कुर्दाकुर्दै

- नेपाल संवाददाता

समय यस्तो पनि थियो, आर्यन सिग्देलसँग अनस्क्रिन रोमान्स गर्न गिनेचुनेका हिरोइनहरुबीच हानथाप नै हुन्थ्यो । समय यस्तो पनि आयो, आर्यन आफँैले हिरोइनलाई कुर्नु परिरहेको छ । भनिरहनु नपर्ला, आर्यनको करिअर करिब–करिब किनारा लागेको छ । फेरि मूलधारमा अटाउन आफैँ फिल्म बनाउँदै छन्, कायरा । रेखा थापासँगको रुद्रप्रियाको हालत खराब भएपछि उनले नयाँ पुस्तामाझ प्रिय हिरोइन साम्राज्ञीराज्य लक्ष्मी शाहलाई अनुबन्ध गरे । पहिले त साम्राज्ञीलाई मनाउनै मुस्किल पर्‍यो । अनुबन्ध भएपछि पनि साम्राज्ञीको समय नमिलेर फसाद आइलागेको छ । इन्टु मिन्टु लन्डनमा नामक फिल्मको छायाङ् कन सकिएपछि उनले कायरालाई समय दिने सहमति भएको थियो । तर, बेलायतले भिसा नदिएपछि इन्टु मिन्टु लन्डनमाको सेड्युल पटक–पटक सरिरहेको छ, जसको प्रत्यक्ष मारमा परेका छन्, आर्यन । किनभने, उनलाई सकेसम्म छिटो सुटिङ सुरु गर्नु छ । तर, साम्राज्ञीलाई कहिलेसम्म कुर्नुपर्ने हो ? आर्यन आफैँलाई थाहा छैन ।

प्रकाशित: पुस २३, २०७४