बिर्सनलायक प्रस्तुति

- गोकर्ण गौतम

दाइजो प्रथा मधेसको खिल हो । दाइजो नपाएकै झोँकमा बुहारी/पत्नीलाई आगो लगाएका खबर बारम्बार आउँछन् । आधुनिक समाजको निकै लाजमर्दो यही बेथितिलाई उठाइएको छ, फिल्म राज्जा रानीमा । माइती पक्षले पर्याप्त दाइजो दिन नसकेकै कारण विवाह रोकिन्छ । बल्लतल्ल विवाह त हुन्छ तर, युवती चरम मानसिक र शारीरिक यातनाको सिकार हुनुपर्छ । विषय यत्ति संवेदनशील छ । तर, निर्देशक यम थापाले सोही अनुरुप विषयको मर्मलाई आत्मसात् गर्न सकेका छैनन् । कथावाचनको शैली सतही छ । फलत: फिल्मको प्रभावकारिता फिक्का महसुस हुन्छ । उनलाई धाप मार्नुपर्ने एउटै कारण हो, कम्तीमा सामाजिक विषयलाई पर्दामा उन्ने प्रयास गरे । अन्यथा दाइजोजस्तो कुरीतिको उल्झनलाई गहिराईसम्म उधिन्न चुकेको छ फिल्म ।

रानी (केकी अधिकारी) गरिब छिन् । केटा पक्षले मागेबमोजिम दाइजो दिन नसकेकाले विवाह हुँदैन । जसलाई गाउँकै ठिटो राज्जा यादव (नाजीर हुसैन)ले मन पराउँछ । उसले हत्ते गरेपछि विवाहको लागि तयार हुन्छिन् रानी । दाइजो नलिई राज्जाले भित्र्याउँछन्, आमाको स्वीकृतिविनै । तर, दाइजोले आक्रान्त उक्त समाज र परिवारमा रानीले चैनको श्वास फेर्न पाउलिन् ? राज्जाले विवाह अगाडिझैँ माया गर्लान् ? फिल्म यिनै कठोर सवालहरूको वरपर घुमेको छ । यथार्थपरक सामाजिक कथावस्तुलाई उठान गरिएको फिल्मको क्लाइमेक्स नकारात्मक र अतिरञ्जित लाग्छ । कम्तीमा अनुशरणयोग्य छँदैछैन ।

आधा दर्जन फिल्मको पटकथा लेखेपछि यमले निर्देशनको कमाण्ड सम्हालेका हुन् । तर, राज्जा रानीमा कथा र पात्रप्रति निर्देशकका रुपमा उनको कमाण्ड खुकुलो छ नै । उनी आफैँले लेखेको पटकथासमेत कसिलो लाग्दैन । लम्बेतान र जर्बजस्त हसाउनकै खातिर राखिएका दृश्यहरूसँगै फिल्मको सुरुवात हुन्छ । इटाभट्टाको मालिकले फुच्चेलाई पिटेको, राज्जा र मोटे  पुलिसको जुंगे लडार्इं, राज्जा र उसको साथीबीचको गन्थन, रानीलाई मन पराउने गाउँको अधवैँसेका रवैयाहरू ‘क्लिसे’ लाग्छ । अरु त अरु, न टाउकोमा सिसा फुटाउनुपर्ने गरी राज्जाले रानीलाई माया गर्नुको कारण खुल्छ, न उसमा रानीप्रति एक्कासि घृणा पलाउँदा विश्वसनीय लाग्छ । घटनाहरू दर्शकले यथासक्य आत्मसात् गर्न नसक्नु निर्देशकको अपरिपक्वताको परिणाम हो । 

घटनाजस्तै कमजोर पृष्ठभूमिका पात्र राज्जा रानीको ‘भाइरस’ हुन् । फिल्म गाउँकै सेरोफेरोमा घुम्छ । तर, लगभग २५ मिनेट बितिसक्दा मूलपात्रको घर देखाइन्न । उसले आफूलाई ‘आजको नेता, भोलिको मन्त्री’ भनेर फुई हाँक्छ । तर, त्यसलाई पुष्टि गर्ने आधार हुन्न, नेता (अरुण रेग्मी) को दाहिने हात सम्झनुबाहेक । रेग्मीलाई निकै शक्तिशाली नेता भनिन्छ । तर, त्यो संवादमा मात्र सीमित हुन्छ ।

