो ।

प्रकाशित: पुस २३, २०७४