महान् मापदण्ड

- रुन्चे राइँलो

हाम्रो महान् तथा गौरवशाली एवं परम् लोकतान्त्रिक दल नामक कम्पनी लिमिटेडको साधारणसभा यही मध्य पुसमा हुने भएको छ । सकेसम्म हाम्रा महान् पार्टी प्रमुखको निवासमा, नभए पार्टी मुख्यालयमा साधारणसभाको आयोजना गरिएको छ । साधारणसभामा राजधानीमा उपलब्ध हुन सक्ने केन्द्रीय, प्रदेश तहका नेतादेखि प्रभावशाली, चर्चित, उपचर्चित नेतागणलाई उपस्थितिका लागि अनुरोध छ ।

उक्त दिन निर्वाचन आयोगद्वारा स्वीकृति प्राप्त भएबमोजिमको लाभांश पनि बाँडफाँट गरिनेछ । लाभांश बाँडफाँट गर्दा हाम्रा आदरणीय नेताज्यूका श्रीमती, साला, साली, प्रेमिका, भान्जा, भान्जी, बुहारी, मीत—मितिनी, मीततर्फका छोरा, छोरीज्वाइँलाई क्रमश: प्राथमिकताक्रम निर्धारण गरिएको छ । त्यसपछि बचेखुचेको लाभांश चुनावमा खट्ने नेता तथा कार्यकर्ताहरुलाई वितरण गरिनेछ । हाम्रो दलका चन्दादातालाई भने सञ्चित कोषबाट विशेष लाभांश पाउने व्यवस्था गरिएको छ ।

पुनश्च: साधारण सदस्यहरुलाई भने सभामा उपस्थित भएर भीड नबढाउन यही सूचनाद्वारा सूचित गरिन्छ ।

प्रकाशित: पुस २३, २०७४