नेताका रुपमा उनलाई स्थापित गर्ने एउटै वजनदार दृश्य छैन । कामेश्वरको भूमिकाको अझ कन्तविजोक छ । मध्यान्तरसम्म त उनको ‘हाइड्रोसिल’को किस्सा नै हाबी छ । त्यसपछि नब्याउने भैँसी प्रवेश गराइन्छ, उद्देश्य उही हँसाउने । दाइजो प्रथाजस्तो मार्मिक विषय उठाइएको फिल्मको बीचबीचमा सस्तो मजाक घुसाउँदा भद्धा भान हुँदोरहेछ । बरु तुलनात्मक रुपमा केकीको पात्रतालाई नजिकबाट नियाल्न सकिन्छ किनभने उनलाई आत्मीय बनाउन उनका बाबु, बहिनी र भाइ छन् । भाइलाई राज्जाले खोलामा झम्ँिटदै गर्दा माछा तड्पिएको दृश्य प्रतीकात्मक लाग्छ । गर्भमै छोरी तुहाउने कुप्रवृत्तिलाई पनि नजरअन्दाज गरिएको छैन । 

नेपाली फिल्ममा मधेस र मधेसी सवाललाई सधैँ बेवास्ता गरियो । अब भने बल्ल फिल्मकर्मीलाई मधेसको महत्वबोध हुन थालेको छ । राज्जा रानी त्यही शृंखलाको निरन्तरता हुनु आफैँमा सुखद छ । किनभने फिल्मको वस्तुस्थिति, पात्र, उनीहरूको बोलीचालीबाट मधेसको सुगन्ध आभास हुन्छ । तर, समस्या उही, मूलकथालाई न्याय गरिएको छैन । राष्ट्रिय गानलाई कामेश्वरको चरित्रले ‘प्यारोडी’ बनाउनु निन्दनीय छ । बाटोमै तलाकपत्रमा हस्ताक्षर गराउनु हास्यास्पद अनि फिल्मको अन्त्यतिर केकीको दिदी–बहिनीको योजनाचाहिँ अति नाटकीय लाग्छ ।

सन्काहा चरित्रमा देखा परेका नाजीरको अभिनय ‘लाउड’ छ । यही भूमिका पनि उनका लागि नयाँ होइन । जंगेको चरित्रसँग धेरै हदसम्म मेल खान्छ । नाजीरमा एक्लै फिल्मलाई ‘होल्ड’ गर्ने ल्याकत अझै देखिएन । केकीले पात्रअनुरुप हुलियामा आफूलाई बदले पनि भावभंगिमा र संवाद शैलीमा अब्बलता हासिल गर्न चुकेकी छन् । कामेश्वरको चरित्र ताजा नलाग्ने होइन । तर, उनले पटकथामा आफ्नो चरित्रको प्रभावकारी ख्याल गर्ने समय आएको छ । ‘मार्क’ हुने लोभमा निकै हल्का र बिकाउ कुरा (जस्तो : यसपटक ‘हाइड्रोसिल’ को प्रसंग र भैँसीमोह) लाई अबलम्बन गर्नु असल अभिनेताको परिचायक होइन । भन्नै पर्दैन, फिल्ममा पूरापुर कोही हाबी छन् भने छायाँकार पुरुषोत्तम प्रधान मात्र हुन् । ‘चिपक चिपक...’ले राहत दिन्छ । निर्देशकले मधेसको ऐजँेरु बनेको दाइजो प्रथालाई पर्दामा पस्कने हिम्मत गरे । तर, त्यसलाई जीवन्त बनाउन पर्याप्त गृहकार्य गरेनन् । त्यसैले यही फिल्मबाट उनलाई धाप मार्न सकिन्न ।

विषय सम्झनलायक तर प्रस्तुति बिर्सनलायक फिल्म हो, राज्जा रानी । हेर्ने/नहेर्ने आफ्नै मर्जी ।

 

प्रकाशित: पुस २१, २०७४